कक्षा ८ मा पढ्ने हरि (नाम परिवर्तन) एक प्रतिष्ठित निजी विद्यालयमा पढ्छन्। उनले केही दिनदेखि राति सुतेको बेला बरबराउन थाले।
'ममी मलाई साइन्सको टिचरले पिट्छन्। म त्यो स्कुल जान्नँ।'
उनको व्यवहार देखेर परिवार छक्क परे।
यो शैक्षिक सत्रबाट विद्यालय परिवर्तन भएर होला भन्ने अभिभावकलाई लाग्यो। त्यसलाई सामान्य रूपमा लिए। तर पटक पटक रातमा बरबराउने र मलाई मेरो साइन्स टिचरले पिट्नु हुन्छ प्रिन्सिपललाई भनिदिनु भनेपछि भने अभिभावक झस्के।
के गर्नुहुन्छ सरले भनी प्रश्न गर्दा, 'बिनाकारण टाउको र ढाडमा कुट्नु हुन्छ। हिजो मेरो क्यालकुलेटर कक्षाकोठामा भुइँमा खसेको थियो। साइन्स कक्षामा क्यालकुलेटर तपाईंलाई किन चाहियो भनेर यस्तो नराम्रोसँग ढाडमा हान्नु भयो। आधा घण्टासम्म श्वास फेर्न गाह्रो भयो। अरू साथीहरूलाई पनि हान्नु हुन्छ। मलाई चाहिँ अलि बढी लक्षित गर्नुहुन्छ। म नयाँ भएर होला जस्तो लाग्छ।'
हरिले थपे, 'मेरो मन पर्ने विषय पनि साइन्स नै हो। अहिले मलाई मेरो पुरानो विद्यालय र त्यहाँ पढाउने साइन्स शिक्षकको याद आइरहेको छ। उहाँले कस्तो मनको कुराहरू बुझेर पढाउनु हुन्थ्यो। तर अहिलेको शिक्षकले 'तँ', 'तेरो होमवर्क खै', 'यता हेर', 'कान सुन्दैनस्' जस्ता शब्दहरू प्रयोग गर्दा मनमा नराम्रो चोट परेको छ।'
उनको समस्यालाई लिएर अभिभावकले विद्यालय प्रशासनमा जानकारी गरायो।
विद्यालयले गुनासो टिप्यो। विद्यालयमा गुनासो टिपाएको दिन समेत उनले कुटाइ खाएको बताएका थिए। भोलिपल्ट उही शिक्षकले घरमा भनिछस् हैन भनेर ठूलो आँखाले हेरे, हरिले थपे। शिक्षकले हरिलाई पिट्न त छोडे तर अरू विद्यार्थीहरूलाई पिट्ने क्रम भने घटेको छैन।
त्यस्तै, पोखराकै एक अर्को अभिभावक विश्वविद्यालयको प्रशासनमा काम गर्नुहुन्छ। छोराछोरीको मनोविज्ञान राम्रोसँग बुझ्नु हुन्छ। एसइईमा फोर जिपिए ल्याउनु पर्छ भनेर स्कुलले उनकी छोरी रिना (नाम परिवर्तन) लाई बिहान ६ बजे ट्युसनमा बोलाउँछ। साँझ ६ बजेसम्म ट्युसन पढ्नु पर्छ। ८/९ वटा होमवर्क हुन्छ। होमवर्क गरेन भनेर घण्टौंसम्म कक्षा बाहिर ढोकामा उभ्याउँछन्।
अभिभावकले किन यस्तो गरेको भनेर प्रश्न गर्दा शिक्षकको भनाइ थियो, 'हाम्रो इज्जतको कुरा हो फोर जिपिए ल्याउनुपर्छ। हाम्रो पढाउने शैली यस्तै हो। मन नपरे अर्को स्कुल जानु, हाम्रोमा अहिलेसम्म एसइईमा फेल भन्ने छैनन्।'
अभिभावकले सेसनको बीचमै स्कुल परिवर्तन गरे। स्कुलको व्यवहार र स्कुल परिवर्तन गर्दा मनमा केही असर गर्छ भन्दै काउन्सिलिङमा ल्याए।
पोखरामा यस्ता घटनाहरू हप्तैपिच्छे देखिन थालेका छन्। अभिभावकहरूले मनोविमर्शमा ल्याउनु हुन्छ। सायद हरि, रिना जस्ता पात्रहरू विद्यालय परिसरभित्रै मानसिक, शारीरिक यातना खाइरहेका होलान्।
शिक्षकको व्यवहारले विद्यार्थीमा भावनात्मक कठिनाइ भइरहेको शिक्षक स्वयम् र विद्यालय प्रशासन जानकार छैनन्। त्यस्ता विद्यालयमा विद्यालय मनोविमर्शकर्ता पनि छैनन्। शिक्षकलाई विद्यार्थीको मनोभावना कसरी बुझ्ने भन्ने ज्ञानको कमी देखिन्छ।
विद्यालय भनेको बालबालिकाले केवल पाठ्यपुस्तकको ज्ञान मात्र हासिल गर्ने स्थान होइन।
यो उनीहरूको बौद्धिक, सामाजिक र भावनात्मक विकास गराउने थलो पनि हो। जब विद्यार्थीले विद्यालयमा डर, अपमान वा हिंसाको अनुभव गर्दछन् भने त्यसले उनीहरूको सिकाइ, आत्मविश्वास, भावनात्मक स्वास्थ्य र भविष्यप्रतिको दृष्टिकोणमा गहिरो चोट पार्छ। शिक्षकलाई लागिरहेको होला, मैले पिटेर पढायो भने विद्यार्थीले राम्रोसँग पढ्छन्।
अब प्रश्न उठ्छ, दण्ड सजायको विकल्प के हो त? नीति निर्माताहरूलाई थाहा छ? विद्यालय प्रशासनलाई थाहा छ? शिक्षकहरूलाई थाहा छ? अभिभावकलाई थाहा छ? विश्वमा सन् १९०० को सुरुआतमै विद्यालय मनोविमर्श सुरू भएको पाइन्छ।
सुरूमा विद्यालयमा व्यावसायिक मार्गदर्शनका रूपमा लिइन्थ्यो। पछि सन् १९०७ मा फ्र्याङ्क पार्सन्सले विद्यार्थीलाई भविष्यको करियर छनोट गर्न र रोजगारका लागि तयार गर्न सहयोग गर्ने गरी मनोविमर्शको क्रमलाई परिमार्जन गरेका थिए।
सन् १९१० तिर अमेरिकाका विद्यालयहरूमा मार्गदर्शन शिक्षकका रूपमा नियुक्ति गरी परिचालन गरेको पाइन्छ जसले विद्यार्थीहरूलाई करियर कसरी बनाउने र विद्यालयमा हुने गलत व्यवहार परिवर्तनमा सहयोग गर्ने गर्थे।
सन् १९३० पछि विद्यालय मनोविमर्शको परिभाषा करियरमा मात्र सीमित रहेन। त्यसमा विस्तार हुँदै शैक्षिक मनोविमर्श, सामाजिक र भावनात्मक मनोविमर्श, करियर मनोविमर्शलाई मुख्य सिद्धान्तका रूपमा हेरिन थालियो।
सन् २००३ मा अमेरिकन स्कुल काउन्सिलिङ एसोसिएसनले विद्यालय मनोविमर्श कार्यक्रमलाई प्रभावकारी बनाउन शैक्षिक, करियर र सामाजिक/भावनात्मक विकाससम्बन्धी स्पष्ट ढाँचा बनाई लागू गरेको थियो।
सोही निर्देशिका विश्वभर र नेपालमा पनि लागू हुन थालिएको छ। काठमाडौं विश्वविद्यालयले स्नातक तहका स्कुल काउन्सिलिङका कोर्सहरूमा यस्ता विषयहरू समावेश गरी विद्यालयहरूमा स्कुल काउन्सिलिङ कार्यक्रम हुनुपर्नेमा जोड दिएको छ।
स्कुल काउन्सिलिङ कार्यक्रममा मुख्य तीनवटा पक्षहरू रहेका छन्।
पहिलो शैक्षिक मनोविमर्श, दोस्रो सामाजिक र भावनात्मक मनोविमर्श, तेस्रो करियरसम्बन्धी मनोविमर्श।
हरेक पक्षमा गुणस्तर मापनका लागि पहिलो, दोस्रो र तेस्रो खण्डहरू रहेका छन्।
शैक्षिक मनोविमर्शको पहिलो खण्डले विद्यार्थीको ज्ञान, क्षमता र दृष्टिकोण बुझ्न सहयोग गर्छ। त्यसको दक्षता मापन गर्ने आधारहरू तय भएका छन्। पढाइप्रति सकारात्मक दृष्टिकोण विकास, समय व्यवस्थापन, प्रभावकारी अध्ययन सीपहरूको विकास, शैक्षिक लक्ष्य निर्धारण र योजनामा केन्द्रित छ।
दोस्रो खण्डले परीक्षा तयारी, शैक्षिक योजना, निर्णय गर्ने क्षमता तथा जिम्मेवारी वहन गर्ने सीपलाई विद्यार्थीहरूलाई आफ्नो अध्ययनलाई व्यवस्थित रूपमा अगाडि बढाउन, उचित निर्णय लिन र समयमै तयारी गर्न तथा आफ्नो शैक्षिक र व्यक्तिगत जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउँछ।
त्यसैगरी तेस्रो खण्डले जीवन उपयोगी सीपहरू, समस्या समाधान गर्ने क्षमता तथा सिकाइलाई वास्तविक जीवनसँग जोड्ने सीप विकास गरी विद्यार्थीहरूलाई आफ्नो भविष्यको करियरको सचेतना बढाउन, दैनिक जीवनका चुनौतीहरू प्रभावकारी रूपमा सामना गर्न, व्यावहारिक समाधान खोज्न सहयोग गर्छ।
दोस्रो पक्षले सामाजिक र भावनात्मक मनोविमर्शलाई जोड दिन्छ। यसमा पनि पहिलो खण्डमा विद्यार्थीहरूले आफूलाई बुझ्ने, आत्मसम्मान, व्यक्तिगत मूल्यमान्यताको पहिचान र विकास, जीवनमा आउने चुनौती र परिवर्तन जीवनको हिस्सा हो भन्ने बुझ्ने छन्।
दोस्रो खण्डमा अरूसँग सहकार्य, समन्वय कसरी गर्ने, सञ्चार कसरी गर्ने भन्ने ज्ञान सिक्नेछन्। तेस्रोमा उपयुक्त र अनुपयुक्त व्यवहारको पहिचान र व्यक्तिगत सुरक्षा सम्बन्धी ज्ञान र तनाव, सीप व्यवस्थापनसम्बन्धी सीपको विकास हुनेछ।
तेस्रो पक्षले करियर मनोविमर्शलाई जोड दिएको छ। पहिलो खण्डले विद्यार्थीहरूलाई स्वमूल्याङ्कन, रूचि क्षमताको पहिचान, आत्मविश्वास, नोकरीका लागि चाहिने आधारभूत पूर्वाधारहरू तयार गर्न सहयोग गर्छ।
दोस्रो खण्डले करियर सम्बन्धी लेखाजोखा गर्न सहयोग गर्छ। साथै निर्णय कसरी लिने, जीवनको लक्ष्य कसरी बनाउनेमा केन्द्रित हुन्छ। अन्तिम खण्डले विद्यमान अवस्थामा कस्ता कस्ता पेसाहरू छन्, हरेक पेसाका लागि कस्ता कस्ता पूर्वतयारी गर्नुपर्छ, त्यसका दीर्घकालीन प्रभावहरूका बारेमा छलफल गर्न सहयोग गर्छ।
हरि वा रिनाको घटना वा यस्तै घटनाहरू कम गर्न, विद्यालय प्रशासन, शिक्षक, अभिभावकहरूलाई समेटेर स्कुल काउन्सिलिङ कार्यक्रम र स्कुल मनोविमर्शकर्ता नियुक्ति गर्नु आवश्यक देखिन्छ।
यस्ता मोडलले विद्यार्थीलाई दण्ड दिने होइन बरू उसको सिकाइ वातावरण, र भावनात्मक समस्याहरूको मूल्यांकन गर्न सुझाव दिन्छ। हरिको केसमा उनी राति बरबराउने, कक्षामा डराउने र असहज व्यवहार देखाउने जस्ता लक्षणहरूले गर्दा तनाव वा असुरक्षित वातावरण भइरहेको छ जसका लागि व्यक्तिगत मनोविमर्श उपयोगी उपाय हो।
व्यक्तिगत मनोविमर्श भनेको उसको भावनात्मक समस्यालाई कम गर्न सहयोग गर्ने हो। उसका कुराहरू ध्यान दिएर सुन्ने, शिक्षकको व्यवहारले मनमा, शरीरमा, व्यवहारमा, सम्बन्धमा कस्तो प्रभाव पारेको छ, समस्या भएको बेला कसरी सामना गरिरहेको छ, उसको सहयोगी प्रणाली कस्तो छ भनेर विस्तृत रूपमा कुराहरू गर्नु पर्दछ। यसले गर्दा विद्यार्थीलाई आफूलाई के भइरहेको छ भन्ने ज्ञान हुन्छ।
साथै मनोविमर्शकर्ताले विद्यार्थीको आवश्यकता पहिचान गर्ने गर्दछ। त्यसपछि व्यक्तिगत मनोविमर्श मार्फत उनको डर, तनाव र नकारात्मक सोच बुझ्ने प्रयास गर्दछ। साथै शिक्षक र अभिभावकसँग सहकार्य गरेर सहयोगात्मक वातावरण बनाइन्छ।
यसले गर्दा विद्यार्थीले आफूलाई सुरक्षित महसुस गराउँदै उसको शैक्षिक, सामाजिक र भावनात्मक विकासलाई सन्तुलित रूपमा अगाडि बढाइन्छ। त्यसैगरी हरिलाई शैक्षिक मनोविमर्शका दृष्टिले हेर्दा उनको सिकाइको वातावरण र शैक्षिक उपलब्धि कमजोर देखिएको छ।
शिक्षकको डरका कारण विद्यालय र शिक्षकप्रति नकारात्मक भावनाहरू विकसित हुन थालेको छ। कक्षामा ध्यान दिन नसक्नु, मन पर्ने विषयप्रति रुचि घट्दै जान थालेको छ। नयाँ विद्यालयमा समायोजन हुन अझै समस्या हुन सक्छ। विद्यार्थीका लागि सकारात्मक र सहयोगी वातावरण झनै आवश्यक हुन्छ। यदि विद्यालयले समयमै विद्यार्थीको अनुभवलाई सुनेर सहयोगी भूमिका गर्न सकेन भने सिकाइप्रतिको प्रेरणा कमजोर हुन सक्छ।
विद्यालय शिक्षा केवल राम्रो नतिजा ल्याउने माध्यम मात्र होइन, विद्यार्थीको समग्र भावनात्मक, सामाजिक, बौद्धिक विकासको आधार पनि हो। त्यसैले दण्ड, डर र अपमानको संस्कृतिले विद्यार्थीको क्षमता वृद्धि गर्दैन। विद्यार्थी केन्द्रित मनोवैज्ञानिक पढाइ संस्कृति आजको आवश्यकता हो।
हरि र रिनालाई जस्तै सबै विद्यार्थीहरूको मनोभावना बुझ्ने, सुरक्षित सिकाइ वातावरण निर्माण र भावी भविष्यको दिशा निर्देश गर्दछ।