प्रकृतिको उन्मादपूर्ण शक्तिले नेपाली भूभागलाई अहिले आँधी-वर्षाको चपेटमा पारेको छ।
केही दिनदेखि चलिरहेको यो मौसमी अवस्थाले देशभरका खोला-नदीहरू बढेका छन्। बाढी-पहिरोको डर बढेको छ। लगातारको वर्षा, पहिरो, नदी–खोलाको बढ्दो बहाव, सडक अवरोध र भीषण ट्राफिक जामले यात्रालाई जोखिमपूर्ण बनाएका छन्।
नेपालको भौगोलिक जटिलता र हालको मनसुन प्रणालीका कारण जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पटक पटक सूचना जारी गरिरहेका छन्।
नदी तटीय क्षेत्रमा उच्च सतर्कता, पहिरोको जोखिम र अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकलाई गरिएको आग्रह सार्वजनिक भएकै छ। तर यो सचेतनाको आवाजको बाबजुद पनि, धेरै नागरिकहरूले यो सूचनालाई बेवास्ता गर्दै जाँदैछन्।
सरकारले जुन चेतावनी दिँदै आएको छ, त्यो निकै गम्भीर छ। यो आँधी-वर्षाको मौसममा बाढी-पहिरोको जोखिम बढेको छ। खोला-नदीहरूमा पानीको स्तर बढेको छ, भूक्षयको सम्भावना बढेको छ। यस्तो समयमा अनावश्यक यात्रा गर्दा जीवनको जोखिम बढाउँछ। तर यो सबैको सुरक्षा सचेतनाको लागि भए पनि, धेरै नागरिकहरूले यो सूचनालाई बेवास्ता गर्दै आएका छन्।
यात्रा गर्नुपर्ने कारण खोज्दै, अनावश्यक यात्रामा निस्किँदै छन्। यस्ता चेतावनीहरूलाई सामान्य 'औपचारिकता' मात्र ठानेर धेरै नागरिकले जोखिमपूर्ण यात्रा गरिरहेका छन्। पहिरो खसिरहेका सडकखण्डमा गाडी तेर्साउनु, खोलामा पानीको बहाव उच्च हुँदाहुँदै तर्न खोज्नु वा रातको समयमा जोखिमयुक्त यात्रा गर्नु नागरिकको अनाहकको हतार र अदूरदर्शिताको पराकाष्ठा हो। यो बेवास्ताले दुर्घटनालाई निम्तो दिइरहेको छ। यो व्यवहार विगतका दुर्घटनाहरूबाट नै सिक्न नसक्ने नागरिक प्रवृत्तिको प्रतिबिम्ब पनि हो। विशेष गरी झ्याप्ले खोला, सिमलताल, सिद्धबाबा वा मुगुका दुर्घटनाहरूले यसको दुःखद सत्यलाई झल्काएका छन्। यी घटनाहरू केवल समाचार होइनन्, ती जीवनका कठोर पाठ हुन्। तर हामी ती पाठ दोहोर्याइरहेका छौं।
यी सबले हामीलाई मनसुनको समयमा खोलानाला र पहिरोको जोखिमप्रति सधैं सतर्क रहन सिकाएका थिए। क्षणभरमै ज्यान जाने वा अपुरणीय क्षति हुने ती घटनाहरू आज पनि हाम्रासामु उदाहरण बनेर उभिएका छन्। मानिसहरूलाई एकै क्षणमा खोलाले बगाएको, सडकमा पहिरोले पुरिएको र जीवन तहसनहस भएको दृश्यको सम्झना ताजै हुँदाहुँदै पनि हामीले 'इतिहासबाट पाठ नसिकेर' फेरि त्यही गल्ती दोहोर्याइरहेका छौं।
सरकारले दिएको सूचना केवल 'समाचार' होइन, यो त जीवन रक्षाको सन्देश हो। यो सूचनालाई केबल अधिकारीहरूको 'काम पूरा गर्ने औपचारिकता' सम्झनु हाम्रो ठूलो भूल हो।
प्रत्येक वर्ष, वर्षाको सुरूआतसँगै, ती दुर्घटनाका दृश्य फेरि दोहोरिन्छन् - पहिले चेतावनी, त्यसपछि दुर्घटना, अनि शोक र अपराधबोध। तर अर्को वर्ष, उही हठ र लापरबाही। अब समय आएको छ, चेतावनीलाई डर होइन, सुरक्षा कवचका रूपमा बुझ्ने, अनावश्यक यात्रा टार्ने, चालकले गति नियन्त्रण गर्ने, यात्रुले पनि जिम्मेवार बन्ने। यिनै साना अभ्यासहरूले ठूलो दुर्घटना रोक्न सक्छन्। मानव सभ्यताको एउटा दुःखद् विरोधाभास हो- हामी पाठ पढ्छौं, तर पाठ सिक्दैनौं। दुर्घटना आफैले भोगेर सिक्ने विषय होइन, यो त अरूको भोगाइबाट चेतेर जोगिने विषय हो। तर, हाम्रो आम प्रवृत्ति भने 'आफूलाई केही हुँदैन' भन्ने अति आत्मविश्वासको खोलभित्र लुकेर जोखिमलाई अँगाल्ने रहेको देखिन्छ।
यस वर्षको मौसमी प्रणालीमा सरकारले आम नागरिकलाई अनावश्यक यात्रा नगर्न दिएको सूचना र आग्रहलाई अधिकांशले गरेको लापरबाहीपूर्ण बेवास्ताले यसै कटु सत्यलाई उजागर गरेको छ। अहिलेको मौसमको अवस्था, पहाडी क्षेत्रमा पहिरोको जोखिम र नदी नालामा जलस्तर वृद्धिको खतरा हामी सबैलाई थाहा छ। सरकारले तथा सञ्चार माध्यमले समयमै दिएका 'सुरक्षित रहनुहोस्, जोखिम नलिनुहोस्, अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्नुहोस्' भन्ने सूचना र चेतावनीलाई हामी बेवास्ता गर्दैछौं।
अधिकांशको प्रवृत्ति कस्तो छ भने, 'अरूलाई परेको हो, मलाई पर्दैन।' अथवा 'भए पनि त्यति ठूलो दुर्घटना हुँदैन।' यो भोगेर सिकौंला भन्ने घातक सोचले हाम्रा सामु झ्याप्ले खोला र सिमलताल जस्ता भयानक घटनाहरूको पीडादायी इतिहास दोहोऱ्याउने जोखिम बढाएको छ। विगतमा नदी तर्ने क्रममा होस् या जोखिमपूर्ण यात्राका कारण, ती ठाउँहरूमा भएको मानवीय र भौतिक क्षतिबाट हामीले के पाठ सिक्यौं त?
प्रश्न गम्भीर छ, किनकि जोखिम मोल्ने प्रवृत्तिमा कमी आएको देखिँदैन। सरकारले दिएको सूचनालाई बेवास्ता गर्नु भनेको केबल व्यक्तिगत लापरबाही मात्र होइन, यो सामाजिक र नागरिक जिम्मेवारीबोधको अभाव पनि हो। आफ्नो र आफ्नो परिवारको जीवनको सुरक्षालाई सामान्यकरण गर्नु नै सबभन्दा ठूलो समस्या हो।
दुर्घटनामा परेर हुने क्षति अपूरणीय हुन्छ, जसको मूल्य 'भोगाइ' ले चुकाउन सकिँदैन। हामीले अनावश्यक यात्रा गर्दा सडक, पुल वा अन्य पूर्वाधारमा दबाब सिर्जना गर्छौं र पहिरो वा बाढी जस्ता घटनाको जोखिम बढाएर अरू सुरक्षित नागरिकलाई समेत खतरामा पार्छौं। अरूलाई परेको विपत्तिबाट सिक्नु, विज्ञहरूका चेतावनीलाई गम्भीरताका साथ लिनु र सरकारका सुरक्षा सम्बन्धी निर्देशनहरूलाई पालना गर्नु नै सुरक्षित नागरिक हुनुको पहिचान हो। मौसमी प्रणालीमा आएको गडबडीका कारण जीवन जोखिममा पार्नु कुनै बहादुरी होइन, यो शुद्ध अनागरिक प्रवृत्ति हो। आजका चुनौतीहरूलाई सामना गर्ने उत्तम उपाय नै पूर्वसतर्कता हो।
विगतका घटनाहरू केवल समाचारका शीर्षक मात्र होइनन्, ती त्रासदीपूर्ण पाठ हुन् जसले हामीलाई सिकाउँछन्। हामीले विगतका दुर्घटनाहरूबाट सिक्नुपर्छ। हामीले सरकारको सूचनालाई मान्नुपर्छ। राज्यले विषम अवस्थामा सूचना जारी गर्छ, यात्रा नियन्त्रणका लागि अपिल गर्छ। तर, जब नागरिकले त्यसलाई हावा ठान्छन्, नतिजा दुखद् हुन्छ। सडक सुरक्षा नीति र चेतावनी प्रणाली सुधार्ने जिम्मा सरकारको हो; तर व्यवहारमा सावधानी अपनाउने दायित्व नागरिकको हो। राज्यले प्रहरी र स्थानीय निकायमार्फत् जोखिमपूर्ण सडकमा ट्राफिक नियन्त्रण र व्यवसथापन गर्छ, परिवर्तित मौसमी प्रणालीको सूचना प्रसारण गर्छ, तर यात्रु र चालकले त्यस्तो सूचना पालना नगरेपछि नीति कागजमै सीमित रहन्छ। चेतावनीलाई बेवास्ता गर्दा केवल नियम तोडिँदैन, जीवन नै जोखिममा पर्छ।
दुर्घटना आफैले भोगेर सिक्ने विषय कदापि होइन। अनि दुर्घटनामा गुमाएको ज्यान माफी मागेर पाइँदैन। जीवन एक पटक मात्र पाइन्छ, त्यसैले जोखिमसँग खेल्न मिल्दैन र खेल्न हुँदैन पनि। राज्यले आफ्नो दायित्व र जिम्मेवारी पूरा गरोस्, मौसम सूचना, सडक मर्मत, नियन्त्रण र उद्धार संयन्त्रमा सुदृढ गरोस्। नागरिकले पनि आफ्नो नागरिक दायित्व र जिम्मेवारी सजगता, संयमता र चेतना सहित निभाओस्।
हामीले अरूको पीडाबाट सिक्न नचाहँदा, एक दिन त्यो पीडा हाम्रो घरभित्र प्रवेश गर्न सक्छ। दुर्घटना हुनु भनेको परीक्षामा असफल हुनुजस्तो होइन, जहाँ अर्को पटक राम्रो गर्ने मौका मिल्छ। यो त यस्तो घटना हो जहाँ 'दोस्रो मौका' नआउन पनि सक्छ। त्यसैले, हामी सबैले 'भोगेर सिकौंला' भन्ने घातक सोच त्याग्नुपर्छ। चेतना, सतर्कता र नियमको पालना नै दुर्घटनाबाट बच्ने सर्वोत्तम 'शिक्षा' हो।
त्यसैले, अब सोच बदलौं, अत्यावश्यक बाहेक अनावश्यक यात्रा नगरौं, सरकार तथा मौसमविद्को सूचना र चेतावनीलाई पूर्ण रूपमा पालना गरौं साथै आफ्नो र अरूको सुरक्षालाई समान रूपमा महत्त्व दिउँ, किनभने 'दुर्घटना आफैले भोगेर सिक्ने विषय होइन।'
(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय, अँधेरी, सिन्धुपाल्चोकका प्रमुख हुन्।)