हिमालमा हिउँ पग्लिँदै गएको हामी सुनिरहेका हुन्छौं। नेपालमा बाढी, पहिरो र मौसमको अनिश्चितता पनि निरन्तर चिन्ताको विषय बनेका छन्।
पछिल्लो समय आएको विनाशकारी बाढीले जलवायु परिवर्तनको असरबारेको बहसलाई फेरि सतहमा ल्याएको छ।
जलवायु परिवर्तनको सन्दर्भमा पूर्वपत्रकार तथा डकुमेन्ट्री निर्देशक निर्मल श्रेष्ठलाई एउटा प्रश्नले पछ्याइरहेको थियो— आज देखिरहेको हिमाल भोलि पनि यस्तै रहला?
यो प्रश्न उठ्नुको पछाडि एउटा कारण थियो।
आरोही फुर्बा जाङ्बू शेर्पा लगायतका माध्यमबाट वर्षौंदेखि संकलित हिमालका फोटो र भिडिओ कम्प्युटरमा सुरक्षित थिए। समाचारका लागि कहिलेकाहीँ प्रयोग हुने तीमध्ये धेरैजसो फुटेज त्यसै थन्किएका थिए।
ती दृश्य हेर्दाहेर्दै उनको मनमा अर्को प्रश्न आयो— यी दृश्य पुस्तौंसम्म काम लाग्ने दस्तावेजमा बदल्न सकिँदैन?
यही सोचबाट जन्मिएको डकुमेन्ट्री फिल्म हो 'रोड टु एभरेस्ट'।
'फुर्बाले वर्षौंदेखि हिमालका फोटो र भिडिओ खिचेर ल्याइरहेको थियो। मेरो कम्प्युटरमा पनि थुप्रै फुटेज थिए। म आफै हेरेर रमाउँथेँ। तर मैले मात्रै हेरेर त्यसको अर्थ के भयो? यसलाई एउटा स्वरूप दिएर भावी पुस्ताका लागि राख्न सकियो भने त्यसको अर्थ हुन्छ भन्ने लाग्यो,' सेतोपाटीसँगको कुराकानीमा निर्मलले भने।
उनका लागि रोड टु एभरेस्ट सगरमाथाको सुन्दरता देखाउने अर्को फिल्म मात्र होइन। यो सगरमाथा हेर्नभन्दा बुझ्न बनाइएको फिल्म हो।
'अहिले हामी हिउँ देखिरहेका छौं। तर ५० वर्षपछि त्यहाँ हिउँ नहुन पनि सक्छ। अहिलेको हिमाल कस्तो थियो भनेर भोलिको पुस्ताले जान्न चाह्यो भने त्यसका लागि अहिले नै दस्तावेज चाहिन्छ।'
त्यसैले फिल्म आरोहणको कथा मात्र नभएर समयको एउटा दृश्य अभिलेख पनि भएको उनी बताउँछन्।
सगरमाथाको कथा सुनाउँदा प्रायः आँखामा पुग्ने दृश्य हुन्छ— हिमालको चुचुरो, आरोही र आरोहणको क्षण। तर एउटा आरोही त्यहाँसम्म पुग्नुअघि पार गर्ने बाटो, भोग्ने कठिनाइ र उसलाई चुचुरोसम्म पुर्याउने मानिसहरूको कथा धेरै पटक ओझेलमा पर्छ।
झन्डै ५० मिनेट लामो रोड टु एभरेस्टले यही पाटोलाई केन्द्रमा राखेको छ।
सगरमाथा कसैले एक्लो प्रयासमा चढ्दैन। आरोहीसँग परिवार, साथी, शेर्पा समुदाय र भरियाको साथ हुन्छ। थुप्रै मानिसको सामूहिक प्रयासबाट एउटा आरोही चुचुरोसम्म पुग्छ।
त्यसैले फिल्मले चुचुरोभन्दा बढी एउटा यात्रालाई बुझाउने प्रयास गरेको निर्मल बताउँछन्।
काठमाडौं हुँदै आधार शिविरसम्मको यात्रा, उचाइसँगै बदलिँदै जाने भूगोल, मौसम, मानिस र आरोहणको संघर्ष फिल्ममा पछ्याइएको छ। क्याम्प १, २, ३ र ४ हुँदै अगाडि बढ्ने यात्रालाई पनि दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।
काठमाडौं र चन्द्रागिरिबाट सगरमाथा देखिने उपयुक्त मौसम पर्खंदै कैयौं दृश्य खिचिएका छन्।
'हामीले फिल्ममा देखिने प्रत्येक दृश्यका लागि मौसम कुरेका छौं। एउटा दुई–चार सेकेन्डको दृश्यका लागि पनि कहिलेकाहीँ दुई दिनसम्म सुटिङ गर्नुपर्यो,' उनी भन्छन्।
फिल्मको केन्द्रमा छन् राज गुरूङ।
हङकङमा व्यवसाय गर्दै आएका राज करिब २८ वर्षदेखि नेपालबाहिर थिए। हिमालसँग उनको प्रत्यक्ष सम्बन्ध थिएन। तर कोभिडपछि नेपाल आएका बेला नगरकोटबाट देखिएको हिमालले उनको जीवनको अर्को यात्रा सुरू गरिदियो।
उनलाई हिमालको नजिक जाने रहर लाग्यो।
त्यसपछि थ्री पास ट्रेक, एभरेस्ट बेस क्याम्प र कालापत्थर हुँदै उनको आरोहण यात्रा सुरू भयो। नाम्चेमा बिरामी परे पनि उनले यात्रा रोकेनन्।
आइल्यान्ड पिक चढेपछि आरोहण उनको रूचि बन्दै गयो। एल्ब्रुस हिमालको यात्रापछि अन्ततः सगरमाथा चढ्ने सपना जन्मियो।
निर्मलका लागि राजको यही कथा फिल्मको 'क्यारेक्टर' बन्यो।
'हामीसँग हिमालका दृश्य त धेरै थिए। तर कथा बोक्ने पात्र थिएन। राज दाइ भेटिएपछि त्यो पात्र पनि भेटियो। २८ वर्ष नेपाल नआएको मान्छे, हङकङमा बसेको मान्छे, फेरि हिमाल चढ्ने यात्रामा निस्किएको कथा आफैमा बलियो लाग्यो,' निर्मल भन्छन्।
सन् २०२५ मा राजले सगरमाथाको सफल आरोहण गरे। फिल्मको मूल सुटिङ करिब दुई सिजनमा भयो। त्यो आरोहणसँगै महत्वपूर्ण दृश्य कैद भए भने कतिपय दृश्यका लागि २०२६ सम्म पर्खनुपर्यो।

फुर्बाले यसअघि पनि हिमालका थुप्रै दृश्य खिचेका थिए। यस पटक भने फिल्मको आवश्यकता अनुसार दृश्य खिच्न थप तयारी गराइएको थियो।
'यस पटक हामीले फुर्बालाई फिल्मको भाषामा सोचेर खिच्न भन्यौं। कुन एंगल चाहिन्छ, कुन दृश्य कसरी काम गर्छ, पात्र नभएको दृश्य कहाँ आवश्यक हुन्छ, त्यही हिसाबले खिच्यौं,' निर्मल सुनाउँछन्।
कतिपय दृश्यका लागि निर्देशक स्वयं पनि जोखिमपूर्ण यात्रामा सहभागी भए। बेस क्याम्पसम्म पुग्दा बिरामी हुँदाहुँदै पनि उनी सुटिङका लागि अघि बढे।
'म बिरामी नै भएँ। डाक्टरले नजानू भनेको थियो। तर खिच्नुपर्ने थियो। म घोडा चढेर भए पनि गएँ। त्यहाँ पुगेपछि फुर्बाले दाइ तपाईंले चाहनुभयो भने सगरमाथा पनि चढ्न सक्नुहुन्छ भन्यो। तर ममा त्यस्तो आँट आएन,' उनले भने।
निर्मलको पत्रकारिता हुँदै डकुमेन्ट्री निर्माणसम्मको यात्रा लामो छ। बुटवलबाट काठमाडौं आएर इमेज च्यानलमा प्रस्तोताका रूपमा काम सुरू गरेका उनले पछि हङकङबाट पनि पत्रकारिता जारी राखे। उनले त्यहाँबाट कान्तिपुरसँग जोडिएर रिपोर्टिङ गरे।
उनले सञ्चालन गरिरहेको 'राइज मिडिया नेटवर्क' मार्फत पछिल्ला वर्षमा विभिन्न डकुमेन्ट्री बनेका छन्। तर संस्थागत रूपमा बनाइने डकुमेन्ट्रीमा निर्देशकको व्यक्तिगत पहिचान प्रायः अगाडि आउँदैन।
त्यसैले आफूले भन्न चाहेको कथा आफ्नै ढंगले भन्न सक्ने फिल्म बनाउने चाहना बढ्दै गयो।
'कमर्सियल काम गरियो, अरूका लागि फिल्म बनाइयो। त्यसबाट आम्दानी हुन्छ, अनुभव हुन्छ। तर आफूले बनाएको चिज यो मैले बनाएको हो भनेर गर्व गर्न सकिने हुनुपर्छ भन्ने लाग्यो। केही फरक, केही चुनौतीपूर्ण काम गरौं भन्ने चाहना पहिलेदेखि थियो,' उनले भने।
सगरमाथाका बारेमा विदेशीले धेरै फिल्म बनाएका छन्। उनी त्यसको विरोध गर्दैनन्। तर आफ्नै भूगोल, आफ्नै मानिस र आफ्नै अनुभवको कथा नेपाली दृष्टिकोणबाट पनि विश्वसम्म पुग्नुपर्ने उनको धारणा छ।
'कसैले बनायो भनेर हामीलाई दुखेसो होइन। विगतमा हामीसँग प्रविधि थिएन। तर आफ्नो घरभित्रको समस्या घरमा बस्ने मान्छेलाई बढी थाहा हुन्छ। हाम्रो कथा हामीले जति राम्रोसँग भन्न सक्छौं, बाहिरबाट आउने मान्छेले त्यति नै सहज रूपमा भन्न सक्दैन।'
त्यसैले फिल्ममा अत्यधिक भिजुअल इफेक्ट वा कृत्रिम दृश्य सिर्जना गरिएको छैन।
'फिल्ममा जे देखिन्छ, त्यही हो। हामीले हिमाल थपेका छैनौं,' उनले भने।
रोड टु एभरेस्टको कथा समुद्रबाट सुरू हुन्छ। समुद्रको पानी कहाँबाट आयो भन्ने कल्पनाबाट पात्र हिमालको मुहानतर्फ पुग्छ। हङकङको समुद्र र नेपालको हिमालबीच दृश्यात्मक सम्बन्ध स्थापित गरिएको छ।
'समुद्र र हिमालबीचको सम्बन्ध कथामार्फत जोड्न खोजेका हौं,' निर्मलले भने।
यसरी फिल्म केवल आरोहणको कथामा सीमित हुँदैन। जलवायु परिवर्तन, हिमालको भविष्य, मानिसको इच्छाशक्ति र नेपालसँग सगरमाथाको सम्बन्ध पनि कथाका हिस्सा बन्छ।
सगरमाथा नेपालको यस्तो पहिचान हो, जसलाई छुट्टै ब्रान्डिङ गरिरहनु पर्दैन भन्ने निर्मलको बुझाइ छ। त्यसैले फिल्मलाई नेपालभित्र मात्र सीमित राख्ने उनको योजना छैन।
नेपालमा प्रिमियर भइसकेको फिल्मको हङकङबाट अन्तर्राष्ट्रिय प्रदर्शन पनि सुरू भइसकेको छ। बेलायत, ताइवान, कतार, मलेसिया लगायत देशमा प्रदर्शनका लागि कुराकानी भइरहेको निर्मल बताउँछन्।
नेपालमा नियमित व्यावसायिक प्रदर्शनभन्दा विशेष शो र विद्यार्थी केन्द्रित प्रदर्शनको योजना छ। विद्यालय तथा कलेजका विद्यार्थीसम्म फिल्म पुर्याउने उद्देश्यले प्याब्सन, हिसान र एनआरएनसँग सहकार्यको तयारी भइरहेको छ।
'हामीले सानैमा सगरमाथाको फोटो हेरेर निबन्ध लेख्यौं। आजका विद्यार्थीले फिल्म हेरेर सगरमाथा बुझ्न सक्छन्। उसले सगरमाथा चढ्नुपर्दैन। क्याम्प १ कहाँ छ, क्याम्प २ कस्तो छ, बेस क्याम्प कस्तो छ भन्ने कुरा उसले फिल्मबाट जान्न सक्छ,' निर्मल भन्छन्।
फिल्ममा काठमाडौंको उचाइदेखि बेस क्याम्प र विभिन्न क्याम्पको उचाइसमेत दृश्यसँगै प्रस्तुत गरिएको छ।
फिल्म निर्माणमा करिब दुई करोड रूपैयाँ खर्च भएको निर्मलको भनाइ छ। हेलिकप्टर, यात्रा, सुटिङ र अन्य निर्माण खर्च जोड्दा लगानी ठूलो भएकाले फिल्मले आर्थिक रूपमा पनि आफूलाई धान्न सक्नुपर्ने उनको धारणा छ।
'समाजसेवा गर्ने नाममा आफू नै नांगिनु हुँदैन। आफ्नो क्षमता अनुसार सहयोग गर्ने हो,' निर्मलले भने, 'फिल्मबाट केही आम्दानी भयो भने भोलि सगरमाथाको अर्को फिल्म बनाउन सकिन्छ, मनास्लुको बनाउन सकिन्छ। एउटा फिल्मको लगानी फर्किएन भने अर्को कसरी बनाउने?'
निर्मलको चाहना फिल्म हेरेपछि दर्शकले सगरमाथाको उचाइ मात्र नसम्झिऊन् भन्ने हो। त्यसको पछाडिको यात्रा, संघर्ष र इच्छाशक्ति पनि सम्झना रहोस् भन्ने हो।
'सगरमाथा चढ्न इच्छाशक्ति चाहिन्छ। त्यो इच्छाशक्ति भए उमेरले रोक्दैन। यो सन्देश हिमाल चढ्ने मान्छेका लागि मात्रै होइन। पढाइमा होस्, खेलकुदमा होस्, पत्रकारितामा होस् वा अरू कुनै क्षेत्रमा दृढ इच्छाशक्ति भयो भने मानिसले धेरै कुरा गर्न सक्छ,' उनले भने।
रोड टु एभरेस्ट 'वी विल राइज फाउन्डेसन' को प्रस्तुतिमा निर्माण भएको हो।
फाउन्डेसनले भूकम्पपछि सिन्धुपाल्चोकको कर्थलीमा ४५ घर निर्माण गरेको थियो। त्यसपछि विद्यालय निर्माण लगायतका सामाजिक काममा पनि फाउन्डेसन जोडिँदै आएको छ।
यस्तो छ 'रोड टु एभरेस्ट'को ट्रेलर:-