'जापान कस्तो छ?'
जापान आएदेखि आजसम्म मलाई सबैभन्दा धेरै सोधिएको प्रश्न यही हो।
दुई वर्षभन्दा बढी समय बितिसक्यो। तर आज पनि यो प्रश्नको जबाफ दिन खोज्दा म केहीबेर रोकिएर सोच्न बाध्य हुन्छु। किनकि जापानलाई एउटा शब्दमा बयान गर्न सकिँदैन।
यदि कमाइ मात्र हेर्ने हो भने जापान राम्रो छ।
यदि सुरक्षा, अनुशासन र प्रविधि हेर्ने हो भने जापान अझ राम्रो छ।
तर यदि मनको गहिराइबाट, आफूले भोगेको यथार्थका आधारमा जवाफ दिने हो भने जापान धेरै गाह्रो पनि छ।
सायद हामी नेपालीहरू नेपालमा अवसर खोज्न सङ्घर्ष गरिरहेका छौँ, त्यसैले जापानलाई अवसरको देश ठान्छौँ। म पनि यही सपना बोकेर जापान आएको थिएँ। मनमा हजारौँ योजना थिए। परिवारका सपना थिए। आफ्नो भविष्यप्रति अनेक कल्पना थिए। तर यहाँ आएपछि बिस्तारै बुझ्दै गएँ सपनाले देखाएको जापान र वास्तविक जापानबिच निकै ठूलो दूरी रहेछ।
सामाजिक सञ्जालमा देखिने जापान सुन्दर छ। समुद्र किनारमा खिचिएका तस्वीरहरू सुन्दर छन्। चिल्ला सडकहरू, अग्ला भवनहरू, समयमै गुड्ने रेलहरू र रातभर झिलिमिली बत्तीहरूले सजिएका सहरहरू सुन्दर छन्।
तर ती तस्बिरहरूभित्र नदेखिने अर्को जापान पनि छ।
त्यो जापान बिहान सबेरै निद्रा नपुग्दै काममा निस्किने मानिसहरूको हो।
त्यो जापान महिनाको अन्त्यमा बैंक खाताको बाँकी रकम हेरेर खर्चको हिसाब गर्ने मानिसहरूको हो।
त्यो जापान आफ्ना बुबाआमासँग भिडिओ कल गर्दा मुस्कुराउने तर फोन काटेपछि चुपचाप आँखा रसाउने मानिसहरूको हो।
त्यो जापान चाडपर्वको दिन पनि काममा जानुपर्ने, दसैंको टीका र तिहारको देउसी सम्झँदै एक्लै कोठामा बस्ने मानिसहरूको हो।
मैले जापान आएको करिब डेढ वर्ष हुँदा यही अनलाइनमा एउटा लेख लेखेको थिएँ। शीर्षक थियो, 'जापान अनुभव धेरै गाह्रो, थोरै सजिलो र शून्य बचत।'
त्यतिबेला म विद्यार्थी भिसामा थिएँ। धेरै कुरा अनुमानका आधारमा लेखेको थिएँ। आज, दोब्बर अर्थात् दुई वर्षभन्दा बढी समय बितिसकेको छ। विद्यार्थी जीवन सकिएको छ। वर्किङ भिसामा काम गरिरहेको छु। फर्केर हेर्दा त्यतिबेला लेखेका धेरै कुरा अनुमान होइन, वास्तविकता रहेछन् भन्ने महसुस हुन्छ।
विद्यार्थी भिसामा हुँदा धेरैले मलाई भन्थे–
'अहिले पो गाह्रो भएको हो, वर्किङ भिसा पाएपछि सबै ठीक हुन्छ।'
त्यतिबेला म मुस्कुराएर सुन्थेँ। किनकि मसँग जबाफ थिएन।
आज छ।
वर्किङ भिसाले केही कुराहरूमा सहज बनाएको होला, तर जीवनलाई चमत्कारिक रूपमा बदलिदिँदैन।
जापानमा दिनको आठ घण्टा काम गर्ने, हप्तामा ४० घण्टा काम गर्ने नियम छ। कम्पनीअनुसार तलब फरक हुन्छ। कसैको बढी हुन्छ, कसैको कम। एउटा औसत नेपाली कामदारको मासिक आम्दानी करिब दुई लाख येन मानौँ।
नेपालमा बसेर सुन्दा यो रकम ठूलो लाग्न सक्छ।
मलाई पनि लागेको थियो।
तर जापानमा जीवन केवल कमाइको नाम होइन, खर्चको नाम पनि रहेछ।
कर, स्वास्थ्य बीमा र पेन्सनमा मासिक ३०-३५ हजार येन कट्छ। कोठा भाडा ५०-८० हजार येन जान्छ। खाना, मोबाइल, इन्टरनेट, पानी, बत्ती, ग्यास र दैनिक आवश्यक सामग्रीमा अर्को ठूलो हिस्सा खर्च हुन्छ।
कहिलेकाहीँ बाहिर गएर खाना खान मन लाग्छ।
कहिलेकाहीँ साथीभाइ भेट्न मन लाग्छ।
कहिलेकाहीँ कतै घुम्न मन लाग्छ।
आखिर हामी पनि मानिस नै त हौँ।
तर महिनाको अन्त्यमा हिसाब गर्दा धेरैजसो अवस्थामा बचत हुने रकम ५०–६० हजार येनको हाराहारीमा सीमित हुन्छ।
त्यसपछि सम्झना आउँछ नेपालबाट आउँदा लिएको ऋणको।
धेरैजसो नेपालीहरूजस्तै म पनि कुनै धनी परिवारबाट आएको होइन। विदेश आउने अधिकांश युवाको कथा लगभग उस्तै हुन्छ। कसैले ऋण लिएका हुन्छन्, कसैले जग्गा धितो राखेका हुन्छन्, कसैले आफन्तसँग पैसा सापटी लिएका हुन्छन्।
जापान आएपछि सुरू हुने जीवन केवल कमाउने यात्रा होइन, ऋण तिर्ने यात्रासमेत हो।
ऋण तिर्दातिर्दै अर्को वर्षको स्कुल शुल्कको चिन्ता सुरू हुन्छ। शुल्क तिर्दातिर्दै पढाइ सकिन्छ। पढाइ सकिएपछि वर्किङ भिसाको प्रक्रिया सुरू हुन्छ। वर्किङ भिसा पाएपछि नयाँ कम्पनी खोज्नुपर्छ। कम्पनी भेटिएपछि नयाँ ठाउँमा सर्नुपर्छ। नयाँ ठाउँमा गएपछि फेरि कोठा लिनुपर्छ। कोठा लिनासाथ फेरि लाखौँ रुपैयाँ बराबरको खर्च।
कहिलेकाहीँ लाग्छ, जीवन एउटा गोलचक्करजस्तै छ। जति अगाडि बढे पनि फेरि त्यहीँ आइपुगेको जस्तो।
यसबीच नेपाल जान मन लाग्छ। आफ्नो घर सम्झना आउँछ। आमाले बनाएको खाना सम्झना आउँछ। बुबाको अनुहार सम्झना आउँछ। आफ्ना गाउँका बाटाहरू, साथीहरू, चाडपर्वहरू सबै सम्झना आउँछन्। तर नेपाल जानु पनि खर्च हो। नेपाल गएपछि परिवारको अपेक्षा हुन्छ। समाजको अपेक्षा हुन्छ।
उमेर पुगेपछि विवाहको कुरा आउँछ। जीवनका नयाँ जिम्मेवारीहरू थपिन्छन्। फेरि नयाँ खर्चहरू सुरु हुन्छन्।
कहिलेकाहीँ लाग्छ, कमाएको रकम जीवन धान्नमै सकिन्छ। बचत भएको जस्तो देखिए पनि अर्को आवश्यकता आइपुग्दा फेरि शून्यबाट सुरू गर्नुपर्छ।
यति भनिरहँदा म जापानलाई नराम्रो देश भनिरहेको छैन। बरू जापानले मलाई धेरै कुरा सिकाएको छ। आत्मनिर्भर बन्न सिकाएको छ। समयको मूल्य सिकाएको छ। अनुशासन सिकाएको छ। सङ्घर्षबाट भाग्न होइन, त्यसलाई स्वीकार गर्न सिकाएको छ।
तर जापान आउनु भनेको समस्याबाट भागेर स्वर्गमा पुग्नु होइन भन्ने कुरा पनि सिकाएको छ।
आज सामाजिक सञ्जालमा विदेशको चमक धेरै देखिन्छ। तर चमकभन्दा बाहिरको कथा कम देखिन्छ।
समुद्र किनारमा खिचिएका तस्वीरहरू देखिन्छन्, तर त्यस तस्बिरका लागि मानिसले कति घण्टा काम गर्यो भन्ने देखिँदैन।
चिल्लो कारसँग खिचिएको फोटो देखिन्छ, तर त्यो कार किन्नुअघि मानिसले कति वर्ष ऋण तिर्यो भन्ने देखिँदैन।
हँसिलो अनुहार देखिन्छ, तर त्यस अनुहारभित्र लुकेको थकान र चिन्ता देखिँदैन।
त्यसैले विदेश जाने सपना देखिरहेका भाइबहिनीहरूलाई मेरो एउटा मात्र आग्रह छ—
सपना देख्नुहोस्, तर यथार्थ बिर्सिएर होइन।
विदेश आउनु गलत होइन।
अवसर खोज्नु गलत होइन।
तर सामाजिक सञ्जालमा देखिने चमकलाई मात्र सत्य ठान्नु भने पक्कै गलत हो।
किनकि परदेशको जीवन तस्वीरमा देखिए जति सजिलो हुँदैन।
दुई वर्षभन्दा बढी समय जापानमा बिताएपछि मैले बुझेको सबैभन्दा ठूलो सत्य यही हो— यहाँ अवसर छ, तर त्यस अवसरसम्म पुग्न निकै ठूलो मूल्य चुकाउनुपर्छ।
र त्यो मूल्य केवल पैसाले मात्र तिरिँदैन।
त्यसमा पसिना मिसिएको हुन्छ, थकान मिसिएको हुन्छ, एक्लोपन मिसिएको हुन्छ र कहिलेकाहीँ आँसु पनि मिसिएको हुन्छ।