सहरमा जन्मे हुर्केकाहरूलाई गाउँघरको जनजीवन बारे हल्काफुल्का रूपमा मात्र जानकारी हुन्छ। हुन त कुनै पाठ्य सामग्रीमा पढेर वा गाउँतिरको घुमघाममा निस्किएर अनि त्यहाँ केही दिन बिताएर आएकाहरूलाई गाउँघरको केही परिवेशहरू बारे जानकारी त होला।
तर समग्र रूपमा गाउँघर र त्यहाँको बाध्यता, चालचलन, रीति-रिवाज, परिस्थितिका बारेमा बुझ्न र जान्नका लागि गाउँघरमै वर्ष दिन बिताए पनि सहरबासीहरूले सबै जान्न बुझ्न मुस्किल नै पर्छ।
गाउँघरका मानिसहरू प्रकृतिको नजिक रहेर दैनिकी चलाइरहेका हुन्छन्। बर्खामासमा गोठालो जाँदा कतै पहिरोले बाटो नै छेकेको हुन्छ भने भारी वर्षाका कारण सानातिना खोलानाला उर्लिँदा बाटो नै अवरुद्ध हुने अवस्था आउन सक्छ।
काम नगरी घर-व्यवहार पनि त चल्दैन। काम गर्नकै लागि कतै आवतजावत गर्दा केही गाउँलेले रुख वा भीरबाट लडेर र बाढीले बगाएर ज्यान गुमाएका समाचारहरू पनि आइरहेका हुन्छन्। हुन त त्यस्तो नहोओस् भन्ने सबैले कामना गर्नुपर्दछ, अकालमा कसैको ज्यान जानु राम्रो मानिँदैन पनि। यहाँ आफूसँग सम्बन्धित घटनाहरू र दृश्यहरूका बारेमा ढुंगाका प्रसङ्ग उल्लेख गरिएको छ।
छिर्ने गाउँको त्यो ढुंगा
मेरो जन्मथलो रोल्पाको खुंग्रीबाट उत्तरतर्फ रहेको सुलिचौर बजारतिर जाँदा छिर्ने नामको सानो गाउँ भएर जानुपर्दछ। उहिले हामी सानो छँदा छिर्ने गाउँमा जाँदा एउटा ठुलो ढुंगा मुनिबाट छिरेर अनि निहुरिएर जानुपर्दथ्यो। ढुंगा मुनिबाट छिरेर जानुपर्ने भएकोले त्यस गाउँको नाम छिर्ने रहन गएको भनाइ रहेको छ। सो ढुंगा मोटर बाटो निर्माण गर्ने क्रममा फोडिएको र हटाइएको थियो। हाल छिर्ने नामको गाउँलाई ‘प्रवेशनगर’ नाम दिने कोसिस गरिए पनि छिर्ने भन्न सजिलो भएकै कारण गाउँ पुरानै नामले चिनिन्छ।
प्रकृतिले कुँदेको ढुंगाको सम्झना
हामी किशोरावस्थासम्म गाउँमा रहँदा वनपात र खेतीपाती गर्नपर्दथ्यो। हाम्रो गाउँको प्रमुख गौचरनको रूपमा चिनिने ओगिल्जातिर झर्दा बाटोमा एउटा यस्तो ढुंगा थियो जहाँ मानिसको आकृति झैँ लाग्ने चित्र देखिन्थ्यो। गाउँघरतिर प्राकृतिक रूपमै कुँदिएका त्यस्ता खालका ढुंगाहरू ठाउँ-ठाउँमा भेटिन्छन्। सो ढुंगा मैले कहिल्यै पनि बिर्सने कुरा भएन।
बाँदरले पनि पल्टाउँछन् ढुंगा
बालबालिकाहरू चकचक गरे भने ‘कस्तो बाँदर जस्तो चकचक गरेको’ भन्ने चलन छ। किनकि धेरै चकचक गर्ने प्राणीहरूमा बाँदर बढी देखिन्छ। हुन त अरू प्राणीहरू पनि होलान्, त्यस्ता स्वभावका, अरू त्यस्ता प्राणीहरूतर्फ मानवको नजर नपरेको हुनसक्छ। तर ‘बाँदरे चकचक’ भनाइ भने सर्वव्यापी छ।
उहिले हामी वन-पाखातिर जाँदा हामी तलतिर रहँदा बाँदरले माथिबाट सानातिना ढुंगाहरू पल्टाएको मलाई सम्झना छ। बालीनाली खाएर नष्ट पारिदिने बाँदर देखेपछि हामीले जमिनबाट जस्तो भेटिन्छ त्यस्तै ढुंगा उठाएर बाँदरतर्फ प्रहार गर्दा विपरीत दिशातर्फ फर्किएको बाँदरले पनि आकाशबाट झर्दै गरेको ढुंगा देखिहाल्ने र छलिहाल्ने गर्थ्यो।
पछिल्ला दिनहरूमा गाउँघरमा बाँदरले किसानहरूलाई निकै हैरान पारिरहेको छ। पहिले पहिले हाम्रो गाउँ-बस्तीमा बाँदर आउँदैनथ्यो। बाँदर खेतबारीको फेरा र ढिकमा रहेका बाली खान आउँथ्यो भने हालका दिनहरूमा बाँदर बस्तीमै पस्ने र घरभित्र छिरेर अनाज खाइदिने गरेको पाइन्छ।
बाँदरले दुई हातमा मकैका घोगा समाएर दुई खुट्टाले मान्छे हिँडे झैँ हिँड्ने गरेको पनि देखिन्छ। साथै बाँदरले मुखको गालामुनि दुबैतिर खानेकुरा भण्डारण गर्ने पनि गर्दछ। बाँदरलाई मान्छेको पुर्खा भनिए पनि बाँदरको पुर्खा के त भनेर मैले प्रश्न गर्दै आएको छु।
उहिले आफू गाउँमा रहँदा फरक फरक समयमा र स्थानमा बाँदरलाई दुई पटक घेराबन्दी गरेर समातिएको सम्झना पनि ताजै छ। एक्लै रहने बाँदरलाई हाम्रो भेगतिर ‘एक्ले बाँदर’ भनिन्छ। बाँदरको हत्केलामा मान्छेको झैँ रेखा र चक्रहरू हुन्छन्। बाँदर झैँ देखिने गुना नामको बाँदर भने बस्तीको आसपासमा आउँदैन र वनतिर नै डुलिरहेको देखिन्छ। यसले बालीनाली भने क्षति गरेको पाइँदैन। गुनाको रौँ सेतो र अनुहार अनि पैताला-हत्केला कालो रङको हुन्छ। शब्दकोशमा गुनाको अर्थ भने लामपुछ्रे बाँदर भनेर उल्लेख छ।
स्लेट ढुंगा ढुवानी
हाम्रो मावली गाउँ रोल्पाको सिर्पमा ठुलो क्षेत्रमा स्लेट ढुंगाको खानी छ। उहिले त्यहाँबाट निकालिएका स्लेट ढुंगा रोल्पा मात्र नभएर प्युठान र दाङमा समेत पुगेको देखिन्थ्यो। उहिले स्लेट ढुंगाले छाएको घरलाई विशेष महत्त्वका साथ हेरिन्थ्यो। २०५८ सालमा रोल्पाको सुलिचौर बजारमा स्लेट ढुंगाले छाएको दाइको घर भत्काइएपछि स्लेट ढुंगा मैले आफ्नो घर छाउन खुंग्रीमा लगेको थिएँ जम्मा अठार हजार रुपियाँमा।
सो ढुंगाको मूल्य हाल दुई लाख रुपियाँको हाराहारीमा पर्छ। तर स्थानीय बासिन्दाहरू ढुंगाले घर छाउन छाडेका छन्। बाटो बिस्तारका कारण मेरो घर भत्काइने भएकोले छाइएको स्लेट ढुंगा कता तह लगाउने भन्ने चिन्ता छ। अर्को घर खडा गर्ने सम्भावना पनि छैन। सत्तरी लाग्न सात वर्ष बाँकी भएको मान्छेले गाउँमा अर्को घर बनाउने अवस्था छैन। उमेरले पुनः गाउँ फर्क भनेर भन्दैन, वातावरणीय हिसाबले गाउँ ठिक त छ। तर बुढेसकालमा उपचार गराउन फेरि सहर पस्नुपर्ने हुन्छ।
बम विस्फोटबाट उछिट्टिएका ढुंगाहरू
हाम्रो गाउँको उत्तरतिर भीरपाटी नामको स्थानमा चट्टानै चट्टान रहेकोले त्यहाँ मोटर बाटो बनाउने क्रममा ठुला ढुंगा र लेयरमा रहेका चट्टानहरू झल्पलको सहायताले प्वाल पारेर त्यसभित्र डाइनामाइट फिट गरेर फ्युजको टुप्पोमा सलाई कोरेर विस्फोट गरेर फुटाउने गरेको सम्झना अझै पनि मेरो मानसपटलमा ताजै छ। त्यसरी विस्फोट हुँदाका बखत ढुंगाका साना आकारका टुक्राहरू उछिट्टिएर डेढ दुई सय मिटर वरसम्म आउँदा हामीहरूलाई डर-डर लाग्दथ्यो र सुरक्षाका लागि वर-पिपलको फेदमा विपरीत दिशामा उभिएर ओत लाग्ने गर्दथ्यौँ।
पौडी खेलेपछि तापिएका बालुवा-ढुंगाहरू
समुद्र सतहबाट सात सय मिटरको उचाइमा रहेको हाम्रो गाउँ चैतको मध्यदेखि नै गर्मी चढ्ने भएको हुँदा हामी पौडी खेलेर रमाउने र चिसो भगाउन घामले तातेको बालुवा वा ढुंगामा टाँसिएर ताप ग्रहण गर्दथ्यौँ। तीन/चार घण्टा पौडी खेल्दै बालुवा-ढुंगा ताप्दै गर्दा गाईहरू गौचरनबाट बस्तीतिर लाग्दथे र हामी लुगा लगाएर गाईगोरुको पछिपछि घर पुग्थ्यौँ।
चुलढुंगाको सानो कहानी
हामी किशोरावस्थामा बिदाका दिनहरूमा गाईगोरु चराउन जाने वनहरूमा खोरिया र मजुवा पनि थिए। मजुवा भएर हामी खोरियातिरबाट चुलढुंगातिर उक्लिँदा श्वास बढ्दथ्यो। चुलढुंगामा बसेर आराम गर्दै गर्दा चुलढंगा किन भनिएको रहेछ भनेर अग्रजहरूलाई सोध्दा चुलो आकारका ढुंगा भएकोले यसलाई चुलढुंगा भनिएको हो भनिएपछि हामीलाई पत्यार लाग्ने नै भयो।
जुरढुंगा फोड्न महिनौँको श्रम
हाम्रो सिरानतिरको बारीमा मान्द्रोभन्दा पनि ठुलो आकारको क्षेत्रफल ओगटेको जुरढुंगा थियो। त्यसलाई फोड्न महिनौँ लागेको थियो। जसका लागि श्रमिकहरू लगाइएको थियो। थोरै उब्जाउका लागि धेरै श्रम र खर्च गर्नुपरेको थियो।
मादल जस्तो बज्ने ढुंगा
हाम्रो गाउँमा चतुर्भुज नामको तीर्थस्थल छ, जहाँ शिवपाञ्चायन मन्दिर लगायत अन्य मन्दिरहरू पनि छन्। चतुर्भुजबाट माथि उक्लिँदा माडी नदीको किनारको माथि चमेराहरू बस्ने गुफा छ। हामी त्रिचालिस वर्षअघि प्युठानको भिंग्रीस्थित अमर माध्यमिक विद्यालयबाट पढेर फर्किँदा चमेरा बस्ने गुफाको नजिक भित्तातिर रहेको गैँडाको खाग जस्तो देखिने चट्टानलाई सानो ढुंगाले हिर्काउँदा मादल बजे झैँ बज्दथ्यो।
लम्फाखोलाको ढुंगाको जिज्ञासा
हाम्रो गाउँबाट सुलिचौर बजार जाने बाटोमा पर्ने लम्फा खोला छ, त्यहाँ बाटोको किनारामा विशाल ढुंगा बसेको छ। सो ढुंगा कुनै बखत पहिरो गएर माथिबाट खसेको अनुमान लगाउन सकिन्छ। माथि सो ढुंगाले छोडेको ठुलो डोब पनि देखिन्छ।
ददेरी ढुंगा भएको जमिनमा फल्ने गहत र झिलिंगे मात्र
हाम्रो घर नजिकमा रहेको झोरखोलाको नामले चिनिने खहरे खोलाको किनारामा रहेको बारीमा गहतको गेडाका आकारका च्याप्टा खालका ढुंगाहरू भएका कारण त्यहाँ गहत र झिलिंगे बाहेक अरू बाली हुँदैन। त्यस बारीलाई ददेरी पाटोको नामले चिनिन्छ। गहतका गेडा जस्ता देखिने च्याप्टा आकारका ढुंगालाई हाम्रो भेगतिर ‘ददेरी’ भनिन्छ। रोल्पाबाट भालुबाङ जाँदा वड्डाँडाबाट ओर्लिएपछि भालुबाङ नआउँदै ददेरी नामको एउटा ठाउँ पनि छ।
पहरामा ढुंगाले हिर्काउँदा झर्ने तमाम ढुंगाहरू
नदी खोलाका किनारतिर पहरामा ओडार आकारका भित्ताहरू पनि देखिन्छन्। ओडारे भित्ताको सिलिङतिर कुनै ढुंगाले हिर्काउँदा त्यहाँबाट ह्वारह्वारती बालुवा र ढुंगा झरेको देख्दा हामी रमाउँथ्यौँ र पटक पटक ढुंगाले हिर्काएर त्यस्ता दृश्यहरू हेरेर हामी मजा मान्थ्यौँ।
आफ्नै अगाडि बडेमानको ढुंगा बजारिँदा
रोल्पाको पूर्वी भेगको व्यापारिक केन्द्र सुलिचौर बजार सुरुमा सुनसान ठाउँको रूपमा रहेको थियो, जहाँ दुई/चार गोठ र घर मात्र देखिन्थे। २०४१/४२ सालतिर जब सुलिचौरले बजारको रूप लियो त्यहाँ मान्छेहरूको चहलपहल बढ्न थाल्यो। त्यहाँ नेपाल खाद्य संस्थानले उसिनेको चामल बिक्री गर्न थाल्यो भने ढिके नुनको बिक्री केन्द्र पनि चल्न थाल्यो अनि बाइसखुवा क्षेत्रबाट ग्राहकहरू आवतजावत गर्न थाले।
बजारीकरणको सुरुआतमा सुलिचौर बजारबाट बलदेव सुवेदी अंकल म र अरू कोही दुई जना हामी खुंग्रीतर्फ आउँदै थियौँ। मोटरबाटो त पहिल्यै देखिको भए पनि फाट्टफुट्ट ट्र्याक्टरहरू मात्र चल्दथे। छिर्ने गाउँ पार गरेर हामी देउखुरीतर्फ आउँदै थियौँ। माथिबाट बडेमानको ढुंगा पल्टिँदै आएर हाम्रो अगाडि बजारिँदा हामी झसंगै हुनुपर्ने अवस्था आयो अनि तर्सियौँ।
बाटोमाथिको भिरालो जमिनबाट ढुंगा पल्टिँदै गर्दा बुट्यानहरूमा ठोक्किँदाका आवाज हामीले सुनेकाले हाम्रो कदम अगाडि बढ्न सकेन। केही सेकेन्ड र चार पाँच पाइला अगाडि बढेको भए त्यहाँ अर्कै अवस्था आइपर्ने सम्भावना थियो।