तिम्रो जन्मदिनमा
टाढा छौ तिमी
फूलको गुच्छा पनि दिन सक्दिनँ
इच्छा त छ,
मेरो सुवासले तिम्रो सास छोइदेओस्
मेरो फूलले तिम्रो छातीमा टाँसिएर
मुटुमा तिम्रो, मेरै मायालाई चुमोस्
कहाँ पोखिन्छ र बगेर मेची
हयान नदीमा
यसैले टाढाबाट मेसेन्जरको छातीमा
यो वर्ष नि एक धर्को शुभकामना
ह्याप्पी बर्थडे टु यु।
खुसी छौ तिमी
त्यही खुसीमा खुसी छु म
अग्लिएकी छौ तिमी
त्यही उचाइमा अग्लिएको छु म
लालीगुराँस देख्दा लाग्छ
भिर नै उखेलेर तिम्रो पाउमा चढाऊँ
हाँसो सबै तिमीलाई दिऊँ
आँसु जति छ ती आफ्नै घाउमा बगाऊँ
मौसम सोधिरहन्छु कस्तो छ त्यहाँको
रुन्चे छ भन्दा
लाग्छ, इन्द्रेणीलाई गुटमुटाइ
चिठीको खाममा त्यता पठाऊँ
गर्न सक्दिनँ केही
यसैले टाढाबाट मेसेन्जरको छातीमा
यो वर्ष नि एक धर्को शुभकामना
ह्याप्पी बर्थडे टु यु।
जे होस,
जहाँ भए नि खुसी हुनु
ओठभरि मुस्कान सिउरिनु
हाँगामा झुकेर फुल्छन् फूलहरू यहाँ
एक थुँगा त कैले सिउरिन आउनु
फूलहरू कहिले पनि मर्दैन है
ती अमर स्वदेशी फूलहरूको तर्फबाट पनि
तिमीलाई
ह्याप्पी बर्थडे टु यु।