साँझको अँध्यारो पहाडमा छिट्टै झर्छ। त्यो दिन पनि अफिसको फिल्ड रिपोर्ट तयार पार्न म बिहानै मोटरसाइकल लिएर निस्किएको थिएँ। गन्तव्यभन्दा बाटो लामो थियो। कच्ची सडक, घुम्तीमाथि घुम्ती, एकातिर गहिरो खोँच र अर्कोतिर आकाश छेड्ने पहाड।
अफिसबाट फोन आयो।
‘आज फर्किन सम्भव छैन भने बाटोमै बास बस्नुहोस्। बिहान फिल्ड जानुहोला।’
मोबाइलमा नेटवर्क खोज्दा खोज्दै म एउटा अपरिचित गाउँमा पुगेँ। मसँग विकल्प थिएन। साँझ झमक्क परिसकेको थियो। बाटोमा एउटा सानो गाउँ देखेँ। करिब दस–बाह्र घर। वरिपरि बाक्लो जंगल। गाउँको बीचमा एउटा पुरानो चौतारो र त्यसको छेउमा सानो चिया पसल।
चिया पसलमा बसेका बूढाले मलाई हेरेर भने, ‘बाबु, आज यतै बस्नुहोस्। अगाडि राति बाटो हिँड्न ठीक हुँदैन।’
‘बस्ने ठाउँ पाइन्छ?’
बूढाले केहीबेर मौन भएर जंगलतिर हेरे।
‘पाइन्छ। माथि एउटा घर छ। माया भन्ने केटी बस्छे। उसले पाहुना राख्छे।’
त्यसपछि उसले थप केही भनेन।
म झोला बोकेर माथितिर लागेँ।
घर साँच्चै पुरानो थियो। ढुंगाको गारो, काठका झ्याल र बाहिर सानो आँगन। ढोका खोल्ने केटीलाई देखेर म केही क्षण रोकिएँ। उमेर मेरो आसपासकै होला।
उसले मुस्कुराउँदै भनी, ‘बाटोमा धेरै थाक्नुभयो होला।’
‘हो।’
‘आज यहीँ बस्नुस्।’
उसको आवाजमा अनौठो आत्मीयता थियो।
घरमा ऊ एक्लै थिई।
रातको खाना खाँदै गर्दा मैले सोधेँ, ‘गाउँमा अरू मान्छेहरू कहाँ छन्?’
उसले एकछिन मलाई हेरी।
‘छन् नि।’
‘तर मैले बाटोमा खासै मान्छे देखिनँ।’
उसले मुस्कुराउँदै भनिन्, ‘राति यहाँ मान्छेहरू बाहिर निस्कँदैनन्।’
त्यो रात ऊसँग धेरै कुरा भयो।
उसले आफ्नो विगत सुनाई। प्रेममा धोका खाएको, कसैलाई गुमाएको, त्यसपछि एक्लै बस्न थालेको। तर कुरा गर्दै जाँदा कहिले उसको आँखामा आँसु आउँथ्यो, कहिले ऊ हाँस्थी।
अझ अनौठो कुरा के थियो भने, ऊ एउटै मानिसको बारेमा कहिले प्रेमले बोल्थी, कहिले घृणाले।
‘उनी अझै आउँछन्,’ उसले अचानक भनिन्।
‘को?’
‘मेरो प्रेमी।’
मैले वरिपरि हेरेँ।
‘तर तपाईं त एक्लै हुनुहुन्छ।’
ऊ हाँसी।
‘तपाईंलाई देखिँदैन?’
मैले टाउको हल्लाएँ।
उसले झ्यालतिर हेरी।
‘उहाँ त्यहीँ उभिनुभएको छ।’
मेरो शरीरमा चिसो पसिना आयो। त्यहाँ कोही थिएन।
रात गहिरिँदै गयो। माया कहिले मसँग नजिक भएर कुरा गर्थी, कहिले कोठाको कुनामा कसैसँग कुरा गरिरहेको जस्तो लाग्थ्यो।
मैले सोचें—सायद मानसिक तनावका कारण उसलाई यस्तो भएको होला। तर त्यो रात म उसको नजिकै सुतेँ। त्यो निर्णय प्रेम थियो कि दया, म आफैँले छुट्याउन सकिनँ।
रातको कुनै समयमा मेरो आँखा खुल्यो। मायाले मलाई हेरिरहेकी थिई।
‘तिमी पनि जान्छौ?’ उसले सोधी।
‘कहाँ?’
‘सबैजना जान्छन्।’
‘को सबैजना?’
उसले औँलाले झ्यालतिर देखाई।
‘यो गाउँका मान्छेहरू।’
म उठेर झ्यालबाट बाहिर हेरेँ। बाहिर पूरै गाउँ उज्यालो थियो।
अचम्म! साँझ मैले देखेका खाली घरहरूमा अहिले बत्ती बलिरहेका थिए। मानिसहरू बाटोमा हिँडिरहेका थिए। बच्चाहरू खेलिरहेका थिए। चिया पसल खुलेको थियो।
मैले मायालाई सोधेँ, ‘तिमीले गाउँका मानिसहरू राति बाहिर निस्कँदैनन् भनेकी होइनौ?’
उसले डराउँदै भनिन्, ‘त्यो गाउँ होइन।’
‘के?’
‘त्यो त उनीहरू हुन्।’
त्यसपछि उसले मेरो हात समाती।
‘बाहिर नजानू।’
म डराएँ।
तर बिहान भएपछि सबै सामान्य भयो। सूर्योदयसँगै म उठेँ। माया भने घरमा थिइन।
मैले बाहिर निस्केर गाउँ हेरेँ। हिजो राति देखेका मानिसहरू कोही थिएनन्। घरहरू बन्द थिए। चिया पसलमा त्यही बूढा मात्र थिए।
‘माया कहाँ गई?’ मैले सोधेँ।
बूढाले मलाई अनौठो नजरले हेरे।
‘कुन माया?’
‘माथिको घरमा बस्ने माया।’
बूढाको अनुहार अचानक फिक्का भयो।
‘बाबु... त्यो घरमा त पाँच वर्षदेखि कोही बस्दैन।’
मेरो मुटु जोडले धड्कियो।
‘के भन्नुभएको?’
बूढाले केहीबेर चुप लागेर भने, ‘माया पाँच वर्षअघि यही गाउँमा मरेकी हो। त्यसपछि कहिलेकाहीँ बाहिरबाट आउने मान्छेहरूले उसको नाम लिन्छन्। कसैले उसलाई देख्छन् पनि।’
म हाँस्न खोजेँ।
‘हिजो राति म उसैको घरमा सुतेको छु।’
बूढाले मेरो हात समातेर माथिको घरतिर हेर्न लगाए।
घरको ढोका बन्द थियो। ढोकामा ठूलो ताला झुन्डिरहेको थियो।
म स्तब्ध भएँ। मसँग भएको चाबीले खोल्न खोजेँ। चाबी घुमेन। त्यसपछि बूढाले ढोका खोले। भित्र धुलो थियो। माकुराको जालो थियो। भुइँमा वर्षौँदेखि कसैले नटेकेको जस्तो थियो। तर कोठाको कुनामा एउटा पुरानो ऐना थियो।
ऐनामा म एक्लै देखिइरहेको थिएँ। मेरो पछाडि एउटा केटी उभिएकी थिई। मैले झट्ट पछाडि फर्किएँ। कोही थिएन।
फेरि ऐनातिर हेरेँ। माया मुस्कुराइरहेकी थिई।
त्यो दिन म गाउँबाट भागेँ। अफिस पुगेपछि सबै कुरा सुनाएँ। साथीहरू हाँसे।
‘तिमीलाई ह्यलुसिनेसन भएको होला।’
मैले पनि त्यसैलाई सत्य मानेँ। तर त्यसपछि समस्या सुरु भयो।
शहर फर्किएपछि पनि म त्यो गाउँ देख्न थालेँ। बसमा, अफिसको कम्प्युटरको स्क्रिनमा, मोबाइलको कालो स्क्रिनमा। कहिलेकाहीँ भीडको बीचमा पनि। माया पनि देखिन्थी।
एकदिन मैले अफिसको सहकर्मीलाई सोधेँ, ‘तिमीलाई त्यो गाउँ देखिन्छ?’
उसले भन्यो, ‘कुन गाउँ?’
मैले मोबाइलमा फोटो खोजेँ। तर मोबाइलमा कुनै फोटो थिएन। बरु ग्यालरीमा एउटा नयाँ फोटो थियो। त्यही गाउँको।
फोटोमा म उभिएको थिएँ। मेरो छेउमा माया थिई। र हाम्रो पछाडि गाउँका सयौँ मानिसहरू उभिएका थिए। सबैजना मलाई हेरिरहेका थिए।
त्यो रातदेखि मेरो निद्रा हरायो। मलाई लाग्न थाल्यो—सायद माया मात्र होइन, त्यो पूरा गाउँ नै मेरो भ्रम थियो। तर केही दिनपछि अफिसले फेरि त्यही क्षेत्रको फिल्ड रिपोर्ट माग्यो।
म नक्सा खोल्दै थिएँ। त्यहाँ त्यो गाउँको नाम थिएन। कुनै सरकारी नक्सामा थिएन। कुनै अनलाइन नक्सामा थिएन।
मैले बूढाले दिएको नाम सम्झिएँ।
‘भ्रमको गाउँ।’
त्यही क्षण मेरो कम्प्युटरको स्क्रिन आफैँ बन्द भयो। कालो स्क्रिनमा मेरो अनुहार देखियो। मेरो पछाडि माया उभिएकी थिई।
उसले बिस्तारै भनिन्— ‘तिमी गाउँबाट निस्केका छैनौ।’
म फर्किएँ। कोठामा कोही थिएन।
फेरि स्क्रिनमा हेरेँ। यसपटक म एक्लै थिइनँ। मेरो पछाडि त्यही गाउँ थियो। र गाउँका सबै मानिसहरू मलाई हेरिरहेका थिए।
त्यो दिन मैले पहिलोपटक बुझेँ—कहिलेकाहीँ मानिस कुनै ठाउँबाट बाहिर निस्कन्छ, तर त्यो ठाउँ उसको दिमागबाट कहिल्यै बाहिरिँदैन।
र कहिलेकाहीँ...
भ्रम एउटा मानिसको मात्र हुँदैन। पूरै गाउँ नै भ्रम हुन सक्छ। अन्ततः गाउँले मलाई होइन, मैले नै गाउँलाई जन्माएको रहेछु।
तर सबैभन्दा डरलाग्दो कुरा अझै बाँकी थियो। मायाले अन्तिमपटक मेरो कानमा भनेकी थिई— ‘अब तिमी पनि हामीजस्तै हुनेछौ।’
गाउँबाट फर्किएको दिनदेखि मेरो जीवन बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै केही भत्किएको थियो।
अफिसमा साथीहरू आफ्नो काममा व्यस्त थिए। कोही कम्प्युटरमा रिपोर्ट बनाइरहेका थिए, कोही फोनमा कुरा गरिरहेका थिए। कोही चिया पिउँदै हाँसिरहेका थिए। तर म भने बारम्बार आफ्नो कम्प्युटरको स्क्रिनमा हेर्थेँ।
कालो स्क्रिन देखिनासाथ मलाई मायाको अनुहार देखिन्थ्यो। कहिलेकाहीँ उसको मुस्कान। कहिलेकाहीँ उसका आँखा। कहिलेकाहीँ उसले ओठ नचलाइकनै मलाई भनेको जस्तो लाग्थ्यो— ‘तिमी फेरि आउँछौ।’
म आफैँलाई सम्झाउँथेँ— यो भ्रम हो।
तर मनले अर्को प्रश्न सोध्थ्यो— यदि भ्रम मात्र हो भने मैले उसको हातको न्यानोपन कसरी महसुस गरेँ?
उसको आवाज कसरी सम्झिरहेको छु?
उसले मेरो नाम बोल्दा आउने त्यो स्वर किन अझै कानमा गुञ्जिरहेको छ?
र सबैभन्दा ठूलो प्रश्न— त्यो रात वास्तवमै के भएको थियो?
एक रात म घरमा एक्लै थिएँ। बाहिर पानी परिरहेको थियो। अचानक मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो। मैले उठाएँ।
‘हेलो?’
उताबाट केही क्षण मौनता।
त्यसपछि एउटी महिलाको आवाज आयो— ‘तपाईं फर्किनुभयो?’
मेरो शरीर सिरिङ्ग भयो।
त्यो आवाज... मायाको थियो।
‘को बोल्दै हुनुहुन्छ?’
केही उत्तर आएन।
फेरि आवाज आयो— ‘तपाईंले मलाई वाचा गर्नुभएको थियो।’
‘कुन वाचा?’
‘मलाई खोज्ने।’
फोन काटियो।
मैले तुरुन्तै नम्बर हेरेँ।
नो कलर आइडी!
म केहीबेर फोन हेरेर बसिरहेँ। त्यसपछि फेरि फोन बज्यो। यसपटक स्क्रिनमा नाम देखिएको थियो- माया।
मेरो हात काँप्न थाल्यो।
फोन उठाउने कि नउठाउने?
अन्ततः उठाएँ।
‘माया?’
उताबाट हल्का हाँसो आयो।
‘आज पनि मलाई विश्वास गर्दैनौ?’
‘तिमी... जीवित छौ?’
केही क्षण मौनता।
‘तिमीले मलाई मरेको देख्यौ र?’
मैले केही उत्तर दिन सकिनँ।
उसले भनिन्— ‘जगत, मृत्यु शरीरको हुन्छ। सम्झनाको हुँदैन।’
त्यसपछि फोन काटियो।
भोलिपल्ट मैले अफिसमा त्यो क्षेत्रको पुरानो रेकर्ड खोज्न थालेँ। धेरै पुराना फाइलहरू पल्टाएँ। अन्ततः एउटा रिपोर्ट भेटियो। पाँच वर्षअघि त्यस क्षेत्रमा ठूलो पहिरो गएको रहेछ।
रिपोर्टमा एउटा गाउँ पूर्ण रूपमा पुरिएको उल्लेख थियो। मरेका मानिसहरूको सूचीमा धेरै नाम थिए। त्यसमध्ये एउटा नाम पढेर मेरो मुटु रोकिएझैँ भयो-
नाम- माया।
उमेर- २६ वर्ष।
तर त्यसभन्दा तल एउटा अर्को नाम थियो।
जगत।
उमेर- २७ वर्ष।
मेरो हातबाट फाइल झर्यो।
मैले फेरि त्यो नाम हेरेँ।
नाम उही।
उमेर लगभग उही।
तर त्यो कसरी सम्भव थियो?
म त पाँच वर्षअघि त्यहाँ गएको नै थिइनँ।
मैले आफ्नो जन्ममिति सम्झिएँ। फाइलमा लेखिएको उमेरसँग हिसाब मिलाएँ। मेरो टाउको घुम्न थाल्यो। त्यसपछि रिपोर्टको अन्तिम पानामा एउटा फोटो थियो। पहिरोभन्दा केही दिनअघि गाउँमा खिचिएको सामूहिक फोटो।
गाउँका मानिसहरू सबै उभिएका थिए। बीचमा माया। र उसको छेउमा— म।
फोटोमा उभिएको त्यो मानिस मेरो जस्तै देखिन्थ्यो। त्यही अनुहार। त्यही आँखा। त्यही शरीर।
म कुर्सीबाट उठ्नै सकिनँ। त्यो रात म फेरि निदाउन सकिनँ। आँखा बन्द गर्दा गाउँ देखिन्थ्यो। आँखा खोल्दा कोठा। फेरि आँखा बन्द गर्दा माया।
उसको आवाज— ‘तिमीलाई सबै कुरा सम्झना छैन।’
‘के सम्झना छैन?’
‘त्यो रात।’
‘कुन रात?’
‘जुन रात गाउँ पुरिएको थियो।’
म झसङ्ग भएर उठेँ।
अचानक एउटा दृश्य सम्झिएँ- पहिरो।
ठूलो आवाज।
मानिसहरूको चिच्याहट।
दौडिरहेका मानिसहरू।
मायाले मेरो हात समातेकी।
र म...
म उसलाई छोडेर भागिरहेको।
त्यसपछि ठूलो आवाज।
अँध्यारो।
र शून्यता।
मैले टाउको समाएँ।
‘होइन... यो मेरो सम्झना होइन।’
तर अर्को आवाज आयो— ‘त्यो तिम्रो सम्झना हो।’
म बिस्तारै पछाडि फर्किएँ। कोठाको ढोकामा माया उभिएकी थिई। उसको कपडा भिजेको थियो। कपालबाट पानीका थोपा झरिरहेका थिए।
‘तिमी यहाँ कसरी आयौ?’
ऊ मुस्कुराई।
‘तिमीले बोलायौ।’
‘मैले?’
‘तिमीले मलाई हरेक रात सम्झियौ।’
‘तिमी जीवित छैनौ।’
उसको मुस्कान हरायो।
‘त्यसैले त तिमी मलाई देखिरहेका छौ।’
म केही बोल्न सकिनँ। ऊ बिस्तारै मेरो नजिक आई।
‘तिमीले मलाई त्यो रात बचाउन सकेनौ।’
‘कुन रात?’
‘जुन रात तिमी पनि मरेका थियौ।’
म पछाडि हटेँ।
‘म मरेको छैन।’
उसले ऐनातिर देखाई।
‘ऐनामा हेर।’
मैले ऐनामा हेरेँ। मेरो प्रतिबिम्ब त्यहाँ थिएन। त्यहाँ त्यो गाउँ थियो। माया थिई। गाउँका मानिसहरू थिए। र ती सबै मानिसहरू मेरो दिशातिर हेरेर मुस्कुराइरहेका थिए।
त्यो क्षण मैले एउटा भयानक कुरा बुझेँ। सायद म शहर फर्किएकै थिइनँ। सायद अफिस, साथीहरू, सडक, घर—सबै मेरो दिमागले बनाएको अर्को संसार थियो। सायद म अझै त्यही गाउँमा थिएँ।
त्यही रातमा। त्यही पहिरोको बीचमा। र माया...
मायाले मलाई त्यही संसारमा रोकिरहेकी थिई।
मैले डराउँदै सोधेँ— ‘म यहाँबाट कसरी निस्कन सक्छु?’
मायाले मेरो आँखामा हेरी।
‘तिमीले पहिले स्वीकार गर्नुपर्छ।’
‘के?’
‘तिमी पनि यो गाउँकै हौ।’
त्यसपछि बाहिरबाट सयौँ मानिसहरूको आवाज आयो। सबैजना एउटै स्वरमा भन्दै थिए, ‘जगत... घर फर्क।’
मायाले मेरो हात समाती। उसको हात पहिलेभन्दा चिसो थियो। असाध्यै चिसो।
उसले बिस्तारै भनिन्— ‘तिमी पाँच वर्षदेखि घर फर्किन खोजिरहेका छौ।’
‘तर?’
‘तर तिमी कहिल्यै गाउँबाट बाहिर निस्केकै थिएनौ।’
म उसको अनुहारमा हेर्दै उभिइरहेँ। त्यो क्षण मलाई एउटा कुरा मात्र स्पष्ट भयो—म भ्रमबाट भागिरहेको थिइनँ। म आफैँ भ्रम भइसकेको थिएँ। र त्यो गाउँ मेरो अन्तिम यथार्थ थियो।