सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकहरूमा राजदूत सिफारिस गरेको छ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिए।
सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाइका लागि पठाइने छ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ।
अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्ने छन्।
प्रस्तावित राजदूतहरू—
१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — संयुक्तराज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (युके)
५. जिग्यान कुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इसराइल
७. प्राप्ति शेरचन — स्पेन
८. शारू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. संगम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचला झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया
प्रस्तावित राजदूतहरूको संक्षिप्त परिचय
१. डा. निश्चलनाथ पाण्डे — भारतका लागि प्रस्तावित राजदूत
डा. निश्चलनाथ पाण्डे नेपालको विदेश मामिला तथा परराष्ट्र नीतिका स्थापित अध्येतामध्ये एक हुन्। उनी हाल सेन्टर फर साउथ एसियन स्टडिज (CSAS) का निर्देशक छन्।
यसअघि उनले परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (Institute of Foreign Affairs) का कार्यकारी निर्देशकका रूपमा सन् १९९८ देखि २००६ सम्म काम गरेका थिए। सन् १९९६–९७ मा उनले राष्ट्रिय योजना आयोगमा पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी सल्लाहकारका रूपमा पनि काम गरेका थिए।
सन् २०१६ मा उनी नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञका र २०१७ मा सरकारले गठन गरेको उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्य थिए।
डा. पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि तथा कानुनमा स्नातक गरेका छन्। उनी भारतको बैंग्लोरस्थित नेसनल इन्स्टिच्युट अफ एड्भान्स्ड स्टडिजका मानार्थ सहायक प्राध्यापक तथा सिंगापुरको नेसनल युनिभर्सिटीअन्तर्गतको इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज (ISAS) का गैरआवासीय वरिष्ठ फेलो हुन्। यसअघि उनी त्यहाँ भिजिटिङ रिसर्च फेलो पनि थिए।
उनले जर्मनीको एसडब्ल्यूपी (बर्लिन) र बेलायतको युनिभर्सिटी अफ हलमा भिजिटिङ फेलोसिपसमेत गरेका छन्। सन् २०११ देखि २०१९ सम्म कोलम्बोस्थित रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडिजको बोर्ड सदस्य पनि रहेका थिए। उनले नेपालको परराष्ट्र नीति तथा क्षेत्रीय सहकार्यबारे तीनवटा पुस्तकसहित दर्जनभन्दा बढी सम्पादित पुस्तक तथा विभिन्न अनुसन्धानात्मक सामग्री प्रकाशित गरेका छन्। सन् २०१५ मा पाण्डेले हार्वर्ड केनेडी स्कुलको 'साउथ एसिया लिडर एक्जिक्युटिभ प्रोग्राम' पूरा गरेका थिए।
२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
डा. कल्याणराज शर्मा नेपाल–चीन सम्बन्धका विज्ञ, चीन अध्ययनकर्ता (साइनोलोजिस्ट) तथा अर्थशास्त्री हुन्। शिक्षा, संस्थागत नेतृत्व र दुईपक्षीय नीतिगत सम्बन्धका क्षेत्रमा उनले दुई दशकभन्दा बढी समयदेखि काम गर्दै आएका छन्।
उनले चीनको फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनको अनुसन्धान वैदेशिक प्रत्यक्ष लगानी, व्यापार तथा पर्यटन वित्तीयकरणमा केन्द्रित थियो।
उनी हाल फुदान विश्वविद्यालय पूर्वविद्यार्थी संघ नेपालका अध्यक्ष, सन् २०१३ देखि नेपाल–चीन मैत्री मञ्चका अध्यक्ष तथा काउन्सिल अफ साइनोलोजिस्ट्स–नेपालका अध्यक्ष छन्।
उनी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ स्कलरका रूपमा पनि कार्यरत छन्, जहाँ उनले 'डुइङ बिजनेस इन चाइना' विषयको पाठ्यक्रम तयार गरी अध्यापन गर्दै आएका छन्।
उनी हिमाली तथा सीमापार पर्यटन प्रवर्द्धन गर्ने एड्भेन्चर आउटडोर एक्सकर्सन प्रालिका प्रबन्ध निर्देशक पनि हुन्। साथै, एपेक्स फन्ड्स लिमिटेड तथा विभिन्न जलविद्युत् र ऊर्जा कम्पनीका स्वतन्त्र सञ्चालकका रूपमा काम गरिरहेका छन्।
नेपाल–चीन सम्बन्धमा उनको योगदानका लागि सन् २०१६ मा नेपालका राष्ट्रपतिबाट 'नेपाल भूषण' सम्मान र सन् २०२१ मा 'सिल्क रोड फ्रेन्डसिप अवार्ड' प्रदान गरिएको थियो। उक्त अवार्ड पाउने विश्वभरका १२ जनामध्ये उनी एक थिए। उनी नेपाल–चीन आर्थिक कूटनीति, व्यापार तथा बेल्ट एन्ड रोड सहकार्यका विषयमा नियमित रूपमा टिप्पणी तथा व्याख्यान दिँदै आएका छन्।
३. चिरनजंग थापा — अमेरिकाका लागि प्रस्तावित राजदूत
चिरनजंग थापा राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन्। सुरक्षा नीति, संकट व्यवस्थापन तथा कूटनीतिक क्षेत्रमा उनको दुई दशकको अनुभव छ।
उनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्सबाट पूर्ण शैक्षिक छात्रवृत्तिमा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्। उनले SUNY GENESEO कलेजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका हुन्।
सन् २०१७ देखि उनी अक्सफाम भन्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थामा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा कार्यरत छन्। उक्त भूमिकामा उनले १५ देशमा जोखिम व्यवस्थापन तथा संकट व्यवस्थापनसम्बन्धी कामको नेतृत्व गर्दै आएका छन्।
यसअघि सन् २०१३–२०१६ मा उनले अन्तराष्ट्रिय गैरसरकारी संस्था सेफरवर्ल्डमा एसियाका लागि क्षेत्रीय सुरक्षा तथा न्याय सल्लाहकार भएर काम गरेका थिए। त्यस्तै सन् २०१०–२०१३ मा द एसिया फाउन्डेसनमा सुरक्षा क्षेत्र तथा नागरिक–सैन्य सम्बन्ध सल्लाहकारका रूपमा पनि उनले काम गरे। त्यस क्रममा उनले नेपाल सरकारको रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना तथा नेपाल प्रहरीलाई परामर्श दिएका थिए। उनले नेपाली सेनाका लागि पहिलो नागरिक–सैन्य सम्बन्धसम्बन्धी पाठ्यक्रम तयार गरेका थिए।
थापाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि सिंगापुर र नेपालका स्थायी नियोगमा समेत काम गरेका थिए। उनी हार्वर्ड केनेडी स्कुलको 'लिडरसिप इन होमल्यान्ड सेक्युरिटी' कार्यक्रम पूरा गर्ने पहिलो गैरसैनिक नेपाली हुन्। उनले नेपाली सेनाका प्रधानसेनापतिबाट दुईपटक प्रशंसापत्र प्राप्त गरेका छन्।
सन् २०२३ मा भारतीय सेनाले आयोजना गरेको पहिलो 'चाणक्य डिफेन्स डायलग'मा नेपालका तर्फबाट मुख्य वक्ताका रूपमा उनलाई निमन्त्रणा गरिएको थियो। उनको कार्यअनुभव नेपाल, अमेरिका, बेलायत तथा दक्षिण र दक्षिणपूर्वी एसियाका विभिन्न देशमा फैलिएको छ।
४. अवकाशप्राप्त प्रधानसेनापति गौरवशमशेर जबरा — बेलायतका लागि प्रस्तावित राजदूत
अवकाशप्राप्त प्रधानसेनापति गौरवशमशेर जबरा नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका सैन्य नेता तथा रणनीतिकार हुन्। उनले सन् २०१२ देखि २०१५ सम्म नेपाली सेनाको प्रधानसेनापतिका रूपमा नेतृत्व गरेका थिए।
व्यापक शान्ति सम्झौताअन्तर्गत पूर्वमाओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने प्रक्रियाको उनले नेतृत्व गरेका थिए। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा संक्रमण गरिरहेको समयमा उनले नेपाली सेनालाई नेतृत्व दिएका थिए। उनको कार्यकालमा सेनाको 'दशवर्षे दीर्घकालीन योजना' तथा 'सैन्य सिद्धान्त २०१३' लागू गरिएको थियो।
प्रधानसेनापति रहेका बेला उनले २०७२ सालको भूकम्पपछि नेपाली सेनाले सञ्चालन गरेको उद्धार तथा राहत अभियान 'अपरेसन संकट मोचन'को नेतृत्व गरेका थिए। उक्त अभियानमा १८ वटा विदेशी सैन्य टोलीको सहभागिता समन्वय गरिएको थियो।
यसअघि उनले नेपाली सेनामा प्रधानसेनापतिका अतिरिक्त चिफ अफ जनरल स्टाफ, सैन्य सञ्चालन महानिर्देशक तथा दक्षिण लेबनानमा नेपालको UNIFIL शान्ति स्थापना बटालियनको कमान्डरलगायत जिम्मेवारी सम्हालेका थिए।
उनले पाकिस्तानको क्वैद–ए–आजम विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा एमएस्सी र त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक गरेका छन्। उनी बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट, अमेरिकाको फोर्ट लेभेनवर्थस्थित यूएस आर्मी कमान्ड एन्ड जनरल स्टाफ कलेज तथा पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीका स्नातक हुन्।
हाल उनी कन्जर्भेसन एलायन्स नेपालका अध्यक्ष छन्। उनले हार्वर्ड विश्वविद्यालय, लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज तथा पहिलो संयुक्त राष्ट्रसंघ प्रमुख रक्षा अधिकारी सम्मेलनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा वक्ताका रूपमा सहभागिता जनाएका छन्।
५. जिग्यानकुमार थापा — जापानका लागि प्रस्तावित राजदूत
जिग्यानकुमार थापाले दुई दशकभन्दा बढी समयदेखि नेपाल–जापान सम्बन्ध विस्तारमा काम गर्दै आएका छन्। उनले योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर र शुमेई विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन्।
सन् २००९ देखि उनी कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलाका विशेषज्ञका रूपमा कार्यरत छन्। सन् २००५ देखि उनले नेपाल–जापानबीच हुने उच्चस्तरीय द्विपक्षीय भ्रमण तथा संवादको समन्वय गर्दै आएका छन्। यस क्रममा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको भ्रमण तथा आदानप्रदानमा सहजीकरण गरेका छन्।
सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापान भ्रमणका क्रममा भएको नेपाल–जापान व्यावसायिक संवादको आयोजना उनले गरेका थिए। अन्तर्राष्ट्रिय सहकार्य तथा आप्रवासन व्यवस्थापनसम्बन्धी काममा उनले JICA, UNICEF तथा जापानका स्थानीय सरकारहरूसँग नजिक रहेर काम गरेका छन्।
उनी जापानको चेम्बर अफ कमर्स इन नेपालका सल्लाहकार, गैरआवासीय नेपाली संघ जापानका पूर्वमहासचिव तथा जापानस्थित नेपाली विद्यार्थी संघका पूर्वअध्यक्ष हुन्। जापानका सुकुबा, आओयामा गाकुइन तथा निहोन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयमा सहायक प्राध्यापकका रूपमा पनि अध्यापन गर्छन्। उनी जापानी भाषामा JLPT स्तर १ मा दक्ष छन् र नेपाल–जापान सम्बन्ध तथा तुलनात्मक सार्वजनिक प्रशासनबारे विभिन्न सामग्री प्रकाशित गरेका छन्।
६. सुरेशकुमार कर्ण — इसराइलका लागि प्रस्तावित राजदूत
सुरेशकुमार कर्ण सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिका क्षेत्रमा तीन दशकभन्दा बढी कार्यकारी अनुभव भएका व्यक्ति हुन्।
कुमारी बैंकमा सन् २००३ देखि २०१५ सम्म प्रमुख सूचना तथा मार्केटिङ अधिकृतका रूपमा काम गर्दा उनले 'कुमारी मोबाइल क्यास' को अवधारणा विकास गरी सञ्चालनमा ल्याएका थिए। यो नेपालकै पहिलो मोबाइल वालेट भएको दाबी गरिएको छ। यसका लागि उनले दक्षिण एसियाको MBillionth Award समेत प्राप्त गरेका थिए।
त्यसपछि सन् २०१५ देखि २०१९ सम्म उनले नेपाल बैंक लिमिटेडमा प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गर्दै बैंकलाई एकिकृत कोर बैंकिङ प्रणालीमा रूपान्तरण गर्ने प्रक्रियाको नेतृत्व गरेका थिए।
सन् २०२४ देखि उनी Kumo Labs प्रालिका अध्यक्ष छन्। यो FDI तथा Technology Transfer Act 2019 अन्तर्गत जापानी लगानीमा स्थापना भएको नेपालको पहिलो प्रत्यक्ष विदेशी लगानीमा आधारित प्रविधि उद्यम भएको उल्लेख गरिएको छ।
उनले कम्प्युटर एसोसिएसन अफ नेपाल (CAN Federation) को अध्यक्षका रूपमा लगातार दुई कार्यकाल काम गरेका छन्।
उनी नेपाल सरकारको आइटी काउन्सिल तथा सूचना प्रविधिसम्बन्धी उच्चस्तरीय आयोगका पदेन सदस्य पनि रहेका थिए। नेपालमा पहिलो राष्ट्रिय सूचना प्रविधि नीति (२०००) निर्माणमा समेत उनको भूमिका थियो।
उनले बेइजिङ नर्मल युनिभर्सिटीको बेल्ट एन्ड रोड स्कुलबाट अन्तर्राष्ट्रिय व्यापार, लगानी तथा पूर्वाधार अर्थशास्त्रमा एमबीए गरेका छन्। उनी इन्स्टिच्युसन अफ इन्जिनियर्स (इन्डिया) का फेलो पनि हुन्।
उनले सन् २०१९ मा राष्ट्रिय आईसीटी उत्कृष्टता पुरस्कार प्राप्त गरेका थिए। उनको अन्तर्राष्ट्रिय अनुभव ASOCIO सम्मेलन, VISA का विश्वव्यापी बैठक तथा कोरिया इन्फर्मेसन सेक्युरिटी एजेन्सीसँगको सूचना सुरक्षा तालिमसम्म फैलिएको छ। उनले आफ्नो करियर नेपाल प्रहरीमा निरीक्षकका रूपमा सुरू गरेका थिए र राष्ट्रिय प्रहरी प्रशिक्षणको आफ्नो ब्याचमा पहिलो भएका थिए।
७. प्राप्ति शेरचन — स्पेनका लागि प्रस्तावित राजदूत
प्राप्ति शेरचन दक्षिण एसिया, दक्षिणपूर्वी एसिया तथा अफ्रिकामा १५ वर्षको अन्तर्राष्ट्रिय विकास तथा साझेदारीसम्बन्धी अनुभव भएकी नेपाली विशेषज्ञ हुन्।
सन् २०१५ देखि उनी विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (IFC) मा 'जेन्डर सोलुसन्स एन्ड इम्प्याक्ट'सम्बन्धी अपरेसन्स अफिसरका रूपमा कार्यरत छन्। उनले IFC भारतको लैंगिक कार्यक्रमको नेतृत्व गर्दै आएकी छन्।
साथै, IFC को 'वुमेन्स इन्स्योरेन्स प्रोग्राम'की एसिया प्रमुखका रूपमा पनि काम गरेकी छन्। उनको नेतृत्वमा एसिया र अफ्रिकामा १३ लाखभन्दा बढी महिलासम्म समावेशी वित्तीय साझेदारी पुगेको र ९ हजार ५०० रोजगारीमा सहयोग पुगेको उल्लेख छ।
उनले नेपाल, बंगलादेश र श्रीलंकालाई समेटेर व्यावसायिक बैंकिङसम्बन्धी बहुदेशीय अनुसन्धानको नेतृत्व गरेकी छन्। साथै, ASEAN Insurance Council सँगको १० देशीय क्षेत्रीय अध्ययनको नेतृत्व गरेकी थिइन्, जसले लैंगिक आधारमा छुट्टाछुट्टै कर्मचारी तथ्यांक सार्वजनिक गर्ने व्यवस्था अनिवार्य बनाउन योगदान गरेको थियो।
उनले ब्रान्डाइस विश्वविद्यालयको हेलर स्कुलबाट दिगो अन्तर्राष्ट्रिय विकासमा एमबीए तथा नेसनल युनिभर्सिटी अफ सिंगापुरबाट समाजशास्त्रमा स्नातक गरेकी छन्। उनले विश्व बैंक समूह–आईएमएफको स्प्रिङ मिटिङलगायत उच्चस्तरीय अन्तर्राष्ट्रिय मञ्चमा IFC को प्रतिनिधित्व गरेकी छन्।
उनी Women Lead Nepal को अमेरिकी बोर्डकी सहअध्यक्ष तथा IFC Millennial+ Resource Group की सहसंस्थापक हुन्।
८. शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
शारू जोशी श्रम आप्रवासन व्यवस्थापन, लैंगिक समानता तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी वरिष्ठ नीति विज्ञ हुन्। नेपालको श्रम आप्रवासनसम्बन्धी आधारभूत नीतिगत संरचना निर्माणमा उनको महत्वपूर्ण योगदान रहेको उल्लेख छ। उनले वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६५ तथा वैदेशिक रोजगार नीति, २०६९ निर्माणमा योगदान गरेकी थिइन्।
उनले संयुक्त राष्ट्रसंघीय संस्था UN Women मा सन् २००२ देखि २०१२ सम्म दक्षिण एसियाका लागि क्षेत्रीय कार्यक्रम व्यवस्थापक तथा श्रम कूटनीति प्रमुखका रूपमा काम गरिन्। त्यसपछि सन् २०१२ देखि २०१६ सम्म UN Women नेपालमा कार्यक्रम विशेषज्ञ तथा महिला आर्थिक सशक्तीकरण इकाइ प्रमुख र सन् २०१६ देखि २०१८ सम्म रणनीतिक साझेदारी विशेषज्ञका रूपमा कार्यरत रहिन्।
सन् २०१८ देखि उनी स्वतन्त्र वरिष्ठ नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध परामर्शदाताका रूपमा काम गर्दै आएकी छन्। उनले UN Women का लागि राष्ट्रिय परामर्शदाता, विश्व बैंकका लागि कोभिडपछिको आप्रवासी पुनःएकीकरणसम्बन्धी सल्लाहकारका रूपमा काम गरेकी छन्। साथै, ग्लोबल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट तथा COP28 मा नेपालको प्रतिनिधित्व गरेकी छन्।
सन् २०२४ देखि नेपाल पोलिसी इन्स्टिच्युटको कार्यकारी बोर्ड सदस्य रहेकी उनी विदेशमा रहेका नेपाली श्रमिकका लागि विदेशबाटै मतदान गर्ने अधिकारको पक्षमा राष्ट्रिय तहमा पैरवी गर्दै आएकी छन्।
उनले द हेगस्थित इन्स्टिच्युट अफ सोसल स्टडिजबाट महिला तथा विकासमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। उनी 'एउटा सिङ्को भाँची हेर्दा' पुस्तककी लेखिका हुन्। श्रम आप्रवासन तथा लैंगिक विषयमा उनका ६० भन्दा बढी लेख प्रकाशित छन्।
९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
डा. पद्माक्षी राणा दिगो विकास, समावेशी नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएकी विकास तथा उद्यमशीलता विशेषज्ञ हुन्। उनको कार्यअनुभव नेपालसहित एसिया र युरोपसम्म फैलिएको छ।
सन् २०२२ देखि उनी Impact Hub Kathmandu की कार्यकारी निर्देशक तथा सहसंस्थापकका रूपमा कार्यरत छन्। उनले नेपाललाई Impact Hub Global Association तथा यसको एसिया–प्रशान्त क्षेत्रीय क्लस्टरमा प्रतिनिधित्व गर्दै आएकी छन्। उनले UK Aid/FCDO, युरोपेली संघ, UNDP, UNICEF, UNESCAP, विश्व बैंक तथा Royal Academy of Engineering लगायत संस्थासँग साझेदारी निर्माण गरेकी छन्।
उनले क्याम्ब्रिज विश्वविद्यालयको Institute for Manufacturing बाट विद्यावारिधि गरेकी छन्। उनको अनुसन्धान खाद्य उत्पादन क्षेत्रमा कर्पोरेट सामाजिक उत्तरदायित्वमा केन्द्रित थियो। उनले क्याम्ब्रिजबाटै वातावरण, समाज तथा विकासमा एमफिल र थाइल्यान्डको Webster University बाट एमबिए गरेकी छन्।
Impact Hub मा आबद्ध हुनुअघि उनले क्याम्ब्रिज विश्वविद्यालयमा अनुसन्धान तथा अध्यापन गरेकी थिइन्। साथै, सिंगापुरस्थित दिगोपन तथा नवप्रवर्तनसम्बन्धी परामर्श संस्था The Inceptery की सहसंस्थापक थिइन्।
दिगो व्यवसाय मोडल तथा हिन्दुकुश हिमालय क्षेत्रमा विपद्पछिको पर्यटन पुनरूत्थानबारे उनका अनुसन्धानात्मक लेख प्रकाशित छन्। उनी अंग्रेजी र नेपाली भाषामा दक्ष छन्।
१०. चुडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
चुडामणि खरेल शिक्षा तथा सार्वजनिक प्रशासनका क्षेत्रमा काम गरेका व्यक्ति हुन्। उनले मानविकी, अंग्रेजी, राजनीतिशास्त्र तथा कानुनमा शैक्षिक योग्यता हासिल गरेका छन्।
उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक र स्नातकोत्तर, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्।
उनी हाल नेपाल योग खेलकुद संघका महासचिव छन्। यसअघि उनले नेपाल स्केटिङ तथा स्केटबोर्ड संघका महासचिव र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सातौं राष्ट्रिय खेलकुदको उपसमितिका सदस्य–सचिवका रूपमा काम गरेका थिए। यसले राष्ट्रिय खेलकुद प्रशासनमा उनको लामो नेतृत्व अनुभव देखाउँछ।
उनले कसमोपोलिटन कलेज तथा जोन बाउर कलेजमा अंग्रेजी विषयका लेक्चररका रूपमा पनि केही वर्ष अध्यापन गरेका थिए। उनका विभिन्न भूमिकामा प्रशासनिक व्यवस्थापन, कानुनी दस्तावेज तयार गर्ने तथा संस्थागत संगठन सञ्चालनसम्बन्धी अनुभव रहेको उल्लेख गरिएको छ।
११. प्रा. डा. संगम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
प्राध्यापक संगम श्रेष्ठ अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता तथा जल सुरक्षा कूटनीतिका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका अन्तर्राष्ट्रिय स्तरका प्राज्ञ तथा नीति विशेषज्ञ हुन्।
उनी हाल थाइल्यान्डस्थित Asian Institute of Technology (AIT) मा प्राध्यापक तथा स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका पूर्वडिन हुन्। साथै, Global Water & Sanitation Center का संस्थापक सहनिर्देशक हुन्।
उनले Asian Development Bank, World Bank, Gates Foundation, संयुक्त राष्ट्रसंघीय निकाय, युरोपेली संघ, FAO तथा UNESCO लगायतका संस्थासँग सहकार्य गर्दै करोडौं डलर बराबरका अन्तर्राष्ट्रिय अनुदान तथा साझेदारी परिचालन गरेका छन्। उनले ३० भन्दा बढी देशका सरकार तथा कूटनीतिक नियोगसँग काम गरेका छन्। बंगलादेशको Department of Public Health Engineering तथा त्यहाँको कूटनीतिक समुदायसँग पनि उनको निरन्तर सहकार्य रहेको उल्लेख छ।
उनले जापानको University of Yamanashi बाट Integrated River Basin Management मा विद्यावारिधि गरेका छन्। सहकर्मीसँग मिलेर उनले २०० भन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित गरेका छन्। उनको h-index ५२ रहेको उल्लेख छ। ScholarGPS ले जलवायु परिवर्तन तथा नदी अध्ययनको क्षेत्रमा उनलाई विश्वभर नवौं स्थानमा राखेको र उनी स्ट्यानफोर्ड विश्वविद्यालयको 'Top 2% Scientists' सूचीमा पटकपटक परेको उल्लेख छ।
उनी बेइजिङ नर्मल विश्वविद्यालय तथा नेसनल युनिभर्सिटी अफ लाओसमा भिजिटिङ प्रोफेसरका रूपमा पनि कार्यरत छन्। उनले एसियाका विभिन्न देशका २० भन्दा बढी पीएचडी तथा १५० भन्दा बढी स्नातकोत्तर विद्यार्थीको अनुसन्धानमा मार्गदर्शन गरेका छन्।
१२. डा. मञ्चला झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
डा. मञ्चला झा सुशासन तथा सार्वजनिक नीतिकी विशेषज्ञ हुन्। उनले सन् २०१५ देखि २०१९ सम्म नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्तका रूपमा काम गरेकी थिइन्।
सत्य, न्याय तथा मेलमिलापसम्बन्धी राष्ट्रिय प्रयासमा योगदान दिएकी उनले संक्रमणकालीन न्यायसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा आयोगको प्रतिनिधित्व गरेकी छन्। श्रीलंकामा नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगको अनुभवबारे पनि उनले प्रस्तुति दिएकी थिइन्।
उनी त्रिभुवन विश्वविद्यालयमा सहायक प्राध्यापक छन्। सन् २०२१ देखि २०२४ सम्म उनले विश्वविद्यालयको सुशासन तथा भ्रष्टाचारविरोधी विषयको स्नातकोत्तर कार्यक्रममा समेत अध्यापन गरेकी थिइन्।
उनले भारतको बीआर अम्बेडकर विश्वविद्यालयबाट हिन्दी साहित्यमा विद्यावारिधि गरेकी छन्। साथै, त्रिभुवन विश्वविद्यालयबाट परराष्ट्र नीति तथा कूटनीतिमा विशेषज्ञतासहित राजनीतिशास्त्र र हिन्दी साहित्यमा स्नातकोत्तर गरेकी छन्।
सन् २०११ देखि २०२० सम्म उनी संयुक्त राष्ट्रसंघको Istanbul Programme of Action को राष्ट्रिय कार्यान्वयन तथा अनुगमन समितिमा आमन्त्रित विज्ञ सदस्य थिइन्। उनले UNSCR 1325 र 1820 अन्तर्गत महिला, शान्ति तथा सुरक्षाका विषयमा सरकारी तथा नागरिक समाजका सरोकारवालालाई तालिमसमेत दिएकी छन्।
उनी नेपालको राजनीति तथा सुशासनबारे नियमित निर्वाचन पर्यवेक्षक तथा सञ्चारमाध्यममा टिप्पणीकारका रूपमा पनि परिचित छन्। सन् १९९६ मा तत्कालीन राजा वीरेन्द्रबाट महेन्द्र विद्याभूषण प्राप्त गरेकी छन्।
१३. गिरीबहादुर सुनार — साउदी अरबका लागि प्रस्तावित राजदूत
गिरीबहादुर सुनार समाजशास्त्री तथा विकाससम्बन्धी विज्ञ हुन्। अन्तर्राष्ट्रिय विकास, नीतिगत परामर्श तथा बहुपक्षीय सरोकारवालाबीचको समन्वयका क्षेत्रमा उनको २५ वर्षभन्दा बढी अनुभव छ।
उनको विशेषज्ञता सामाजिक सुरक्षा, लैंगिक समानता तथा सामाजिक समावेशीकरण (GESI), समुदायमा आधारित जलवायु अनुकूलन तथा गुनासो व्यवस्थापन संयन्त्रमा केन्द्रित छ। विश्व बैंक तथा एसियाली विकास बैंकका ठूला पूर्वाधार तथा जल क्षेत्रका कार्यक्रमहरूमा उनले यी क्षेत्रमा काम गरेका छन्।
उनी त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रमा विद्यावारिधि गरिरहेका शोधार्थी हुन्। उनले सन् २०१९ मा एमफिल गरेका छन्। जर्मनीको Scholars' Press बाट 'Empowering Women Through Self-Defense' पुस्तक प्रकाशित गरेका छन्। उनी हाल Social, Environment and Rural Development Nepal (SERD-Nepal) का सचिव छन्।