गाउँमा दसैंको चहलपहल सुरू भइसकेको हुन्थ्यो। घरहरू लिपपोत गरिन्थे। आँगन सफा हुन्थ्यो। नयाँ लुगा किन्ने कुरा चल्थ्यो। बच्चाहरू पिङको कुरा गर्थे।
तर यसपालि उसलाई यीमध्ये कुनै कुराले छोएन।
ऊ भग्न घरको छेउमा एउटा ढुंगामाथि बसेकी थिई। हातमा उसकै पुरानो, मैलो लुगा थियो। त्यो लुगालाई उसले निकै बेरदेखि हेरिरहेकी थिई।
'आमाले यसपालि नयाँ लुगा किनिदिन्छु भन्नुभएको थियो,' उसले मनमनै सम्झी।
अनि अचानक उसको आँखाअगाडि आमाको अनुहार आयो।
स्कुलबाट घर फर्किँदा आमा ढोकामा उभिएर उसलाई पर्खिरहेकी हुन्थिन्।
'आइपुगिस्,' आमाको त्यो आवाज उसको कानमा अझै बजिरहेको थियो।
ऊ आँखा चिम्लिन्छे।
'आमा... म आइपुगेँ,' मनभित्रै जबाफ दिन्छे।
तर यस पटक ढोका खोल्ने कोही थिएन। घर पनि थिएन। आमा पनि थिइनन्।
केही समयअघि मात्र त यही ठाउँमा उसको घर थियो। भान्साबाट तातो भातको बास्ना आउँथ्यो। आमा भात मुछेर उसको थालमा राखिदिन्थिन्।
'तातै खानू है, चिसो भएपछि मिठो हुँदैन।'
उसलाई आमाको हातले मुछेको भात असाध्यै मनपर्थ्यो।
ऊ कहिलेकाहीँ जानाजान ढिलो गरेर खान्थी, ताकि आमाले फेरि एक गाँस मुछेर मुखमा हालिदिऊन्।
आज ऊ त्यही सम्झेर मुस्कुराउन खोज्छे। तर ओठ मुस्कुराउनुअघि नै आँखा रसाउँछन्।
उसले आफै लाई सोध्छे— आमा कहाँ जानुभयो?
कसैले भनेको थियो, आमालाई खोलाले बगायो। तर ऊ त्यो कुरा मान्न तयार थिइन। उसको बालमनले अझै एउटा सानो आशा बचाएर राखेको थियो।
'सायद आमा कतै जानुभएको होला।'
'सायद आज आउनुहुन्छ।'
'सायद मलाई खोज्दै हुनुहुन्छ।'
तर दिन बित्दै गए।
आमा फर्किनुभएन।
बाबा पनि फर्किनुभएन।
बाबा त्यो दिन खेतमा जानुभएको थियो।
बाबाले हिँड्ने बेलामा भनेको कुरा उसलाई अझै याद छ— म चाँडै आउँछु है।
‘चाँडै’ भनेको कति समय हो?
उसले धेरै पटक सोचिसकेकी छ।
एक घण्टा?
एक दिन?
एक हप्ता?
कि... कहिल्यै नआउने समय?
उसले यो प्रश्न कसैलाई सोध्न सकेकी छैन।
बाबाको पुरानो चप्पल भग्न घरको कुनामा भेटिएको थियो। त्यो चप्पल देखेपछि उसले धेरै बेर त्यसलाई अँगालो हालेकी थिई।
'बाबा, तपाईं कहाँ हुनुहुन्छ?'
कुनै उत्तर आएन।
दाइ पनि हराएको थियो।
गाईवस्तु चराउन गएको दाइ त्यो दिन घर फर्किएन।
सबैले आ–आफ्ना अनुमान लगाए।
'खोलाले बगायो होला।'
'सायद कतै गएको होला।'
'खोजी भइरहेको छ।'
तर उसको मनले एउटा कुरा मानिरहेको थिएन।
हरेक साँझ ऊ बाटोतिर हेर्थी।
उसलाई लाग्थ्यो— अहिले दाइ टाढाबाट देखिनेछ।
उसले ठूलो स्वरमा बोलाउनेछ— बहिनी!
अनि ऊ दौडिँदै जानेछे।
दाइको हात समाउनेछे।
तर साँझ पर्छ।
बाटो सुनसान हुन्छ।
कसैको पाइला सुनिँदैन।
कुनै आवाज आउँदैन।
ऊ फेरि घर फर्किन्छे।
तर घर कहाँ छ र? त्यहाँ त भग्नावशेष मात्र छ।
कहिलेकाहीँ उसलाई लाग्छ— सायद उसले सपना देखिरहेकी छ। सायद बिहान उठ्दा सबै ठीक हुनेछ। आमा भान्सामा हुनेछिन्। बाबा बाहिर खोक्दै हुनेछन्। दाइ उसलाई जिस्काउँदै हुनेछ। ऊ स्कुल जान हतार गर्नेछे।
तर बिहान आउँछ। सूर्य उदाउँछ। र, सत्य फेरि उसको अगाडि उभिन्छ।
घर छैन।
आमा छैनन्।
बाबा छैनन्।
दाइ छैन।
त्यसपछि उसलाई सबैभन्दा डर लाग्ने कुरा सम्झिन्छे— दसैं।
दसैं त आउँदैछ। उसले पहिले दसैंलाई धेरै माया गर्थी। नयाँ लुगा लगाउने। रातो टीका लगाउने। बाबाको हात समाउने। आमाको काखमा बस्ने। दाइसँग पिङ खेल्ने। साथीहरूसँग गाउँ डुल्ने।
उसले यसपालिको दसैंमा लगाउने नयाँ लुगाको कल्पना पनि गरिसकेकी थिई।
तर अहिले उसलाई एउटा प्रश्नले सताइरहेको छ— नयाँ लुगा कसले लगाइदिन्छ?
ऊ आफ्नै मनलाई उत्तर दिन्छे— आमाले।
फेरि आफै चुप लाग्छे।
आमा त छैनन्।
'बाबाले टीका लगाइदिनुहुन्छ।'
तर बाबा पनि छैनन्।
'दाइसँग पिङ खेल्छु।'
दाइ पनि छैन।
त्यसपछि उसलाई पहिलो पटक दसैंसँग रिस उठ्छ।
'दसैं किन आउन लागेको?'
उसले आकाशतिर हेरेर सोच्छे।
'मेरो घर नभएको ठाउँमा दसैं किन आउँछ?'
'मेरी आमा नभएको ठाउँमा टीका किन आउँछ?'
'मेरो बाबा नभएको ठाउँमा आशीर्वाद किन आउँछ?'
'मेरो दाइ नभएको ठाउँमा पिङ किन हालिन्छ?'
उसको बालमनसँग यी प्रश्नहरूको उत्तर छैन। त्यो रात ऊ भग्न घरको छेउमै सुत्छे। आकाशमा तारा टल्किरहेका छन्। ऊ आँखा बन्द गर्छे।
'आमा...'
मनभित्रबाट आवाज निस्किन्छ।
'यसपालि मलाई नयाँ लुगा नकिनिदिनू।'
केही क्षणपछि फेरि भन्छे— पुरानै लुगामा बस्छु।
उसका आँखाबाट आँसु झर्छन्।
'बस्, एकपटक सपनामा भए पनि आउनू। मलाई काखमा राख्नू। तिम्रो हातले मुछेको भातको एक गाँस खुवाउनू।'
ऊ केही बेर चुप लाग्छे।
'बाबा... तपाईं पनि आउनू है। मलाई फेरि तपाईंको औंला समातेर हिँड्न मन छ।'
अनि दाइलाई सम्झिन्छे।
'दाइ...'
उसको आवाज झन् सानो हुन्छ।
'दसैंमा मसँगै गाउँ घुम्न आउनू।'
त्यसपछि उसको मनमा एउटा अनौठो कल्पना जन्मिन्छ।
सायद सपनामा गाउँ अझै बाँचेको होला।
सायद सपनामा आमाले ढोकाबाट बोलाउनुहुन्छ।
सायद बाबाले हाँस्दै निधारमा टीका लगाउनुहुन्छ।
सायद दाइले उसको हात समाएर पिङतिर लैजान्छ।
सायद त्यहाँ कुनै बाढी आएको छैन।
सायद घर उभिएको छ।
सायद गाउँ उस्तै छ।
ऊ निदाउन खोज्छे।
तर निद्राभन्दा पहिले एउटा आँसु उसको गालाबाट बग्छ।
बिहान फेरि सूर्य उदाउँछ।
दसैं नजिकिँदै जान्छ।
सहरमा मानिसहरू नयाँ लुगा किनिरहेका छन्।
गाउँका बाँकी मानिसहरू पनि दसैंको तयारीमा छन्।
तर त्यो बालिका?
ऊ अझै त्यही भग्न घरको छेउमा बसेर बाटो हेरिरहेकी छे।
सायद आमा आउनुहुन्छ कि।
सायद बाबा फर्किनुहुन्छ कि।
सायद दाइ टाढाबाट दौडिँदै आउँछ कि।
उसलाई थाहा छैन— प्रतीक्षा पनि कहिलेकाहीँ मानिसको अन्तिम आशा हुँदो रहेछ।
उसले आफ्नो पुरानो लुगा छातीमा च्याप्छे।
आकाशतिर हेर्छे।
अनि बिस्तारै भन्छे— दसैं त आउँदैछ। तर मेरो गाउँ कहाँ छ?
उसको प्रश्न आकाशमा हराउँछ।
न आकाशले उत्तर दिन्छ। न खोलाले। न भग्न घरले।
केवल हावाले उसको कपाल चलाउँछ।
ऊ फेरि बाटोतिर हेर्छे।
सायद... कुनै दिन दाइ फर्केला।
सायद सपनामा आमा आउलिन्।
सायद बाबाको आवाज फेरि सुनिएला।
तर त्यो दिनसम्म— उसको दसैं अधुरै रहनेछ।
किनकि उसका लागि दसैं भनेको नयाँ लुगा मात्र थिएन।
दसैं भनेको आमा थिइन्। बाबा थिए। दाइ थियो। घर थियो। गाउँ थियो...।