समयको गति कसरी बग्छ, पत्तै नहुने रहेछ। आजभन्दा ठिक १३ वर्षअगाडिको कुरा हो, जब म ९ वर्षको एउटा सानो अबोध बालक थिएँ। जीवन भनेको के हो, मृत्यु के हो र यसले निम्त्याउने शून्यता कस्तो हुन्छ—मलाई केही थाहा थिएन। त्यही सानो उमेरमा मैले मेरो बुवालाई गुमाएँ।
बुवासँग धेरै समय बिताउन नपाएर हो वा त्यो उमेरको अज्ञानताले गर्दा हो, मलाई बुवाको अभावको सुरुवाती दिनहरूमा त्यति ठुलो महसुस नै भएन। न त बुवाको धेरै याद नै आउँथ्यो। तर जति जति म हुर्कँदै गएँ, बुवाको काँध र छहारीको वास्तविक महत्त्व मलाई जीवनका पाइला-पाइलामा महसुस हुन थाल्यो।
बुवा बितिसकेपछि घरको सम्पूर्ण जिम्मेवारी र आर्थिक सङ्कटको ठुलो पहाड मेरी आमाको काँधमा थुप्रियो। साथीहरूका बुवाले नयाँ-नयाँ ज्यामिति बक्स, राम्रा कापी र खेलौनाहरू किनिदिँदा मेरो मन पनि लोभिन्थ्यो। म पनि अरूजस्तै बन्न र राम्रा सामान बोक्न चाहन्थेँ। तर, मैले कहिल्यै घरमा गएर मलाई यो चाहियो वा त्यो चाहियो भनेर जिद्दी वा नाटक गरिनँ।
सानै भए पनि मेरो मनले एउटा कुरा गहिरो गरी बुझेको थियो—यदि मैले जिद्दी गरे भने मेरी आमाको मन रुनेछ र घरमा मभन्दा धेरै ठुलो आर्थिक लोड र तनाव सिर्जना हुनेछ। त्यसैले मैले आफ्ना साना-साना इच्छा र रहरहरूलाई मनभित्रै दबाउन सिकेँ।
हाम्रो घरमा आर्थिक अभाव यतिसम्म थियो कि कोही पाहुना वा आफन्त आउँदा मेरो बालमनले सधैँ एउटा आशा पाल्थ्यो— ‘जाँदाजाँदै यी पाहुनाले मलाई केही खर्च दिन्छन् कि!’ धेरैजसो पाहुनाले जाने बेलामा ५ वा १० रुपैयाँ मेरो हातमा थमाइदिन्थे। अरू बालबालिकाका लागि त्यो सामान्य खुद्रा पैसा हुन सक्थ्यो, तर मेरो लागि त्यो ठुलो धन थियो।
म ती ५-१० रुपैयाँका नोट र सिक्काहरूलाई एउटा कुनामा निकै जतनका साथ जम्मा गर्थेँ। अनि त्यही पैसाले स्कुलका लागि चाहिने कलम, सिसाकलम वा इरेजर किन्ने गर्थेँ।
पढाइप्रतिको मेरो तिर्खा र अभावको जुक्ति पनि विचित्रको थियो। बाटोमा वा कसैको घरमा पुराना फालेका किताब-कापी भेटाउँदा म उत्सुक भएर त्यसका पानाहरू पल्टाउँथेँ। यदि ती पुराना कापीमा केही कोरिएका नभएका रित्ता वा सेता पानाहरू भेटिए भने मेरो खुसीको सीमा रहँदैनथ्यो। म ती सेता पानाहरूलाई होसियारीपूर्वक च्यात्थेँ अनि धागो र सियोले सिलाएर आफ्नै एउटा 'रफ बुक' बनाउँथेँ। त्यही आफैँले सिलाएको कापीमा म आफ्ना पाठहरू लेख्ने र अभ्यास गर्ने गर्थेँ।
हामीकहाँ जात्रा वा मेला लाग्दा अरू बालबालिका नयाँ र रङ्गीचङ्गी कपडा फेरेर आउँथे। तर मेरो लागि चाडबाड वा मेला जाने कपडा भनेकै मेरो स्कुलको पोसाक थियो। त्यही स्कुलको कपडा लगाएर मेला जाँदा पनि मलाई कुनै हीनताबोध भएन, बरु त्यो कपडा मलाई संसारकै सबैभन्दा प्यारो र बहुमूल्य लाग्थ्यो।
कृष्ण जन्माष्टमीको दिन हाम्रोतिर व्रत बस्ने चलन थियो। म पनि निष्ठाका साथ व्रत बस्थेँ। तर मेरो व्रतको पछाडि कुनै ठुलो आध्यात्मिक ज्ञान थिएन, केवल साँझ परेपछि खान पाइने दही र केराको लोभ थियो। बाल्यकालका ती छोटा-छोटा खुसीहरू नै मेरा लागि जीवन जिउने आधार बनेका थिए।
त्यो बेला मलाई भविष्यमा के बन्ने, के गर्ने भन्ने केही थाहा थिएन। मेरो दिमागमा यत्ति मात्र थियो—दिनभरि रमाइलो गर, जे मिल्छ त्यही खाऊ। अरूको सुख र सुविधा देखेर मलाई त्यस्तै बन्न मन नलागेको कहाँ हो र? तर म परिस्थिति र अभावका कारण त्यस्तो बन्न नसकेको मात्र थिएँ।
हुन त यो संसारमा दुःख कसलाई छैन र? सबैका आफ्नै खाले पीडा र सङ्घर्षहरू हुन्छन्। मैले पनि मानिसहरूले कसरी दुःख गर्छन् र समय पर्दा मान्छेहरू कसरी बदलिन्छन् भन्ने कुरा धेरै नजिकबाट देखेको छु। मलाई सबैभन्दा ठुलो पाठ त तब मिल्यो, जब हामीलाई साँच्चै कसैको सहयोगको आवश्यकता थियो, तर सहयोग गर्छु भन्नेहरू कोही पनि हाम्रा अगाडि उभिएनन्। आड भरोसा दिने मान्छेहरू नै आवश्यक परेका बेला पन्छिँदाको पीडा कस्तो हुन्छ, त्यो मैले र मेरी आमाले मज्जाले भोगेका छौँ।
यही तीतो अनुभवकै कारण होला, आज मेरी आमा कसैलाई सहयोग गर्नुपर्दा हिचकिचाउनु हुन्छ। आमा मलाई सधैँ सम्झाउनुहुन्छ, ‘बाबु, तँलाई र हामीलाई साँच्चै सहयोग चाहिएको बेला यिनै मान्छेहरू कहाँ थिए? कसैले हाम्रो हात समाते? जमाना अनुसार चल्न सिक्नुपर्छ। तँ जति नम्र र दयालु हुन्छस्, मान्छेहरूले त्यति नै तेरो टाउकोमा टेक्छन्। त्यसैले आफ्नो काममा ध्यान दे, अरूको मतलब नगर।’
आमाका यी शब्दहरूले मेरो मनमा कता-कता गहिरो चोट पुर्याउँछन्। कहिलेकाहीँ कसैले पैसा माग्दा वा सहयोग माग्दा आमाको यही भनाइ सम्झेर म पनि ‘छैन’ भनिदिन्छु। तर मेरो भित्री आत्माले त्यो स्वीकार गर्दैन। किनकि मैले जुन दुःख र अभाव भोगेँ, त्यो दुःखमा अरू कोही नपरोस् भन्ने मेरो चाहना हुन्छ। त्यसैले आमालाई थाहा नदिई, लुकाएर भए पनि म क्षमताले भ्याएसम्म अरूलाई सहयोग गर्छु।
एकदिन मैले आमालाई सम्झाउँदै भनेको थिएँ, ‘आमा, त्यो बेला हाम्रा दिन जस्ता थिए, अहिले उसको अवस्था पनि त्यस्तै छ। यदि त्यो कठिन समयमा कसैले आएर हामीलाई निस्वार्थ सहयोग गरेको भए हामीलाई कति धेरै खुसी मिल्थ्यो होला? म चाहन्छु कि हामीले भोगेको त्यो बेसहारापन अरू कसैले भोग्न नपुगोस्।’
मेरो यो कुरा सुनेपछि आमा केही बोल्न सक्नुभएन, केवल उहाँका आँखाबाट सरर आँसु खसे। त्यो आँसुमा विगतको पीडा र छोराप्रतिको गर्व दुवै झल्किन्थ्यो।
मेरी आमाका धेरै सपनाहरू छन्, जुन विगतको अभावले गर्दा अधुरा नै रहे। आज म ती सपनाहरूलाई पूरा गर्न आफ्नो सम्पूर्ण तागतका साथ लागिपरेको छु। जुन उमेरमा मेरा उमेरका अरू साथीहरू सहरमा घुम्दै , साथीभाइसँग मस्ती गर्दै, र भविष्यको कुनै पर्बाह नगरी हिँडिरहेका छन्—त्यही उमेरमा म भने दिनरात पसिना बगाएर कमाउन थालेको छु।
मलाई कुनै पश्चात्ताप छैन कि मैले आफ्नो युवावस्थाका रहरहरूलाई बलिदानी दिइरहेको छु। मेरो एउटै मात्र ध्येय र अठोट छ—मेरी आमाको मुहारमा सधैँका लागि मुस्कान ल्याउनु र उहाँका अधुरा सपनाहरूलाई छिटोभन्दा छिटो पूरा गर्नु। यही सङ्कल्प बोकेर म हरेक दिन अगाडि बढिरहेको छु र मलाई विश्वास छ, म एकदिन पक्कै सफल हुनेछु।