हाम्रो भेट काठमाडौंको एक सानो कार्यक्रमबाट साथी हुँदै प्रेममा परिणत भएको थियो।
केही वर्ष अगाडि हामी नयाँ बानेश्वरमा एउटा कार्यक्रममा भेटेका थियौँ। त्यो कार्यक्रमले मेरो जीवनमा एउटा भूमिका निर्वाह गर्यो। त्यहाँ जानु, हजारौँ अपरिचित अनुहारको बीचमा एउटासँग मात्र नजर जुध्नु, आँखाको इशाराबाट सानो अवैचारिक परिचित हुनु। कार्यक्रम सम्पन्न हुँदासम्म देखादेख मात्र हुनु।
अन्तिममा बल गरेर मनमा ढुङ्गा राखेर बोल्ने साहस जुटाएँ। हात मिलाउँदै दुवैको परिचय आदानप्रदान भयो। केही बेरको कुराकानीपछि नम्बर आदानप्रदान भयो। समय अलि थोरै हुनु र रात पनि पर्ने लागेकाले कतै नगएर छुट्टिने निर्णय भयो हाम्रो। दुवै जना आ–आफ्नो गन्तव्यतिर लाग्यौँ।
त्यो सानो औपचारिक भेट र परिचयसँगै समाप्त भयो त्यो दिनको संवाद। बाटोभरि उसको हाउभाउ र रूपरङ्गको यादले मलाई भित्रैदेखि कुतूहलता जगाउन थाल्यो।
मिलेको पातलो शारीरिक बनावट, चिम्से गाजलु आँखा, गुलाफी ओठ, सेतो वर्ण, उचाइ नि त्यस्तै, कालो साडीमा झन् छुट्टै सुन्दरताले भरिएकी कोही केटी मान्छे त हेर्दै सपनाको संसारमा हराउने अधैर्य हुन्छ। पुरै बाटोभरि त्यही सोचेर कोठा पुगेको नि पत्तो नै पाएन।
कोठामा पुगेर फोन खोलेँ, अगाडि दिएको नम्बरमा कल गर्न औँला अगाडि सारेँ तर सकिनँ। त्यो दिन करिब आधा घण्टा जति फोन चार्जमा छोडेर म नुहाउन गएँ। नुहाएर आउँदासम्म मेरो फोनमा दुई वटा मिसकल आइसकेको थियो। हेरेँ, उनले गरेकी रहिछिन्।
कल ब्याक गर्न खोजेँ, उठेन। दुई–तीन पटकसम्म गर्दा पनि नउठेपछि म फोनमा केही काम गर्न थालेँ, त्यसको पाँच–सात मिनेटपछि कल ब्याक आयो। यसो कुरेँ, दुई–चार घण्टी बज्दासम्म यसो व्यस्त भएको जस्तो देखाउनलाई भए पनि अनि पछि उठाएँ।
उताबाट एउटा शान्त मसिनो केटी आवाज सुनेँ, मनमा छुट्टै किसिमको ढुकढुकी बढ्यो। दुई–तीन पटकसम्म हेलो हेलो भनेपछि म झस्किएँ र बोलेँ, हेलो। उताबाट प्रश्न आयो, ‘हेर्नुहोस् मेरो फोन अफ भएछ। अनि चार्ज गरेर कल गरेको, घर पुग्नुभयो हजुर?’
मैले पुगेको बताउँदै ‘अनि हजुर पुग्नुभयो?’ भनेर सोधेँ। उताबाट पनि पुगेको बताइन्। उनको खाना खानुभयो भनेर प्रश्न आयो। खान मन छैन भनेँ। किनभने खासै खान मन लागेकै थिएन। केटा मान्छे त्यो पनि खाना बनाएर खाने जाँगर कहाँ हुन्छ र! त्यहीँ माथि केटीको फोन आएको छ। मनमा भिन्नै किसिमको उत्साह छ।
अनि मैले सोधेँ, ‘आफ्नो भयो त?’
उताबाट प्रतिउत्तर आयो, ‘भर्खर बाहिरबाट खाएर आएको, केही खान मन छैन।’
त्यस्तै हुँदै दिनभरको क्रियाकलापको बारेमा अलि कुराकानी भयो। पहिलो दिनमै धेरै बोलिएछ, करिब तीस, पैँतीस मिनेट जति बोलेपछि उताबाट निद्रा लागेको छ, सुत्छु भन्ने कुरा आयो। मैले नि कर गर्न सकिनँ, फोन राखेर म नि बिस्तारामा सुत्न पल्टिएँ। उसलाई कल्पना गर्दागर्दै कति खेर निदाएछु, पत्तो नै पाएन।
बिहान उठ्दा छ बजिसकेको थियो। फ्रेस भएँ, खाना बनाउने तर्खरमा लागेँ, खाना बनाउँदै फोनमा केही हेर्न थालेँ। यसो डिजिटल युगको युवा, केही समाचार, केही लेख, टीकाटिप्पणी हेर्न थालेँ। हेरेर सकेपछि यसो फोन घुमाएँ, फोन उठ्यो पहिलो प्रयासमा नै। ‘उठेको हो?’ भनेर सोधेँ, हजुर भर्खर उठेको भन्ने प्रतिउत्तर आयो।
शुभ बिहानीसँगै दिनचर्या सुरु भयो मेरो। सबै काम भएर नौ बजेतिर आफ्नो कामतिर लागेँ। बस चढेँ, सिट रहेनछ। बिहानको समय भएर होला पुरै भरिभराउ थियो, ढुकेरै भएनि गएँ। काममा पुगेर दिनको कार्यतालिका हेरेँ अनि काम सुरु गरेँ। यसो बेलाबेला फोन हेर्न नि भ्याउँथेँ। केही नयाँ आएको पो छ कि भनेर तर केही हुँदैन थियो।
खाजा खाने समयमा यसो फोन चलाउँदा चलाउँदै दिमाग लगाएँ, त्यो नम्बरमा ह्वाट्सएप छ कि नाई भनेर चेक गरेको रहेछ। म्यासेज गरेँ तर रिप्लाई आएन, दश मिनेट अगाडि मात्र अफलाइन भएको देखाउँदै थियो। खैर, केही छैन भनेर खाजा खान सुरु गरेँ। खाएर भ्याउँदा पनि रिप्लाई आएन। अनि फेरि काममा फर्किएँ।
त्यो दिन अलि छिट्टै घर फर्किएँ। घर पुग्दासम्म फोन नै हेरिनँ। घर पुगेर फोनको डेटा खोल्दा म्यासेज आएको रहेछ- ‘म अलि व्यस्त भएकाले हजुरको रिप्लाई गर्न ढिला भयो।’
मैले ठिकै छ भनेँ। त्यसपछि गफगाफ सुरु भयो हाम्रो। यसरी बोल्दा बोल्दै धेरै काम गरेर सकेछु मैले कोठाको। त्यसरी नै दिन प्रतिदिन हामी नजिकिँदै गयौँ। एक महिनापछि भेट भयो, त्यो कार्यक्रमपछि हाम्रो कतै चिया गफमा निस्कने निधो भयो।
त्यो हाम्रो दोस्रो भेट थियो। त्यो कार्यक्रम पछिको एक दिन शनिबार पुरै उनका लागि छुट्याइदिएँ। यसो त्यो दिन अलि फरक शैलीमा गएँ। उनलाई भेट्न भनेर सेतो भेस्ट, कालो ज्याकेट र आकाशे रङ्गको जिन्स पाइन्ट लगाएर गन्तव्यतिर लागेँ।
त्यो दिन म उनीभन्दा अलि चाँडै नै पुगेछु त्यहाँ। त्यसको आधा घण्टापछि उनको म्यासेज आयो, ‘म पुग्न लागेँ, हजुर कता हो?’ भनेर। म पुगेको भए नि अलि ढाट्नै पर्यो, ‘म नि पुग्छु अब चार–पाँच मिनेटमा’ भनेर। त्यसपछि म चिया पसलतिर पसेर पहिले नै एक कप चिया र चुरोट मागेर खान लागेँ। त्यो खाएर सकेको केही मिनेटमा नै उनी उताबाट आउँदै गरेको देखेँ।
गुलाफी फुलबुट्टा भएको कुर्ता सुरुवालमा आउँदै गरेको देखेँ। त्यो पल त मलाई फिल्ममा हिरोले हिरोइनलाई देखे जस्तो महसुस भयो। कति राम्ररी देखेको टाढैबाट। साह्रै राम्रो देखिएको थियो त्यो पहिरनमा उनलाई। सिल्की लामो कालो केस, सल्लक परेको शरिरी गोरो वर्णकी, नजिक आएर हात मिलाउँदासम्म म सपनामै हराए जस्तो भएँ।
मेरो अगाडि आइपुग्दासम्म त म झन् स्थिर र शान्त पो भएको थिएँ। बस्न अनुरोध गरेँ। हामी दुवै जना बस्यौँ, एकअर्काको अनुहार देख्ने गरेर। के खाने भनेर सोधेँ मैले। गर्मी भएकाले चिसो खाऊँ न भनिन् उनले। मैले एउटा चिसो मगाएर उनलाई दिएँ। मैले भर्खर खाएको जानकारी दिएर हामी गफिन थाल्यौँ।
त्यसपछि हामी खाजा खाएर कतै निस्कियौँ। बाटोमा हिँड्दै अगाडि बढ्यौँ। गफैगफमा धेरै हिँडिएछ त्यस्तो गर्मीमा पनि। हामीले एकअर्काको परिवार, साथी, कामको कुरा गरेर नि सकिसकेका थियौँ। यस्तो गफ गर्दागर्दै दिन बितेको पत्तै पाइनँ मैले।
साँझ छुट्ने बेला एक्कासि उनी मेरो अँगालोमा आइपुगिन्। म पुरै मूर्तिजस्तो स्थिर र शान्त भएर एकै ठाउँमा अडिरहेँ, खम्बा जसरी। उनलाई अलि पर सार्दै मैले शान्त भावमा भनेँ, ‘अब जाऊँ, हाम्रो समय नि भयो छुट्टिने आजलाई। फेरि कुनै दिन अलि धेरै समय मिलाएर भेटौँला।’
हामी त्यहाँबाट छुट्टियौँ। त्यसरी नै हाम्रो सम्बन्ध दिन प्रतिदिन गर्दै प्रेममा परिणत भएको पत्तो नै भएन। त्यसपछि भेट्ने क्रम जारी नै भयो, बेला बखत समय मिलेअनुकूल।
त्यसको चार–पाँच महिनापछि हामी कतै घुम्न जाने निर्णय गर्यौँ। घुम्न जाने त कुरा भयो तर कता जाने भन्ने अपुरो नै थियो। त्यो दिन साँझ उनले आफैँ घुम्ने ठाउँ र बस्ने ठाउँको अन्तिम निर्णय गरिन्। त्यसको एक हप्तापछि काम नि छुट्टी भएर हामी लाग्यौँ।
एक हप्तामा हामीले एकअर्कालाई नजिकबाट राम्रोसँग बुझ्ने अवसर पायौँ। त्यो ठाउँ, त्यो गन्तव्य हाम्रो लागि अविस्मरणीय भयो। त्यहाँ पुग्दा, घुम्दा, त्यहाँ भएका घटनाक्रम, त्यहाँ गरिएका विभिन्न क्रियाकलाप हामीबीचका सबै अविश्वसनीय र अविस्मरणीय भए।
सात दिन बितेको पत्तो नै भएन, अन्तिम दिन फर्किनु पर्यो, बल्खु पुगेर आ–आफ्नो गन्तव्यतिर लाग्यौँ। त्यस्तै गर्दै वर्ष, दुई वर्ष बितेको पत्तो नै पाएनौँ हामीले। त्यही क्रम चलिरहेको थियो, हाम्रो प्रेम सम्बन्ध झन् प्रगाढ हुँदै थियो। एक दिन अचानक उनको म्यासेजको वर्षात देखेँ; मेरो फेसबुक, ह्वाट्सएप सबै तिर एउटै म्यासेजका चाप थिए।
‘घरमा मेरो बिहेको कुरा चल्दै छ, कि मलाई भगाउनुहोस् कि त म जे पनि गर्न सक्छु’ भन्ने कुरा पो आयो त। म अक्क न बक्क परेँ, कतै यो केटीले मलाई जाँच्न त खोजिरहेकी छैन भन्ने नि लाग्यो।
‘होइन होला, के भन्यौ तिमीले, मलाई मजाक त गरेको होइन नि?’
‘मजाक होइन, सत्य कुरा हो। के गर्ने हजुरको हातमा छ, मेरो हातमा त केही लाग्नेवाला छैन, मेरो घरमा जति जे गरे नि।’
के गर्ने, म पुरै स्थिर स्तब्ध भएर टोलाएर थच्च भुईँमा बस्न पुगेँ। अब के गर्नु, त्यत्रो वर्षको प्रेम सम्बन्ध बचाउनलाई उनलाई भगाएर बिहे गर्नु कि, आफ्नो संघर्षको यात्रा भर्खर सुरु हुँदैछ, घरको जिम्मेवारी काँधमा छ। अब के निर्णय लिने, म दोधारमा परेँ। भविष्यको अत्तोपत्तो छैन, बिहे गरेर नि के हुने हो। संघर्ष जारी छ, प्रगतिको नाममा केही छैन हातमा। के रिप्लाई दिने दिने, म सोचमग्न भएर बसेँ।
कति कल म्यासेज आए उनका, म केही गर्न नै सकिरहेको थिइनँ। न फोन उठाउन सकेँ न रिप्लाई दिन सकेँ। एक दिन छातीमाथि छुरा राखे जसरी भएनि उनलाई भारी मनले 'केही समाधान छ कि बिहे नै अन्तिम विकल्प छ' भनेर प्रश्न गर्दा, उनले 'कि भगाउनुहोस् कि म मर्छु तर बिहे गर्दिनँ' भन्ने जस्तो उत्तर आयो।
त्यो दिन अलि सान्त्वना दिँदै भनेँ, ‘पर्ख केही समय, त्यसपछि त केही न केही समाधान होला नि’ भन्दा पनि मान्दै मानिनन् उनले।
अब मेरो हातमा दुइटा मात्र विकल्प थियो; कि प्रेम रोजेर बिहे गर्ने कि भविष्य बनाउनलाई त्यो प्रेमकहानी टुङ्गाएर या यहीँ बिट मारेर अगाडि बढ्ने। त्यो सोच्दा सोच्दै हप्ता दिनपछि फेरि उनको कल आयो, के गर्ने भनेर।
म मौन बसेँ किन भने जिम्मेवारीको थप्पड यस्तो खतरा हुन्छ नि, त्यसले रुन दिँदैन किनभने रुन नै नसकिने रहेछ के, चाहेर पनि आँसु बगाउन नसकिने रहेछ। मेरो आँखामा आँसुको एक थोपा नि आउन सकेन, खै किन हो, म ढुङ्गाको जस्तो बलियो मन लिएर उभिएको थिएँ त्यो क्षणमा।
पकेटबाट चुरोट झिकेर बालेँ, कहिलेकाहीँ प्रेमिल जोडीले एकअर्काका ओठ चुमे जसरी म नि त्यो चुरोटको धुनमा हराएँ। मेरो प्रेमकथाको यहीँ बिट मार्ने निर्णय लिएर बसेँ। उनलाई अन्तिम सन्देश हाम्रो यो सम्बन्ध यहीँ विश्राम लिने भन्दै भारी मन र कापिरहेको औँलाले पठाएर म हराएँ।
त्यो दिनदेखि आजसम्म अनजान ठाउँमा हराएँ। मेरो प्रेमकथा कस्तो थियो, कस्तो हालतमा आएर टुङ्गियो, पत्तो नै पाएन। त्यही भएर होला।
अक्सर लेखक र कविहरूले लेख्ने उपन्यास, महाकाव्य र अरू कुराहरूमा चाहिँ प्रेम असफल भयो भने प्रेमकथा मिठो हुन्छ भन्छन्। सायद मेरो प्रेम असफल भएरै होला मलाई मिठो लाग्छ। टुटेको मन, छुटेको सपना, ठेस लागेको आफ्नो संसार, लड्दालड्दै उठेको आफ्नो जिम्मेवारीबाट थेचारिएको मान्छे, जुन यो संघर्षमय संसार हुन्छ नि, त्यसले धेरै कुरा सिकाउने रहेछ।
अथाह माया गरेको हो नि उसलाई मैले, चाहिनेभन्दा धेरै र आफूले सक्ने र गर्ने सक्ने प्रेम गरेको हुँ मैले उनलाई।
मेरो व्यस्तता भनौँ या मेरो संघर्षमय यात्रा भनौँ, मैले यो संघर्ष गर्ने दौरानमा धेरै कुराहरू गुमाएँ, त्यो भित्र उनी पनि पर्छिन्।
मैले गुमाइसकेँ उनलाई, बितेको कुरालाई सम्झनु भनेको रुनु हो नि, म रुन चाहन्नँ, मलाई रुवाएर जानेहरू आँखा छोओस् भनेर हो म यहाँसम्म पुग्नुको कारण ती विगतका पल र क्षणहरू पनि हुन् के। प्रेम लुटिनु भनेको संसार लुटिनु हो, भत्किनु हो नि है।
म उनलाई सम्झिन्छु, कहिलेकाहीँ मन भारी भएर आउँछ। उनलाई सम्झँदा पनि के छ होला, कस्तो अवस्थामा छौँ हामी भनेर अहिले पनि दिमागमा बेलाबेला ती पलहरू याद आउँछन्। मनमा छुट्टै किसिमका ज्वारभाटाहरूले आक्रमण गर्छन् मलाई बेलाबेला, आफ्नै मनको द्वन्द्व र युद्धमा हराउँछु।
अहिले हामी एकअर्कादेखि धेरै टाढा छौँ। आफ्नो गन्तव्य र बाटोमा पुग्ने होडबाजीमा लागिपरेका छौँ। सफल भएको दिन देखाउनेछु। मेरो प्रेमले मलाई कति टाढा र कति एक्लो अनि चाहिनेभन्दा धेरै शान्त स्वभावको बनाएको छ भनेर। प्रेमकहानीको यात्रा छोटो थियो तर पीडा, रोदन र यादहरू धेरै लामो र जीवनमरणसम्म जिउँदै रहने भए।
मेरो कथा त्यही चुरोट जसरी पहिले सल्काउँदा जसरी बल्न तीव्रता लिन्छ, त्यसरी सुरुवात भएर अन्त्य नि त्यसरी नै भयो, खरानी सबै झरेर अन्तिममा ठुटा मात्र बचे जसरी। अब पछि के हुन्छ, कस्तो सम्बन्ध जोडिने हो, अत्तोपत्तो केही छैन, जसरी चल्दै छ त्यसरी नै चल्दै रहोस् यो जिन्दगी। मेरो प्रेमले पीडा र वियोग अति नै दियो, अरूको यस्तो नहोस्।