म कल्पना गर्छु एक वृद्ध बुबा वा आमाको मनमा कस्तो पीडा हुँदो हो!
‘मेरा नातिनातिनाको अनुहार मैले भिडियो कल र तस्बिरमा मात्र देखेको छु। उनीहरू जन्मिए, हुर्किए, तर मैले उनीहरूको सानो हात समाएर हिँड्न सिकाउन पाइनँ। उनीहरूलाई काखमा राखेर लोरी गाउन पाइनँ। राति सुत्नुअघि दन्त्यकथा सुनाउन पाइनँ। हजुरबुबा हजुरआमाको माया, स्पर्श र अनुभव उनीहरूले किताबमा पढ्लान्, तर प्रत्यक्ष महसुस गर्न पाएन।’
विश्वव्यापीकरण र विश्व पुँजीवादको प्रभावले संसारलाई साँच्चिकै सानो बनाइदिएको छ। केही सेकेन्डमै संसारको जुनसुकै कुनाबाट आफ्ना प्रियजनसँग कुरा गर्न सकिन्छ। तर यही परिवर्तनले मानव जीवनका केही अमूल्य पक्षहरू पनि बिस्तारै कमजोर बनाइदिएको छ।
औद्योगिक क्रान्तिले मानव सभ्यतालाई अभूतपूर्व परिवर्तनतर्फ डोर्यायो। यसले उद्योग, व्यापार, प्रविधि, यातायात र सञ्चार क्षेत्रमा क्रान्तिकारी विकास ल्यायो। लाखौँ मानिस गरिबीको रेखामुनिबाट माथि उठे, रोजगारीका अवसर बढे, स्वास्थ्य र शिक्षामा सुधार आयो र आर्थिक समृद्धि बिस्तारै मानव जीवनको प्रमुख लक्ष्य बन्न पुग्यो।
तर प्रत्येक परिवर्तनका दुई वटा पाटा हुन्छन्। औद्योगिकीकरणले समृद्धि त ल्यायो तर त्यससँगै मानिसहरूलाई परिवार, समुदाय र आफ्ना संस्कारबाट टाढा पनि पुर्यायो। आज भौतिक रूपमा सम्पन्नता बढेको छ तर भावनात्मक रूपमा मानिसहरू झन् गरिब बन्दै गएका छन्। पैसा कमाउने दौडमा प्रत्यक्ष रूपमा पाइने माया, स्नेह, सद्भाव र आत्मीयता बिस्तारै हराउँदै गइरहेका छन्।
इतिहासमा भएका धेरै युद्धहरू भू–भागको विस्तार, प्राकृतिक स्रोत-साधनमाथिको नियन्त्रण, राजनीतिक शक्ति, राष्ट्रिय स्वतन्त्रता र अस्तित्वको रक्षाका लागि लडिएका थिए। कतिपय युद्धहरूले राष्ट्रलाई स्वतन्त्रता र नयाँ पहिचान दिलाए। तर आजको युगमा एउटा नयाँ प्रकारको युद्ध चलिरहेको छ।
यो बन्दुक र बारुदको युद्ध होइन; यो सम्बन्धहरूको युद्ध हो। आर्थिक समृद्धि र पारिवारिक आत्मीयताबिचको युद्ध हो। रोजगारी, अवसर र सुखद भविष्यको खोजीमा लाखौँ युवाहरू आफ्नो घर, गाउँ र देश छोडिरहेका छन्। यस युद्धमा रगत बग्दैन तर सम्बन्धहरू बिस्तारै कमजोर हुँदै जान्छन्। आमाबुबाको प्रतीक्षा, नातिनातिनासँग बिताउन नपाएका क्षणहरू, श्रीमान् श्रीमतीबिचको दूरी र समुदायको विघटन यी सबै यस मौन युद्धका गहिरा घाउ हुन्।
विदेशमा सुख–सुविधा र आर्थिक समृद्धि प्राप्त गर्ने ठुलो आशाले आज धेरै नेपाली परिवारहरू भौतिक रूपमा सम्पन्न भए पनि भावनात्मक रूपमा रित्तिएका छन्। गाउँका घरहरू खाली हुँदै गएका छन्। बस्तीहरू सुनसान बन्दै गएका छन्। समाजबाट युवाशक्ति क्रमशः पलायन भएको छ। आज धेरै घरमा वृद्ध बुबाआमा मात्र छन्, जो बिहानदेखि साँझसम्म ढोकातिर आँखा लगाएर आफ्ना सन्तान कहिले फर्केलान् भन्ने आशामा दिन बिताइरहेका छन्।
हामी विकासको कुरा गर्छौँ। समृद्ध नेपालको नारा लगाउँछौँ। तर देश निर्माण गर्ने सक्षम युवा जनशक्ति नै विदेश पलायन भइरहेका छन्। यसको प्रत्यक्ष प्रभाव परिवारमा परेको छ, कहिल्यै नेपाली समाजको पहिचान मानिएको संयुक्त परिवार बिस्तारै एकल परिवारमा रूपान्तरण भयो। अहिले त्यो पनि टुक्रिँदै श्रीमान्-श्रीमती र छोराछोरीमा मात्र सीमित हुँदै गएको छ। पुस्ताबिचको सम्बन्ध, साझा संस्कार र सामूहिक जीवनशैली क्रमशः कमजोर बन्दै गएको छ।
आज धेरै घरमा धन, सुविधा र आधुनिक प्रविधिको कमी छैन। सुन्दर घर छन्, गाडी छन्, बैंकमा पैसा छ, अनगिन्ती सेवा–सुविधा छन्। तर पीडाको समयमा ढाडस दिने हात छैन। बिरामी हुँदा निधारमा हात राख्ने सन्तान छैन। साँझपख ढोकामा बसेर ‘बुबा, आमा, हामी आयौँ’ भन्ने आवाज सुन्ने सौभाग्य छैन।
वृद्ध आँखाहरू अझै पनि बाटो हेर्दै टोलाइरहेका छन्। उनीहरूको मनमा एउटै चाहना बाँकी छ एक दिन नातिनातिनाहरू आँगनमा दौडिरहेका देख्न पाऊँ, उनीहरूको हात समाएर हिँडाउन पाऊँ, उनीहरूलाई आफ्नै काखमा राखेर कथा सुनाउन पाऊँ। तर त्यो चाहना धेरैका लागि केवल सम्झना र कल्पनामा सीमित भएको छ।
पहिले दुःख सुखमा गाउँ नै परिवार हुन्थ्यो, कसैको घरमा मृत्यु हुँदा मलामीको कमी हुँदैनथ्यो। कुनै अप्ठ्यारो पर्दा छिमेकीहरू नै पहिलो सहयोगी बन्थे। आज प्रविधिले संसारलाई जोडेको छ तर मानिसका मनहरूलाई भने टाढा बनाएको छ। सामाजिक सञ्जालले आफन्तसँग बोल्ने माध्यम त दिएको छ तर मानवीय स्पर्श, सामीप्य र आत्मीयतालाई प्रतिस्थापन गर्न सकेको छैन।
भौतिक सम्पन्नताले घर उज्यालो बनाउन सक्छ तर वास्तविक सुख भने अझै पनि परिवारको साथ, आत्मीय सम्बन्ध र समुदायको न्यानोपनमै लुकेको हुन्छ। विकासको अर्थ केवल आर्थिक वृद्धि होइन; विकासको वास्तविक मापन परिवारको एकता, समाजको विश्वास, समुदायको सहकार्य र मानवीय संवेदनाको संरक्षणमा पनि हुनुपर्छ। यदि विकासको मूल्य आफ्नै बुबाआमा, छोराछोरी, नातिनातिना र समुदायसँगको सम्बन्ध गुमाउनु हो भने हामीले विकासको परिभाषालाई फेरि एक पटक गम्भीरतापूर्वक पुनर्विचार गर्न आवश्यक छ।
यस परिवर्तनले केवल परिवारको संरचना मात्र बदलेको छैन, हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई पनि गहिरो प्रभाव पारेको छ। पहिले फुपू, काका, सानीआमा, माइजू, साली, भतिजा, भतिजी, नन्द, देवर जस्ता सम्बन्धहरू केवल नाताका नाम मात्र थिएनन् ती आत्मीयता, अपनत्व, सहयोग र स्नेहका प्रतीक थिए।
आज ती सम्बन्धहरू बिस्तारै शब्दकोशमा सीमित हुँदै जाने भएका छन्। धेरै बालबालिकाले आफ्ना फुपू, काका वा सानीआमासँग एउटै घरमा बसेर हुर्किने अवसर नै पाउँदैनन्। नातागोताबिचको नियमित भेटघाट, हाँसो–खुसी, चाडपर्वको रमाइलोपन र आपसी सहयोगको संस्कार बिस्तारै हराउँदै गएको छ।
त्यसैगरी, पहिले दाजुभाइ र दिदीबहिनीबिच रहेको आत्मीयता, सम्मान र जिम्मेवारीको भावना पनि बिस्तारै कमजोर बन्दै गएको देखिन्छ। एउटै आँगनमा सँगै खेल्ने, सँगै हुर्किने र दुःख–सुख बाँड्ने संस्कृति अहिले भौगोलिक दूरी, व्यस्त जीवनशैली र प्रविधिको प्रभावका कारण फिक्का हुँदै गएको छ, मानिसहरू सामाजिक सञ्जालमा हजारौँ साथीहरू बनाइरहेका छन् तर आफ्नै नातागोता र छिमेकीसँगको सम्बन्ध भने कमजोर हुँदै गएको यथार्थ हाम्रो समाजले भोगिरहेको छ।
परिवार केवल रगतको सम्बन्ध होइन; त्यो संस्कार, स्मृति, उत्तरदायित्व र भावनात्मक सुरक्षाको आधार हो यदि यही आत्मीय सम्बन्धहरू समयसँगै हराउँदै गए भने हामी आर्थिक रूपमा सम्पन्न भए पनि सामाजिक र भावनात्मक रूपमा झन् गरिब बन्दै जानेछौँ। त्यसैले विकासको यात्रासँगै हाम्रो पारिवारिक मूल्य, नातासम्बन्धको आत्मीयता र सामुदायिक एकतालाई जोगाउनु आजको सबैभन्दा ठुलो चुनौती बनेको छ।