कति इतिहास लेखिएका होलान्? अनि कति नलेखिएका होलान्? लेखिएका इतिहास त सीमित होलान्, तर नलेखिएका असीमित। इतिहास विजेताको लेखिन्छ अर्थात् नायकको लेखिन्छ। तर पर्दापछाडि बसेर नायक बनाउन त्याग, तपस्या गर्नेहरूको इतिहास कहीँ लेखिएको छ त? छैन।
जसरी एप्पल भन्नेबित्तिकै स्टिभ जाब्सको नाम आउँछ। एप्पल फोन बनाउन विलक्षण प्रतिभाशाली कति इन्जिनियर, प्रोग्रामर र विज्ञहरूले काम गरे होलान्? के तिनीहरू नभएको भए स्टिभ जाब्स नायक बन्न सक्थे त?
अग्लो टावरको जमिनमुनि जगमा टनका टन स्टिल पुरिन्छ। त्यो जगको स्टिलले नै टावर खडा भएको हुन्छ। तर जगको स्टिल देखिँदैन, टावरको टुप्पोको एन्टिना (सुइरो) को स्टिल देखिन्छ। त्यसैले इतिहास टुप्पोको लेखिन्छ, जगको लेखिँदैन।
आखिर जगको चाहिँ इतिहास हुँदैन त? हुन्छ। तर लेखिँदैन।
कर्णाली अञ्चलको जुम्लामा लगभग पैँतालीस वर्षअघि विसं २०३७ (सन् १९८०) सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालयले प्राविधिक शिक्षाको जग बसाएको हो। त्यही जगमा नै आज नेपालमा एक हजारभन्दा बढी प्राविधिक शिक्षालय स्थापना र सञ्चालनमा छन्। होला, नेपालको पहिलो प्राविधिक शिक्षालय कुन हो? तर शिक्षा क्षेत्रमै काम गर्नेमध्ये कतिलाई थाहा होला।
नेपालको पहिलो प्राविधिक शिक्षालयको स्थापना र सञ्चालनका मुख्य हस्ती थिए— लेरी एसर र टङ्कनाथ शर्मा। उनीहरू दुई जनालाई जति कर्णाली प्राविधिक शिक्षालयको इतिहास कसलाई थाहा होला, जुन आजसम्म लेखिएकै छैन। ती दुईमध्येका एक लेरी एसर यस धर्तीमा छैनन्। टङ्कनाथ शर्मासँग अभौतिक भेट भयो र मेटिन लागेको कर्णाली प्राविधिक शिक्षालयको इतिहास उनले उजागर गरे।
‘म (टङ्कनाथ शर्मा) लामाचौर, पोखराको गण्डकी बोर्डिङ स्कुलमा गणित पढाउँथेँ र सँगसँगै विद्यार्थी प्रमुख (स्टुडेन्ट डिन) थिएँ। अमेरिकी नागरिक लेरी एसर कृषि पढाउँथे भने अर्का अमेरिकी नागरिक बब बवलर कार्पेन्ट्री (सिकर्मी) पढाउँथे। लेरी पढाइसँगै काम पनि सिकाउनुपर्छ भनेर कम्तीमा हप्ताको एक घण्टा विद्यार्थीलाई डाइनिङ र स्कुलको सरसफाइ गर्न लगाउँथे। हुन त त्यसको सुरुवात प्रिन्सिपल जोनाथन लिन्डेलले गरेका थिए।
डा. सुरेशराज शर्मा राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिव हुनुहुन्थ्यो। त्यो समितिले शिक्षाको योजना बनाउँथ्यो। कर्णाली अञ्चलमा पनि बुढानीलकण्ठ र गण्डकी बोर्डिङजस्ता स्कुल खोल्ने डा. साबको सोच रहेछ। त्यहीअनुरूप विसं २०३५ सालमा लेरीलाई लिएर सम्भाव्यता अध्ययनका लागि वहाँ कर्णाली जानुभयो। सम्भाव्यता अध्ययनपछि वहाँको सोच बदलियो।
कर्णालीमा धनीमानी मान्छे छैनन्। महँगो शुल्क तिरेर कसले बच्चा पढाउन सक्ला? बरु सीप सिकाएर आयआर्जन गर्न सक्ने बनायो भने उनीहरूको आर्थिक अवस्था सुध्रिन्छ र जीवनस्तर माथि उठ्छ। त्यसैअनुरूप २०३६ साल (सन् १९७९) मा नेपालको पहिलो प्राविधिक शिक्षा कार्ययोजना बन्यो र राजा वीरेन्द्रबाट स्वीकृति भयो। कार्ययोजनाअनुरूप कर्णाली प्राविधिक शिक्षालय जुम्लामा स्थापना हुने भयो। त्यसका लागि नेदरल्यान्ड सरकारबाट करिब दुई करोड रुपियाँ सहयोग प्राप्त हुने भयो। आयोजना व्यवस्थापनको जिम्मा युनाइटेड मिसन टु नेपाल र शिक्षालय व्यवस्थापनको जिम्मा नेपाल सरकारले लियो।
२०३६ सालको जेठमा निरीक्षणका लागि प्लेन चार्टर गरेर म, लेरी र बवलर जुम्ला गयौँ। त्यहाँ केही थिएन, नाङ्गो डाँडो थियो। के गर्ने? हामी एउटा कार्यान्वयनको खाका बनाएर काठमाडौँ फिरियौँ। काठमाडौँ फिरेपछि युनाइटेड मिसन टु नेपालको केन्द्रीय कार्यालयमा त्यही खाकाको आधारमा कार्ययोजना र संस्थागत संरचना बनायौँ। शिक्षालय व्यवस्थापन समितिको अध्यक्ष अञ्चलाधीश हुने व्यवस्था गरियो।
त्यतिखेर म र मेरी श्रीमती अश्लेषा गण्डकी बोर्डिङमा सँगै पढाउँथ्यौँ। डा. सुरेश र लेरीबाट जुम्ला गएर प्राविधिक शिक्षालय स्थापना गर्ने प्रस्ताव आयो। जाने कि नजाने? द्विविधा भयो। त्यही बेला जाडो बिदाको स्कुल छुट्टी थियो। हामी ससुराली गयौँ र सासू र ससुरालाई त्यो प्रस्ताव सुनायौँ।
सासूले भन्नुभयो, ‘कहाँ जानु? पोखराजस्तो सुगम ठाउँको घरपायकको जागिर छोडेर।’ तर ससुरा बा (रणधीर सुब्बा) ले भन्नुभयो— ‘बि वन अफ द अन्नोन। जाने, जुम्ला जाने। तपाईंहरूजस्ता मान्छे त्यहाँ जानुपर्छ, मेहनत गर्नुपर्छ। तपाईंको नाम रहे पनि नरहे पनि मुलुक बनाउनुपर्छ।’
ससुराको कुराले मलाई उत्प्रेरित गर्यो। नभन्दै मलाई लाग्यो— बनेको ठाउँ बनाउन त जसले पनि सक्छ।
अब जुम्ला जाने त भयौँ। दुर्गम ठाउँ। त्यतिखेर जुम्लामा गाडी जाने कल्पना पनि थिएन। तर एयरपोर्ट चाहिँ बनिसकेको थियो। गुन्टा तयार गरेर म, मेरी श्रीमती, दुई साना छोरी र साथमा ढुङ्गा कुद्ने नाइके र उनको परिवारसहित गाडीबाट नेपालगन्ज लाग्यौँ। बर्खाबाहेक अरू बेला प्लेन चल्थ्यो। नेपालगन्जबाट चार्टर प्लेनमा २०३६ सालको जेठमा जुम्ला पुग्यौँ।
हामी जुम्ला पुगेको एक हप्तापछि राति ठुलो पानी पर्यो। घरको छतबाट पानी चुहिन थाल्यो। हाम्रो हरिविजोग। घरी खाट यता सार्यो, घरी उता सार्यो। बिस्तारै कोठाको चारैतिर पानी चुहिन थाल्यो। पानी कोठाभरि नहोस् भनेर भाँडा थाप्यौँ। भाँडा थापेर पनि उपाय लागेन। केही नलागेपछि म र मेरी श्रीमती छाता ओढेर बस्यौँ। त्यत्तिकैमा हामी झकाएछौँ। यसो बिउँझेको त सिरक-डस्ना भिजेको खाटमा दुई साना छोरी मज्जाले निदाइरहेका रहेछन्। कपाल पनि भिजेको रहेछ।
जुम्लामा माटोको छत भएका घर हुँदा रहेछन्। आफू बस्ने घरको छत (छाना) बनाउँदा बाबिओ लगायतका विशेष सामग्री हालेर नचुहिने तरिका बनाउँदा रहेछन्। लिपपोत गरेर अन्नपात सुकाउने, कुट्ने काम पनि छतमै गर्दा रहेछन्। त्यसले गर्दा छत कसिलो भएर उनीहरू आफू बस्ने घरमा पानी खासै चुहिँदो रहेनछ। तर भाडा लगाउने घरमा त्यो नहुने भएकाले पानी चुहिने रहेछ।
कस्तो घरमा डेरा बसिएछ भन्ने सोच्दै यसो बाहिर निस्केको थिएँ। ‘दिस जुम्ली हाउस इज टु बि नक्डाउन (यी जुम्ली घरहरू भत्काउनुपर्ने)’ भन्दै बवलर कराउँदै रहेछ। मेरो मात्र होइन, उसको पनि हालत उस्तै रहेछ।’
यो कथा सुनाउँदै गर्दा टङ्कनाथ मज्जाले हाँसे र अगाडि थप्दै गए।
शिक्षालय चलाउनुपर्ने भयो। अब के गर्ने? कक्षा सञ्चालन गर्न भवन थिएन। तर आमा मिलन केन्द्रले एउटा भवन बनाएको रहेछ। त्यो भवनमा ठुलो हल रहेछ। तर ठेकेदारले भवन पूरा नगरी छोडेको रहेछ। त्यो भवनलाई मर्मत गरी पहिलो कक्षा सञ्चालन सुरु गर्यौँ।
कक्षा सञ्चालनसँगै शिक्षालयको जग्गामा एउटा होस्टेल बनायौँ। तर धेरैवटा भवन बनाउनु थियो। धेरै घर बनाउन काठ चाहियो। परम्परागत ढङ्गले आराले चिरेर मात्र काठ पर्याप्त हुने भएन। काठ चिर्न मेसिन चाहियो। तर बिजुली थिएन। बिजुली नभएपछि मेसिन चल्ने कुरो भएन। खोलाबाट बिजुली निकालियो। काठ चिर्ने काम पनि भयो र शिक्षालयलाई बत्तीको पनि भयो।
भवनहरू क्रमशः बन्दै गए। २०४१ सालमा म अमेरिका पढ्न जाँदासम्म अठार वटा भवन बनिसकेका थिए र बाँकी भवन पनि बन्ने क्रममा थिए। पुरै भवन त २०४४–४५ सालतिर मात्र बनेका हुन्।
शिक्षालय स्थापना (विसं २०३७ साल साउन ५ गते) हुँदा लेरी प्रिन्सिपल र म एसिस्टेन्ट प्रिन्सिपल थियौँ। त्यसपछि २०३८ देखि म प्रिन्सिपल भएँ र लेरी को–प्रिन्सिपल भए। २०४१ सालमा म अमेरिका पढ्न गएपछि लवप्रसाद त्रिपाठी प्रिन्सिपल भए।
विद्यार्थी छनोटका आधारहरू के-के थिए भन्दा उनी भन्छन्- कक्षा ७ पास र आर्थिक अभावको कारणले माध्यमिक विद्यालय जान नपाएको भन्ने नै मुख्य आधार थियो। किनकि दुर्गम ठाउँमा सदरमुकामबाहेक अन्य ठाउँमा प्रायः माध्यमिक विद्यालय थिएनन्। गाउँका विपन्न वर्गका मान्छेले सदरमुकाममा बच्चा राखेर पढाउन सक्दैनथे। विपन्न छुट्याउने आधार बनाएका थियौँ।
सुरुमा शिक्षालय कर्णाली अञ्चलका पाँच (जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट) जिल्ला मात्र सेवा दिने गरी खुलेको थियो। तर विसं २०४० सालमा राजा वीरेन्द्रको सवारी भएपछि सेती अञ्चलका दुई जिल्ला बझाङ र बाजुरा थपिए।
पहिलो शैक्षिक सत्रमा लेरी र म नै विद्यार्थी छनोटका लागि कर्णाली अञ्चलका जिल्लाका कुनाकाप्चासम्म गयौँ। कृषि ट्रेडमा १६ जना छानेका थियौँ तर आउने बेलामा १२ जना मात्र आए। त्यसमध्ये एक दलित थिए। दलित विद्यार्थीलाई बाहिर राखेर खान दिँदा रहेछन्। त्यो थाहा पाएपछि दलित विद्यार्थीसँगै बसेर मैले खाना खाएँ।
‘हेर यो विद्यालय हो, विद्याको मन्दिर। यो त ज्ञान र सीप सिक्ने ठाउँ हो। यो मन्दिरमा जातभात भनेर कसैलाई छुत र अछुत गर्न पाइँदैन’ भनेर सम्झाएँ। ‘कामी’ सँग पनि बसेर भात खान लगाउने भनेर कालिकोटको एउटा बाहुन केटो राति नै भागेछ।
सीप सिकाउने हाम्रो मुख्य लक्ष्य थियो। त्यसैले २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक हुन्थ्यो। प्रयोगात्मकमा काम गर्नुपर्दथ्यो। पढ्न भनेर आएको खन्न, ढुङ्गा र काठ बोक्न पो लगाउँदा रहेछन् भनेर फेरि केही समयपछि अर्को रोल्पाली केटो भाग्यो।
कृषि ट्रेडमा १२ जना आएकामा ६ जनाले मात्र पढाइ सके। तर निर्माण विषयमा चाहिँ अलि धेरैले पढाइ सकाए। त्यो बेला उत्पादित प्रशिक्षार्थी सैद्धान्तिक ज्ञानमा त्यति धेरै सशक्त नभए पनि प्रयोगात्मक ज्ञान (काम) मा चाहिँ सशक्त थिए।
शिक्षालय पूर्ण रूपमा सञ्चालन भएपछि कृषि, निर्माण र स्वास्थ्य विषयमा कार्यक्रम सञ्चालन भए। विद्यार्थीले प्रयोगात्मकको अतिरिक्त हप्तामा एक घण्टा अनिवार्य रूपले काम गर्नुपर्ने थिति बसाएका थियौँ। त्यसरी हामीले काम गर्ने संस्कार विकास गरेका थियौँ।
शिक्षालयको कम्पाउन्ड बनाउने भइयो। बजेट थिएन। शिक्षक, कर्मचारी र विद्यार्थी सबै मिलेर बिहान-बिहान ढुङ्गा बोक्यौँ। अनि पर्खाल लगायौँ।
निर्माण ट्रेडका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउनुपर्यो। त्यो प्रयोजनका लागि चौकिदार भवन बनायौँ। डिजाइन, इस्टिमेट र भवन निर्माण विद्यार्थीहरूले गरे। त्यसपछि अर्को ब्याच आउँछ। अब कहाँ प्रयोगात्मक अभ्यास गराउने?
स्वास्थ्य मन्त्रालयले जुम्लामा अस्पताल बनाउने भयो। कर्णाली प्राविधिक शिक्षालय पनि सरकारी संस्था भएकोले बिना टेन्डर हामीलाई बनाउन दिनुहोस् भन्यौँ, तर काइँकुइँ गर्न थाले। त्यसपछि अर्थ मन्त्रालयबाट दिन मिल्ने निर्णय गराएर ल्याएँ। निर्माण प्रशिक्षक कुलबहादुर बस्नेतको नेतृत्वमा डिजाइन, इस्टिमेटदेखि सम्पूर्ण निर्माण हामीले गर्यौँ। निर्माणको काममा प्रशिक्षक र विद्यार्थी कामदारसँग राति आठ-नौ बजेसम्म सँगै खटिए।
स्वास्थ्यका विद्यार्थीको प्राक्टिकलका लागि अस्पतालसँग सम्झौता गरियो। अस्पतालसँगको साझेदारीमा गाउँ-गाउँमा मातृशिशु कल्याण क्लिनिक सञ्चालन गर्यौँ। गर्भवती महिलालाई आइरन चक्की खुवाउने, सुत्केरी तथा सुँढेनी सेवा दिने जस्ता समुदायमा आधारित कार्यक्रम सञ्चालन गरियो।
जुम्लामा त्यो बेला त्यहाँका मान्छे तरकारी हुँदैन भनेर रोप्दा रहेनछन्। काठमाडौँबाट बीउ लगेँ। अमेरिकाबाट पनि बीउ मगाएँ। त्यो बीउ लगेर रोप भन्दा हुँदैन भनेर मान्दै नमान्ने। तिमीहरू लाउँदैनौ भने हाम्रा विद्यार्थीले तिम्रो जग्गामा तरकारी रोपिदिन्छन् भन्दा शिक्षालयले जग्गा हडपेर लिन्छ भनेर झन् मानेनन्।
गाउँलेसँग केही नलागेपछि शिक्षालयका पिउन र चौकीदारलाई तिम्रो जग्गामा हामी तरकारी लगाउँछौँ, फलेपछि त्यो तरकारी तिमीहरू नै खाऊ। मान्दैनौ भने हामी तिमीहरूलाई जागिरबाट निकालिदिन्छौँ भनेर तर्साएँ। दुई चौकीदार र एउटा पिउनको बारीमा हाम्रा विद्यार्थीहरूले तरकारी रोपेर मल हाल्ने र गोडमेल गरे। फल्यो। उनीहरूलाई नै खाऊ भन्यौँ। तरकारी फलेको देखेपछि गाउँलेहरू हेर्न जान थाले। ए, उसको बारीमा हुँदाखेरि हाम्रोमा पनि हुने रहेछ भनेर बीउ माग्न शिक्षालय आउन थाले। बिस्तारै बीउ किन्न पनि थाले। गाउँलेलाई कृषि सम्बन्धी सल्लाह चाहिएमा कृषिका विद्यार्थीले मद्दत गर्दथे।
जुम्लामा त्यो बेला साना र अमिला जङ्गली स्याउ हुन्थे। हामीले काँटछाँट (कटिङ एन्ड प्रुनिङ) र मलजल गर्न सिकायौँ। त्यसले ठुलो आकारको रसिलो स्याउ धेरै परिमाणमा फल्न थाल्यो। स्याउ त प्रशस्त फल्यो, तर बाटोघाटो थिएन। स्याउ बिग्रन थाल्यो। अनि स्याउका चाना बनाएर सुकायौँ र त्यो सुकुटीलाई प्याकिङ गर्ने काम सुरु गर्यौँ। गाउँलेलाई पनि सिकायौँ। उनीहरू बिस्तारै नेपालगन्ज र सुर्खेतमा स्याउको सुकुटीका आपूर्तिकर्ता भए। समुदायसँगको यो साझेदारी कार्यक्रमले राम्रो प्रभाव पार्यो।
शिक्षालयले तरकारी र आलु फलायो। आलु मात्रै पन्ध्र टन फलेछ। अब त्यत्रो आलु के गर्ने? कहाँ राख्ने? तर सेनालाई धेरै आलु चाहिने रहेछ, सेनालाई बेच्यौँ। सँगसँगै आलु फलाउन गाउँलेलाई प्रेरित गर्यौँ। गाउँले पनि धेरै आलु फलाउन थाले। आलु बिग्रने भयो। जुम्लाको पश्चिम फर्केको जमिनमा प्रायः सधैँ चिसो र बरफ जम्ने हुन्छ। बारीको भित्तो खनेर चारैतिर ढुङ्गाको पर्खाल लगाएर ढोका लगाउन मिल्ने गरी कोल्ड स्टोर (शीतभण्डार) बनायौँ र परीक्षण गर्यौँ। त्यो सफल भयो। त्यो प्रविधि गाउँलेलाई सिकायौँ र उनीहरूको आलु बिग्रन पाएन।
जुम्लाका फलामकर्मीलाई ल्याएर एल्युमिनियमको धुवाँरहित चुलो बनाउन सिकायौँ। सँगसँगै हामीले उद्यमशीलता पनि सिकायौँ। उनीहरूले गाउँमा चुलो बनाएर बेच्न थाले। सडक नभएकोले एल्युमिनियम ल्याउन सजिलो पनि थिएन। जुम्लामा चिप्लो माटो त पाइन्छ। माटो र बाबिओ मिसाएर माटोको पाइपसहितको धुवाँरहित माटोको चुलो बनायौँ र परीक्षण गर्यौँ, त्यो सफल भयो। त्यसपछि माटोबाटै गाउँ-गाउँमा धुवाँरहित चुलो बन्न थाल्यो। यसरी हामीले नयाँ प्रविधिको विकास गर्यौँ।
जुम्लामा ढुङ्गामाथि ढुङ्गा ध्र्याप-ध्र्याप राखेर गाह्रो लगाउने चलन रहेछ। कति घर वर्षात्मा भत्किएर मान्छेसमेत मरे। हामीले ढुङ्गा काट्न र कुँद्न सिकायौँ। डोरी टाँगेर गाह्रो लगाउन पनि सिकायौँ। त्यसरी गाह्रो लगाउँदा दुई वटा ढुङ्गाको बीचको ‘जोइन्ट’ मा पर्ने गरी माथिबाट अर्को ढुङ्गाले थिचेर ‘बन्डिङ’ गर्न सिकायौँ। त्यसको लागि हामीले पोखराबाट ढुङ्गाको गाह्रो लगाउने १६ जना सिपालु मिस्त्री प्लेन चार्टर गरेर लग्यौँ।
एकजना पोखराका मिस्त्रीसँग चार जना स्थानीयलाई सँगसँगै काम सिकायौँ। उनीहरू पनि पोखराका मिस्त्रीबराबर जान्ने भए। त्यसपछि जुम्लामा राम्रा र बलिया घर बन्न थाले। त्यसको प्रभाव कर्णाली अञ्चलका अरू जिल्लामा पनि पर्यो। मुगु, कालिकोट र हुम्लामा पनि त्यही तरिकाले घर बन्न थाले।
त्यो बेला कर्णाली अञ्चलको विकास र परिवर्तनमा कर्णाली प्राविधिक शिक्षालयले जे जति योगदान गर्यो, त्यति त अरू कसले गरेको होला र! तर त्यसको लागि हामीले सानो त्याग, तपस्या र संघर्ष गरेका छैनौँ।
पहिलो शैक्षिक सत्रमा विद्यार्थीहरूलाई पढ्न ल्यायौँ। विद्यार्थीहरू छात्रावासको शौचालयमा शौच नगरी पाखामा दौडन्थे। पाखामा दिसापिसाब गर्न हुँदैन भनेर सम्झाई-बुझाई गर्यो, फेरि पनि पाखातिर कुदिहाल्ने। होस्टेल सुपरिटेन्डेन्ट थिए नीलकण्ठ पौडेल। शौचालयमा दिसापिसाब गराउन नीलकण्ठजी कति पटक विद्यार्थीको पछि-पछि दौडेर समातेर ल्याउनुभएको छ।
विद्यार्थी शौचालयमा शौच गर्न त थाले, तर हातले दिसा धुन असहज भएपछि काठ र ढुङ्गाले पुछेर हालिदिन थाले। शौचालय जाम भयो। दिसापिसाबमा हात हाल्नु उनीहरूको लागि ठुलो कुरो थियो। म आफैँले हात हालेर सफा गरेँ। तर प्रिन्सिपलले नै हात हालेर सफा गरेपछि विद्यार्थीलाई आफैँ सफा गर्न कर लाग्यो।
फेरि दोस्रो शैक्षिक सत्र सुरु भयो, नयाँ विद्यार्थी आए। पाखामा दिसापिसाब गर्न जाने पारा उही। शिक्षालय सञ्चालन गरेको लगभग दुई-तीन वर्षसम्म यो क्रम चल्यो। एउटा मान्छेको दिसापिसाबमा अर्को मान्छेको मिसिन हुँदैन भन्ने संस्कार रहेछ त्यहाँ।
प्राविधिक शिक्षालय के हो, के गर्छ भन्ने कर्णाली अञ्चलका मान्छेलाई थाहा थिएन। सुरुको वर्ष धेरै ठाउँमा लेरी र म नै गएर-गएर गाउँमा भेला र छलफल गर्यौँ। भन्यौँ— तपाईंहरूका बच्चाले पढ्न पाउँछन्। खान-बस्न पाउँछन्। पढेपछि सीप सिक्छन् र राम्रो जागिर पाउँछन्। आफैँ उद्यम र व्यवसाय गर्न सक्छन्।
दोस्रो शैक्षिक सत्रको विद्यार्थी छनोटमा गएका थियौँ। कसैको घरको आँगनमा हामी भात पकाउँदैन थियौँ। त्यहाँ के भयो भने एउटा केटो लिएर एउटा मान्छे आयो। छेउमा बसेर भन्न थाल्यो— ‘साब, यसले दुई दिन भयो केही खाएको छैन। हामीसँग केही अन्नको गेडो छैन। हामीले त कद्दु (फर्सी) खायौँ। तर यसले कद्दु खान मानेन। तपाईंले पकाउनुभएको भात यसलाई अलिकति दिनुहोस् न।’
अनि हामीले बाउ-छोरालाई नै पेटभरि खान दियौँ। खानै नपाउने त्यस्तो विजोग अवस्था देखेपछि पढ्ला नपढ्ला, जेसुकै होस् भनेर त्यो केटालाई त्यतिबेलै छनोट गर्यौँ। यो २०३८ सालको घटना हो।
‘विद्यार्थी छनोट गर्न जान पनि कहाँ सजिलो थियो र, राजेन्द्रजी। घर छोडेर हिँडेपछि एक-डेढ महिनामा फिर्ने हो। फिरेर नआएसम्म घर-परिवारसँग सम्पर्क हुँदैनथ्यो। फोन थिएन, इन्टरनेट थिएन। चामल बोकेर हिँड्न पर्दथ्यो। गाउँका मान्छे जे खान्छन्, त्यही खाने हो भने नबोके पनि हुन्थ्यो, तर गाउँका मान्छे नै खान पाउँदैनथे। चामल सकिँदै जान्थ्यो। सदरमुकाम पुगेपछि फेरि खाद्यको चामल किनेर थप्ने हो। डा. सुरेशराज शर्माले सिडिओ र अञ्चलाधीशको बैठक राखेर शिक्षालयका कर्मचारीले खाद्यको चामलको कुपन पाउने व्यवस्था गर्नुभएको थियो।’
गाउँमा बास बस्न पनि सजिलो थिएन। बास पाइहाले पनि बस्ने ठाउँको दलान राम्रो हुँदैनथ्यो। फेरि त्यसमा पनि उपियाँ, उडुस लाग्दथ्यो। सल्ला बलेको घर त्यसै पनि गनाउने। त्यही भएर हाम्रा शिक्षक कर्मचारी आफ्नै स्लिपिङ ब्याग लिएर हिँड्थे।
फेरि बाटो पनि सजिलो कहाँ थियो र! कुन बाटो जाने, कहाँबाट जाने भन्ने हुन्थ्यो। गाउँलेलाई बाटो सोध्दै जाने हो। बाटोमा मलमूत्र देखियो भने गाउँ आएछ भनेर थाहा हुन्थ्यो। कति ठाउँमा एउटा बाटो जानुपर्ने ठाउँमा अर्को गलत बाटो पर्ने। फेरि मुख्य बाटोमा फर्केर आयो अनि सही बाटो समात्यो। त्यस्तो त कति भयो भयो, भनिनसाध्यै छ। अहिले जस्तो जिपिएस भए पो! तर एउटा राम्रो पक्ष चाहिँ बाटोमा अरू मान्छे पनि हिँड्थे।
म, मेरी श्रीमती अश्लेषा, सहलेखापाल प्रभुराम खत्री र एकजना पिउनसहित हामी हुम्ला हिँड्यौँ। मुगु हुँदै हुम्ला जिल्ला पुगेपछि वामा भन्ने ठाउँ आउँछ। वामाबाट ढुङ्गैढुङ्गा भएको जङ्गलको बाटोबाट डेढ दिन नहिँडी गाउँ नभेटिने। त्यो पनि एउटा डाँडोबाट अर्को डाँडो काटेपछि मात्र गाउँ भेटिने। फेरि बाटो अति उकालो र ओरालो। हिँड्दाहिँड्दै त्यही घना जङ्गलको बीचमा पुगेपछि रात पर्यो। पाल बोकेका थियौँ, त्यही टाँगेर बास बस्यौँ। अहिले सम्झँदा पो त्यस्तो जङ्गलमा धन्न बाघभालुले खाएन भनेर कता-कता डर लाग्छ। मैले अहिले यहाँ भनिरहँदा अहिलेका जेन्जीले पत्याउँदैनन्।
मैले अघि नै भनिहालेँ, कर्णाली प्राविधिक शिक्षालयको जग बसाउने डा. सुरेशराज शर्मा हुनुहुन्थ्यो। फेरि वहाँकै योजना, पहल र नेतृत्वमा विसं २०४५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को स्थापना भयो। त्यो बेलासम्म धनकुटा, काठमाडौँ, लहान, जिरी र दिपायलमा प्राविधिक शिक्षालय स्थापना र सञ्चालन भइसकेका थिए। सिटिइभिटीको स्थापना र सञ्चालनपछि डा. साब काठमाडौँ विश्वविद्यालय स्थापनामा लाग्नुभयो।
त्रिभुवन विश्वविद्यालयका ट्रेड कोर्स सञ्चालन गर्ने क्याम्पसलाई सिटिइभिटी मातहतमा ल्याउने सरकारको नीति र योजना बन्यो। त्यही बीचमा म अमेरिकाबाट २०४४ सालमा फिरेपछि २०४७ सालसम्म फेरि कर्णाली प्राविधिक शिक्षालयको प्रिन्सिपल भएँ। कर्णालीबाट सरुवा भएर २०४७ सालमा पूर्वाञ्चल प्राविधिक शिक्षालय (हाल पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस) धरानमा केही दिन पहिलो र अन्तिम शिक्षालय प्रमुख भएँ। तपाईं र मेरो त्यहीँ भेट भयो।
सिटिइभिटीको निर्देशक छाडेर काठमाडौँ विश्वविद्यालयको प्राध्यापक हुँदै डिनबाट अवकाश भएका प्रा. डा. टङ्कनाथ शर्मा गुनासो गर्छन्— ‘हामीले जुम्लाबाट सुरु गरेको प्राविधिक शिक्षाको अभियान अन्तर्गत अहिले एक हजारभन्दा बढी शिक्षालय र तालिम केन्द्र खुलिसके, तर सङ्ख्याको उकालोसँगै गुणस्तर ओरालो लागेको छ। प्रयोगात्मक कागजमा सीमित भएको अवस्था छ।’
उनी कामना गर्छन्— छयालीस वर्षअगाडि बनेको कर्णाली प्राविधिक शिक्षालय जीर्ण नबनोस्। बन्दाखेरि जुन चमकधमक थियो, त्यो चमकधमक जोगाउन नसके पनि इतिहासको विरासत जोगाउन सफल होस्। जुम्लाको खलङ्गा बजारबाट तीन किलोमिटर उत्तरमा ३३.३ हेक्टरभित्र फैलिएको यो कर्णाली शिक्षालय भग्नावशेषमा परिणत नहोस्।
अज्ञात बनेर मुलुक बनाउन कर्णाली प्राविधिक शिक्षालय जुम्ला गएका प्रा.डा. शर्मा पोखरा नजिकैको आफ्नो जन्मघरमा जीवनको उत्तरार्धमा छन्। भन्छन्— अशक्त छु, बिरामी छु। आफ्नो श्रीमती छैन। खाना पकाएर दिने मान्छे छैन। औषधि ल्याएर दिने मान्छे छैन। तर पनि बाँच्ने रहर हुने रहेछ। कसैले वास्ता नगरे पनि बाँच्ने रहर छ। आखिर जीवन भनेकै रहर रहेछ।
चालीस वर्षअगाडि बनेको कर्णाली प्राविधिक शिक्षालय आफैँमा एउटा इतिहास हो। शिक्षालयमार्फत तत्कालीन कर्णाली र सेती अञ्चलको आर्थिक र सामाजिक विकासमा खटिनेहरू कति अज्ञात होलान्? जसले घरपरिवार छाडेर आर्द्रता र हिउँले ढाक्ने पाखो रोजे। सुगम ठाउँको सुखसुविधा त्याग गरेर त्यहाँ गए। देशबाट गए। अझ अमेरिका जस्तो भौतिक विकासको वैभव छाडेर गए। तीमध्ये कति यस धर्तीमा छैनन् होला। जो छन्, ती पनि कहाँ छन्? ती पनि समयसँगै अज्ञात छन्, अपरिचित छन्।
अमेरिकाकी राष्ट्रपतिले युद्धमा ज्यान गुमाएका अज्ञात सैनिकलाई सलामी दिनुपर्छ। तर जिउँदा इतिहासलाई जिउँदै छँदा झन् सलामी दिनुपर्छ। त्यो नै सच्चा सम्मान हो। जीवनको उत्तरार्धमा पुगेका डा. सुरेशराज शर्मा र डा. टङ्कनाथ शर्मा प्राविधिक शिक्षाका जिउँदा इतिहास हुन्। थाहा छैन, जिउँदा इतिहासलाई कसले सलामी देला?