तातो हावाले उकुसमुकुस आँबुखैरेनी बजारबाट जिपले उकालो समातेको ४५ मिनेट नबित्दै हामी यस्तो ठाउँमा पुग्यौँ, जहाँ डाँडाहरू आँखाको सतहभन्दा तल झर्न थालेका थिए, सहरको आवाजलाई चराहरूको स्वरले विस्थापित गरिसकेको थियो र हावाको तापक्रम बदलिइसकेको थियो।
तल बजारमा हुँदा सामान्य लागिरहेको दिन उचाइ चढ्दै जाँदा क्रमशः अर्को रूप लिँदै थियो।
नागबेली बाटो, खोल्साहरू, हरिया पाखा, मकैबारी, ग्रामीण बस्ती र टाढिँदै गएको बजार हेर्दाहेर्दै मलाई एउटा कुरा महसुस भयो।
छिम्केश्वरी केवल एउटा मन्दिर होइन, यो तनहुँले अझै पूर्ण रूपमा सुनाउन बाँकी राखेको प्राकृतिक सुन्दरता, धार्मिक आस्था र ग्रामीण पर्यटनको साझा कथा हो यो गन्तव्य।
केही साताअघि केही साथीहरूसँग तनहुँ पुगेको थिएँ। छिम्केश्वरी जाने कुनै पूर्वयोजना थिएन। त्यही क्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानजीबाट छिम्केश्वरी घुम्ने निम्तो आयो।
म यसअघि कहिल्यै छिम्केश्वरी पुगेको थिइनँ, त्यसैले नयाँ ठाउँ जान पाइने उत्साह स्वाभाविक थियो। तर त्यो उत्साह केवल नयाँ गन्तव्य हेर्ने कुरामा सीमित थिएन। यात्रामा गाउँपालिकाका प्रतिनिधि र स्थानीय पर्यटन विकासमा प्रत्यक्ष संलग्न व्यक्तिहरूसँगै हुने भएकाले ठाउँ हेर्ने मात्र होइन, त्यस ठाउँलाई बनाउँदै गरेका मानिसका सपना र योजना पनि सुन्न पाइने अवसर थियो।
यात्राको अर्को रमाइलो संयोग थियो हाम्रो सवारी।
हामी चढेका थियौँ बन्दीपुर भिलेज सफारीको खुला सफारी जिपमा, अनि स्टेरिङ सम्हालिरहेका थिए मेरा झन्डै दुई दशकदेखिका प्यारा भाइ वसन्त पौडेल, जो आजभोलि ‘दुलन्ते दाइ’ नामले परिचित छन्।
गाउँ, बाटो, स्थानीय जीवन, खाना, संस्कृति र पर्यटकलाई एउटै अनुभवमा जोड्ने अवधारणा सहित सुरू गरिएको भिलेज सफारीको जिपमा बसेर हामी एउटा नयाँ पहाडी गन्तव्यतर्फ जाँदै थियौँ। उनी आफै जिप चलाइरहेका थिए र बाटोका गाउँ, मोड, पुराना कथा तथा सम्भावनाबारे बताउँदै थिए। त्यसले यात्रा सुरू हुनुअघि नै गन्तव्यप्रतिको उत्सुकता बढाइसकेको थियो।

हाम्रो यात्रा आँबुखैरेनी बजारबाट सुरू भयो। सडकले उकालो समात्यो र बाटो नागबेली बन्न थाल्यो। एउटा घुम्ती काट्दा अर्को डाँडा खुल्थ्यो, अर्को मोडमा पुग्दा तलको भूगोल अझ फराकिलो देखिन्थ्यो। जति माथि पुग्दै गयौँ, त्यति टाढासम्म देखिन थाल्यो। कतै साना खोल्सा तर्दै, कतै हरिया पाखा र बारीको बीचबाट, कतै ग्रामीण घरआँगनको छेउ हुँदै जिप उकालिइरह्यो। मकैबारी, घाँसे पाखा, रूखका झुन्ड, ढुङ्गामाटोका बाटा र आफ्नै लयमा चलिरहेका गाउँहरू हेर्दा सहरको व्यस्तता केही समयमै पछाडि छुटिसकेको थियो। तल आँबुखैरेनीतिर देखिने न्यानोपन र सघन बसोबास बिस्तारै हराउँदै गइरहेको थियो र त्यसको ठाउँ फराकिलो आकाश, खुला डाँडा र चिसिँदै गएको हावाले लिँदै थियो।
पहाडको मौसमको विशेषता पनि यही रहेछ। थोरै दूरी र केही सय मिटर उचाइले नै वातावरणको अनुभूति बदलिदिन्छ। आँबुखैरेनीबाट निस्कँदा न्यानो लागिरहेको शरीरलाई केही समयमै खुला जिपबाट आउने चिसो हावाले छुन थाल्यो। जति माथि उक्लियौँ, हावा त्यति सफा र चिसो महसुस हुन्थ्यो। कुनै मोडमा घाम लागिरहेको हुन्थ्यो, अर्को मोडमा रूखको छाया र हावाले जाडोको अनुभूति गराउँथ्यो। खुला ठाउँमा पुग्दा टाढासम्म फैलिएका पहाड देखिन्थे। छोटो यात्रामै यस्तो भौगोलिक र मौसमी विविधता अनुभव गर्न पाउनु छिम्केश्वरीतर्फको यात्राको सुरूआती आकर्षण नै हो।
करिब ४५ मिनेटपछि हामी छिम्केश्वरी रिसोर्ट पुग्यौँ।
समुद्री सतहबाट करिब १ हजार ६२५ मिटर उचाइमा रहेको रिसोर्टमा ओर्लँदा आँबुखैरेनीको मौसम धेरै तल छुटिसकेको जस्तो लाग्यो। चिसो हावाले पहिलो स्वागत गर्यो। बजारबाट उक्लँदा खासै आवश्यक नलागेको न्यानो कपडा त्यहाँ पुगेपछि सबैभन्दा उपयोगी वस्तु बन्यो। अम्बर दाइले बोकेको न्यानो कपडाको सहाराले त्यो चिसो सहज भयो। तर त्यो चिसो असहज बनाउनेभन्दा पनि पहाडमा पुगेको अनुभूति दिलाउने खालको थियो। वरिपरिका हरिया डाँडा, परपरसम्म फैलिएका पहाडका तह र शान्त वातावरणले पहिलो नजरमै रिसोर्टलाई बसिरहुँ जस्तो ठाउँ बनाएको थियो।
साँझ पर्न थालेपछि छिम्केश्वरीको वातावरण अझ फरक देखियो। हावामा थप चिसोपन मिसियो, पहाडका रङ गाढा हुँदै गए, टाढाका बस्तीका आकृति बिस्तारै धमिला भए र वरिपरिको शान्तता अझ गहिरियो। सहरमा साँझ भनेको बत्ती, गाडी र मानिसको भीड बढ्ने समय हो, तर यहाँ साँझसँगै आवाजहरू कम हुँदै जान्थे। कहिलेकाहीँ टाढाबाट चराको स्वर, हावाले पात हल्लाएको आवाज र गाउँको सामान्य गतिविधि मात्र सुनिन्थ्यो। त्यो शान्तिमा एउटा किसिमको प्राकृतिक संगीत थियो, जसले केही समयमै सहरको दिनचर्याबाट पूर्ण रूपमा अलग गरिदिन्थ्यो।
त्यो दिन हामी रिसोर्टमै बस्यौँ। छिम्केश्वरीमा व्यवस्थित आवासको सुरूआत पर्यटनका दृष्टिले निकै महत्वपूर्ण लाग्यो।
कुनै ठाउँ सुन्दर भएर मात्र पर्यटकीय गन्तव्य बन्न सक्दैन। त्यहाँ पुग्ने बाटो, बस्ने ठाउँ, खानाको व्यवस्था, सरसफाइ, सुरक्षा र पर्यटकले केही समय बिताउन सक्ने वातावरण चाहिन्छ।
विशेषगरी छिम्केश्वरीजस्तो धार्मिक र प्राकृतिक गन्तव्यमा मानिसलाई केही घण्टाको भ्रमणभन्दा एक रात बस्ने कारण दिन सकियो भने त्यसले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ। रिसोर्ट, टेन्टमा बस्ने व्यवस्था, समूहका लागि हल र स्थानीय खानाको सुविधा सुरु हुनु यही दिशाको सकारात्मक सुरूआत हो।
त्यो साँझको अर्को बलियो सम्झना स्थानीय खानासँग जोडियो। स्थानीय काँक्रो र पोलेको मकै खाँदा अचानक मेरो मन धेरै वर्ष पछाडि पुग्यो। स्वादले मानिसको स्मृति कति सजिलै खोलिदिँदो रहेछ भन्ने कुरा त्यही बेला महसुस भयो।
पोलेको मकैको बास्ना, काँक्रोको स्वाद र पहाडको चिसो हावाले लमजुङमा बिताएका बाल्यकालका दिन सम्झाइदिए। गाउँका पाखाबारी, घरआँगन, विद्यालय जाने बाटो, साथीहरूसँग बिताएका समय र सामान्य लागेका ती पुराना दिनहरू एकपछि अर्को गर्दै स्मृतिमा फर्किए।
त्यही क्षण मलाई लाग्यो, ग्रामीण पर्यटनको सबैभन्दा ठूलो शक्ति सायद यही हो। पर्यटकलाई महँगा संरचना देखाउनु मात्र होइन, उसलाई कुनै पुरानो स्मृति, परिचित गन्ध, स्थानीय स्वाद वा जीवनको सरलतासँग जोड्न सक्नु।
भोलिपल्ट बिहानै उठ्दा छिम्केश्वरी रातको भन्दा बिल्कुल फरक देखिन्थ्यो। कतै डाँडाको काखमा कुहिरो अडिएको थियो, कतै आकाश सफा हुँदै थियो, कतै सूर्यको किरणले जंगलको रङ परिवर्तन गरिरहेको थियो। पहाडी क्षेत्रमा बिहानको मौसम आफैँमा एउटा दृश्य रहेछ। केही मिनेटमै कुहिरो आउन सक्छ, फेरि चाँडै खुल्न सक्छ। कहिले बादल डाँडाको माथिबाट बग्छ, कहिले डाँडाभन्दा तल झरेर आफू बादलमाथि उभिएको अनुभूति दिन्छ। छिम्केश्वरीको उचाइ र खुला भूगोलका कारण यस्तो मौसम परिवर्तन अझ स्पष्ट रूपमा महसुस गर्न सकिन्छ।
नुहाइधुवाइ गरेर हामी छिम्केश्वरी माईको दर्शनका लागि निस्कियौँ। रिसोर्टबाट केही माथिसम्म जिपमै गयौँ र त्यसपछि सुरू भयो पैदल यात्रा। अगाडि करिब ४५ मिनेटको ढुङ्गा छापिएको उकालो थियो। केवल मन्दिर पुग्ने बाटो थिएन, त्यो आफैँमा प्रकृति यात्रा थियो। जंगलको बीचबाट ढुङ्गाका सिँढी उक्लिएका थिए, ठाउँठाउँमा जंगली फूल फुलेका थिए, विभिन्न वनस्पति देखिन्थे र चराहरूको आवाज कहिले नजिकबाट, कहिले जंगलको भित्र कतैबाट सुनिन्थ्यो। केहीबेर हिँडेर पछाडि फर्किंदा तलका गाउँ र डाँडा क्रमशः साना देखिन्थे र आफू साँच्चै उचाइतर्फ चढिरहेको अनुभूति हुन्थ्यो।
उकालो भएकाले शरीरलाई मेहनत चाहिन्थ्यो, तर जंगलको चिसो हावा, हरियाली र प्राकृतिक ध्वनिले थकाइलाई सहज बनाइरहेको थियो। छिम्केश्वरी महाभारत पर्वत शृङ्खलाको उच्च भागमा पर्छ र २ हजार १३४ मिटर उचाइमा रहेको यो भूभाग तनहुँ जिल्लाकै सर्वोच्च स्थान हो।
यही उचाइले छिम्केश्वरीलाई जिल्लाका अन्य धेरै क्षेत्रभन्दा फरक मौसम र दृश्य दिएको छ।
गर्मी महिनामा पनि माथिल्लो भागको हावा तलको भूभागभन्दा चिसो महसुस हुन्छ भने जाडोयाममा यहाँ उल्लेख्य चिसोपन रहन्छ। मनसुनमा जंगल र पाखा निकै हरिया हुन्छन्, बादल र कुहिरोले वातावरणलाई रहस्यमय बनाउँछन्, जबकि शरद र हिउँदका सफा दिनमा टाढाका हिमशृङ्खला र पहाडी भूगोल खुला रूपमा देखिन्छन्।
बाटोमा हामीसँगै थिए छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङ।
उनी हिँड्दै गर्दा त्यहाँ भइरहेका पूर्वाधार विकासका काम, बनिसकेका संरचना र आगामी योजनाबारे सुनाइरहेका थिए। कहाँ थप काम गर्न बाँकी छ, यात्रुलाई कसरी सहज बनाउने, धार्मिक क्षेत्रलाई कसरी व्यवस्थित गर्ने, थप पर्यटक कसरी ल्याउने र स्थानीय समुदायलाई पर्यटनबाट कसरी फाइदा पुर्याउने भन्ने विषय उनी बारम्बार उठाइरहेका थिए।
उनको कुरा सुन्दा औपचारिक जिम्मेवारी पूरा गर्ने व्यक्तिभन्दा आफ्नो ठाउँलाई केही बनाइछाड्ने चाहना भएको स्थानीय अगुवा देखिन्थ्यो। आफ्नै भूगोललाई चिनाउने त्यो लगाव साँच्चै प्रशंसायोग्य लाग्यो।
अर्कोतर्फ शुक्रजीसँग आँबुखैरेनी गाउँपालिकाको समग्र पर्यटन विकासबारे कुराकानी भइरहेको थियो। ऐनापहरा, ग्रामीण बस्ती, धार्मिक गन्तव्य, स्थानीय उत्पादन, प्राकृतिक सम्पदा र छिम्केश्वरीजस्ता ठाउँलाई कसरी आपसमा जोड्न सकिन्छ भन्ने विषयमा कुरा गर्दै जाँदा उकालो काटेको पत्तै भएन। स्थानीय सरकारको नेतृत्वसँग कुनै ठाउँमा हिँड्नु र कार्यालयमा बसेर योजना सुन्नु फरक अनुभव रहेछ।
बाटोमै हिँड्दा कहाँ सडक कमजोर छ, कहाँ पर्यटक रोक्न सकिन्छ, कहाँ शौचालय वा पानीको आवश्यकता छ र कहाँ स्थानीय समुदायलाई प्रत्यक्ष जोड्न सकिन्छ भन्ने कुरा आँखैले देख्न सकिन्छ। छिम्केश्वरीमा भइरहेका पूर्वाधार विकासका काम हेर्दा यहाँ पर्यटनलाई योजनाबद्ध रूपमा अगाडि बढाउने सोच देखिन्छ।
उकालोको अन्त्यतिर जंगल केही खुल्यो र अगाडि देखियो छिम्केश्वरी माईको भव्य मन्दिर। यहाँ आइपुग्दा प्राकृतिक यात्रासँगै सदियौँ पुरानो आस्थाको अर्को पाटो खुल्छ। मन्दिर पुग्नुभन्दा केही कदम तल भैरवको पूजा गरिन्छ।
छिम्केश्वरीको धार्मिक संरचनामा भैरवको यो स्थान पनि विशेष मानिन्छ। स्थानीय जनविश्वासअनुसार मन्दिरभन्दा तल रहेका भैरव र छिम्केश्वरी देवीको दक्षिणतर्फ रहेकी बूढीमाईले छिम्केश्वरी माईको पहरा दिइरहेका छन्। देवीको रक्षा र शक्तिपीठको पहरेदारीसँग जोडिएको यो विश्वासले यहाँको धार्मिक परम्परालाई अझ रोचक बनाउँछ।
छिम्केश्वरीको धार्मिक इतिहास स्थानीय जनविश्वासमा मात्र सीमित छैन। उपलब्ध ऐतिहासिक लेख तथा अभिलेखका आधारमा यहाँ भगवतीको आराधनाको परम्परा यस क्षेत्रको राजनीतिक इतिहास भुरे–टाकुरे राज्यहरूको समयसम्म पुग्छ। वि.सं. १७५३ मा तनहुँका राजा दामोदर सेनले आफ्ना नाति नरभूपाल शाहलाई गोरखाको राजगद्दी प्राप्त गर्न सहज होस् भन्ने कामनासहित छिम्केश्वरी भगवतीको पुरश्चरण (विशेष पूजा, मन्त्रजप तथा धार्मिक अनुष्ठान) गराएको उल्लेखसमेत पाइन्छ।
यसले छिम्केश्वरीलाई स्थानीय देवीको थान मात्र नभई तत्कालीन राज्यसत्ता, राजपरिवारको आस्था र यस भेगको ऐतिहासिक चेतनासँग जोडिएको शक्तिपीठका रूपमा पनि चिनाउँछ।
छिम्केश्वरीसँग जोडिएको सबैभन्दा रोचक धार्मिक मान्यता सात दिदीबहिनी देवीको कथा हो। प्रचलित मान्यताअनुसार सात दिदीबहिनीमध्ये जेठी बूढीकन्या अर्थात् बूढीमाई, माइली छिम्केश्वरी माई, साइँली गोरखकाली माई, काइँली मनकामना माई, अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्ण माई र कान्छी अकला माई हुन्।
तीमध्ये बूढीमाई र छिम्केश्वरीको थान यही छिम्केश्वरी क्षेत्रमा रहेको मानिन्छ भने अन्य देवीका स्थान वरिपरिका विभिन्न पहाड र भूगोलसँग जोडिएका छन्। यही कारण छिम्केश्वरी पुग्नु एउटा मन्दिरको दर्शन मात्र नभई यस भेगमा पुस्तौँदेखि बाँचेको देवी परम्परा र धार्मिक भूगोललाई बुझ्ने अवसर पनि हो।
छिम्केश्वरी माईलाई विशेषतः गोरखाको मनकामना माईकी दिदीका रूपमा पुज्ने परम्परा छ। यहाँ श्रद्धापूर्वक पूजा गरी मनले चिताएको कामना गरे पूरा हुने जनविश्वास रहेको स्थानीयहरू बताउँछन्। पूर्णिमा, नवरात्रलगायत विशेष अवसरमा यहाँ दर्शनार्थीको चहलपहल बढ्ने परम्परा पनि पुरानै हो।
देवीको स्वरूपसँग जोडिएको अर्को रोचक किंवदन्ती छ। स्थानीय जनश्रुतिअनुसार उनका केही बहिनी देवीहरूले सुँगुर र हाँसको बलि स्वीकार गरेको थाहा पाएपछि छिम्केश्वरी माई असन्तुष्ट भइन् र बहिनीहरूतर्फ नहेर्ने गरी शरीर फर्काएर घोप्टो परेर बसिन्।
मन्दिरमा रहेको पुरानो प्रतिमाको असामान्य आसन र देवी दक्षिणाभिमुख रहेको अवस्थालाई स्थानीयहरू यही कथासँग जोडेर व्याख्या गर्छन्। धार्मिक किम्वदन्ती भएकाले यसको ऐतिहासिक प्रमाणीकरणभन्दा पनि यसले स्थानीय समुदायले देवीलाई कसरी बुझेको र पुस्तौँदेखि आस्थाको कथा कसरी हस्तान्तरण गरेको छ भन्ने पक्ष बढी रोचक लाग्छ।
नजिकै रहेको बूढीमाईको थानले यो धार्मिक सम्बन्धलाई अझ बलियो बनाउँछ। छिम्केश्वरी मन्दिरतर्फ उकालो लाग्दा मन्दिर पुग्नुअघि केही तल रहेको भैरवस्थान र दक्षिणतर्फ रहेकी सात दिदीबहिनीमध्ये जेठी मानिने बूढीमाईले छिम्केश्वरी माईलाई पहरा दिएको स्थानीय धार्मिक विश्वास छ । यसरी छिम्केश्वरीको धार्मिक महत्व एउटा मन्दिरभित्र मात्र सीमित छैन। मन्दिरमुनिका भैरव, दक्षिणतर्फकी बूढीमाई, सात दिदीबहिनी देवीको परम्परा, स्थानीय किंवदन्ती र पुरानो राजनीतिक इतिहास सबै मिलेर यहाँको विशिष्ट धार्मिक भूगोल निर्माण गरेका छन् ।
मन्दिर परिसरबाट चारैतिर नजर घुमाउँदा छिम्केश्वरीको वास्तविक भौगोलिक विशेषता अझ स्पष्ट हुन्छ। पश्चिमतर्फ बन्दीपुर बजार, उत्तरतर्फ मनकामना र गोरखा बजार, दक्षिण–पश्चिमतर्फ भरतपुर, नारायणी नदीको सेरोफेरो र मौलाकालिका क्षेत्रसम्मको भूगोल नियाल्न सकिन्छ।
पहाडका तहहरू एकपछि अर्को गर्दै क्षितिजसम्म फैलिएका छन्। आकाश खुलेका बेला यहाँबाट पश्चिमको धौलागिरिदेखि पूर्वको गौरीशंकरसम्म फैलिएको लामो हिमालय शृङ्खला आँखैअगाडि खुल्ने स्थानीयहरू बताउँछन्। धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ हिमाल, मनास्लु, गणेश हिमाल हुँदै गौरीशंकरसम्म हिमालको विशाल फैलावट एउटै उचाइबाट नियाल्न सकिनु छिम्केश्वरीको असाधारण प्राकृतिक विशेषता हो।
त्यसदिन भने मौसम पूरै खुलेको थिएन। केही दिशामा आकाश सफा थियो भने कतै बादल र धुम्मपनले टाढाको दृश्य छेकिरहेको थियो। बादलहरू पहाडसँग खेलिरहेका थिए, बीचबीचमा टाढाको भूगोल खुल्थ्यो र फेरि केही बेरमै ओझेल पर्थ्यो। त्यही क्रममा मोबाइलमा रहेको ‘अल्पाइन गाइड’ एप खोलेर वरिपरिका पहाड र चुचुरा पहिचान गर्न थाल्यौँ। एपमा नजिकका हिमशृङ्खलासँगै टाढा जामाचो, चन्द्रागिरि र फूलचोकीतर्फका भूभागसमेत संकेत भएको देख्दा हामी अचम्मित भयौँ। स्क्रिनमा ती स्थानका दिशा देखिँदा मनमा एउटै कुरा आयो, यदि त्यो दिन आकाश अझ सफा भएको भए एपले देखाइरहेका ती दिशालाई आँखैले खोज्दै बस्नु आफैँमा अर्को रमाइलो अनुभव हुने रहेछ।
छिम्केश्वरीको अर्को विशेषता यसको बदलिरहने मौसम हो। वसन्तमा जंगल र जंगली फूलले ठाउँलाई रङ्गीन बनाउँछन्, वर्षायाममा पाखा र वन अत्यन्त हरिया हुन्छन्, तर बादल र कुहिरोले लामो दृश्यलाई कहिलेकाहीँ छेक्छन्।
वर्षापछि र शरद ऋतुमा आकाश सफा हुँदा हिमाल र टाढाका पहाड देखिने सम्भावना बढ्छ। हिउँदमा बिहान–बेलुका उल्लेख्य चिसो हुन्छ, तर स्वच्छ आकाश र तीक्ष्ण दृश्यका कारण यही समय प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट हुन सक्छ।
बिहानको सूर्योदय र साँझको सूर्यास्तले यहाँको भूगोललाई प्रत्येक घण्टा फरक रूप दिन्छ। यही मौसमी विविधताले छिम्केश्वरीलाई एकपटक मात्र होइन, फरक ऋतुमा फेरि फर्केर आउन मन लाग्ने गन्तव्य बनाउन सक्छ।

त्यहाँ उभिएर हेर्दा छिम्केश्वरीमा पर्यटनका लागि आवश्यक तत्वहरू पहिले नै रहेको महसुस भयो। धर्म छ, प्रकृति छ, उचाइ छ, जंगल छ, स्थानीय खाना छ, गाउँको जीवन छ, पदयात्रा छ, सूर्योदय र सूर्यास्त छ, हिमालको दृश्य छ र अब व्यवस्थित बसाइको सुविधा पनि थपिँदै छ। त्यसैले यसलाई केवल मन्दिर दर्शन गरेर फर्कने गन्तव्यका रूपमा सोच्नु यसको सम्भावनालाई धेरै सानो बनाएर हेर्नु हो।
आँबुखैरेनीबाट सुरू भएको यात्रा आफैँमा एउटा पूर्ण पर्यटन अनुभव बन्न सक्छ। बजारबाट नागबेली बाटो चढ्ने, खोल्सा तर्ने, गाउँबस्ती हेर्ने, स्थानीय उत्पादन चाख्ने, छिम्केश्वरीको चिसो साँझमा बस्ने, बिहान जंगलको बाटो हिँड्ने, देवीको दर्शन गर्ने र त्यसपछि २ हजार १३४ मिटरबाट खुल्ने विशाल भूगोल हेर्ने।
अझ यसलाई बन्दीपुरसँग जोड्दा सम्भावना धेरै ठूलो देखिन्छ। बन्दीपुर पुगेका पर्यटकलाई मुख्य बजारको सुन्दरता देखाएर मात्र फर्काउनु पर्दैन। दुलन्ते दाइले अघि सारेको भिलेज सफारी अवधारणामार्फत उनीहरूलाई वरिपरिका ग्रामीण बस्तीमा लैजान सकिन्छ, गाउँको जीवनसँग जोड्न सकिन्छ र त्यहाँबाट छिम्केश्वरी पुर्याउन सकिन्छ।
छिम्केश्वरीमा एक रातको बसाइ, स्थानीय खाना, बिहानको पदयात्रा, मन्दिर दर्शन र प्रकृतिको अनुभवपछि आँबुखैरेनीतर्फ ओरालो झार्न सकिन्छ। यसरी बन्दीपुर, ग्रामीण बस्ती, छिम्केश्वरी र आँबुखैरेनीलाई एउटै पर्यटन चक्रमा जोड्न सकियो भने यो तनहुँको अत्यन्त आकर्षक पर्यटन उत्पादन बन्न सक्छ।
यस्तो पर्यटनको लाभ कुनै एउटा होटल वा मन्दिरमा सीमित हुँदैन। पर्यटकको बसाइ, यातायात, स्थानीय खाना, उत्पादन, पथप्रदर्शक र अन्य सेवामा हुने खर्च गाउँमै फैलिन्छ। स्थानीय उद्यमीको सिर्जनशीलता, समुदायको सक्रियता, निजी क्षेत्रको आतिथ्य पूर्वाधार र स्थानीय सरकारको योजनालाई एउटै दिशामा जोड्न सकियो भने छिम्केश्वरी ग्रामीण पर्यटनको बलियो नमुना बन्न सक्छ।
प्रकृतिले छिम्केश्वरीलाई डाँडा, जंगल, चिसो हावा, बादल, सूर्योदय, हिमालको दृश्य र सदियौँ पुरानो धार्मिक आस्था सबै दिइसकेको छ।
अब आवश्यक कुरा तिनलाई जोगाउँदै राम्रो पहुँच, व्यवस्थित पूर्वाधार, स्थानीय उत्पादन, आतिथ्य र प्रभावकारी प्रचारसँग जोड्नु हो। त्यसो गर्न सकियो भने छिम्केश्वरी केही घण्टा घुमेर फर्किने ठाउँमा सीमित रहने छैन।
आँबुखैरेनी फर्कने क्रममा फेरि त्यही नागबेली सडक थियो, त्यही पाखा, त्यही बारी, त्यही गाउँ र त्यही जंगल। तर आउँदा देखिएका दृश्य र फर्कंदा देखिएका दृश्यबीच एउटा फरक थियो। आउँदा ती ठाउँहरू दृश्य मात्र थिए, फर्कंदा प्रत्येक दृश्यसँग एउटा कथा जोडिइसकेको थियो।
सायद यात्राको सुन्दरता पनि यही हो। कुनै ठाउँमा पुगेर फर्किंदा त्यो ठाउँ नक्सामा लेखिएको एउटा नाम मात्र नरहोस्, स्मृतिभित्र बस्ने अनुभव बनोस्।
छिम्केश्वरी अब मेरा लागि तनहुँको २ हजार १३४ मिटर अग्लो डाँडा मात्र रहेन। यो आस्था, प्रकृति, गाउँ, मित्रता, बाल्यकालको स्वाद र भविष्यको पर्यटन सपना एउटै उकालोमा भेटिएको ठाउँ बनेको छ।