भाद्र कृष्ण औंशीका दिन पर्ने, कुशे औंशी अर्थात् बाको मुख हेर्ने दिनलाई नेपाली हिन्दु परम्परा अनुसार विशेष पारिवारिक पर्वको रूपमा मनाइने गरिन्छ, साथै यो पर्व एक महत्वपूर्ण भावनात्मक पर्व पनि हो।
वैदिक मान्यता अनुसार कुशलाई विष्णु भगवानको प्रतिरूप मानिन्छ, भने यस दिन ब्राह्रमणले घर घरमा कुश ल्याइदिने र पूजा गरिदिने चलन रहिआएको छ।
कुशलाई पवित्र र सुरक्षाको प्रतीक मानिन्छ।
कुशे औंशीको दिन घरमा ल्याएको कुश वर्षभरि पूजा, श्राद्ध तथा विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ।
कुशे औंशीका दिनमा पर्ने बाको मुख हेर्ने दिनमा आफ्ना बालाई मिठो मिठो खानाका परिकार पकाएर, उपहार दिएर बाको मुख हेर्ने गरिन्छ। त्यसैगरी दिवंगत पिताको सम्झनामा बिहानै उठी गंगा वा अन्य पवित्र नदीमा गई स्नान गरी पितृतर्पण तथा श्राद्ध गर्ने गरिन्छ। उक्त दिनमा बाको महिमा र महत्वलाई अझ विशेष तरिकाले दर्साइन्छ। यो दिन आफ्ना बाप्रति श्रद्धा, सम्मान, कृतज्ञता अनि उहाँ प्रतिको माया दर्साउने दिन पनि हो।
परिवारको सबै दायित्व आफ्नो काँधमा लिने, जस्तो कठिन परिस्थितिमा पनि नडगमगाई चुनौतीको सामना गर्ने, हेर्दा अलिकति कडा तर मनदेखि साह्रै नै मायालु अनि दयालु सदस्य हुन् बा।
छोराछोरीका अन्जुली भरीका सपनाहरूलाई सार्थक पार्नका लागि आफ्ना वर्तमान र भविष्यलाई बाजी लगाएर खटिने बा, आफ्नो भोगाइबाट प्रतिपादित सिद्धान्तलाई छोराछोरीको भविष्यसँग जोडी उद्देश्य प्राप्तिको बिन्दुमा टेकाउने बा, आफ्ना पसिनाको थोपा थोपामा हाम्रा सपनाका आकृति देखिरहने उनै बा, एैंया नभनी हाम्रो सपनाको आकार कोर्न व्यस्त बा।
बा साँच्चिकै महान् छन्, उनको महानताको अगाडि भगवान समेत पछि पर्नुहुनेछ, उनको निश्चलताको अगाडि गंगा जल पनि अतुलनीय छ। छोराछोरीको जीवनमा बाको भूमिका अतुलनीय हुन्छ। बा जीवनको मेरूदण्ड हुन्, जीवनमा आइपर्ने जस्तोसुकै समस्यासँग नडराइ, हरेक समस्यासँग जुध्न सिकाउने हौसला हुन्, उचाइमा पुग्न सहयोग गर्ने भर्याङ हुन्।
बा जीवनका खुड्किलालाई सहज बनाइदिने पात्र मात्र हैनन्, छोराछोरीको हिम्मत, आँट र भरोसा पनि हुन्। छोराछोरीका लागि जब कोही हुँदैनन् त्यहाँ बा हुन्छन्, जहाँ केही हुँदैन, त्यहाँ सबै थोक बा नै हुन्छन्, बा हरेक समस्याका समाधान हुन्।
हारेको महसुस गर्दा जिताइदिने, पछाडि पर्दा अगाडि तानिदिने, हराउनै लाग्दा प्रकाश पारिदिने, अँध्यारोमा उज्यालाको किरण छरिदिने बा नै हुन्। हाम्रो जीवनमा बाको भूमिका अतुलनीय, अविस्मरणीय छ। सबै सम्बन्धको एकै रूप हुन् बा।
भनिन्छ बा जीवनका अन्नदाता हुन्, पालनपोषणकर्ता हुन्, आफू रित्तियर भए पनि छोराछोरीलाई पूर्ण बनाइदिन्छन् बा। बा केवल आर्थिक सहायताकार मात्र होइनन्, जीवनको आत्मविश्वास पनि हुन्।
मेरो भोगाइले भन्छ, बा बिनाको जीवन सबै कुरा भएर पनि कोही केही नभए जस्तो, अधुरो, अपुरो अनि शून्य जस्तो हुने रहेछ। साँच्चै नै बा बिनाको जीवन यति असहज हुँदो रैछ, बाको उपस्थितिमा बुझ्न नसकेको महत्व उनको अनुपस्थितिमा अझ बढी हुँदो रहेछ। आफन्त, दाजुभाइ, अनि समाजको व्यवहार अनि नजर यति छिटो परिर्वतन हुने रहेछ त्यो कल्पना गर्नसम्म नसकिने रहेछ।
मौरी जस्ता लाग्ने आफ्ना भन्नेहरू छिनभरमै झिंगा भइसक्ने रहेछन्। बा बिनाको जिन्दगीको परिभाषा र अर्थ नै बेग्लै हुने रहेछ। आर्थिक मात्र हैन, पारिवारिक, सामाजिक अनि भावनात्मक रूपमै परिवार एक्लो हुने रहेछ। त्यसैले बा हुनुको महत्व बेलैमा बुझौं, उहाँको इच्छा, सोच अनि सामिप्यतालाई आफ्नोपन दिऊँ। बाले हाम्रा लागि धेरै गरे तर उनलाई हामीबाट धेरै कुनै आशा छैन तर केवल एउटै आशा र भरोशा यही हुन्छ कि, आफ्ना छोराछोरीले सत्य र असल कर्म गरी गन्तव्यमा पुगून्। बाका लागि यस्तो अवस्था सृजना गरौं ताकी, बा छाती चौडा पारी गर्वका साथ बाँच्न सकून्।
थाहा छ? बाको काखमा पाउने आत्मविश्वास र सुरक्षापनाको महसुस जीवनभर अरू कोही कसैबाट प्राप्त हुनै सक्दैन। बा भएर त सबै थोक छ, बाले गर्दा त जीवन भरिपूर्ण छ। हाम्रो सफलतामा गौरव गर्ने, अनि असफलतामा धैर्यता र सहारा दिने बा नै हुन्।
जीवनका अनेकन अनुभव बटुलेका बा छोराछोरीका लागि समस्या समाधानका अचुक औषधि हुन्, कठिन मोडहरूमा बाटो देखाउने नक्सा हुन्। लाग्छ जिन्दगीमा केही नहोस्, सबै भौतिक चिज नरहोस् तर बाको उपस्थिति चाहिँ अनिवार्य होस्।
यस दिनले छोराछोरीको जीवनमा बुवाको स्थान, उनीहरूप्रतिको त्याग र भूमिकालाई सम्झन, सम्मान गर्न र छोराछोरी र बुवा बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन अवसर प्रदान गर्छ।
यो हिन्दु परम्पराले नेपाली समाजमा पारिवारिक एकता र आफ्ना बुवाप्रतिको श्रद्धालाई प्रकट गर्दछ। यस विशेष दिनको अवसरमा आफ्ना पितृको सम्झनामा पितृलाई तर्पण दिन तथा श्राद्ध गर्नका लागि काठमाडौंका विभिन्न तीर्थस्थल जस्तै गोकर्ण, पशुपतिनाथ, तथा बाग्मतीको किनारमा खुब भीड लाग्ने गर्छ। बाको मार्गदर्शन, निर्देशन र सिद्धान्तलाई पालना गरी आफ्नो जीवनमा लागू गर्न सक्नु नै छोराछोरीका लागि ठूलो सिकाइ अनि उपलब्धि हुनेछ।
यो विशेष दिनमा मलाई जन्मदिने बाबा अनि सम्पूर्ण बुवाहरूप्रति हार्दिक नमन तथा बुवाको मुख हेर्ने दिनको शुभकामना।