गाउँघरको हकमा भन्ने हो भने जीवनमा अनेक खोला तरिन्छ भने अनेक नदीका पुलहरू पार गरिन्छन्। जीवनका अनेकानेक आरोहअवरोह पार गरे झैँ। सहरको तुलनामा गाउँघरमा घर-व्यवहारका कामहरू तमाम हुन्छन्।
सहरका मान्छेमा झैँ गाउँघरका मान्छेहरूमा सुगर प्रेसर, ब्लड प्रेसर, थाइराइड समस्याका बिरामी नगण्य संख्यामा भएको पाइन्छ। किनकि गाउँघरमा एक त प्राणपायु नै शुद्ध अनि खेतीपातीका काम र चौपाया पालनका कारण हुने परिश्रमले जनस्वास्थ्य छिनछिनमै अद्यावधिक भएको हुन्छ।
गाउँघरमा पहिले पहिले घर-व्यवहारका क्रममा विभिन्न खोला-नदी पार नगरी सुखै थिएन, पछिल्लो समयमा भने मान्छेहरूमा सुखको चाहना बढ्दै जाँदा गाउँघरका कतिपय खेतबारी बाँझो पल्टिएको देखिन्छ। यस आलेखमा किशोरावस्थामा आफूले तरेका, पानी पिएका, पौडी खेलेका नदी-खोलाहरूको छोटो वर्णन गर्ने जमर्को गरिएको छ।
लुंग्री नदी
उत्पत्तिस्थल रोल्पाको जलजला भएको लुंग्री नदी पश्चिम राप्ती नदीको मुख्य शाखा नदी हो। जुन रोल्पाको हाम्रो गाउँ खुंग्रीको मुनितिर भएर बग्दछ र रोल्पाकै माडी नदीमा मिसिन्छ। सम्भावित पर्यटकीय स्थल सुनछहरीको पानी पनि यही लुंग्रीमा मिसिन्छ। २०३४ सालमा शैक्षिक भ्रमणको क्रममा आफू सुनछहरी पुगेको मलाई राम्ररी सम्झना छ।
माडी नदी
बहाव र गहिराइका दृष्टिले लुंग्रीभन्दा माडी नदी अलिक कमजोर ठानिन्छ। लुंग्री र माडी चतुर्भुजमा मिलेपछि नदी माण्डवी नामले चिनिन्छ। तैपनि स्थानीय बोलीचालीमा माण्डवीलाई माडी नै भन्ने गरिन्छ। माण्डवीको सेरोफेरो भेगलाई माडीखोला भनिन्छ। प्युठानमा पर्ने माडीखोला भेगको रहनसहन र बोलीचाली प्युठानकै अन्य भेगको तुलनामा केही फरक छ। रोल्पाको साबिक घोडागाउँ गाविस र खुंग्री गाविस पनि माडीखोला भेगमै पर्दछ।
घोरखोला
रोल्पाको साबिक घोडागाउँ गाविस र प्युठानको साबिक भिंग्री गाविस जोड्ने खोलाको नाम घोरखोला हो। हामी बर्खामासमा विद्यालय जाँदा घोरखोलामा रहेको काठको लामो साँघु पार गरेर जान्थ्यौँ।
देउखुरी खोला
हाम्रो मुख्य धानखेत भएको स्थान देउखुरी र गोधुङका खेतमा सिँचाइ गर्ने पानीको मुख्य स्रोत नै देउखुरी खोला थियो। देउखुरीका खेतमा ठूलोकुलो र सानो कुलो दुबैबाट र गोधुङका खेतमा ठूलोकुलोबाट मात्र सिँचाइ गरिन्छ।
झाँक्रीखोला
देउखुरीखोलाको पानी सिँचाइका लागि अपुग भएमा झाक्रीखोलाको पानी कुलोमा मिसाइन्थ्यो र अहिले पनि सो कुलोको पानी हाम्रो गाउँमा सिँचाइका लागि ल्याइन्छ।
खुमेलखोला
रोल्पाको पूर्वी भेगका केही घरहरू खुमेलखोलाका स्लेटढुंगाले छाइएका छन्। त्यहाँ रहेको ढुंगा खानी उत्खनन गरिँदै आएकोमा पछिल्लो समय त्यहाँको जमिन जोखिममा पर्ने भन्दै खानी बन्द गरिएको छ। हाम्रो मावली गाउँ रोल्पाकै सिर्पमा रहेको स्लेट ढुंगा खानी भने अझै पनि चालु अवस्थामा रहेको छ। पिताजीले २०२३/२४ सालमा बनाउनुभएको घरमा सिर्पकै स्लेट ढुंगाले छाइएको थियो। २०५८ सालमा अर्को घर पनि सिर्पकै स्लेट ढुंगाले छाइयो।
जुतुङखोला
जुतुङखोला रोल्पाको साबिक कमलेपोखरा गाविस र तेबाङ गाविसको बिच भएर बग्ने खोलाको नाम हो। त्यसै खोलाको बाढीले हाम्रा बुढोमावली बाजेको धेरै मात्रामा खेत बगाएर लगेको कुरा मैले कहिल्यै पनि भुल्दिनँ।
पानीचारे खोला
पानीचारे खोला रोल्पाको मिझिङ गाविस र प्युठानको सारी गाविस छुट्टाउने खोला हो। सो खोलाको पानीले केही सानातिना फाँटका खेतहरूमा सिँचाइ गरिन्छ। हाम्रो भेगतिर सिँचाइ गर्ने कामलाई ‘पानी चार्ने’ भनिन्छ, त्यसैले नै पानीचारे खोलाको नाम रहन गएको हुनसक्छ।
घन्टीखोला
प्युठानको घन्टीखोलाका कुर्मीका सिप बारे हामीले उहिल्यै बाल्यकालदेखि नै सुन्दै आएका हौँ। घर निर्माणका क्रममा झ्यालढोकाका चौकोस आदि बनाउनका लागि सबैले घन्टीखोलाका कुर्मीको चयन गर्दथे।
जारीखोला
हामीले २०३६ देखि २०३९ सालसम्म प्युठानको भिंग्रीमा रहेको अमर माविमा पढ्दाको विद्यालय भवन नजिक जारी नामको टोल ब्राह्मण बस्ती हो। जारी टोलमा हाम्री फुपू नाता पर्नेको घर छ। जारी बस्ती नजिक भएर बग्ने खोला नै जारीखोला हो।
अरङखोला
रोल्पामा उहिले गाडीको सुविधा नहुँदा हामी रोल्पाबाट दाङ पैदल यात्रा गर्दा घोरखोलाको किनारैकिनारको बाटोबाट उक्लिँदै मसिना पुगेपछि फेरि ओरालो झर्ने गर्थ्यौँ। ओरालो झरिसकेपछि अरङखोला तरेर पल्लोपट्टि गएपछि धौलवाङतर्फ जान फेरि उकालो चढ्नुपर्थ्यो/पर्छ। धौलवाङबाट हल्का तेर्सो बाटो हिँड्दै दाङको राम्चे पुगेर फेरि ओरालो झर्दै सेवार खोलाको किनारैकिनारको गोरेटो/डोरेटो भएर हामी दाङको घोराही बजार पुग्दथ्यौँ।
पुँडीखोला वा पुणीखोला
२०३९ सालको एसएलसी परीक्षा तयारीको क्रममा हामी प्युठानको पुँडीखोला (पुण्यखोला) वा पुणीखोला पुगेर गणित विषयको ट्युसन पढेका थियौँ चार जनाको समूह भएर। प्युठानकै भिंग्रीस्थित अमर माध्यमिक विद्यालयमा हामीलाई पढाउने गणितका गुरु गंगाधर पण्डितसँग पुण्यखोलामा ट्युसन पढेका थियौँ बर्खे बिदाको अवधिमा।
पेँदीखोला
यो खोलाको नाम बच्चा हुँदादेखि नै पिताजीको मुखबाट सुनेको थिएँ। तर कहाँ छ र उक्त खोलाको स्वरूप कस्तो छ भन्ने विषयमा भने म अनभिज्ञ नै छु नदेखेको र त्यहाँ नपुगेका कारण।
झोरखोला
झोरा नामको वन भएर बग्ने खोलाको नाम झोरा खोला हो। हामी सानो छँदा बर्खायाममा आक्कलझुक्कल सुनिने झोराखोलाको पानीको दमदम आवाज अहिले पनि सम्झना आउँछ। हाम्रो गाउँ खुंग्रीका धारापानीमा रहेका आर्नेखोला र अमरे खोलाको अस्तित्व भने हराइसकेको छ मोटरबाटो निर्माणका कारण।
यारीखोला
उहिले घाँस-दाउराका लागि गाउँलेहरू पुग्ने गरेको यारी वन भएर बग्ने खोला नै यारीखोला हो, जहाँ बर्खायाममा मात्र पानी बग्दछ। पछिल्ला दिनमा वनमा जाने मान्छेहरू शून्यप्रायः अवस्था छ। सुख खोज्ने क्रममा गाई-भैँसी पाल्न छोडिनु र खेतीपाती गर्न छोडिनुलाई एक किसिमले दुःखको कुरा मान्नुपर्दछ। किनकि स्वास्थ्यले श्रम गरेन भने अनेक रोग लाग्ने सम्भावना ज्यादा रहन्छ।
पँधेराखोला
हामीले पानी पिउने गरेको पँधेरा नजिक भएर बग्ने खोलाको नाम पँधेराखोला हो। त्यहाँ अहिले क्रियापुत्री भवन बनेको छ। पहिले पहिले खुला ठाउँमा किरियापुत्रीले आफ्नो कर्म गर्दथे।
माझीखोला
एउटा पनि घर नभएको गाउँ माझीगाउँ भएर बग्ने खोला नै माझीखोला हो। डेढ दशक पहिलेसम्म माझीगाउँमा एउटा मात्र घर थियो। उहिले हामीले केतुकीको पातले बनेको धाराको सहारामा यो खोलामा नुहाउने गर्दथ्यौँ।
अन्य खोला
हाम्रो मावली गाउँ सिर्प भएर बग्ने सिर्पखोला हो भने बोज्याङ गाउँ भएर बग्ने बोज्याङखोला हो।
दुई खोलीमा भाइको लुटिएको घडी
२०४६ सालमा मेरो विवाहमा ससुरालीबाट प्राप्त स्वचालित ‘सिको फाइब’ घडी अलि पछि मैले साहिँलो भाइलाई दिएको थिएँ। मसँग पहिले देखिको घडी भएका कारण दुइटा घडी के काम भनेर भाइलाई लगाउनु भनेर दिएको थिएँ। २०५० सालअघिकै कुरा हो, भाइ दाङको सदरमुकाम घोराहीबाट सेवारखोलाको किनारको बाटो हुँदै घरतिर फर्किँदै गर्दा दुई खोली नामको स्थानमा युवाहरू क्यारम बोर्ड खेलिरहेको देखेर भाइले खेल हेरिरहेको अवस्थामा लुटेराबाट उक्त घडी लुटिएको थियो। क्यारम बोर्ड खेल नहेरेको भए सायद सो घडी लुटिने थिएन।
खोलामा बम पड्काएर माछा मारेको प्रसंग
हामी बाल्यकाल हुँदादेखि नै गर्मीमा पौडी खेल्ने गरेको लुंग्री नदीका रहहरूमा बम पड्काएर माछा मारेको स्मरण छ। हामी जन्मिनुअघि बम पड्काएर माछा मार्ने चलन थियो वा थिएन भन्ने चाहिँ मलाई थाहा छैन। केप फिट गरिएको फ्युज तार जिलेटिनको बिच भागमा पारेर अनि डोलो-च्याप्टो ढुंगामा डोरीले बाँधेर रहमा फ्याँकेको केही बेरमा बमको ठुलो आवाज आउँदा पहरा थर्किने र पहराबाट साना, मसिना ढुङ्गा-बालुवा-माटो झर्ने गरेको, साथै रहको पानीको माथिल्लो सतहमा तरंग पैदा हुँदै पानीका थोपाहरू आकारतिर हुत्तिने गरेका दृश्यहरू मेरो मानसपटलमा रहिरहेको छ।
बम रहमा फ्याँक्नुअघि रहको मुनितिर हामीहरू लहरै उभिएर माछा रहतिर जाउन् भनेर हातले अघिल्तिर पानी फ्याँक्दथ्यौँ। बम पड्किएको क्षणभरमै रहको माथिल्लो सतहमा सेताम्मे माछाहरू तैरिन्थे। छटपटाइरहेका माछा हामीले समातेर किनारतिर फ्याँक्दथ्यौ र संकलकले एकत्रित गरेर राख्दथे। माछा चिप्लो हुने हुँदा पकड्न गाह्रो हुन्थ्यो।
तीव्र बजारीकरण र बढ्दो फोहोरका कारण पानी पिउनयोग्य केही नदी-खोला प्रदूषित हुँदै गएको तीतो यथार्थ बारे धेरैले चासो लिएको पाइँदैन। जथाभाबी रूपमा फोहोर विसर्जन गरेर खोलानाला दूषित बनाइएको पाइन्छ। अहिले नदीनालाहरूका बगरमा देखिने अशोभनीय दृश्य भनेको प्लास्टिकका झोलाहरू, थोत्रा ज्याकेट-स्विटर-जुत्ता-मोजा लगायतका वस्तुहरूको थुप्रो नै हो। ती वस्तुहरू बगरमा यत्रतत्र छरिएर रहेका पनि देखिन्छन्।
साथै सिसाका बोतलका टुक्राहरू नांगो खुट्टा हिँड्नेहरूका लागि जोखिम ठानिन्छन्। किशोरावस्थादेखि नै हामीले पौडी खेल्दै आएको र अञ्जुलीबाट पानी पिउने गरेको लुंग्री नदीमा पछिल्लो समय सुलिचौर बजारबाट विसर्जन गरिने नालीको पानी मिसाइने गरेको मैले स्वयं देखेको हुँदा लुंग्री नदीको पानी पिउन योग्य ठानिँदैन। अरू नदी नालाहरूको हालत पनि यस्तै छ। समग्रमा भन्नुपर्दा ती नदीनालाका पानी अहिले पिउनयोग्य छैन।
अन्त्यमा,
हामी मानवहरूले प्राकृतिक सम्पदाहरूलाई स्वच्छ तुल्याउनु अनिवार्य छ। क्षणिक फाइदाका लागि प्राकृतिक स्रोतहरूलाई फोहोर वा दूषित बनाउनु हुँदैन। जसरी हामीले घरभित्र-बाहिर सरसफाइ गर्दछौँ, त्यसरी नै पर्यावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रा छेउछाउका खोलानाला, तालतलैयाहरूलाई पनि सफा राख्नुपर्छ।
गाउँ छोडेर सहर-बजार बसाइ सर्दा सुख-सयल त मिल्ला, तर सहरमा जबरजस्ती औषधि सेवनको भरमा जीवन घिसार्नुपर्ने हुन्छ। सहर बजारमा मीठोको नाममा दूषित खाद्यवस्तु खानुपर्ने पनि हुन्छ। बरु गाउँमा चिनी नराखेको खिर खानु तर बजारको चास्नीयुक्त मिठाइ नखानु भनिएमा वा लेखिएमा सम्बन्धित व्यवसायीहरूको चित्त दुख्न सक्छ।