भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गतेको विनाशकारी बाढी कसरी सुरू भयो भन्नेबारे अहिलेसम्मकै प्रस्ट र विस्तृत घटनाक्रम एउटा नयाँ अनुसन्धानले सार्वजनिक गरेको छ।
चाइनिज एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार, त्यस दिन लाङटाङ लिरूङ हिमालको उत्तरी पाखोमा करिब ५,२०० मिटर उचाइबाट पहाडको ठूलो चट्टान र बरफको भाग एकै पटक खसेको थियो।
खसेका चट्टान र बरफको परिमाण करिब १० करोड ३० लाख घनमिटर अनुमान गरिएको छ। त्यसमध्ये बरफको हिस्सा करिब १२ प्रतिशत थियो।
चट्टान र बरफको त्यो थुप्रो तल झरेर ३० सेकेन्डमै ४ हजार १० मिटर उचाइसम्म आइपुग्यो।
त्यहाँ हिमनदीको एउटा ठूलो अंश माथिबाट तल लत्रिएको अवस्थामा जमेर बसेको थियो। यसलाई बोलीचालीको भाषामा 'हिमनदीको थुतुनो' भनिन्छ।
एक्कासि फुटेर झरेको चट्टान र बरफको पिण्ड जसै हिमनदीको थुतुनोसँग ठोक्कियो, त्यसलाई पनि भाँचेर आफूसँगै लिएर हिँड्यो।
त्यसपछि चट्टान, बरफ र हिमनदी मिसिएर विशाल 'हिमपहिरो' को रूप लियो र तीव्र गतिमा तलतिर बग्न थाल्यो।
लगभग १०० सेकेन्डमा करिब ६ करोड ७० लाख घनमिटरको चट्टान, बरफ र हिउँको थुप्रो (डेब्रिस) चोचेन खोलामा खस्यो।
सँगसँगै, करिब ३ करोड ६० लाख घनमिटरको डेब्रिस अझ चलायमान हुँदै तीव्र गतिमा ल्हेन्दे खोलामा मिसियो।
यहाँबाट सुरू भएको तीव्र बहावले नेपाल–चीन सीमा पार गर्दै केरूङ भन्सार नाकातर्फको भूभाग र त्यसपछि नेपालतर्फका बस्तीमा विनाश मच्चाएको अध्ययनको निष्कर्ष छ।
'जर्नल अफ माउन्टेन साइन्स' मा सेप्टेम्बर १९ मा अनलाइन प्रकाशित यो अध्ययनले भोटेकोशी–त्रिशूली बाढीलाई तीन चरणमा पुनर्निर्माण गरेको छ —
पहिलो चरणमा चट्टान–बरफको पहाड खस्यो।
दोस्रो चरणमा त्यसले अलि तल झुन्डिएर बसेको हिमनदीलाई काटेर विशाल हिमपहिरोको रूप लियो।
र, तेस्रो चरणमा हिमपहिरोको करिब दुई–तिहाइ भाग चोचेन खोलामा थुप्रियो भने बाँकी भाग अत्यन्त गतिशील बाढीका रूपमा ल्हेन्दे खोलातर्फ बग्यो।
अनुसन्धानकर्ताले रिमोट–सेन्सिङ तथा स्थलगत प्रमाण जोडेर यो घटनाक्रम तयार पारेका हुन्।
यसको सबभन्दा रोचक र महत्त्वपूर्ण पक्ष के भने, लिरूङको ५,२०० मिटर उचाइबाट खसेको चट्टान–बरफको पिण्ड अहिलेसम्म भनिँदै आएजस्तो सिधै ल्हेन्दे खोलामा खसेको थिएन।
त्यो हिमनदीमा ठोक्किएर त्यसलाई पनि आफूसँग समेट्दै तल झरेको थियो र चोचेन र ल्हेन्दे खोलामा बाँडिएको थियो।
अब हामी यो घटनाक्रमलाई विस्तृतमा बुझौं —
५,२०० मिटरमाथि के भयो?
भदौ १० गते बिहान लाङटाङ लिरूङको उत्तरी पाखोमा पहाडको ठूलो भाग खसेको थियो। उक्त खसेको भाग करिब ०.७६ वर्गकिलोमिटर थियो।
अध्ययन अनुसार त्यहाँबाट खसेको चट्टान र बरफको परिमाण करिब १० करोड ३० लाख घनमिटर रहेको अनुमान गरिएको छ।
तपाईंलाई १० करोड ३० लाख घनमिटर भनेको कति ठूलो हो भन्ने लाग्न सक्छ — एउटा ओलम्पिक आकारको पौडी पोखरीमा करिब २,५०० घनमिटर पानी अट्छ। त्यस हिसाबले यो चट्टान र बरफ थुपार्ने हो भने करिब ४१ हजार ओलम्पिक आकारका पौडी पोखरी भरिन्छन्।
त्यो चट्टान र बरफको थुप्रो पहाडबाट तल झर्न थालेपछि घटनाको स्वरूप झन् बदलियो।
४ हजार १० मिटरमा के भयो?
करिब ३० सेकेन्डको यात्रापछि चट्टान र बरफको थुप्रो करिब ४,०१० मिटर उचाइमा झुन्डिएर बसेको हिमनदीसँग ठोक्कियो।
त्यो हिमनदी सानो थिएन।
त्यसको क्षेत्रफल करिब ०.९२ वर्गकिलोमिटर थियो। त्यसलाई पनि फुटबल मैदानको हिसाबमा राख्दा करिब १२९ वटा मैदान बराबरको हुन्छ।
यति ठूलो क्षेत्रफलको हिमनदी चोइटिएपछि अझ ठूलो ऊर्जाका साथ हिमपहिरोका रूपमा तल खस्न थाल्यो।
त्यसपछि घटनाले झन् रौद्र रूप लियो।
यो भदौ १० गते बिहान लाङटाङको लिरूङ हिमालमा हिमनदी खस्दै गर्दाको दृश्य हो। भिडिओबाट निकालिएको यो तस्बिर हामीले एआई प्रयोग गरेर गुणस्तर बढाएका छौं।
चोचेन खोला र ल्हेन्दे खोलामा के भयो?
हिमपहिरो बनेको करिब १०० सेकेन्डभित्र त्यसको करिब दुई–तिहाइ हिस्सा चोचेन खोलामा थुप्रियो।
अनुसन्धान अनुसार त्यहाँ करिब ६ करोड ७० लाख घनमिटर चट्टान, बरफ र अन्य सामग्री जम्मा भएको थियो।
यो परिमाण बुझ्न एउटा सजिलो तुलना गर्न सकिन्छ — ६ करोड ७० लाख घनमिटर भनेको करिब २७ हजार ओलम्पिक आकारका पौडी पोखरी भरिने बराबरको सामग्री हो।
अर्को करिब ३ करोड ६० लाख घनमिटरका सामग्री भने चोचेन खोलामा थुप्रिएन। बरू अत्यन्त तीव्र गतिमा ल्हेन्दे खोलातर्फ बग्यो।
यो भनेको पनि करिब १४ हजार ओलम्पिक आकारका पौडी पोखरी बराबर हो।
अर्थात्, लिरूङबाट सुरू भएको १० करोड घनमिटरभन्दा विशाल चट्टान–बरफको पिण्डमध्ये झन्डै दुई–तिहाइ चोचेन खोलामा थुप्रियो भने झन्डै एक–तिहाइ अत्यन्त गतिशील बहावका रूपमा ल्हेन्दे खोलातर्फ गयो।
यहीँबाट भदौ १० गतेको विनाशकारी बाढीको मुख्य कथा सुरू हुन्छ।
ल्हेन्दे खोलामा पुगेपछि गति झन् बढ्यो
अध्ययन अनुसार ल्हेन्दे खोलामा प्रवेश गरेपछि बाढीले करिब १४.२ किलोमिटर दूरी करिब ३५० सेकेन्ड अर्थात् झन्डै ६ मिनेटमा पार गरेको थियो।
केरूङ सीमा नजिकको एउटा साँघुरो चट्टानी गल्छीमा यसको बहाव करिब २ लाख ४६ हजार घनमिटर प्रतिसेकेन्ड पुगेको अनुसन्धानमा देखिएको छ।
२ लाख ४६ हजार घनमिटर प्रतिसेकेन्ड भनेको कति ठूलो बहाव हो?
एउटा ओलम्पिक आकारको पौडी पोखरीमा करिब २ हजार ५०० घनमिटर पानी अट्छ। त्यस हिसाबले उक्त बहावको चरम अवस्थामा हरेक सेकेन्ड करिब ९८ वटा ओलम्पिक आकारका पौडी पोखरी बराबरको पानी र डेब्रिस त्यो गल्छीबाट गुज्रिरहेको थियो।
त्यहाँ बहावको औसत गति ३६.२ मिटर प्रतिसेकेन्ड, अर्थात् करिब १३० किलोमिटर प्रतिघन्टा पुगेको थियो।
यसरी केही मिनेटको यात्रामै लिरूङको उच्च हिमाली भेगमा सुरू भएको हिमपहिरो सीमापारिको बस्ती र संरचनामा विनाश ल्याउने अत्यन्त शक्तिशाली बहावमा परिणत भयो।
चोचेन खोलामा थुप्रिएको पहिरोले ल्याएको अर्को जोखिम
मुख्य विनाशकारी बहाव तलतिर गइसकेपछि पनि जोखिम सकिएको थिएन।
चोचेन खोलामा हिमपहिरोको ठूलो खण्ड थुप्रिएपछि यसले पानीको बहाव अवरूद्ध भयो। त्यसबाट अस्थायी ताल बन्यो।
चिनियाँ अधिकारीहरूले भदौ ११ गते तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र थप पानी आए बाँध फुट्न सक्ने जोखिम रहेको बताएका थिए। त्यस बेला सम्भावित अर्को बाढीको जोखिमका कारण उक्त क्षेत्रलाई निरन्तर निगरानीमा राखिएको थियो।
तर त्यो जोखिम तत्कालै अर्को विनाशकारी बाढीमा परिणत भएन।
भदौ १२ गते तालको पानी बिस्तारै चुहिँदै गएको रिपोर्ट आयो।
त्यसपछि चिनियाँ जलस्रोत अधिकारीहरूले स्याटलाइट अनुगमनबाट तालको आकार घटिरहेको र पानी बिस्तारै बाहिरिइरहेको बताएका थिए।
भदौ १४ गते चीनको जलस्रोत मन्त्रालयले प्राकृतिक बहावबाट तालको पानी लगभग पूर्ण रूपमा बाहिरिइसकेको जनाएको थियो।
त्यससँगै चोचेन खोलाबाट अर्को ठूलो बाढी आउने तत्कालको जोखिम टरेको थियो।
को हुन् यो अनुसन्धान गर्ने वैज्ञानिक?
यो रिपोर्टका अनुसन्धानकर्ता ली हाओ, ली पू, हू काइहेङ, लियू जुन्यू, लियू शुआङ, काङ शिचाङ, सु पेन्गचेन्ग र यू योङ हुन्।
उनीहरू चिनियाँ एकेडेमी अफ साइन्सेस अन्तर्गतको इन्स्टिच्युट अफ माउन्टेन हाजार्ड एन्ड एन्भाइरोमेन्ट तथा युनिभर्सिटी अफ चाइनिज एकेडमी अफ साइन्सेससँग आबद्ध छन्। अध्ययनका मुख्य लेखक हू काइहेङ हुन्।
यो टोलीले यसअघि पनि यस्तै हिमाली जोखिममा काम गरेको थियो। हू काइहेङ, ली पू, लियू शुआङ र ली हाओ सहितको टोलीले सन् २०२४ मा चीन–भुटानको छोमोल्हारी क्षेत्रमा प्राचीन चट्टान–बरफ पहिरोको विषयमा अध्ययन प्रकाशित गरेको थियो।
'जर्नल अफ माउन्टेन साइन्स' मा प्रकाशित यो अनुसन्धान प्रतिवेदन सेप्टेम्बर ७ मा प्राप्त भएर सेप्टेम्बर १३ मा संशोधन र सेप्टेम्बर १९ मा स्वीकार भएको जनाइएको छ। अहिले जर्नलको वेबसाइटमा यसको अवस्था 'भाषिक सम्पादन हुन बाँकी' भनिएको छ।
अर्थात्, यो प्रतिवेदन स्वतन्त्र वैज्ञानिकहरूको टोलीले स्वीकार गरिसकेको छ भन्ने बुझिन्छ।
यो अध्ययनले कुनै एउटा तत्कालीन चरम वर्षा, तापक्रमको असामान्य वृद्धि वा पछिल्लो भूकम्पलाई घटनाको एकल कारणका रूपमा पहिचान गरेको छैन।
अनुसन्धानकर्ताहरूले दीर्घकालीन जलवायु तापक्रम वृद्धि, हिमनदी पातलिँदै जाने क्रम, कमजोर भूगर्भीय अवस्था र बरफको जम्ने–पग्लिने प्रक्रियालाई संयुक्त कारणका रूपमा औंल्याएका छन्।
***