जसले व्यवसाय हुर्काए
पृथ्वी कल्याण पराजुलीकी आमाले घरमै सातु बनाउँथिन्। गहुँ, चना लगायत अन्न भुटिन्थ्यो, नजिकैको मिलमा लगेर पिसिन्थ्यो। दूधसँग सातु खाएर उनी फुटबल खेल्न निस्किन्थे।
उनी सानो छँदा सातु सामान्य खाजा थियो। आज त्यही सातु उनको व्यवसायको मुख्य उत्पादन बनेको छ।
पृथ्वी 'पोसिलो फुड्स' का संस्थापक हुन्। उनले परम्परागत रूपमा घरमा खाइँदै आएको सातुलाई फरकफरक उमेर र जीवनशैलीलाई लक्ष्य गरेर बजारमा ल्याएका छन्।
अहिले पोसिलो फुड्सले आठ प्रकारका सातु उत्पादन गर्छ—मम्स डिलाइट, किड्स लिटो, प्रोटिन प्लस, न्युट्रिप्लस, चना मसला, न्युट्रिप्लस म्यांगो, मल्टिग्रेन र नट्टी डिलाइट।
'सबै उमेर समूहलाई लक्ष्य गरेर हामीले अहिले आठ प्रकारका सातु बेचिरहेका छौं,' पृथ्वीले भने, 'बच्चा, युवा, वृद्ध, खेलाडी र सुत्केरीसम्मका लागि छ। तर सबै प्रकारका सातु जोकोहीले खान मिल्छ।'
पोखराका पृथ्वी ब्रान्डिङ र मार्केटिङका विद्यार्थी हुन्।
पढाइकै सिलसिलामा २०७६ सालमा उनी थाइल्यान्ड पुगेका थिए। उनले त्यहाँको बजार अवलोकन गर्दा रैथाने उत्पादनलाई प्राथमिकता दिएको देखे। नेपालमा पनि स्थानीय उत्पादनको बजार हुन्छ कि भनेर सोचे।
उनी ६ महिना थाइल्यान्ड बसे। फर्केपछि मौलिक नेपाली उत्पादन र त्यसको ब्रान्डिङ सम्भावना खोजी गरे। त्यही समय कोरोना महामारी फैलियो।
स्नातक तहको पढाइ सकेपछि उनका अगाडि स्नातकोत्तर पढ्ने, जागिर खाने वा विदेश जाने विकल्प थिए। उनले व्यवसायको बाटो रोजे।
लकडाउनपछि उनी गृहजिल्ला पोखरा फर्के। त्यहाँ आसपासका गाउँ घुमे। रैथाने अन्न र परिकार पहिचान गरे। कृषि विशेषज्ञ, पोषणविद् र खाद्य विशेषज्ञहरू भेटे। मौलिक र पोसिलो खाद्य वस्तुबारे छलफल गरे।
सुरूमा मुस्ताङ र जुम्लाका दाल, गुन्द्रुक, सिस्नोको धुलो, ज्वानो, सातु लगायत करिब १५–२० प्रकारका उत्पादन संकलन गरे। आवश्यक दर्ता र प्रक्रिया पूरा गरेर ती उत्पादन प्याकेजिङ गरी अनलाइन तथा पोखराका केही पसलबाट बेच्न थाले।
तर केही समयपछि पृथ्वीलाई धेरै उत्पादन एकै पटक अगाडि बढाउनुभन्दा एउटामा केन्द्रित भएर त्यसलाई ब्रान्ड बनाउन सकिन्छ भन्ने लाग्यो।
अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ जाँदा उनले एक वृद्ध महिलाले जाँतोमा अन्न पिसेर सातु बनाइरहेको देखेका थिए। पृथ्वीले उनीसँग कुराकानी गरेका थिए। उनका लाहुरे छोराहरूले लिएर जाने र तीर्थ जाँदा होस् वा खेतबारीमा काम गर्न, सातु खाजा भएको उनले बताइन्।
'त्यसपछि मैले सातु खानेकुरा मात्रै होइन, संस्कार रहेछ भनेर बुझेँ,' उनले भने, 'ग्राहकले पनि सातु रूचाइरहेका थिए।'
उनले सातुबारे थप बुझे— हिमाली क्षेत्रमा फापर, कोदो र जौजस्ता अन्नबाट सातु बनाइने रहेछ। पहाडमा मकै र भटमास तथा तराईमा चनाको सातु बढी प्रचलित छ।
सुरूमा उनले बजारमा 'मिक्स सातु' पुर्याए। बिक्री राम्रो हुँदै गएपछि विभिन्न उमेर र आवश्यकतालाई ध्यानमा राखेर थप्दै गए।
'उमेर समूह अनुसार फरक किसिमको पोषण चाहिन्छ। त्यसैले भेराइटी बढाउँदै गयौं,' उनले भने।
सातु बनाएजस्तो सहज व्यवसाय विस्तार गर्न थिएन। खाद्य उद्योग दर्ता तथा अनुमति प्रक्रिया, कच्चा पदार्थको नियमित आपूर्ति र पर्याप्त पुँजी व्यवस्थापन उनका लागि मुख्य चुनौती बने।
अन्न उत्पादन हुने सिजनमै वर्षभरिलाई पुग्ने परिमाण किनेर भण्डार गरी राख्नुपर्छ। त्यस बेला ठूलो रकम आवश्यक पर्छ। बजारमा उत्पादन पुर्याउनु र पसल तथा वितरकको विश्वास जित्नु अर्को चुनौती हो।
पृथ्वीका अनुसार पोसिलो फुड्सका सातुमा प्रयोग हुने अधिकांश सामग्री नेपालमै उत्पादित अन्न तथा बीउ हुन्। कम्पनीले किसान समूह, कृषि सहकारी तथा संकलकमार्फत कच्चा पदार्थ किन्छ। केही सामग्री नेपालमा पर्याप्त उत्पादन नहुँदा बाहिरबाट ल्याउनुपर्छ।
कम्पनीले हाल मकै, चना, भटमास, कोदो, जौ, उवा, लट्टेको बीउ, आलस, छोकडा, फर्सीको बीउ लगायत ५९ प्रकारका सामग्रीबाट सातु बनाइरहेको छ।
'हामी पाएसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै प्रयोग गर्छौं,' उनले भने, 'नेपाली अन्नको स्वाद मिठो हुन्छ।'
पोसिलोको सातु अहिले विभिन्न सहरमा पुगेको छ। भाटभटेनी, बिगमार्ट, सेल्सबेरी, होराइजन मार्ट, मेट्रो मार्ट लगायत स्टोरमा सहजै यो सातु पाइन्छ।
'हालसम्म दुई हजारभन्दा बढी स्टोरमा उत्पादन पुगेको छ। आफ्नै वेबसाइटबाट, दराज लगायतका इकमर्स प्लेटफर्मबाट पनि बिक्री गर्छौं,' पृथ्वीले भने।
उनीहरूको सातु विदेशी बजारमा पनि पुगेको छ। भारत, अमेरिका लगायत देशमा पोसिलो फुड्सको उत्पादन बिक्री भइरहेको उनले जानकारी दिए। विभिन्न मुलुकमा नेपाली समुदायले चलाएका दुई सयभन्दा बढी स्टोरमा पोसिलो फुड्सका उत्पादन पुगेका छन्।
सेप्टेम्बर २९ देखि भारतको मुम्बईमा हुने अनुगा फुड एक्स्पोमा कम्पनीले आठै प्रकारका सातु प्रदर्शन गर्दैछ। एक्स्पोमार्फत नयाँ वितरकसँग जोडिने र भारतीय बजारमा आफ्नो पहुँच विस्तार गर्ने पृथ्वीको योजना छ।
उनी सातुलाई नेपालको मौलिक खाद्य उत्पादनका रूपमा विश्व बजारमा चिनाउन चाहन्छन्।
'नेपाललाई प्रतिनिधित्व गर्दै ग्लोबल फुड म्यापमा पोसिलो फुड्स भन्ने ब्रान्ड देखाउन मन छ,' पृथ्वीले भने।