होटलको कोठामा टाँसिएको सानो नोट— 'ड्रायरमा दाग लागेकाले २०० डलर जरिवाना लाग्छ, कृपया रिसेप्सनमा तुरन्त सम्पर्क गर्नुहोस्।'
दाग कपालमा लगाइएको कलरको थियो, जुन नेपालमै सय रुपैयाँभन्दा कममा किनिएको थियो। कपाल रंगाएर हङकङमा ३०० डलर जोगाउने चक्करमा यो दागले त्यो सपना उल्टो जरिवानामा बदल्न आतुर देखिन्थ्यो।
सहकर्मी साथी सभ्य हुँदै शिष्टताका साथ रिसेप्सनमा प्रस्तुत भए।
'चिन्ता नलिऊ, चेकआउटसम्ममा दाग हराउनेछ।' अनुभवी हातहरूले सुरू गरियो युद्ध—होटलको साबुन, डिटर्जेन्ट, जो–जहाँ भेटिन्थ्यो त्यही! तर दाग। त अडिएरै बस्यो। अनि आयो हाम्रो 'जुगाड'—नेलपलिस रिमूभर! स्थानीय नेपालीकै सल्लाह, थोरै आँट, अनि दाग पत्तासाफ। २०० डलर जोगियो।
हामी नेपालीहरू यस्ता हजारौं जुगाडसँग हुर्किएका हौं—फाटेका मोजा सिलाउँदै, वाइफाई छिमेकीको चलाएर, सामानको प्रयोग अनन्तकालसम्म गरेर। खर्च गर्ने कुरा आउँदा, हामीले सय पटक सोचेका छौं, किन्नेभन्दा अरू कुनै उपाय छ कि भनेर। घर चलाउनु भनेको कलाको कुरा हो, अर्थशास्त्रको हैन—हाम्रो अनि अघिल्ला पुस्ताले यसलाई कलात्मक बनाएको हो।
तर अहिले जमाना फेरिएको छ।
राजधानी र चल्तीका सहरहरूमा मलहरू गुलजार छन्, स्मार्टफोन हातहातमा छ, अनलाइन अफर र ‘बाइ नाउ’ को मोहसँग दिनरात जुधिरहेछौं। बुबा छिमेकीको वाइफाई सापटी लिएर महिनाको पाँच सय जोगाइरहेका छन्, त्यही घरमा छोरा भने खेलको एपमा एकै क्लिकमा हजार उडाउँछ। एउटै घरमा दुई धुन बजिरहेका छ—एक जुगाडको, अर्को बेपरवाह खर्चको।
एक अर्को घटना—यतैकतैको।
घरमा सुरक्षित स्थानमा राखिएको पर्सबाट नियमित पैसा हराउँदै गइरहेको थियो। सबैको नजर घरेलु कामदारतिर। शंका जायज थियो, दराजमा उसैको पहुँच थियो। तर आमाले पर्खेर हेर्ने निर्णय गरिन्। जब कुरा सह्य भएन, सानो छोरासँग कुरा गर्दा खुलासा भयो अचम्मको कारण। 'अनलाइन गेमको ‘अपग्रेड’ किन्न पैसा झिकिरहेको थियो ७ कक्षा पढ्ने छोरा। यो सत्य उजागर भएको क्षणमा न चिच्याहट थियो, न त गाली नै। थियो त केवल मौनता—बुबाआमाको महिनौंको मितव्ययिता र छोराको डिजिटल ‘रिस्क फ्री’ व्यवहारबीचको खाडल।
यही हो आजको वास्तविक विभाजन—देश र भूगोलमा मात्र हैन, घरभित्रै पनि।
एउटाले पुरानो टेबल टालेर काम चलाउँछ, अर्कोले नयाँ अर्डर गर्छ। एकले पसलपसल घुमेर सस्तो खोज्छ, अर्कोले पहिलो नजर मै क्लिक गर्छ। फरक नियतमा हैन, चेतनामा छ।
नेपालको उपभोक्ता खर्च २०२४ मा ४० खर्ब नाघिसकेको छ। डिजिटल वालेट, अनलाइन अफर, र तुरून्त डेलिभरीको दुनियाँले खर्चलाई सजिलो बनाएको छ—तर सोच्नुपर्ने जिम्मेवारी घटाएको छ। घरमा छोरालाई कोडिङ सिकाइन्छ, तर खर्च र बचतको सन्तुलन सिकाइँदैन। पैसा कसरी कमाइन्छ भन्ने कुराभन्दा पहिला, आजकल अभ्यस्त हुने कुरा छ—कसरी तुरून्त खर्च गर्ने।
त्यही सुकाउने मेसिनको दागले हामीलाई सिकाउँछ—कहिलेकाहीँ समस्याको समाधान पैसा होइन, धैर्य र बुझाइ हो। १०० रुपैयाँको कपाल पोत्ने रंगले त जरिवाना गराउँछ, तर हामीसँग ’जुगाड’ छ—हामीले पुस्तान्तरणसँगै बोक्दै आएको एउटा गुण। जसले खर्चभन्दा पहिला समाधान खोज्छ।
यस्तै कहानीहरू घरघरमा छन्—जहाँ आमाले पुराना सारी पुनः सिलाएर नयाँ जस्तो देखाउँछिन्, र छोरीले एपबाट तुरून्त नयाँ अर्डर गर्छे। एउटै घरमा एउटाले हरेक पैसा बचाउन सय गफ गर्छ, अर्काले खेलमा सिक्का किन्छ लेभल ‘अप’ हुनलाई।
हुन पनि, हामी दुवै धार बोक्ने समाज हौं। लक्ष्य एक पक्षीय मात्र बन्नु होइन, आवश्यक कुरा हो खर्च र सोचको सन्तुलन। कहिले पैसा खर्च गर्ने, कहिले धैर्य राख्ने—त्यो निर्णय नै हामीलाई जिम्मेवार बनाउँछ।
विदेशी होटलको ड्रायरमा लागेको दाग होस् या घरको पर्सबाट हराएको नोट—यी सबैले एउटै कुरा भन्छन् खर्च गर्ने बानी हाम्रो संस्कार बनिरहेको छ। तर हामीसँग अझै त्यो जुगाड बाँकी छ, जुनले सस्तोमा समाधान खोज्छ, सस्तोमा जीवन सजिलो बनाउँछ देखावटी भन्दा अलि पर।
हाम्रा पूर्वजले शान्त रहन र समाधान खोज्न सिकाएका छन्—विदेशका होटल होस् या स्वदेशका घर, वास्तविकता फरक होला, तर जुगाडको आत्मा अझै बाँचिरहेको छ।