हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
विराटनगरस्थित सातघुम्ती चोकको एउटा चिया पसलमा दिउँसो आफ्ना दामलेहरूसित चिया गफमा थिए उनी। उनी अर्थात् विराटनगर–११ का ६१ वर्षीय भीमसेन बन्जारा।
नेपाल बैंकका पूर्वकर्मचारी उनले ११ वर्षअघि बैंकबाट अवकाश पाएका रहेछन्। अहिले परिवारसँग बस्दै आएका उनी सेयर बजारमा 'सामान्य लगानी गरिरहेको' सुनाए।
हामीले उनलाई सोध्यौं—
तपाईं पहिला आफ्नो बारेमा भन्नुस् न। परिवारमा को–को हुनुहुन्छ? के काम गर्नुहुन्छ?
मेरो परिवारमा हामी चार जना छौं। हामी बुढाबुढी, एउटा छोरा, एउटा छोरी। म पहिला नेपाल बैंकमा काम गर्थेँ। अहिले रिटायर भएँ।
रिटायर्ड लाइफ कसरी बिताइराख्नुभएको छ?
यस्तै हो, सामान्य ढंगले गइरहेको छ। देशको आर्थिक अवस्था चाहिँ अलि खराब छ। सेयर बजारमा अलिअलि लगानी गरिएको छ। त्यति ठूलो भोल्युममा कारोबार छैन। तर सेयर बजारमा अहिले खराब छ अवस्था।
के भएर खराब भयो?
यो सरकारले व्यापारीहरूमाथि, लगानीकर्ताहरूमाथि धरपकड गर्न थालेपछि यस्तो भयो। व्यवसायीहरू अहिले डराएका छन्। लगानी गर्न मानिरहेका छैनन्। ६–७ महिनादेखि सेयर बजार तलको तलै गएको छ। अब उँभो जान पनि कोसिस गर्दैछ। अब हेर्दै जाऊँ।
तपाईं त पूर्वबैंकर पनि हुनुहुँदो रहेछ। देशमा स्थिर सरकार भयो भने आर्थिक सूचकहरू माथि जान्छ भनिन्थ्यो। अनि सेयर बजारमा त्यसको संकेत देखिएन?
अहिलेसम्म चाहिँ देखिएको छैन। अब यो बाहिरी वातावरणले पनि गर्दो रहेछ।
बाहिरी वातावरण भनेको?
योभन्दा अगाडि त कांग्रेसको, एमालेको, माओवादीको सरकार थियो नि त। अब तिनीहरूलाई कसरी मिलाएर लिएर जान सकिन्छ भन्ने हो। पैसा त उनीहरूले लगाउने हो नि। बजार चलायमान पैसाले गर्ने हो। उनीहरू अलिकति डराएका जस्ता छन्। त्यस कारण अहिले सेयर बजार शिथिल छ। अब बढ्ला कि भन्ने पनि छ।
अहिले तपाईं र तपाईंको परिवारको लागि चिन्ताको विषय के हो?
पारिवारिक चिन्ता नै मुख्य हो। छोराछोरीको भविष्य राम्रो होस्, उनीहरूले गरिखाऊन् भन्ने कुरा नै हो।
तपाईंका छोराछोरी नेपालमै हो कि विदेशमा?
मेरो छोरो अमेरिकामा छ। छोरी यहीँ हो।
छोरी के गर्नुहुन्छ? विदेश जानुहुन्छ कि?
अब यस्तै स्थिति भयो भने त उनीहरू पनि बाहिर जानै खोज्छन् नि! यहाँ कामको ग्यारेन्टी भयो, शिक्षा अनुसारको काम ग्यारेन्टी भयो भने बेग्लै कुरा, नत्र जान्छन् विदेश।
नयाँ पुस्तालाई विदेश जाऊँ–जाऊँ लाग्ने कारण के रहेछ?
छिमेकी गएको छ, त्यो फलानो पनि गएको छ, अर्को साथी पनि गएको छ, चिलानो पनि गएको छ। अनि ऊ एक्लै बस्न मन पराउँछ त? यहाँ चाहिँ 'इकोनोमिक क्राइसिस' छ। प्रतिदिन पैसाको 'डिभ्यालुएसन' छ। आर्थिक अवस्था खराब छ। मुख्य कुरो त त्यही त हो नि!
छोराछोरी विदेशमा भएका आमाबुबालाई चाहिँ कस्तो लाग्दो रहेछ?
भरसक त नजाऊन् भन्ने नै हुन्छ। आफ्नै आँखाअघि सन्तान भइदिऊन्, आँगनको अगाडि देखियोस्, वरिपरि होस् भन्ने चाहना हरेक बाबुआमालाई हुन्छ। चाडपर्व आउँछ, त्यस बेला सँगै भए हुन्थ्यो जस्तो हुन्छ। विदेश गएपछि के भयो, कसो भयो होला भन्ने चिन्ता हरदम हुने रहेछ।
गत वर्ष भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो। त्यो आन्दोलनबारे तपाईंको धारणा?
त्यस्तो आन्दोलन हुन्छ भन्ने त सोचेको थिइनँ। 'अनएक्सपेक्टेड' नै भयो।
आन्दोलनमा त्यति धेरै युवाहरू सडकमा आए। तपाईंलाई के लाग्छ, उनीहरू किन रिसाए होलान्?
त्यो सबै युवाहरूले अवसर नपाएर हो। भोलिको भविष्य राम्रो छ भन्ने आशा लागेको भए को जान्छ र सडकमा? मुख्य कुरा भविष्य नदेखेको आक्रोश हो त्यो।
त्यो आन्दोलनले के ठिक गर्यो, के बेठिक गर्यो भन्ने लाग्छ?
भ्रष्टाचारविरूद्ध युवाहरू सडकमा आउनु एकदमै राम्रो भयो। तर, मान्छे मरे, तोडफोड र आगजनी भयो, त्यो राम्रो भएन। भ्रष्टाचार बढेको थियो। अब आन्दोलनपछि बनेको सरकारले त्यो 'स्पिरिट' ठिक ट्रेन्डमा लान्छ कि लाँदैन, त्यो हेर्न बाँकी छ।
आन्दोलनपछि देशमा केही राम्रो भएको जस्तो लाग्छ कि पहिलाको जस्तै छ?
अहिले पनि आर्थिक गतिविधि त शिथिलै छ। अझ रसुवा बाढीले त झनै खराब गर्यो। अब यसबाट उठ्न चाहिँ निकै कठिन छ।
आर्थिक बाहेकका अन्य सूचक चाहिँ ठिक छन्? जस्तो देशको राजनीति, देशको प्रशासन लगायतका क्षेत्रमा?
राजनीति त अब पाँच वर्षका लागि अहिलेको सरकारको जिम्मा छ। अब यिनीहरू फुटेनन् भने पाँच वर्ष त यिनीहरूकै हो।
तपाईंलाई अब के लाग्छ, अब तपाईंको र परिवारको जिन्दगी अझै राम्रो होला भन्ने लाग्छ कि?
त्यस्तो त सोच्नुपर्यो नि। पक्कै राम्रो होला।
किन त्यस्तो लाग्छ तपाईंलाई?
यो समयले गर्ने कुरा हो। आजभन्दा २५ वर्ष अगाडिको विराटनगरको अवस्था कस्तो थियो, त्यसपछिको १० वर्ष, अनि त्यसपछिको र अहिलेको समय देखिएकै छ। ऋण लाग्ला तर विकास त हुँदै जान्छ। राज्यको अवस्था अनुसार व्यक्तिगत जिन्दगी अघि बढ्ने हो।
राज्य जसरी, जस्तो तरिकाले चल्छ, मान्छेको व्यक्तिगत जीवन पनि त्यही ढंगले जाने त हो नि!
अहिलेको सरकारले गरेको राम्रो काम?
गर्न चाहिँ खोज्दैछ।
के–के राम्रो गर्न खोज्दैछ भन्ने लाग्छ?
अहिलेको सरकार सुशासनमा अगाडि छ। यिनीहरूले भ्रष्टाचार गर्दैनन् भन्ने लाग्छ।
गर्न नसकेको काम चाहिँ के हो भन्ने लाग्छ?
भर्खर पाँच–छ महिना त भयो सरकार बनेको। फेरि बाढीपहिरोले सरकारको समय खाइदियो।
पुराना दलहरू सुध्रिए भन्ने लाग्छ कि उस्तै छन् जस्तो लाग्छ?
त्यो त अब सुध्रिन्छ। अब बुढाबुढा नेताहरू बाइपास हुन्छन्। तिनलाई किनारा लगाउँछन्। अब नयाँ पुस्ताका मान्छेहरू आउँछन्। त्यसैले अब अलिकति सुध्रिँदै जान्छ। कांग्रेस सुध्रिन खोज्दैछ। युवाहरूले हस्तक्षेप गरेर सुधार्ने प्रयास गरेका छन्।
तर बुढाहरूले अझै दुःख दिन खोजिरहेका छन्। अब भोलि एमालेमा पनि त्यही होला, माओवादीमा पनि त्यही आउँछ। ट्रेन्ड नै चल्छ। एउटाले गरेपछि अर्कोले पनि जान्दछ।
तपाईंलाई यति बेला कुन पार्टीले देशलाई सही दिशा दिन्छ होला भन्ने लाग्छ?
अहिले त रास्वपाको प्रस्ट बहुमत छ। उसैले गर्ला भन्नुपर्यो नि। अरूले गरेर हुने होइन। अब गरेन भने फेरि पुरानै दल आउँछन्।
अहिलेको सन्दर्भमा तपाईंलाई आशा लागेको तीन जना नेता को हुन्?
म कुनै पनि पार्टीमा छैन। एउटाको नाम भन्यो अर्को रिसाउला। होस्, यसको उत्तर नगरौं होला।
यदि तपाईं अहिले नेतृत्वमा हुनुहुन्थ्यो भने के गर्नुहुन्थ्यो होला?
म नेतृत्वमा थिएँ भने टिमवर्कलाई प्राथमिकता दिन्थेँ। एक्लैले केही पनि हुँदैन। टिम चाहिन्छ।
राम्रो टिम चाहिँ हुनुपर्छ। देश चलाउने कुरा एक्लै गरेर हुँदैन। सबैको ज्ञान, अनुभव साथमा लिएर अघि बढ्नुपर्छ। म टिमवर्क गरेर अघि बढ्थेँ।
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे