म शिक्षक र अभिभावक दुवै हुँ। के बढी हुँ भन्न सक्दिनँ। घरमा अभिभावक मात्रै बन्दो रहेछु; शिक्षालयमा शिक्षक मात्रै हुँदो रहेछु। आफ्नो भूमिकाको यस किसिमको निर्वाह ठिक हो कि बेठीक हो अलमलमा छु।
एउटा शिक्षकको रूपमा कक्षा व्यवस्थापन र विद्यार्थीको सिकाइ उपलब्धि सम्बन्धी चुनौती बुझ्दछु। सँगसँगै एउटा अभिभावक भएको हुनाले अभिभावकीय अपेक्षाहरू पनि जान्दछु।
एउटा शिक्षकको रूपमा कक्षा व्यवस्थापन र सिकाइ उपलब्धि सम्बन्धी चुनौतीसँग जुधिरहँदा सारा समस्याको कारक भनेका विद्यार्थी, अभिभावक, शिक्षालय, समाज, सरकार र विश्वव्यापी परिवर्तनहरू नै हुन् जस्तो लाग्छ। आफ्नो समस्या खासै देख्दिनँ।
घरमा आउँछु। छोराछोरीका गतिविधि नियाल्छु। आफ्नो पारिवारिक भूमिका र जिम्मेवारी बोधको लेखाजोखा गर्छु। 'बिचरा' विद्यार्थी र अभिभावकको केही दोष देख्दिनँ। समस्या जति सबै बाँकी अरू अवयवहरूमा मात्र छ जस्तो लाग्छ।
घर र शिक्षालय दुवैभन्दा बाहिर सामाजिक जीवन निर्वाह गर्दा चाहिँ भने पहिचानको संकट परिरहन्छ। मर्निङ वाक, इभिनिङ वाक, चिया चौतारी, विवाह भोज, टोल सफाइ, किराना पसल, सब्जी मन्डी आदिमा जाँदा चाहिँ के हुने? अभिभावक कि शिक्षक?
संकट यस अर्थमा पनि पर्थ्यो कि त्यस्ता अवसरहरूमा म आफूलाई आफ्ना छोराछोरीको अभिभावक मात्रै ठान्छु तर दोस्रो पक्षले मलाई शिक्षक देख्दो रहेछ। दोस्रो पक्ष निर्दोष अभिभावक भएर प्रश्न गरिरहन्छ। शिक्षकले चाहे किन सक्दैन? विद्यालयले चाहे किन हुँदैन?
यी र यस्ता प्रश्नहरूले मलाई बारम्बार घोचिरहन्थ्यो। एउटा शिक्षकको रूपमा आफूले शिक्षालय र कक्षाभित्र गरेका प्रयासहरूलाई हाइ डिफिनेसनको भिडियो बनाएर देखाउन पाए कस्तो प्रतिक्रिया हुन्थ्यो होला जस्तो लाग्थ्यो। प्रश्न कर्ताहरू अभिभावक मात्र भएर सोचिदिँदा आफ्ना छोराछोरीले शिक्षालय र कक्षाकोठा भित्र निर्वाह गर्ने भूमिका र व्यवहारहरूको बारेमा कत्तिको जानकार होलान् भन्ने लागिरहन्थ्यो।
शिक्षकले जस्तै शिक्षालय र कक्षाकोठा भित्रका प्रत्येक गतिविधिहरू जस्ताको तस्तै देख्ने र बुझ्ने हो भने अभिभावकहरूले त्यसै गरी प्रश्न गर्थे कि गर्दैनथे होला? यो प्रश्नको उत्तर पाउन अहिलेसम्म कुनै परीक्षण गर्न सकेको थिइनँ।
तपाईंलाई लाग्ला शिक्षालय, कक्षाकोठा र विद्यार्थीको बारेमा बुझाउन भिडियो रेकर्ड नै गर्नु पर्छ र? एउटा शिक्षकले अभिभावकलाई विभिन्न अवसरमा बुझाउन सक्दैन? अझ भनौँ शिक्षकको त एउटा महत्त्वपूर्ण जिम्मेवारी नै त्यही होइन?
हो, तपाईंले सोचेको कुरा ठिकै हो। त्यस्ता प्रयास धेरै गरिए। तर सफल भइएन।
अभिभावकलाई आफ्ना छोराछोरीको बारेमा शिक्षकले भनेका कतिपय कुराहरू स्वीकार गर्न अप्ठ्यारो हुन्छ। अथवा स्वीकार गर्न सक्ने क्षमता हुँदैन। आखिर अभिभावक (बाबुआमा) हुनु भनेको नै सन्ततिको मायाले आफू कमजोर बन्नु न हो। यो कमजोरीले आफ्ना सन्तानप्रति हत्तपत्त समालोचनात्मक बन्न दिँदैन।
दर्शन र सिद्धान्तका कुरा त झन् 'आकाशको फल आँखा तरी मर्' भने जस्ता लाग्छन्। शिक्षा भनेको यान्त्रिक प्रणाली होइन, मानवीय व्यवहारको उपज हो भनेर बुझाउन पटक्कै सकिँदैन। शिक्षालय र उच्च शिक्षालयहरू ज्ञानको प्रवाहको लागि होइनन् सह-सिर्जनाको लागि हुन् भनेर भन्नु भनेको अव्यवहारिक ठहरिन्छ। समय, स्रोत र साधन लगाउँदैमा नतिजा चाहेजस्तो आउँछ भन्ने ग्यारेन्टी हुँदैन भनेर बुझाउन सकिँदैन। भनिहालियो भने गैरजिम्मेवार बनिन्छ।
शरीर, मन र मस्तिष्कलाई प्रभाव पार्ने सबै कुराहरू शैक्षिक उपलब्धिका आश्रित चरहरू हुन् भनेर बुझाउन सकिँदैन। शिक्षालयका सबै सीमितता खुलेर भन्न सकिँदैन। समाज, सरकार र विश्व परिवेशलाई दोष लगाएर तत्कालको समाधान निस्कँदैन। अनि त जति कुरा गरे पनि निष्कर्ष त्यही हो, 'तपाईं पनि अलि ध्यान दिनुहोला; हामी पनि ख्याल गर्छौँ।’
दिन बित्छ। महिना बित्छ। वर्ष बित्छ। विद्यार्थीको सिकाइ उपलब्धिमा कक्षा र उमेर अनुसार भएका केही स्वाभाविक परिवर्तन भन्दा बाहेक केही पनि हुँदैन। शिक्षक र अभिभावकको फेरि भेट। फेरि दुखेसो, सान्त्वना अनि कोरा निष्कर्ष! यस बिचमा विद्यार्थीलाई दुवैको बिचमा राखेर परामर्शको नाममा केरकार गर्ने र धम्काउने काम पनि भइसकेको हुन्छ। परामर्श खास के हो, कसरी गर्नुपर्छ भन्ने त न शिक्षकलाई थाहा छ न अभिभावकलाई!
एउटा शिक्षक भएर यो दुष्चक्रमा फसेको वर्षौँ भइसक्यो। शिक्षकले अभिभावकलाई बुझाउन र अभिभावकले शिक्षक र आफ्ना छोराछोरीलाई बुझ्न एउटा गतिलो उदाहरण मैले भेटेको थिइनँ। कुनै सटीक समाधान निस्केको थिएन। तर विगत केही महिनादेखि एउटा गज्जब उदाहरण भेटिएको छ। हुन त उदाहरणहरू पहिले पनि बनेका थिए होलान् तर सचेत भएको थिइनँ। ध्यानै गएको थिएन। उदाहरण के हो थाहा छ? नेपालको संसद्। आजभोलि किन-किन कक्षाकोठाहरू संसदजस्तै र संसद् कक्षाकोठा जस्तै लाग्न थालेको छ।
संसद् एउटा विद्यालय। सभामुख व्यवस्थापन समिति अध्यक्ष। संसद् सचिवालयका कर्मचारीहरू समिति सदस्य। प्रधानमन्त्री हेड सर। मन्त्रीहरू शिक्षक। सांसदहरू विद्यार्थी। मर्यादापालकहरू विद्यालय कर्मचारी। एकैछिन यो उपमा अनुसार कल्पना गरौँ त। संसदरूपी विद्यालयका सबै गतिविधिहरूको बारेमा त हामी शिक्षक र अधिकांश अभिभावक राम्रोसँग जानकार छौँ नि!
त्यसै आँखा नचिम्लिनुहोला। कल्पनाको पनि नियम हुन्छ। सबैभन्दा पहिले छातीमा हात राख्नुस्। आफ्ना राजनैतिक आग्रह पूर्वाग्रहहरूलाई धेरै पर राख्नुस्। चेतनालाई ह्वात्तै उठाउनुस्। अनि आफ्नो आत्मासँग इमानदार भएर कल्पना गर्नुस्।
नेपालमा अहिले संसदरूपी कक्षाकोठाको शैक्षिक उपलब्धि कस्तो भइरहेको छ? कसको के कमजोरी छ? कत्रो कमजोरी छ? कसले के गर्नुपर्ने हो? कसलाई के भन्ने? को राम्रो को नराम्रो? कसलाई कति नम्बर दिने? कुन एकजनाले एउटा त्यस्तो के गरेदेखि संसदरूपी कक्षाकोठाले उद्देश्य हासिल गर्न सक्थ्यो होला? समस्या नियति हो कि, नियत हो? नियम हो की निहित गुण हो?
हो, संसदीय कक्षाकोठा जस्तै हो विद्यालयको कक्षाकोठा पनि। नियत, नियति, नियम र निहित गुण सबैकुरा निरन्तर रूपमा ठिकठाक भइरहनुपर्छ।
तर विडम्बना मानवीय चेतना संलग्न भएका कार्यव्यवहारहरू 'इन्पुट', ‘प्रोसेस' र 'आउटपुट' को सरल प्रक्रियाबाट गुज्रिँदैनन्। एउटा विद्यार्थीको कुरा मिल्छ, भाषा मिल्दैन। अर्काको भाषा मिल्छ, कुरा मिल्दैन। कुरा र भाषा दुवै मिल्नेको शैली मिल्दैन। शैली राम्रो हुनेको नियत ठिक हुँदैन। नियत ठिक हुनेको शैली सुहाउने हुँदैन।
एउटाले कथा भन्छ अर्कोले छेउ न टुप्पाको कुरा गर्छ। एउटा निदाउँछ, अर्को चिच्याउँछ। एउटा बोलेर थाक्दैन, अर्को बोल्दै बोल्दैन। एउटा दौडिन्छ, अर्को उफ्रिन्छ। एउटा धकेल्दै हिँड्छ, अर्को काँधैमा चढ्छ। कोही पूरा पढ्छन् कोही हाजिर गरेर निस्कन्छन्। कोही आफ्नो कला र क्षमता देखाइरहन्छन्, कोही अनुहार नै नदेखाई वर्षदिन बिताइदिन्छन्।
विद्यालयका आफ्नै नियम हुन्छन्। कक्षाका आफ्नै मूल्य हुन्छन्। एउटाले चाहेर मिलाउन सक्दैन, सबै मिलाएर गर्न खोज्दा कामै हुँदैन। आ-आफ्ना विशिष्ट उप-संस्कृतिहरूबाट आएका विद्यार्थीहरू विद्यालय र कक्षाकोठाको एउटै नियममा बाँधिएर बस्नै सक्दैनन्। एकथरीले आफैँ बसेको टेबलमा तयारी फ्राइड माछा खोज्छन्, अर्का थरी बल्छी बोकेर खोलातिर दौडिन्छन्।
त्यसैले, संसद् र कक्षाकोठाका चुनौतीहरू उस्तै हुन। सुधार गरेर उलेख्य उपलब्धि हासिल गर्न कहाँबाट सुरु गर्ने र कसले सुरु गर्ने? यकिन गर्न कठिन छ। अबदेखि भने विद्यालय, कक्षाकोठा र शिक्षकको भूमिकाको बारेमा प्रश्न गर्ने अभिभावकलाई नेपालको संसदको विश्लेषण गर्न अनुरोध गर्ने विचार गरेको छु। आफ्ना छोराछोरी कुन सांसद जस्ता होलान् यकिन गर्न भन्ने छु। कुन सांसद जस्ता बन्नु पर्ने हो सोध्नेछु। मानव सम्बद्ध एउटा प्रणालीमा सकारात्मक र नकारात्मक तरङ्गको कति महत्त्व हुन्छ छलफल गर्नेछु।
तपाईं शिक्षक हुनुहुन्छ या अभिभावक। कि विद्यार्थी नै? जो भए पनि संसद् बैठक र त्यससँग सम्बन्धित सबै पद्धतिको निरन्तर अवलोकन र आन्तरिकीकरण गरिरहनुहोला। विद्यालय, कक्षाकोठा र घर सबै ठाउँका समस्या बुझिनेछ। समाधान थाहा पाइनेछ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त ठुला भ्रमको साधारण सत्य उजागर हुनेछ: ‘जुनसुकै क्षेत्रको गुणात्मक परिवर्तनको लागि समग्र इकोसिस्टमको प्रत्येक पक्ष उत्तिकै जिम्मेवार हुन्छ’।