मेरो मन र मेरो जिब्रोले जहिले पनि नयाँ स्वाद खोजिरहेको हुन्छ। नयाँ ठाउँमा जानका लागि तड्पिरहेको हुन्छ। केही खानेकुराको जानकारी आए त्यसबाट कुन–कुन परिकार बन्न सक्छ र के गरी बनाउन सकिन्छ भन्ने सोच तत्कालै दिमागमा क्लिक भइहाल्छ।
जसरी मेरो जिब्रोले नयाँ टेष्टका लागि भौंतारिरहेको हुन्छ, त्यसैगरी मेरो मनले पनि कुनै नयाँ ठाउँमा जाउँ–जाउँ भनिरहेको हुन्छ।
खासगरी गाउँघरमा गएर रैथाने खानाहरू खाने र बनाउने सोख सधैं लागिरहेको हुन्छ। त्यही सोख र सोचले डोर्याउदैँ पछिल्लो समय पुर्याएको एउटा पृथक गन्तव्य हो, सोलुखुम्बुको गौरीटाप।
खुला आकाशमुनि टक्क उभिएको गौरी टापसँग सामिप्यता हुँदै उसकै काखमा करिब ७/८ घण्टा निदाउँदाको क्षण बिर्सन सकिँदैन।
म स्वदेश होस् या विदेशमा हुने कार्यक्रममा सकेसम्म जान मानिरहेको हुन्न। सबै ठाउँमा जाने फुर्सद पनि मिल्दैन। त्यही भएर पनि स्पार्क कारले आयोजना गरेको काठमाडौंको गैरीधाराबाट गौरी टापसम्मको यात्रामा पनि जाउँ कि नजाउँ भन्ने लागिरहेको थियो।
पहिला खासै संगत नगरेको र कार्यक्रममा पनि नगएको हुँदा मलाई त्यहाँ जाने निर्णय गर्न निकै गाह्रो भएको थियो। अहिले सम्झिँदा त्यहाँ जाने निधो नगरेको भए मैले गल्ती हुने रहेछ।
स्पार्क एड्भेञ्चरको बारेमा निम्तो आएपछि म जाने वा नजाने भन्ने दोधारमा परेँ। यसअघिको कार्यक्रममा नगएको र पहिलोपटक जान लाग्दा केही अप्ठेरो हुन्छ भन्ने मनमा लागिरहेको थियो। जब मैले कार्यक्रममा जाने पाहुनाहरूको सूची देखेँ लगत्तै जाने निधो गरेँ।
मैले जहाँ जाने निधो गरिरहेको थिएँ त्यो मेरो लागि नयाँ थियो। गन्तव्य मात्र नयाँ हैन त्यहाँ पुगेपछि टेन्टभित्र सुत्ने काम पनि पहिलो थियो। त्यही भएर मलाई कताकता मनभित्र कहिले पुग्ने होला र टेन्टभित्रको बसाइँ कस्तो हुन्छ होला भन्ने उत्सुकता छाइरहेको थियो।
मनमा एक किसिमको छटपटाहट भइरहेको थियो। म काठमाडौँमै रहे पनि त्यो बेला मेरो मन र तन कार्यक्रमस्थल अर्थात् सोलुखुम्बुको गौरी टापमा पुगिसकेको थियो।
धेरै सेलिब्रिटीहरू रहेकाले उनीहरूलाई कसरी व्यवस्थापन गर्छन् होला र कसरी राख्छन् होला भन्ने पनि मनमा लागिरहेको थियो।
अर्कोतर्फ एकैसाथ ६० भन्दा बढी बिवाइडीका विद्युतीय गाडी लिएर जाने भनेपछि धेरै मेहनतका साथ व्यवस्थापन गर्नुभएको होला भन्ने लागिरह्यो।
स्पार्क कारका अध्यक्ष रोशन घिमिरेसँगको भेटपछि त्यहाँको व्यवस्थापन गर्ने कुराहरू सुनिरहँदा म आफै दङ्ग परेँ।
मनमा अनेकै तरङ्गहरू खेलिरहेकै बेला अन्तत: सोलुखुम्बुको गौरी टाप पुग्ने दिन आयो। त्यो दिन सबैलाई बिहान ६ देखि ७ बजेसम्ममा जम्मा हुने समय दिइएको थियो।
बिहानै सोलुखुम्बुतर्फ लाग्ने भनेपछि अघिल्लो रात राम्रोसँग निद्रा पनि परेको थिएन। नयाँ ठाउँ, नयाँ बसाइँ र नयाँ साथीहरूसँगको यात्रामा निस्कने भएकाले के कस्तो होला भन्ने मनभरी कुरा खेल्दा राम्रोसँग निदाउन सकेको थिइनँ। अन्तत: भोलिपल्ट अर्थात् सोलुखुम्बु जाने दिन आयो। बिहानै उठेर गैरीधारामा आएँ। जब म त्यहाँ आइपुगेँ, कोही पनि आइपुग्नु भएको थिएन। अर्था्त म पाँच मिनेट अगाडि नै त्यहाँ पुगिसकेको थिएँ।
म त्यहाँ पुगेको करिब एक घण्टापछि मात्र यात्रा सुरू भयो। मेरो सहयात्रीको रूपमा पत्रकार टीकाराम यात्री, धर्मराजसहितको चार जना थियौं। विद्युतीय गाडीमा जाने भनिए पनि यात्रा लामो छ, बाटोमा चार्ज सकिएला वा केही होला भन्ने डर र त्रास पनि केही भएन। निर्धक्क साथ हामी काठमाडौंबाट अघि लाग्यौं।
पहाडको यात्रा जोखिम त थियो नै। तैपनि नयाँ ठाउँ, नयाँ बसाइँलाई मनमा परिकल्पना गर्दै यात्रा अघि बढ्यो। यात्राका क्रममा विभिन्न ठाउँमा टीकाराम यात्रीले बनाएको ब्लगले धेरै ठाउँको जानकारी पाउने अवसर पनि मिल्यो। हरेक ठाउँको जानकारी पाउने अवसरले पनि मेरो यात्रा रोमाञ्चक बन्यो।
हरेक जिल्ला कट्ने बित्तिकै सबै जानकारी पाएको कारणले पनि मेरो यात्रा अझ एड्भेन्चर नै भयो। कुन जिल्लाको के महत्व र के–के खाना पाइन्छ भन्ने विषयमा राम्रो जानकारी मैले त्यो बेला पाउन सकेँ।
खुर्कोटको यात्रामा रहेको क्वालिटी रिसोर्टमा खाना खाने अवसर जुर्यो। विसं २०८१ को असोजमा आएको बाढीले क्षतविक्षत बनाएको रिसोर्टमा खान खाने अवसर मिल्यो। होटलमा सबभन्दा पहिला हामी पुगेका थियौं भने हिँड्ने बेला सबैभन्दा अन्तिममा हिँड्यौँ। गाडी चालकले चार्ज नै गर्न बिर्सेको कारण केही ढिलाइ भयो।

यात्राको क्रममा स्थानीयहरूले बाटो–बाटोमा राम्रो स्वागत गर्नुभयो। खाजामा उसिनेको आलु, गुद्रुक, भटमास र मोहीको स्वादले मेरो जिब्रो नै लोभ्यायो। यात्रा गरिरहँदा खाजा खाएको केही किलोमिटरपछि नै गाडीमा चार्ज सकियो। त्यहाँ केही समय बसेपछि हाम्रा लागि अर्को गाडी आयो।
कम्पनीले ५० औं गाडीलाई चार्ज सकिएला र बाटोमा कुनै समस्या होला भनेर गाडीमै जेनेरेटर सहितको चार्जिङको पनि व्यवस्था गरेको रहेछ।
अन्ततः हामी गन्तव्यमा पुग्न सफल भयौं। हामी त्यहाँ पुग्दा रात परिसकेको थियो। टेन्ट नै टेन्टले डाँडा ढाकिएको थियो। रात्रिकालीन समय भएकाले रङ्गीचंङ्गी टेन्टले त्यहाँको माहोलनै अर्कै बनाएको थियो। त्यहाँको मनोमहक दृष्यले गाडीको यात्रापछिको थकाइ एकै पटकमा मेटाइदियो। गर्मीको ठाउँबाट एकैपटक पहाडमा पुग्दा केही चिसो महसुस भयो।
आयोजकले पहिला नै त्यो ठाउँमा पुग्दा जाडो हुन्छ भन्ने जानकारी दिएको कारण ज्याकेट लिएर गएको थिएँ। रमणीय डाँडामा बनेको टेण्टभित्र बलेको मधुरो बत्तीको उज्यालोले त्यहाँको माहोल नै अर्कै थियो।
आगोको रापसँगै स्थानीय उत्पादन कोदोको रक्सीको साथमा पोलेको आलु खाँदाको स्वाद जिब्रोमै झुण्डिरहेको छ। रात्रिकालीन माहोलमा सयौं जनाको साथमा मदिराको स्वादमा पोलेको आलु खाँदाको बयान गरिसक्नुको छैन। सिरसिर हावा र चिसो मौसममा कोदोको रक्सीले मन्दमन्द पार्दा जिब्रो निकै मिठाएको थियो। त्यहाँ जे पाकेको थियो त्यो सबै मिठो थियो।
आगो ताप्दै एक अर्काबीच निकै रमाइलो गफगाफ चल्यो। काठमाडौंको व्यस्त जीवनलाई एकैछिन भए पनि आनन्द लिँदै विभिन्न सेलिब्रेटीहरू एकआपसमा गफिने र सामिप्यता हुने मौका मिल्यो, जुन मेरा लागि ऐतिहासिक क्षण बन्यो।
पत्रकार दिलभूषण पाठक, ओसिन सिटौला लगायतसँगको भेट निकै अविष्मरणीय बन्यो।
टेन्टमा जीवनमै पहिलो पटक बस्न लागेको हुँदा त्यहाँभित्र छिर्दा अर्कै अनुभव गरिरहेको थिएँ। हुन त म नयाँ अनुभव लिन सधैं तयार हुने भएकाले पनि बाहिरी वातावरण मात्र होइन त्यसभित्रको बसाइँ कस्तो हुन्छ भन्ने चाहना पनि मनमा रहिरहेको थियो। टेन्टभित्रको सुताइ पहिलो पटक तर निकै आनन्द आयो। खुला आकाशमुनि टाँगिएको टेन्टमा निदाउँदाको जस्तो मज्जा अहिलेसम्म मैले लिएको थिइनँ।
दोस्रो चराचुरूङ्गीको चिरविरचिर आवाजमा लठ्ठिँदै घामको मिरमिरे उज्यालोसँगै आँखा खुल्यो। जब आँखा खोलेर टेन्ट बाहिर निस्किे आँखै अगाडि टलक्क टल्किएको सेता हिमाल एकटकले नियालेँ।
ढकमक्क फुलेका गुँरास, टिलिक्क टल्केको हिमाल र सिरसिर बहेको चिसो हावाले मन दंग भयो।
गौरी टापबाट ओखलढुङ्गाको रुम्झाटारमा झरिरहँदा बाटोमा विभिन्न प्रजातिका गुँरास हेर्दै काफल र ऐँसेलु खाँदै झर्दाको समय निकै रमणीय भयो।

टीकाराम यात्री साथमै रहेकाले उहाँले रुम्झाटारको विषेशता र त्यहाँको पर्यटकीय अवस्थाको बारेमा राम्रोसँग जानकारी दिनुभयो। उहाँ त मेरो लागि पर्यटक गाइडको जस्तै भूमिकामा रहनुभयो। यसले गर्दा यात्राको क्रममा जहाँ जहाँ पुगियो त्यहाँको बारेमा राम्रोसँग जानकारी पाउने मौका मिल्यो। गौरी टापबाट रुम्झाटार हेर्दा कस्तो मनमोहक देखिएको थियो, तल आउँदा पनि त्यही खालको भाव झल्किरह्यो।
लगभग आधा घण्टाको गाडीको यात्रामै जाडो र गर्मीको ठाउँमा पुगिँदो रहेछ। अर्थात् गौरी टापबाट आधा घण्टाको गाडीको यात्रापछि रुम्झाटार पुगिने रहेछ। त्यहाँ गर्मी सुरू भैसकेको थियो। रुम्झाटारमा आउँदा स्थानीयहरूले भव्य स्वागत गर्नुभयो र हाम्रो बसाइँ होमस्टेमा रह्यो। त्यस दिन रुम्जाटारमा आयोजित भव्य सांगीतिक कार्यक्रम सहभागी भई आफ्ना कुरा राख्ने मौका मिल्यो। गर्मीले अत्यास लागेका बेलामा कार्यक्रममा सहभागी रुम्जाटारबासीको हुलले आनन्दित तुल्यायो। सांगीतिक कार्यक्रममा विरलै सहभागी हुने मेरा लागि त्यो क्षण जीवनको अविस्मरणीय पल रहनेछ।

संयोग यस्तो बन्यो जुन होमस्टेमा हामी बस्न गैरहेका थियौं त्यहाँका सञ्चालक कैलाश गुरूङ मेरो ठूलो फ्यान हुँदोरहेछ। उहाँले आयोजकलाई विशेष आग्रह गरेर त्यही राखिदिनु भएको रहेछ। दुबई काम गरेर फर्किएका ती सञ्चालकले अहिले होमस्टे र रेष्टुरेन्ट सञ्चालन गरेर बस्नुभएको रहेछ। होमस्टेमा रहँदा लोकल कुखुराको मासु सहितको परिकार खाने मौका मिल्यो। बसाइँकै क्रममा चर्चित पत्रकार दिलभूषण पाठक र चर्चित गायिका आस्था राउत पनि आउनु भयो।
तेस्रो दिन त्यहाँबाट काठमाडौं फर्किने तयारी गरिरहँदा बीचबाट खोटाङको हलेसी महादेवको मन्दिरमा पुग्न मात्र १ घण्टा ३० मिनेट लाग्ने सूचना मैले पाएँ। धेरै अघिदेखि हलेसीमा जाने चाहना राखे पनि अवसर नमिलिरहेको बेला नजिकै पुग्दा अवसर नगुमाऔं भन्ने सोचका साथ अगाडि बढ्यौं। त्यो बेला हाम्रो लागि भनेर छुट्याएको बिवाइडी गाडी अर्कैले लगेको रहेछ र हामीलाई आयोजकले स्कारपियो गाडी उपलब्ध गरायो।
काठमाडौं पुगेको अर्को दिन बिहानै ७ बजे हेटौंडामा पुग्नुपर्ने बाध्यता भएकाले बरू यही बीचबाट सिधै जाऊँ भन्ने प्रस्ताव मैले राखेँ। मेरो प्रस्ताव यात्रीजीले पनि सहजै मान्नु भएपछि हामी उतै लाग्यौं। सिन्धुलीमा राति खाना खाएर हामी अर्को दिन दिउँसो ३ बजे हेटौँडा पुग्यौँ।