‘अरे त्यो त जाबो एक युट्युबर न हो!’
बाटोमा हिँड्दै गर्दा एक अनुभवी पत्रकारले सहज रूपमा भनेको यो वाक्य मेरो मनमा लामो समयसम्म घुमिरह्यो। किनभने त्यो वाक्य केवल युट्युबबारे गरिएको टिप्पणी मात्र थिएन, त्यो एउटा पुस्ताले भोगेको परिवर्तनको स्वीकारोक्ति थियो।
अझ रोचक कुरा त के थियो भने, त्यो वाक्य बोल्ने व्यक्ति स्वयं अहिले पत्रकारिताभन्दा युट्युब र सामाजिक सञ्जालमा आफ्नो भविष्य देखिरहेका थिए।
वर्षौँ पत्रकारिता गरेका उनी सञ्चार क्षेत्रका अनुभवी व्यक्ति हुन्। समाजका अनेक उतारचढाव नियालेका छन्। अनेक राजनीतिक परिवर्तन, सामाजिक आन्दोलन र सञ्चार क्षेत्रका रूपान्तरण देखेका छन्। तर त्यति लामो समय पत्रकारिता गरेर पनि उनी पत्रकारिता प्रतिपूर्ण सन्तुष्ट देखिएनन्। बरु जुन माध्यमलाई कुनै समय ‘जाबो युट्युबर’ भनेर हल्का रूपमा लिएका थिए, आज त्यही माध्यमप्रति उनको आकर्षण बढिरहेको छ।
उनले एक समयमा भने, ‘अरे त्यो त जाबो एक युट्युबर न हो!’ तर आज त्यहीँ जाबो युट्युबर बन्न उनी पत्रकारिता छोडेर दिनरात नभनी लागि परेका छन्।
यो सुन्दा सामान्य लाग्न सक्छ। आखिर मानिसले आफ्नो पेसा परिवर्तन गर्नु कुनै नौलो कुरा होइन। तर यहाँ मुख्य कुरा पेसा परिवर्तनको होइन, सोच परिवर्तनको हो। कुनै समय स्विकार्नै नसकेको विषयलाई आज सहज रूपमा स्वीकार गर्न सक्नुको हो।
मानिसको जीवनमा समय सबैभन्दा ठुलो शिक्षक हो। समयले कहिलेकाहीँ हामीले बनाएका मान्यता, विश्वास र निष्कर्षहरूलाई गलत साबित गरिदिन्छ। हिजो सही लागेका कुरा आज अप्रासंगिक बन्न सक्छन्। हिजो असम्भव ठानेका कुरा आज सामान्य लाग्न सक्छन्।
सञ्चार क्षेत्र यसको सबैभन्दा राम्रो उदाहरण हो।
केही दशकअघि समाचारको मुख्य स्रोत रेडियो, पत्रपत्रिका र पछि टेलिभिजन थिए। पत्रकारिता भन्नासाथ समाचार कक्ष, रिपोर्टिङ, सम्पादन र प्रकाशनको परम्परागत प्रक्रिया सम्झिइन्थ्यो। त्यसबाहिरको सञ्चारलाई धेरैले गम्भीर रूपमा लिँदैनथे। विशेष गरी सामाजिक सञ्जाल र युट्युबलाई त मनोरञ्जनको साधनभन्दा बढी मान्ने प्रवृत्ति कम थियो।
मूलधारका सञ्चारमाध्यममा काम गर्ने धेरै सञ्चारकर्मी युट्युबलाई पत्रकारिताको विकल्प मान्न तयार थिएनन्। उनीहरूको दृष्टिमा त्यो केवल व्यक्तिगत अभिव्यक्तिको माध्यम थियो। तर समयले बिस्तारै चित्र बदल्यो।
आज समाचार उपभोग गर्ने तरिका फेरिएको छ। मानिस बिहान उठेर पत्रिका खोज्नुभन्दा पहिले मोबाइल खोल्छ। टेलिभिजनको निर्धारित समय पर्खिनुभन्दा पहिले युट्युबमा भिडियो हेर्छ। कुनै घटनाबारे जानकारी लिन सामाजिक सञ्जाल स्क्रोल गर्छ।
यस परिवर्तनले सञ्चारको शक्ति मात्र होइन, सञ्चारकर्मीको भूमिकालाई पनि परिभाषित गरिदिएको छ।
सायद यही कारणले होला, कुनै समय युट्युबलाई गम्भीर रूपमा नलिने पत्रकारहरू पनि आज त्यही प्लेटफर्ममा सक्रिय हुन थालेका छन्। उनीहरू पछाडि परेका छैनन्, बरु समयसँगै आफूलाई ढाल्ने प्रयास गरिरहेका छन्। यद्यपि धेरैले यो परिवर्तन खुला रूपमा स्वीकार गर्न अझै हिचकिचाउँछन्।
मैले भेटेका ती पत्रकार पनि त्यही पुस्ताका प्रतिनिधि पात्र हुन्। तर उनी पछाडि परेको कुरा सिधै स्वीकार गर्न चाहँदैनथे। उनको व्यवहार र भनाइले स्पष्ट संकेत गर्थ्यो; समय बदलिएको छ र त्यो परिवर्तनलाई नकारेर बस्न सम्भव छैन।
वास्तवमा यो कथा केवल पत्रकारिताको मात्र होइन।
यस्तै अवस्था अन्य पेसा र व्यवसायमा पनि देख्न सकिन्छ।
सरकारी कर्मचारी आफू कर्मचारी भएकोमा सन्तुष्ट छैन। व्यापारी आफ्नो व्यवसायबाट पूर्ण सन्तुष्ट छैन। निजी क्षेत्रमा काम गर्ने व्यक्ति अर्को क्षेत्रमा अवसर खोजिरहेको छ। शिक्षकले उद्यमको सपना देखिरहेको छ भने उद्यमीले स्थायित्व खोजिरहेको छ।
मानौँ, हामी सबै कुनै न कुनै रूपमा आफू जहाँ छौँ त्यसभन्दा अर्को ठाउँलाई राम्रो ठानिरहेका छौँ।
यसको एउटा कारण अवसरको विस्तार पनि हुन सक्छ। पहिले मानिससँग विकल्प कम थिए। गाउँमा जन्मिएको व्यक्तिले परिवारको पेसा नै निरन्तरता दिनु सामान्य मानिन्थ्यो। खेती गर्ने परिवारका सन्तान किसान हुन्थे। व्यापार गर्नेका सन्तान व्यापारी बन्थे। पेसा केवल जीविकोपार्जनको साधन मात्र थिएन, पहिचान पनि थियो।
तर अहिले परिस्थिति फरक छ!
इन्टरनेटले संसारलाई सानो बनाइदिएको छ। मोबाइल फोनभित्रै अनगिन्ती सम्भावनाहरू देखिन्छन्। मानिसले दैनिक रूपमा आफूभन्दा सफल, चर्चित र सम्पन्न देखिने हजारौँ व्यक्तिको जीवन नियालिरहेको हुन्छ। परिणामस्वरूप, आफ्नै अवस्था सधैँ अपूर्ण लाग्न थाल्छ।
सायद त्यसैले आज मानिसहरू आफ्नो वर्तमानभन्दा सम्भावित भविष्यतर्फ बढी आकर्षित भइरहेका छन्। तर यसले अर्को प्रश्न पनि उठाउँछ; के हामी वास्तवमै नयाँ अवसर खोजिरहेका छौँ, कि केवल असन्तुष्टि खोजिरहेका छौँ?
किनभने हरेक पुस्ताले कुनै न कुनै माध्यमलाई भविष्यको रूपमा देखेको छ। कुनै समय सरकारी जागिर सबैभन्दा ठुलो सपना थियो। पछि विदेश जाने लहर आयो। त्यसपछि उद्यमशीलताको चर्चा बढ्यो। अहिले डिजिटल प्लेटफर्म र व्यक्तिगत ब्रान्ड निर्माणको युग छ।
सम्भव छ, केही वर्षपछि फेरि अर्को कुनै माध्यम उदाउँला। आजका सफल युट्युबहरू पनि त्यस बेला नयाँ प्रविधितर्फ आकर्षित होलान्। अनि फेरि कसैले भन्नेछ; ‘अरे, त्यो त जाबो फलानो न हो!’
मानिसको स्वभाव नै यस्तो छ। ऊ परिवर्तनलाई सुरुमा अस्वीकार गर्छ, पछि त्यसैलाई स्वीकार गर्छ र अन्ततः त्यसैमा भविष्य खोज्न थाल्छ।
त्यसैले यहाँ प्रश्न युट्युब राम्रो कि पत्रकारिता राम्रो भन्ने होइन। प्रश्न समयलाई बुझ्ने क्षमताको हो। परिवर्तनलाई समयमै चिन्न सक्ने विवेकको हो। सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो पहिचानलाई नयाँ परिस्थितिअनुसार रूपान्तरण गर्न सक्ने साहसको हो।
म स्वयं पत्रकारिताको विद्यार्थी हुँ। पत्रकारिता नै गर्नुपर्छ भन्ने कुनै बाध्यता छैन। न त युट्युबर बन्नु नै सफलता हो। तर यो घटनाले मलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ; मानिसले जीवनभर एउटै विचार बोकेर हिँड्न सक्दैन।
समयले विचार बदल्छ। अनुभवले दृष्टिकोण बदल्छ। आवश्यकताले प्राथमिकता बदल्छ।
हिजो अस्वीकार गरिएका विषय आज अवसर बन्न सक्छन्। हिजो सम्मानित मानिएका पेसा आज चुनौतीपूर्ण बन्न सक्छन् र हिजो आलोचना गरिएका माध्यमहरू नै भोलिको मुख्य धारा बन्न सक्छन्।
त्यसैले परिवर्तनलाई शत्रु होइन, यथार्थका रूपमा स्वीकार गर्न सक्नु आवश्यक छ।
हुन त जीवनको अस्थिरता बढेको जस्तो देखिन्छ। मानिसहरू पहिलेभन्दा बढी बेचैन छन्। बढी विकल्पको खोजीमा छन्, तर बढी अन्योल पनि छन्। बढी अवसर छन्, तर बढी असन्तुष्ट पनि छ। तर सायद यही परिवर्तनशीलता नै आधुनिक समाजको वास्तविक चरित्र हो।
त्यो पत्रकारको एउटा सामान्य वाक्यले मलाई यही कुरा सम्झायो; मानिस केवल आफ्नो पेसाले परिभाषित हुँदैन, उसले समयसँगै आफूलाई कति बदल्न सक्छ भन्ने कुराले परिभाषित हुन्छ। सायद यही कारणले आज ‘जाबो युट्युबर’ भनेर हेला गरिएको माध्यममा पनि धेरैले आफ्नो भविष्य देखिरहेका छन्।
किनभने समयले अन्ततः कसको कुरा सही थियो भन्नेभन्दा पनि, कसले समयलाई चिन्न सक्यो भन्ने कुराको मूल्याङ्कन गर्ने रहेछ।