चाँदीको कारोबारमा लगानीकर्ताको आकर्षण अत्यधिक देखिएको छ।
लगानीकर्ताको अत्यधिक मागको कारणले यो वर्ष चाँदीको आयात अहिलेसम्मकै उच्च भएको भन्सार तथ्यांकले देखाएको छ।
२०८२ साउनदेखि माघसम्मको अवधि अर्थात् पछिल्लो सात महिनामा २४ अर्ब रूपैयाँ बराबरको ८ करोड २४ लाख ग्राम चाँदी आयात भएको छ।
आयात मूल्यको हिसाबले विगतमा कुनै पनि वर्ष यति धेरै चाँदीको आयात भएको छैन।
परिमाणात्मक रूपमा पनि सात महिनाको अवधिमा विगत १० वर्षमा कुनै पनि वर्ष यति धेरै चाँदीको आयात भएको छैन।
अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा ४ अर्ब रूपैयाँको २ करोड ९१ लाख ग्राम मात्रै चाँदी आयात भएको थियो। तर, पछिल्लो महिना माघमा मात्रै विभिन्न भन्सार नाकाहरूबाट करिब १० अर्ब रूपैयाँ बराबरको चाँदी आयात भएको छ।
माघ दोस्रो सातासम्म बजारमा अत्यधिक माग भएको तर बजारमा चाँदी नपाएको अवस्था थियो।
तर यसपछिका दिनमा भने ठूलो मात्रामा चाँदीको आयात भएपछि अहिले बजारमा चाँदीको अभाव नदेखिएको व्यवसायीहरू बताउँछन्।
पछिल्लो महिनामा करिब १० अर्ब रूपैयाँ बराबरको चाँदी आयात भएपछि बजारमा चाँदी पर्याप्त रूपमा उपलब्ध भएको व्यवसायीहरूको भनाइ छ।
माघ महिनाको तुलनामा चाँदीको माग कम देखिए पनि विगतका वर्षहरूसँगको दाँजोमा भने अहिले पनि अत्यधिक चाँदीको कारोबार हुने गरेको छ।
सुनको कारोबारका लागि बैंकले मात्रै आयात गर्न पाउने तथा तोकिएका व्यवसायीले मात्रै कारोबार गर्ने व्यवस्था गरिएको छ भने आम सर्वसाधारणले लगानीको रूपमा कारोबार गर्न पाउँदैनन्।
तर, चाँदीको हकमा सर्वसाधारण तहमा पनि कारोबार तथा लगानीमा रोक नलगाइएको कारण पनि चाँदीमा लगानी बढेको व्यवसायीको भनाइ छ।
चाँदीको कारोबारमा कुनै विशेष प्रतिबन्ध लगाइएको छैन।
व्यक्तिहरूले पनि चाँदी किनेर कारोबार गर्ने गरेको व्यवसायीले बताउँछन्।
आयात भने एउटै व्यवसायीले धेरै गर्न नपाउने व्यवस्था छ।
उद्योगहरूले चाँदीका गहना वा सामान बनाएर निर्यात गर्ने सर्तमा महिनाको २० लाख डलरसम्म आयात गर्न पाउने व्यवस्था छ।
सामान्य व्यापारीहरूले महिनामा ५ लाख डलरसम्म चाँदी ल्याउन पाउने प्रावधान छ।
नेपाल राष्ट्र बैंकले गत भदौमा मात्रै औद्योगिक प्रयोजनका लागि ल्याउन पाउने चाँदीको सीमा बढाएको थियो।
कच्चा पदार्थको रूपमा औद्योगिक प्रयोजनको लागि चाँदी ल्याउन एक पटकमा पाँच लाख डलर बराबरको सटही सुविधा व्यवसायीहरूले पाउने व्यवस्था गरेको छ।
यसअघि यस्तो सुविधा तीन लाख डलर थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य सुनको आयात गर्ने व्यवसायीको संख्या नै बढेको तर्क गर्छन्।
'पछिल्ला महिनाहरूमा सुनको आयात गर्ने ट्रेडर्सको संख्या नै बढेको छ। यसै कारणले महिनाकै १० अर्बसम्मको आयात भएको हो,' उनले भने।
सुनमा लगानी गर्नका लागि बढी पुँजी चाहिने र धेरैको क्षमता नपुग्ने भएकाले मानिसहरू चाँदीतिर आकर्षित (डाइभर्ट) भएका छन्।
चाँदीमा गरिएको लगानी र यसको माग दुवै बढ्दो क्रममा रहेको व्यवसायीहरूको प्रतिक्रिया छ।
व्यवसायीहरूका अनुसार चाँदीको प्रयोग भाँडाकुँडाभन्दा पनि लगानीका उद्देश्यले बढी भइरहेको छ।
पछिल्ला दिनमा चाँदीको ढिक्काको कारोबार बढ्दै गएको उनीहरूको भनाइ छ।
विश्व बजारमा सोलार, आइटी क्षेत्रमा औद्योगिक प्रयोजनका लागि चाँदीको माग उच्च छ। लगानी उपकरणका रूपमा समेत यसको माग छ।
मूल्य थप बढ्ने प्रक्षेपण भइरहँदा नेपालमा समेत यसको माग बढिरहेको हो।
ठूलो मात्रामा चाँदी किन्न आउने खरिदकर्ताहरूले मूल्य बढ्छ भन्ने व्यापक हल्ला भएकाले पनि धेरै मानिसहरूले यसलाई लगानीको रूपमा खरिद गर्न लागेको प्रतिक्रिया दिने गरेको व्यवसायीहरूको भनाइ छ।
त्यसो त पछिल्लो समय चाँदीको मूल्य धेरै बढेको छ।
पछिल्लो डेढ महिनाको अवधिमा मात्रै ५० प्रतिशत बजार मूल्य बढेको छ।
स्थानीय बजारमा पुस १ गते प्रतितोला ३८ सय ४० रूपैयाँमा कारोबार भएकोमा फागुन १५ गते ५७ सय ४० रूपैयाँमा किनबेच भएको छ।