लालीगुराँस फुल्ने सिजन भएपछि मेरो दैनिकी ठाउँमा ठाउँमा फुल्दै गरेका लालीगुराँसलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा केन्द्रित हुन्छ। कहिले ब्यानरको माध्यमबाट, कहिले कार्यक्रमको माध्यमबाट त कहिले सामाजिक सञ्जालको माध्यमबाट सचेतना दिने गर्छु।
नेपालमा लालीगुराँसको महत्त्वलाई बुझ्ने सायद कम नै छन्। जुन लालीगुराँसले विश्व मानचित्रमा नेपाललाई गौरवका साथ चिनायो। यहीँ लालीगुराँस हरेक नेपालीको घरमा हुनुपर्छ भनेर अहिले म एक घर एक लालीगुराँसको अभियान छु। एक घर एक लालीगुराँस अभियान अभियान मात्रै होइन, यो त प्रकृतिको संरक्षण सँगसँगै राष्ट्रिय गौरवको विषय पनि हो।
लालीगुराँस नेपालको राष्ट्रिय फूल हो। विक्रम संवत् २०१९ मा लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिइएको थियो। विश्वभर १ हजार १ सय ५७ प्रजातिका गुराँस पाइन्छन्। वनस्पति विभागका अनुसार ३१ प्रजाति गुराँसको पहिचान नैपालमै भएका छन्। नेपालको कुल वन क्षेत्रको करिब १० प्रतिशत भूभागमा गुराँस फेला पर्छ। विशेष गरी पूर्वदेखि सुदूरपश्चिमसम्मका ४३ भन्दा बढी जिल्लाका मध्य र उच्च पहाडी तथा हिमाली क्षेत्रमा यी ३१ प्रजातिका गुराँस पाइन्छन्।
यति मात्र होइन संसारकै सबैभन्दा अग्लो लालीगुराँस इलामको मंगलबारे रहेको गिनिजबुकमा उल्लेख छ। लालीगुराँस रोप्दा मलाई नेपाल र नेपालीपनको दायित्व बढेर आउँछ, कहिलेकाहीँ लालीगुराँस रोप्ने क्रममा सोच्छु- आज देशमा भएका हरेक नेपालीले नेपालको राष्ट्रिय गौरवलाई बुझ्न सकेको भए कस्तो अवस्था आउँथ्यो होला!
सँगै पढेका साथीहरूले फेसबुकमा लालीगुराँस रोपेको फोटो राख्दा अचम्म मान्छन् र सोध्ने गर्छन्- किन लालीगुराँस रोप्ने?
म भन्छु- लालीगुराँस केवल राष्ट्रिय फूल मात्र होइन, यो एक सभ्यता र संस्कृति संगम हो।
आजका युवापुस्ताहरूमा मौलिकता भन्ने कुरा बिस्तारै लोप हुँदै गएको अवस्था छ। हाम्रो माटो, हाम्रो संस्कृति के हो भनेर भुल्ने अवस्था बन्न सक्ने स्थिति आउन थालेको छ।
म प्राय: लालीगुराँस बोल्ने गर्छु, फुलिरहेका लालीगुराँसका भाव र त्यसले छोडिरहेको सुगन्ध अनुभूति गर्छु। लालीगुराँस फुलेको हेर्न र त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर नै म फागुन/चैत तिर यात्रामा अलि बढी निस्कन्छु, यात्राका क्रममा कतै लालीगुराँस देख्ने बित्तिकै त्यसलाई मोबाइलको क्यामेरासँगै मनको क्यामेरामा कैद गर्छु र डिलिट नहुने गरी फाइल बनाउँछु।
मेरो दैनिकी खाली ठाउँमा लालीगुराँसलाई कसरी हुर्काउने र संरक्षण गर्ने भन्ने कुराबाट सुरु हुन्छ। लालीगुराँस केवल संविधानको अनुसूचीमा सजाउने कुरा होइन, यो हरेक नेपालीको मनमा सजाउने विषय हो। जसले हाम्रो चिनारीलाई बलियो बनाउँछ।
देशको राष्ट्रिय फूललाई संरक्षण गर्न र त्यसको महत्त्वलाई उजागर गर्ने यो मेरो सानो प्रयास हो, मौलिकता, नेपालीपन र राष्ट्रिय फूल एवं राष्ट्रियताप्रतिको मायाले मलाई लालीगुराँसकर्मी बनाउने बाटोमा अग्रसर गरायो।
नेपालीलाई लालीगुराँसको नाम सुन्दा धेरैको मनमा सुन्दरता, स्वाभिमान र मौलिकताको भाव आउँछ। तर आजको पुस्तामा यसको महत्त्व बुझ्नेहरू कम छन्। जब मैले बुझ्न थालेँ कि लालीगुराँस हाम्रो राष्ट्रिय फूल मात्र होइन हाम्रो पनि पहिचान हो, त्यो दिनदेखि मैले अभियान सुरु गरेँ- ‘एक घर, एक लालीगुराँस।'