ऊ मध्यरातमा झल्याँस्स निन्द्राबाट बिउँझिन्छ। सिरानीकै छेउमा मोबाइल हुन्छ। आँखा खुल्ने बित्तिकै हात मोबाइलतिर जान्छ अनि हतार-हतार मोबाइल अनलक गर्छ, फेसबुक खोल्छ अनि टिकटकमा स्क्रोल सुरु हुन्छ। कसैको पोस्ट आउँछ तर पढ्ने फुर्सद छैन, लाइक, कमेन्ट गर्न उसलाई हतार हुन्छ। यो भ्याइनभ्याई नै अब उसको दिनचर्या बनेको छ।
पहिले–पहिले बिहान उठेपछि भजन, ध्यान वा आफ्नो कामको योजना हुन्थ्यो। अहिले भने ऊ ओछ्यानबाटै आधा शरीर देखाएर टिकटक बनाउने अनि लाइभ बस्नेको भिडियोमा कमेन्ट लेख्न व्यस्त हुन्छ। अब त उसलाई शौचालय जान पनि मोबाइलको सहारा चाहिन्छ। केको लत बस्यो, खै! ऊ आफैँलाई थाहा छैन। तर मोबाइल बिना उसको दिन चल्दैन।
खाना खाने बेलामा पनि ऊ फुर्सदिलो हुँदैन। पहिले परिवारसँग बसेर घण्टौँ सुख–दुःख साट्ने ऊ अब चुपचाप मोबाइलमै झुमिरहन्छ। छोराछोरी आफ्नै स्क्रिनमा व्यस्त छन्। श्रीमती पनि आफ्नै संसारमा। परिवारसँगको कुराकानी हराउँदै गएको छ। घरभित्र अब यति मात्र कुरा सुनिन्छ— ‘फलानाकोमा यति लाइक आएछ, फलानाको भ्युज त हेर्नुस्, मेरो त फलोअर्स नै बढेन’ यिनै कुराले उसको चिन्ता बढेको छ।
अफिस जाने बेलामा पनि हतार–हतार, अफिसबाट घर निस्किँदा पनि हतार। गेटमा पुग्ने बेला सम्म पनि लाइक गन्न र कमेन्ट हेर्नकै हतार। उसलाई पनि हतार, उसकी उनीलाई पनि हतार, सबैतिर सबैलाई हतारै हतार।
लाग्छ, मानौँ उसको करोडौँ र अरबौँको डिल चलिरहेको छ। तर वास्तविकतामा भने— स्क्रोल, लाइक, कमेन्ट र भ्युजको हिसाबकिताबमै बितिरहेको हुन्छ। अफिस पुगेर पनि कामभन्दा पहिले वाइफाई खोजिन्छ। कामको चटारोभन्दा ठुलो चटारो लाइक, कमेन्ट र भ्युज हेर्ने हुन्छ। कसैसँग बोल्ने फुर्सद छैन। बोलिहाले पनि उत्तर दिन समय छैन। उसको चालचलन देख्दा लाग्छ— संसारकै सबैभन्दा व्यस्त मान्छे उही नै हो तर व्यस्तता चाहिँ आफ्नै जीवनको लागि होइन, अरूको स्क्रिनमा हराउन।
घर वरपरका छिमेकीसँग बोलचाल घटेको छ, साथीभाइसँग आत्मीयता हराउँदै छ। ऊ सामाजिक हुन चाहँदैन, कसैको चासो–चिन्ता उसलाई छैन। उसलाई कसैसँग बाटोमा भेट हुँदा बोल्नुपर्ला कि भन्ने चिन्ता हुन्छ तर फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउन, फलोब्याक गर्न, लाइक–कमेन्ट गर्न भने हतार हुन्छ।
वास्तविक भेटघाटबाट भाग्ने ऊ, डिजिटल भिडभाडमा चाहिँ दौडिरहन्छ। छिमेकमा कसैको निधन हुन्छ, मलामी जानेभन्दा पहिला फोटो खिच्न हतार हुन्छ। लासको वरिपरि बसेर ‘फोटो राम्रो आयो कि आएन’ सोच्ने समय हुन्छ तर मृतकप्रतिको सम्मान र संवेदना प्रकट गर्ने समय हुँदैन। मलामी जानु, पीडित परिवारलाई साथ दिनु त्यो उसलाई ‘असजिलो’ लाग्छ तर कमेन्टमा ‘रिप’ लेख्न, स्ट्याटसमा देखावटी दुःख व्यक्त गर्न हतारिन्छ। कसैले प्रगति गर्दा भित्रभित्रै जल्छ तर देखावटी ‘हार्दिक बधाई’ लेख्न उसलाई हतार हुन्छ। किनकि उसले म सामाजिक हो भनेर समाजलाई देखाउनु पर्नेछ।
आफन्तकहाँ भेटघाट गर्न जाँदा पनि दृश्य उस्तै हुन्छ। गेटबाटै पहिला वाइफाईको पासवर्ड सोध्छ। पासवर्ड टाइप गर्न नभ्याउने भएर ‘क्युआर’ सोध्छ। सन्चो–बिसन्चो सोध्ने, हाँसो ठट्टा गर्ने र आत्मीयता बाँड्ने यी सबै कुरा दोस्रो प्राथमिकतामा पर्दछन्। बल्ल भेट हुन्छ अनि ऊ क्यान्डी क्रस, लुँडो, कल ब्रेक, स्न्यापच्याट, टिकटक— जे भेट्छ त्यसमै डुब्छ। सबै आ–आफ्नो धुनमा र सबै आ–आफ्नो तालमा। एकै घर, एकै कोठा तर मन भने अलग–अलग संसारमा। साँझमा ऊ घर फर्किन्छ तर घरमा बोलचाल गर्ने माहौल हुँदैन। छोराछोरी आफ्नै स्क्रिनमा, श्रीमती टिकटक लाइभमा। खाना पाक्ने सुरसार छैन। छोराछोरीको भविष्यको चिन्ता छैन। चिन्ता छ त केवल डबल ट्यापको, कमेन्टको, सेयरको र भ्युजको। घरको जिम्मेवारीभन्दा ठुलो जिम्मेवारी जस्तो लाग्छ उसलाई डिजिटल दुनियाँमा भुल्नु।
उसले थाहा पाउँदैन कि यो बानीले उसको स्वास्थ्य पनि बिगार्दै छ। रातभरि स्क्रिन हेर्दा निद्रा उड्छ, आँखा पोल्छ, टाउको भारी हुन्छ। खानपिन अनियमित हुन्छ, मानसिक तनाव बढ्छ। आफूलाई अरूसँग तुलना गर्न थाल्दा आत्मविश्वास घट्छ- म किन त्यस्तो छैन? मेरो जीवन किन त्यति आकर्षक छैन? भन्ने प्रश्नले उसको मनलाई थिच्छ। यही तुलना, यही देखावटी संसार, यही भ्युज र लाइकको दौडले उसलाई आफ्नो वास्तविकता देख्न दिँदैन। ऊ बिस्तारै आफ्नै जीवनबाट टाढिँदै जान्छ।
विडम्बना के छ भने, सामाजिक सञ्जालमा सबै कुरा खराब मात्रै छैनन्। त्यहाँ ज्ञानगुनका भिडियोहरू छन्, प्रेरणादायी कथाहरू छन्, स्वास्थ्य सम्बन्धी टिप्सहरू छन्, व्यवसाय गर्न सिकाउने सामग्रीहरू छन्, भाषा सिक्ने, सीप सिक्ने, योग–ध्यान गर्ने लगायत हजारौँ सामग्रीहरू छन्। कसैले जीवन जिउने कला सिकाइरहेका हुन्छन्, कसैले जीवन सकारात्मक बनाउने उपायहरू सिकाइरहेका हुन्छन्, कसैले समाज सुधारका अभियानहरू चलाइरहेको हुन्छन्। तर विडम्बना उसलाई त्यो सब हेर्ने फुर्सद छैन। ज्ञानगुनका भिडियो देख्नासाथ उसका आँखा-कान थाक्छन् तर छोटा वस्त्र, छुद्र शब्द, अपशब्द र गाली भएको सामग्रीमा ऊ टक्क रोकिन्छ।
अब प्रश्न एउटा मात्रै बाँकी रहन्छ— ‘यो यात्रा कता जाँदै छ?’ यदि यो गलत यात्रा समयमै रोकिएन भने, घरभित्रको आत्मीयता पूर्ण रूपमा हराउन सक्छ। छोराछोरीले संस्कार होइन, कुसंस्कार सिक्छन्। श्रीमान्–श्रीमतीबिचको प्रेममा आँच आउँछ। समाजमा मानवीय संवेदना घट्छ र हामीले प्रविधिबाट पाएको वरदानलाई आफ्नै हातले अभिशाप बनाइदिन्छ।
त्यसैले अब परिवर्तन आवश्यक छ। परिवर्तन भनेको मोबाइल फ्याँक्नु वा इन्टरनेट बन्द गर्नु होइन। परिवर्तन भनेको प्रविधिलाई नियन्त्रणमा राख्नु हो, हाम्रो जीवनको मालिक हामी बन्नु हो। बिहान उठ्ने बित्तिकै स्क्रोल गर्ने बानी रोक्ने, खाना खाने समयमा मोबाइलबाट टाढा रहने, अनावश्यक नोटिफिकेसन बन्द गर्ने, स्क्रिन टाइम सीमित गर्ने, परिवारसँग दिनको कम्तीमा एक–दुई घण्टा ‘स्क्रिन फ्री’ समय बिताउने र घरको कुनै स्थानलाई ‘नो–फोन जोन’ घोषणा गर्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ।
छोराछोरीलाई फोनबाट टाढा राखेर खेलकुद, पढाइ, सिर्जनात्मक गतिविधि, र वास्तविक भेटघाटको स्वाद सिकाऔँ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा सामाजिक सञ्जाललाई उपयोगी बनाऔँ, ज्ञानमूलक सामग्री रोजौँ, सीप विकास गरौँ, राम्रा लेख–रचनाहरू पढौँ, आफ्नो काम तथा व्यवसायलाई प्रवर्द्धन गरौँ, सकारात्मक अभियानमा जोडिऔँ, समाजका लागि अर्थपूर्ण कुरा बाँडौँ। प्रविधि ‘टाइम पास’ को साधन मात्रै होइन, ‘लाइफ बिल्ड’ गर्ने उपकरण पनि हो यदि यसलाई सही तरिकाले चलाउन जान्यौँ भने।
अन्ततः प्रविधि आजको युगको सबैभन्दा शक्तिशाली साधन हो। यसलाई जिम्मेवारीका साथ, कुनै खास उद्देश्यका प्राप्तिका लागि सही कार्यमा मात्र प्रयोग गर्न सकियो भने यो २१ औँ शताब्दीको लागि वरदान साबित हुन्छ। ज्ञान, सीप, अवसर, व्यवसाय, र सम्बन्ध मजबुत बनाउने माध्यम बन्छ। तर यसको दुरुपयोग गर्यौँ भने यही वरदानले हाम्रो समय, स्वास्थ्य, परिवार र समाजलाई बिस्तारै खोक्रो बनाइदिन्छ।