गुड फ्राइडे सिनेमा
एउटा युवकको हत्या हुन्छ। घटनास्थल नजिकै खिचिएको एउटा तस्बिर प्रहरीको हात लाग्छ।
तस्बिरमा देखिएको व्यक्ति हत्याको अनुसन्धानका लागि महत्वपूर्ण हुन सक्छ। तर प्रहरीको अनुसन्धान त्यति बेला जटिल बन्छ, जब उस्तै देखिने दुई व्यक्ति फेला पर्छन्।
यही आधारमा बनेको तमिल क्राइम थ्रिलर फिल्म हो 'थडम'।
सन् २०१९ मा रिलिज भएको फिल्म मघिझ थिरूमेनीले लेखन तथा निर्देशन गरेका हुन्। अरूण विजयले फिल्ममा इजिल र कभिनको दोहोरो भूमिका निर्वाह गरेका छन्।
इजिल आइआइटी मद्रासबाट पढेका सिभिल इन्जिनियर हुन्। उनी जस्तै देखिने कभिन भने जुवा खेल्छन् र मानिसहरूलाई छलेर पैसा जुटाउँछन्। सुरूली नामका युवक कभिनसँगै हिँड्छन्।
इजिल दीपिकालाई प्रेम गर्छन्। अर्कोतिर अनन्थी नामकी युवती कभिनलाई मन पराउँछिन्। कभिनले आफ्ना साथी मुरलीको ऋण तिर्न अनन्थीसँग झूट बोलेर पैसा निकाल्ने प्रयास गर्छन्। अनन्थीले उनको वास्तविकता थाहा पाए पनि उनलाई सहयोग गर्छिन्।
त्यसै रात आकाश नामका एक युवकको हत्या हुन्छ। प्रहरीले अनुसन्धान सुरू गर्छ। अनुसन्धानका क्रममा नजिकै रहेका एक जोडीले खिचेको सेल्फी भेटिन्छ, जसमा इजिल वा कभिनमध्ये एक जना देखिएका हुन्छन्।
अब प्रहरीसामु समस्या छ— तस्बिरमा देखिएको व्यक्ति इजिल हो कि कभिन?
रोचक कुरा के छ भने अनुसन्धानमा ल्याइँदासम्म इजिल र कभिनलाई एकअर्काको अस्तित्वबारे थाहा हुँदैन।
इन्स्पेक्टर गोपालकृष्णन र सब–इन्स्पेक्टर मलरविझीले छुट्टाछुट्टै रूपमा उनीहरूमाथि अनुसन्धान अघि बढाउँछन्। गोपालकृष्णनको इजिलसँग पुरानो व्यक्तिगत दुश्मनी पनि हुन्छ। अर्कोतिर मलरविझी कभिनसँग सोधपुछ गर्दै हत्याको रात भएका घटनाहरू जोड्ने प्रयास गर्छिन्।
अनुसन्धान अघि बढ्दै जाँदा घटनास्थलबाट भेटिएको प्रमाण, तस्बिर र फरेन्सिक विवरणले प्रहरीलाई थप अन्योलमा पार्छ। आकाशको घरमा भेटिएको एउटा कपालको नमूनासमेत अनुसन्धानको महत्वपूर्ण हिस्सा बन्छ।
यसैबीच इजिल र कभिनको विगत पनि खुल्दै जान्छ। उनीहरूबीचको समानता केवल अनुहारमा मात्र सीमित छैन भन्ने संकेतहरू देखिन थाल्छन्। उनीहरूको पारिवारिक विगत र छुट्टिएर हुर्किनुको कथा पनि हत्याको अनुसन्धानसँग जोडिँदै जान्छ।
फिल्मको कथा यहीँबाट थप पेचिलो बन्छ। एउटै अनुहार भएका दुई व्यक्तिमध्ये हत्याको रात वास्तवमा को कहाँ थियो भन्ने प्रश्न अनुसन्धानको केन्द्रमा रहन्छ।
तस्बिरमा देखिएको मान्छे को हो? हत्याको रात ऊ कहाँ थियो? र, प्रहरीले खोजिरहेको व्यक्ति वास्तवमै हत्यारा हो?
यो सबै जान्न फिल्म नै हेर्नुहोला।
हेर्नुहोस् युट्युबमा