सहरको कुनै पनि चिया पसलमा पस्नुहोस् र वरिपरि नियाल्नुहोस्। हरेक टेबलमा मान्छे छन्, तर हातमा किताब भएको एउटै जना भेटिन्न। सबैका आँखा मोबाइलको स्क्रिनमा टाँसिएका छन्, औँला निरन्तर स्क्रोल भइरहेका छन्। यो दृश्य अब कुनै एक सहरको मात्र होइन— सिंगो समाजकै पहिचान बनिसकेको छ।
हामी पढाइलाई प्रायः आँखाले अक्षर चिन्ने साधारण प्रक्रियाका रूपमा बुझ्छौँ। तर विज्ञानले भन्छ, कुरा त्योभन्दा धेरै गहिरो छ। जब मान्छे पुस्तकसँग जोडिन्छ, त्यसमा उसका सबै ज्ञानेन्द्रिय सामेल हुन्छन्— आँखाले शब्द देख्छ, कानले ध्वनि सुन्छ, ओठ-जिब्रोले उच्चारण गर्छ, औँलाले पानाको बनोट छुन्छ, नाकले पुरानो पानाको गन्ध सुँघ्छ र अन्तमा मस्तिष्कले यी सबैलाई अर्थ, ज्ञान, कल्पना र सम्झनामा बदल्छ।
यसैले पढाइ केवल सूचना बटुल्ने काम होइन, यो आफैँमा एउटा पूर्ण जीवन-अनुभव हो। यही अनुभवले मानिसलाई चेतनाको यात्रामा अघि बढाउँछ। पढाइले दिमाग सक्रिय बनाउँछ, दिमागले कल्पनाशीलता जगाउँछ, कल्पनाले समानुभूति बढाउँछ र समानुभूतिले समालोचनात्मक सोच विकास गर्छ— जसले अन्ततः राम्रो समाज बनाउन मद्दत गर्छ। पुस्तक, आँखा, मस्तिष्क र विचारको यो शृंखलाले एउटा मान्छे मात्र होइन, सिंगो समाजलाई नै बदल्न सक्ने शक्ति राख्छ।
व्यस्त जिन्दगीमा पनि किन पढ्ने?
आजको दौडधुपपूर्ण जीवनशैलीमा धेरैले पढ्ने बानीलाई विलासिता ठान्छन्। तर सत्य के हो भने, पढ्नुको उमेर हुँदैन— यो व्यक्तित्व निर्माणको अविरल यात्रा हो। कामको चापबिच पनि पढाइले विश्लेषणात्मक क्षमता र धैर्य बढाउँछ, सोचमा गहिराइ ल्याउँछ। फरक-फरक दृष्टिकोण र अनुभवबाट सिकेर व्यवहारिक जीवनमा सही निर्णय लिन सजिलो हुन्छ र नेतृत्व, सञ्चार जस्ता पेसागत सीप पनि किताबबाटै बलियो बन्छ।
नियमित पाठकहरूमा केही साझा गुण भेटिन्छन्— अरूको दृष्टिकोण बुझ्ने गहिरो समानुभूति, कुनै विषयमा एकाग्र हुने क्षमता, आफ्नै धारणालाई पनि जाँच्ने आलोचनात्मक चिन्तन र नयाँ कुरा जान्ने अतृप्त भोक। स्ट्यानफोर्ड विश्वविद्यालयको एक अनुसन्धानले त गहिरिएर पढ्दा मस्तिष्कका जटिल स्नायु-सञ्जाल नै सक्रिय हुने देखाएको छ।
नेपाली सन्दर्भमा एउटा रोचक तथ्य छ— अंग्रेजी (ल्याटिन लिपि) र नेपाली (देवनागरी) सँगसँगै पढ्दा बालबालिकाको मस्तिष्क विकास झन् छिटो हुन्छ। देवनागरी ध्वन्यात्मक लिपि हो, जे बोलिन्छ त्यही लेखिन्छ। दुई फरक बनावटका लिपि पढ्दा दिमागमा संज्ञानात्मक लचकता बढ्छ, जसले समस्या समाधान गर्ने क्षमता उकास्छ।
मोबाइलसँगको प्रतिस्पर्धा
आज पठन संस्कृतिको सबैभन्दा ठुलो प्रतिद्वन्द्वी बनेको छ— मोबाइल र सामाजिक सञ्जाल। यसको वैज्ञानिक कारण पनि छ। मोबाइल चलाउँदा दिमागमा छिटै 'डोपामाइन' निस्कन्छ, जसले बारम्बार स्क्रिन हेर्ने लत बसाउँछ। किताब पढ्दा भने डोपामाइन ढिलो तर स्थिर गतिमा निस्कन्छ, जसले दिमागलाई तत्कालको उत्तेजनाभन्दा टाढा राखेर गहिरो एकाग्रताको बानी बसाल्छ। यसैले किताब पढ्ने बानी भनेको ज्ञान थुपार्ने मात्र होइन, दिमागलाई स्वस्थ र स्थिर राख्ने उपाय पनि हो।
जब पढाइले संस्कृति नै बलियो बनाउँछ
पढाइको प्रभाव व्यक्तिमा मात्र सीमित हुँदैन, यसले सिंगो सामाजिक र सांस्कृतिक पहिचानलाई पनि सुदृढ बनाउँछ। आफ्नै भाषा-संस्कृतिका किताब पढ्दा मान्छेमा आत्मगौरव र पहिचानको भाव बढ्छ। नेपाली समाजमै यसका थुप्रै उदाहरण छन्।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको विश्व साहित्यको गहन अध्ययनले नै उनको राजनीतिक दृष्टिकोणलाई परिपक्व र दार्शनिक बनाएको थियो। 'जनताको बहुदलीय जनवाद'का प्रवर्तक स्वर्गीय मदन भण्डारी पनि गहिरो अध्ययन र असाधारण तार्किक क्षमता भएका नेता थिए।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले संसारभरका उत्कृष्ट साहित्य र दर्शन पढेरै आफ्नो सिर्जनालाई नेपाली माटोमा ढालेका थिए— पढाइकै त्यो साधनाले उनलाई नेपाली साहित्यमा अमर बनायो। त्यसै गरी, नेपाली भाषा-कला र लोकसंस्कृतिको संरक्षणमा योगदानका लागि तीन पटक मदन पुरस्कार पाउने एक मात्र व्यक्ति वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको सफलताको जग पनि गहन अध्ययन नै थियो।
विश्वमै हेर्ने हो भने पनि उस्तै कथा भेटिन्छ। ओशोको निजी पुस्तकालय 'लाओत्सु लाइब्रेरी'मा झन्डै ८० हजारदेखि डेढ लाखसम्म दुर्लभ किताब थिए। उनी भन्थे, ‘जबसम्म तपाईं महान् विचारकहरूको सोचसँग परिचित हुनुहुन्न, तपाईंको आफ्नै सोच पनि मौलिक हुन सक्दैन।’
अर्कोतर्फ, एलन मस्कले बाल्यकालमा दिनको १० घण्टा पढ्थे र ९ वर्षकै उमेरमा 'इन्साइक्लोपिडिया ब्रिटानिका' नै सिद्ध्याइसकेका थिए। औपचारिक एरोस्पेस डिग्री नलिईकनै जटिल रकेट-प्रविधि सिकेका मस्कलाई कसरी सिक्नुभयो भनेर सोध्दा उनको छोटो जवाफ थियो— ‘मैले किताब पढेँ।’
यी उदाहरणले प्रस्ट पार्छन्— तथ्यमा आधारित निर्णय, तार्किक भाषण र समाजका फरक-फरक तप्काको मन बुझ्ने समानुभूति, यी सबै गहन अध्ययनबाटै आउँछन्। सतही ज्ञान भएका नेताभन्दा प्रशस्त पढ्ने नेताहरूले नै तथ्यसहित प्रभावकारी भाषण दिन सक्छन्।
स्वास्थ्य र लामो उमेरसँगको तार
पढाइको फाइदा मानसिक विकासमा मात्र सीमित छैन, यसले शारीरिक स्वास्थ्यमा पनि प्रत्यक्ष असर पार्छ। किताबका जटिल पात्र, कथाको तानाबाना र विवरण सम्झने प्रयासले दिमागको स्वाभाविक कसरत गराउँछ, जसले एकाग्रता र सिकाइ क्षमता दुवै बढाउँछ। दिमाग अध्ययनमार्फत निरन्तर सक्रिय राख्दा मानसिक क्षमता ढिलो खिइन्छ र अल्जाइमर तथा डिमेन्सिया जस्ता रोगको जोखिम पनि घट्छ।
येल विश्वविद्यालयले ३ हजार ६३५ जनामा गरेको एक लामो अध्ययनले देखाएअनुसार, दिनको कम्तीमा ३० मिनेट नियमित किताब पढ्नेहरूको आयु नपढ्नेहरूभन्दा औसतमा दुई वर्षले बढी पाइयो। ससेक्स विश्वविद्यालयको अनुसन्धानले त झनै रोचक कुरा भन्छ— जम्मा छ मिनेट शान्तसँग किताब पढ्दा तनावको स्तर ६८ प्रतिशतसम्म घट्छ। यी तथ्यांकले पढाइलाई कुनै समयको सटर होइन, जीवनशैलीकै अंगका रूपमा अपनाउनुपर्ने कुरा पुष्टि गर्छन्।
घोक्ने र कण्ठ गर्ने पुरानो अभ्यासलाई पछि पारेर जिज्ञासा र गहिरो बुझाइको बाटो लिनु नै पठन संस्कृतिको वास्तविक जित हो।
पढ्ने बानी कसरी फर्काउने?
अब प्रश्न आउँछ— यति धेरै फाइदा भएको पढ्ने बानीलाई कसरी बचाउने? धेरैले 'पढ्ने बानी छुटिसक्यो' भन्छन्, तर यो फेरि निर्माण गर्न सकिने कुरा हो। सुरुवात सानै राख्नुपर्छ— दिनको १०–१५ पाना वा जम्मा १५ मिनेट पढेरै थाल्न सकिन्छ किनकि लक्ष्य पानाको संख्या होइन, निरन्तरता हो। पहिलो किताब सक्दा त्यसलाई खुसीको क्षणका रूपमा मनाउनु र पढेका किताब, समय र भावनाको सानो टिपोट राख्नुले पनि आफ्नै पठन-यात्रालाई छर्लंग बनाउँछ।
किताब छनोट पनि उमेर र आवश्यकताअनुसार फरक हुनुपर्छ। नयाँ पेसाकर्मी (२०–३० वर्ष)लाई करियर र सीपसम्बन्धी किताबले आत्मविश्वास दिन्छ; स्थापित पेसाकर्मी वा अभिभावक (३०–४५ वर्ष)लाई नेतृत्व, वित्तीय व्यवस्थापन र मनोविज्ञानका किताबले सन्तुलन ल्याउँछ; अनुभवी पाठक (४५+)लाई दर्शन, आत्मकथा र समाजशास्त्रका किताबले गहिरो जीवन-बोध दिन्छन्।
बालबालिकाका लागि पनि तीनदेखि सात वर्षसम्म चित्रसहितका कथा, आठदेखि बाह्र वर्षसम्म रोमाञ्चक कथा र तेह्र वर्षमाथि जीवनी र विज्ञानका किताबले उमेरअनुसार रुचि जगाउँछन्।
पढ्न-मिल्ने वातावरण बनाउनु पनि उत्तिकै जरुरी छ। घर वा अफिसको कुनै शान्त कुनामा राम्रो उज्यालो र आरामदायी सिटसहित आफ्नै सानो 'पढ्ने कुना' बनाउन सकिन्छ। अफिस आउँदा-जाँदा वा ट्राफिकमा अड्किँदा अडियोबुक वा ई-बुक सुनेर पनि त्यो समयलाई सदुपयोग गर्न सकिन्छ। साथी-सहकर्मीसँग महिनैपिच्छे भेटेर छलफल गर्ने किताब क्लब बनाउनु र आफैँ पढेर उदाहरण बन्नु पनि उत्तिकै प्रभावकारी हुन्छ— किनभने बालबालिका र सहकर्मीले हाम्रो व्यवहार हेरेरै सिक्छन्।
दैनिक बानीमा साना-साना फेरबदलले पनि ठुलो फरक पार्न सक्छ— सामाजिक सञ्जालमा बित्ने समयको केही अंश पढाइका लागि छुट्टाउने, सुत्नुअघि मोबाइलको सट्टा किताब समात्ने, र साँझ स्क्रिनको सट्टा परिवारसँग किताब वा जीवनका विषयमा गफ गर्ने बानीले पढाइलाई बोझ होइन, आनन्दको स्रोत बनाउँछ— र त्यही नै यसलाई दिगो बानी बनाउने साँचो हो।
व्यस्त वयस्कका लागि त एउटा सिधा दैनिक तालिका पनि बनाउन सकिन्छ: बिहान अफिस जाँदाको बाटोमा वा कफीसँगै १५ मिनेट अडियोबुक वा समाचार-लेख, दिउँसो खाजा ब्रेकमा १० मिनेट छोटो लेख वा किताबको एक अध्याय, साँझ व्यायामपछि फुर्सदमा ३० मिनेट रुचिको किताबमा डुबेर दिनभरिको तनाव कम गर्ने र रातिमा सुत्नुअघि मोबाइलको सट्टा १५–२० मिनेट किताब पढेर शान्त निद्रामा जाने।
गाउँ-टोलदेखि सिंगो समाजसम्म
पठन संस्कृति व्यक्तिगत प्रयासमा मात्र सीमित रहनु हुँदैन, यो सामुदायिक र संस्थागत तहसम्म पुग्नुपर्छ। ‘जहाँ मान्छे बस्छन्, त्यहाँ किताब पुगोस् र जहाँ किताब पुग्छ, त्यहाँ पढ्ने बानी बसोस्’— यही भावनाका साथ पठन संस्कृति घरबाटै सुरु भई महानगरसम्म फैलिन सक्छ।
हरेक घरमा किताब, टोलमा सामुदायिक पढ्ने कुना, विद्यालयमा दैनिक १५–२० मिनेट पढ्ने समय, वडा तहमा 'रिडिङ हब', समुदायमा सामूहिक पठन कार्यक्रम, र अन्ततः सबै वडालाई जोड्ने साझा पठन सञ्जाल— यो एउटा तहबाट अर्को तहसम्म फैलिने शृंखला हो।
वडा नेतृत्वले पनि केही ठोस कदम चाल्नुपर्छ— हरेक वडामा कम्तीमा एउटा व्यवस्थित पुस्तकालय बनाउने, स्थानीय संस्था र निजी क्षेत्रसँग सहकार्य गर्ने, वार्षिक रूपमा ‘वडा किताब मेला’ वा ‘टोल साहित्य उत्सव’ गर्ने, र वार्षिक बजेटमै किताब खरिद, पुस्तकालय सञ्चालन र कार्यक्रमका लागि छुट्टै रकम राख्ने।
हरेक टोलबाट दुईदेखि पाँच जना ‘पठन स्वयंसेवक’ तयार गरेर किताब वितरण, पढ्ने समूह सञ्चालन र मासिक तथ्यांक अद्यावधिक गर्ने जिम्मेवारी दिन सकिन्छ भने जनप्रतिनिधिहरू आफैँ सार्वजनिक ठाउँमा किताब पढेर वा सामाजिक सञ्जालमा आफ्नो पठन अनुभव बाँडेर रोल मोडल बन्न सक्छन्।
अन्ततः लक्ष्य पुस्तकालय बनाउने मात्र होइन, पाठक बनाउने हो; पाठक बनाउने मात्र होइन, पढ्ने संस्कार बसाल्ने हो; र त्यसैबाट ज्ञानमा आधारित समुदाय निर्माण गर्ने हो। ‘पढ्ने वडा, ज्ञानवान् समाज’ भन्ने नाराको साँचो अर्थ यही हो।
साझा जिम्मेवारी, साझा भविष्य
पठन संस्कृतिको निर्माण कुनै एक व्यक्ति, परिवार वा संस्थाको मात्र जिम्मेवारी होइन, यो सबैको साझा दायित्व हो। व्यक्तिले दैनिक पढाइलाई आफ्नो नियमित तालिकाकै अंग बनाउनुपर्छ, परिवारले घरमै पढ्न-मिल्ने वातावरण र आपसी छलफलको बानी बसाल्नुपर्छ, कार्यस्थलले किताब क्लब र ज्ञान-आदानप्रदानमार्फत सहकर्मीलाई हौस्याउनुपर्छ, र समुदाय-पुस्तकालयले स्थानीय पहुँच र अवसर बढाउनुपर्छ।
अन्त्यमा, हामी जुन समाजको सपना देख्छौँ— जहाँ मान्छे सोच्न, प्रश्न गर्न र आफ्नो जीवनलाई गहिरोसँग बुझ्न सक्छन्— त्यो समाज ठुला भवन र फराकिला सडकले मात्र बन्दैन। त्यो समाज बन्छ, जब हरेक घरको कुनामा एउटा किताब हुन्छ, हरेक बालबालिकाको हातमा एउटा कथा हुन्छ, र हरेक वडामा ज्ञानको साझा घर— अर्थात् पुस्तकालय हुन्छ।
पठन संस्कृतिको यो पुनर्जागरण नै वास्तवमा हाम्रो चेतनाको त्यही झ्याल हो, जसबाट समाजले आफ्नै भविष्यलाई छर्लंग देख्न सक्छ।
(लेखक शिक्षाकर्मी तथा विकासका लागि पठन संस्कृति अभियन्ता हुन।)