नेपालको मानचित्र पल्टाएर हेर्दा हिमालको पगरी गुँथेर माथितिर बसेको देखिन्छ, मुस्ताङ।
अझ त्यहाँको भूवैचित्र्यको त के कुरा गर्नु! त्यहाँ नपुगुन्जेल त्यसबारे पढ्दा वा सुन्दा कुतूहलताको पारो निकै माथि चढ्ने गर्छ। यही जिल्लाको मुटु घरपझोङ। असारको दोस्रो साता अचानक मलाई संयोग जुर्यो, त्यहीँ पुग्ने। यो अवसर बनेर आइदिएको एउटा आकस्मिकता थियो।
घरपझोङ गाउँपालिकाका गाउँबस्ती घुम्नु अनि त्यहाँको प्रकृति र संस्कृतिमा रम्नु कसका लागि पो विशेष नहोला र! अझ मजस्ता घुमफिरलाई नै खुला विश्वविद्यालय ठान्नेलाई त झनै विशेष लाग्छ। यो कार्यक्रम आयोजना गरेर घरपझोङ गाउँपालिकाले अनि लेखक र पत्रकारको समूहको संयोजन गरी कन्सेप्ट नेपालले बिर्सिनसक्नु गुन लगाइदिए।
प्रकृतिको मधुर लय बोकेर युगौ“देखि बगिरहेकी कालीगण्डकी। छुट्टै सौन्दर्य छचल्किन्छ स्वच्छ बगाइ अनि स्वच्छन्द फैलाइमा। यही नदीको कलकल प्रवाहलाई कहिले अलि टाढाबाट, कहिले नजिकै जसोबाट नियाल्दै उँभोतिर लागियो। घाँसाबाट सुरू हुन्छ मुस्ताङ। त्यहाँबाट केही पर बगिरहेको छ प्रिय कवि भूपीको कविताको एउटा सुन्दर विम्ब लेते खोला। अझै अगाडितिर लागेपछि भूपीले पहिलोचोटि च्याहाँ गरेर काव्यिक गुञ्जन छरेको गाउँ नै पो देखिन्छ, टुकुचे। उनको कविताजस्तै सुन्दर गाउँ। वरपरका परिवेश नै काव्यिक। बान्किला गाउँबस्ती। स्याउघारी र प्रकृतिको पृथक चित्रकारिता। अनुभूतिका अनेक रङले बयली खेल्दै थिए मनमा। रमाउँदै रमाउँदैे अझै अगाडि लागेपछि पुगियो घरपझोङ।

कालीगण्डकी नदीका दायाँबायाँ सुन्दर बस्तीहरू। गाउँबस्तीलाई हरियो मुस्कानले सजाउने स्याउका बगैँचा। प्राचीन सभ्यताका जीवन्त विम्ब बनेर उभिएका गुम्बा, माने र चैत्य। पृथक तर मनोहारी भूदृश्य। थकाली सभ्यताको उद्गम थलोमा पुग्दा मन उज्यालिन्छ। रोचकताका अनेक रङले हृदय रङ्गिन्छ।
जम्मा ५ वटा वडामा फैलिएको रहेछ घरपझोङ गाउँपलिका। जोमसोम, मार्फा, छैरो, चिमाङ, ठिनी र स्याङ यहाँका मुख्य गाउँठाउँ। प्रकृतिले अलि छुट्टै चासो दिएर रचेको भूगोल। यिनै कलामय भूमिमा घुम्ने मेसोमा थियौं हामी। यी सबै हिमाली गाउँ। सबै रमाइला गाउँ। जहाँ पुग्यो, त्यहीँ झुम्छ मन। प्रकृतिको सौन्दर्य र संस्कृतिको सुगन्ध नै प्रिय। आफ्नै मौलिकताको माधुर्यमा रमाइरहेका गाउँका मानिस उस्तै आत्मीय लाग्छन्। घरपझोङ क्षेत्रको भौगोलिक उचाइ २ हजार ५ सय ५९ मिटरदेखि ६ हजार ८ सय ६५ मिटरसम्म छ, जुन नीलगिरि हिमालको उचाइ हो। सौन्दर्यको उचाइ त केले पो नाप्नु!
जति माथिमाथि लाग्यो, उति सुक्खा। मरूभूमिमय देखिन्छन् यहाँका अधिकांश भूभाग। चिसो मरूभूमिमा प्रकृतिको मुस्कान भने गज्जबकै छ। मिठा स्याउ यहीँ फल्छन्। किसिम किसिमका स्याउ बगैँचाले यहीँका गाउँ सजिन्छन्। यही ठाउँ बनेको छ स्याउको राजधानी। भावुक मनले भन्यो, यही हिमालले आफ्ना सपनालाई गोलागोला आकार दिने रहेछ।
काठमाडौंबाट पोखरासम्म प्लेन र त्यहाँबाट गाडीमा गइएको थियो। उही दिन उज्यालैमा पुगियो मार्फा। मार्फा गाउँको रूप नै मोहनीमय। उसको मधुरताले कसको मनमा रमाइलो नछर्ला र! जता हेरे पनि स्याउ नै स्याउका बोटहरू। बाटोका छेउछाउमा पनि लहरै उभिएका। ती बोटबुट्यानहरू पनि हामीजस्ता घुमफिरेका स्वागतमा लामबद्ध भएका हुन् कि झैं लाग्ने। बसन्ती लालचनद्वारा रचित ‘क्या राम्रो स्याउघारी मार्फा गावैमा’ गीत त निकै अघि सुनिएको थियो, रेडियोमा। त्यतिबेला अहिले नै मार्फा घुम्न गइहालौं जस्तो भाव मनमा आउने गथ्र्यो। पहिलोपालि पुग्दा गीतले भनेजस्तै बिछट्टै राम्रा लागे मलाई स्याउका बगैँचा।
‘यहाँ ३७ किसिमका स्याउ फलाइन्छ, गाउँका एक किसानले भने, ‘अहिले त चिचिला नै छन्, स्याउ खाने बेलामा पनि आउनुस् है।’
‘हुन्छ। यहाँ फल्ने स्याउको स्वाद त मलाई थाहा छ। मिठो लाग्छ,’ छोटो उत्तर दिएँ।
मार्फाका भित्री गल्लीहरू साँघुरा छन्। तर त्यहाँ हिँड्दा मन फराकिलो हुँदै जान्छ। कतै गुम्बाको मन्त्रोच्चारण पृष्ठध्वनि बनेर सुनिँदै थिए। कतै थकाली भान्साबाट घिउ र जिम्बुको बास्ना आउँदै थियो।
भित्रतिर छन् पुराना बस्ती। माटोकै छाना भएका झुरूप्प घरहरू। रोचक लाग्छ आफ्नैपन झल्केका गाउँ। त्यहाँका मौलिक कुराहरूले मेरो ध्यान तानिरहे। केही पर रहेका मेडिटेसन सेन्टर, स्ट्रेसफ्री टावर, माम्दी ओढारमा पनि मान्छेहरूका आउजाउ देखिने नै भयो।
थकाली समुदाय बौद्ध धर्मदर्शनका अनुयायी। त्यहाँ रहेको ‘सम्तेन छ्योलिङ गुम्बा’ निकै पुरानो मानिन्छ। गाउँको शिरमा छ, ‘रिसुम गुम्बा’। यसलाई उनीहरूका पुर्खाले रचेको आदिम कथामा शक्तिको प्रतीक मानिएको रहेछ।

माथिमाथि नाङ्गा डाँडाहरू घाममा टल्किरहेका थिए। पहिलो दृष्टिमा लाग्न सक्छ, यो त उजाड भूमि रहेछ। तर केही बेर त्यही उजाडपनलाई हेरिरहेपछि बुझिन्छ, प्रकृतिले फरक रूपमा आफ्नो सौन्दर्य प्रकट गरेको छ।
एक रातको बसाइ र बिहानको घुमाइले पढ्न सकिने जति मार्फारूपी पुस्तकका खुल्ला पानाहरू पढियो। त्यहाँका अनेक रौनक मनमा बोकेर लागियो अर्को गाउँतिर।
झट्ट देख्दा नै आकर्षक लाग्छ हरियालीले सजिएको चिमाङ गाउँ। नजिकै देखिन्छ वनक्षेत्र। पशुपालन र खेतीपातीको आफ्नै संसारमा रमाएको छ, चिमाङ गाउँ। हामी पुग्दा त्यहाँको परिवेशले नै हरियालीमय शीतलता पस्केर स्वागत गर्यो। साँच्चै शान्त, शीतल र सुन्दर गाउँ। उस्तै झुरूप्प मिलेको बस्ती। दुईतिर लहरै घर। बीचमा बाटो। बाटोसँगै सङ्लो पानी छङछङाइरहेको कुलो। यता पनि माटोका छाना भएका घर अनि छानाका छेउछेउमा दाउराको चाङ देखियो। जोडिएका घरहरूका छाना नै दाउराका चाङले छुट्याइएका। यो यताका पुराना शैलीका घरमा देखिने साझा विशेषता रहेछ।
श्रम संस्कृतिको पाठशाला पनि हो गाउँ। यहाँका बासिन्दा निकै श्रमशील रहेछन्। उनीहरूका कर्मका लयमा कृषि र पशुपालनलाई समृद्धिको यात्रामा जोड्ने मनसाय झल्किन्छ। स्याउका अतिरिक्त उवा, जौ, फापर, मकै र थरीथरी तरकारी फलाएर यहाँको माटोले आफ्नो उत्पादकत्व चिनाएको रहेछ।
‘भर्खरै उवा भित्र्याइयो। यसपछि फापर लगाइन्छ,’ गाउँका एक अग्रज इन्द्रप्रसाद थकालीले भने, स्याउखेतीबाट पनि राम्रो आम्दानी हुन्छ। यहाँका बासिन्दाले वार्षिक कम्तीमा एकदुई लाखदेखि बढीमा तिस लाख रुपैयाँसम्म स्याउ बेचेर कमाउँने गरेका छन्।’
उनी आफूले पनि तीस रोपनी जग्गामा स्याउखेती गरेको सगर्व सुनाए। सकारात्मकताले ओतप्रोत थिए उनका हरेक शब्दहरू। यस्ता कुरा सुन्दा मात्र पनि जीवनमा ऊर्जा थपिन्छ। कर्म गर्ने हातले नै त फैलाउने हो, सकारात्मकताको उज्यालो र श्रमशीलताको सौन्दर्य।
अहिले गाउँसम्मै सडक सञ्जाल जोडिएको रहेछ। ग्रामीण जीवनशैली, कृषिसंस्कृति र प्राकृतिक सौन्दर्य अवलोकनका लागि एउटा सुन्दर पर्यटकीय गन्तव्य पनि बनेको छ, यो गाउँ।
लगभग डेढ घण्टा यही गाउँकै सेरोफेरोमा बिताइयो। प्रकृतिको स्वच्छ सुवास अनि पैदलयात्रा। शरीरमा स्फूर्ति नथपिने कुरै भएन। केही तलसम्म हिँडेपछि गाडीमा चढेर सामग्री भन्ने ठाउँमा पुगी खाना खाइयो। घुमफिरलाई निरन्तरता दिने व्रmममा त्यसपछिको यात्रा सोझियो छैरो गाउँतिर।
प्राचीन सभ्यताको झझल्को दिँदै उभिएको छ, छैरो गुम्बा। यो पुराताङ्खिवक महङ्खवको सम्पदा। छैरो गाउँकै सान। त्यहाँ कुँदिएका कलाकृति र भौतिक संरचना स्वयंले प्राचीनता बोलेको देखिन्छ।
गुम्बा नजिकै रहेको तिब्बती शरणार्थी शिविरले सहजै ध्यान खिच्छ। सुनिएअनुसार उहिले चीनद्वारा तिब्बत अधीनस्थ गरिँदा धर्मगुरू दलाइ लामाका अनुयायीहरू भागेर यहाँ पनि आइपुगेका रहेछन्। उनीहरूले बास पाए यहाँ। शिविरको बसाइ अहिलेसम्म लम्बिएकै छ। मलाई लाग्यो, खै कस्तो मनोदशा र उकुसमुकुस होलान् उनीहरूका मनमा। त्यसलाई कसैले कुनै उपन्यासका पानाहरूमा लिपिबद्ध गरे वा चलचित्रका पर्दामा उतारे कतिका आँखा रसाउलान्। देशविहीन हुनुको पीडा कम्ती भयानक नहोला !
शिविरनजिकै रहेको छैरो छहराको अनौठो प्रस्तुति देख्दा भने हामी छक्कै पर्यौ“। कारण अग्लो चट्टाने भिरबाट खसेको छहराको पानी माथितिरै फर्किनु। यो मुस्ताङी हावाको कमाल। हावाको वेगले खस्दै गरेको पानी माथितिरै फर्काइदिने। फर्काइएको पानी सानासाना करणहरूमा छरिएर खसेको चाहिँ नदेखिने। प्रकृतिको यस्तो रोमान्स देख्दा कसले नभन्नु, वाह!
हिमाली भूदृश्यमा रम्दै माथि डाँडामा रहेको कुत्सब तेरङ्गा गुम्बा पुगियो। सबैभन्दा तीव्र हावाको बेग त्यहीँ महसुस भयो, मान्छे नै उडाउलाजस्तो। गुम्बाबाट ओरालोतिर लागेपछि केही तल छ, ढुम्बाताल। तालको पानी यति स्वच्छ र शान्त छ कि मौसम खुलेका बेला नीलगिरिले आफ्नै अनुहार हेर्न बनाएको ऐना जस्तो लाग्छ। करिब १ सय मिटर चौडा र ४ सय मिटर लामो ताल। एक फन्को लगाउन १० मिनेट जति लाग्यो। तालको किनारमा बसेर वरपरका परिदृश्य हेर्दै मज्जा लिइयो।
दोस्रो दिनको घुमफिरलाई विश्राम दिन पुगियो, ठिनी गाउँ। जोमसोम बजारबाट दक्षिणतिर नीलगिरि हिमालको काखमा टुसुक्क बसेको गाउँ। ढुङ्गा, माटो र काठबाट बनेका परम्परागत घरहरूले उस्तै स्थानीयता दर्साउने। मुलुककै पहिलो थकाली सामुदायिक होमस्टे भएको गाउँ।
ठिनी पुग्दाको रौनक कसरी पो वर्णन गर्नु! त्यहाँ हामीलाई गाउँलेले सांस्कृतिक झाँकी, मौलिक भेषभूषा र नृत्यसहित हार्दिक स्वागत गरे। याक डान्सले अझै रमाइलो थप्यो। नाचगानसँगै गाउँको बिचमा रहेका खुल्ला प्राङ्गणमा पुुर्याइयो। आमासमूहको नाचगानमा रमायौं। साँझ र संस्कृतिको त्यो सङ्गमले रोचक मोडमा पुर्यायो।
थकाली खाना खाँदा एउटा पुरानो प्रश्न फेरि उठ्यो, उही दाल, उही भात, तरकारी र अचार उही। तर, स्वाद किन फरक? सायद स्वाद मरमसलाले मात्र बनाउँदैन। पकाउने सिप, सरसफाइ र सजाएर दिने कला अनि पाहुनालाई आफ्नै मान्ने संस्कार हुन् खानामा थप मिठास मिसिने कारण। थकाली होमस्टेमा पुग्दा यस्तै महसुस हुन्छ।

गाउँमा स्थापना गरिएको थकाली सङ्ग्रहालय थकाली जीवनशैलीसँग जोडिइएका विभिन्न पक्षलाई बुझ्न सुसहायक बनेको छ। केही परको हिउँचितुवा गुफा, युङ्डुङ गुम्बा, यारुझु भ्यु पोइन्ट, भुतिथाङ पार्क आदि पनि यो गाउँको चिनारीसँग जोडिएका छन्।
ठिनी गाउँको माथितिर एउटा पुराताङ्खिवक महङ्खवको किल्ला छ, जसलाई घरपझोङ भनिन्छ। इतिहासको कुनै कालखण्डमा घरपझोङ क्षेत्र एउटा स्वतन्त्र राज्य भएको बताइन्छ। इतिहासका तिनै पृष्ठलाई साक्षी राखेर गाउँपालिकाको नाम घरपझोङ राखिएको कुरा स्थानीय अग्रजहरू बताउने गर्छन्।
घरपझोङको पुरानो किल्लामा उक्लिँदा इतिहासको अवशेष अझै बाँकी रहेछ भन्ने अनुभूति हुन्छ। भग्नावशेषले पनि बोल्न सक्छन् भन्ने कुरा त्यहाँ पुग्नेले थाहा पाउँछन्। ढलेका पर्खालहरूले एउटा राज्यको कथा भनिरहेका थिए। मानिस हराउँछन्, दरबार ढल्छन्। तर, समयले सबै कुरा आफ्नो डायरीमा टिपेर राखेकै हुन्छ।
तेस्रो दिन बास बस्ने गरी पुगियो, स्याङ गाउँ। जोमसोम बजारबाट २ किलोमिटर दुरीमा रहेको एउटा सुन्दर गाउँ। यो पनि आफ्नै सांस्कृतिक लयमा बाँचेको छ। उस्तै झुरूप्प परेका परम्परागत घरहरू। तल कालीगण्डकीको स्वच्छन्द बगाइले फराकिलो बनाएको बगर। माथितिर चट्टानी पहाडमा अडेस लागेर बसेको पुरानो गाउँ। पशुपालन र कृषिमा निर्भर एउटा बस्ती। मैले सोचेँ, सहरका मानिस शान्ति खोज्न हिमालनजिक आउँछन्, यहाँका बासिन्दा शान्तिभित्रै बसेर जीवन बिताउँछन्। फरक यत्ति हो।
हामी पुग्दा गाउँका दिदीबहिनीहरूले टीकामाला लगाइदिए। त्यहाँ पनि उस्तै हार्दिकताको स्पर्श मिसिएको थियो। तातो नुनचिया र भुटेको मकैले भोक मात्र मेटिएन सिर्जनामय मुड नै बनाइदियो। खाजा खाएपछि केहीबेर होमस्टेकी सचिव उमा थकालीको घर सिर्जनात्मक प्रस्तुति र गायनले गुन्जायमान भयो। गाउँपलिकाकी उपाध्यक्ष जमुना थकालीले पनि साथ दिनुभयो, कविता सुनेर र गीत गाएर। सबैले सकेको रङ थपे त्योे साँझ स्याङमा।
झोङ न घाङ शान्ति पार्कले पनि स्याङको आकषर्ण बढाएको छ, जहाँ धर्मगुरु पद्यसम्भवको मूर्ति छ। बिहान सबेरै त्यहीँ पुगियो। पारिपट्टि ठिनी गाउँ, त्यतैतिरबाट बगिआएको ठिनी खोला। यता स्याङ गाउँबाट बगेको स्याङ खोला। यी दुई खोला विपरीततिरबाट एकै ठाउँ पुगेर कालीगण्डकीमा समाहित भएको दृश्यले मलाई झट्ट तान्यो। प्रकृतिको लीला पनि अचम्म अचम्मका !
गाउँमा आउने पर्यटकहरू टासी लाखाङ गुम्बा र उर्गेन छ्योलिङ गुम्बा, घैलुङ गुफाजस्ता सम्पदाको पनि अवलोकन गर्न सक्छन्। हामीले चाहिँ शान्तिपार्कबाट गाउँको शिरमा रहेको स्याङफोला मन्दिरसम्म मात्र घुम्न भ्यायौं।
थकाली महिलाको नेतृत्वमा सामुदायिक होमस्टे सञ्चालन गरिएको रहेछ। यो गाउँ पुग्ने पर्यटकका लागि खानेबस्ने समस्या छैन। हामीलाई पनि पारिवारिक वातावरणमा मिठो खाना र आरामदायी बास मिल्यो।
‘हाम्रो गाउँका होमस्टेमा एकै पटक ४० जनासम्म पाहुना राख्न सक्छौं,’ स्याङ सामुदायिक होमस्टेकी अध्यक्ष असिता थकालीले भनिन्, ‘पाहुनाको मागअनुसार सांस्कृतिक कार्यक्रम पनि देखाइन्छ।’

स्याङबाट जोमसोम पुग्दा हावा फेरि चिनापर्ची गर्न आइपुग्यो। २ हजार ८ सय मिटर उचाइमा रहेको बजार। मध्यान्हपछि यहाँको हावा निकै प्रसिद्ध छ भन्ने सुनेको थिएँ। पहिलोचोटि अनुभव गर्न पाएँ। त्यो हावाले टोपी मात्र उडाएन, शारीरिक थकान पनि सँगै उडाइदियो।
मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम। गाउँपालिकाको केन्द्र पनि यही“। एउटा सहरोन्मुख बजार। मानवीय चहलपहल हुने नै भयो। कालिगण्डकी नदीका दायाँ र बायाँ दुवैतिर बजार र बस्ती छन्।
जोमसोममा पनि हेर्नलायक गुम्बा, माने र चैत्य छन्। नदी किनारको विशाल ढुङ्गामा कुँदिएको शालिग्राममा मूर्तिकलाको ओज झल्किन्छ। गाउँपालिकाको पहलमा हिन्दु र बौद्धमार्गीका कथासँग जोडिएका पौराणिक पात्रका मूर्तिहरू पनि बनाइएका रहेछन्। मूर्तिबगै“चामा देखिने ती कलाबाट पर्यटकलाई ज्ञान र रमाइलो दुवै मिल्छ।
गाउँपालिकाको सभाहलको औपचारिक कार्यक्रममा केहीबेर सहभागी हुँदा थाहा पाइयो, पालिकाले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको रहेछ। स्थानीय सरकारको नेतृत्वमा मोहन लालचन आएपछि कृषि उत्पादन, पर्यटन विकास र संस्कृति संरक्षणमा धेरै काम हुँदै गरेको हामीले देख्यौं। गाउँपालिकाको स्लोगन नै रहेछ, ‘घरपझोङको समृद्धि: कृषि, पर्यटन र संस्कृति।’
यो यात्रामा मैले हिमाल मात्र देखिनँ। एउटा समाज देखेँ, जहाँ महिलाको आत्मविश्वास घरको आँगनबाट गाउँको एकता, विकास र सशक्तीकरणसम्म फैलिएको छ। एउटा संस्कृति देखेँ, जसले आधुनिकताको भिडमा पनि आफ्नो अनुहार मेट्न मानेको छैन। एउटा भूगोल देखेँ, जहाँ चट्टानका पत्रपत्रभित्र पनि जीवनले फूल फुलाएको छ।
घरपझोङ भ्रमणको चौथो दिन त्यहाँको विशिष्ट भौगोलिक विम्ब, सांस्कृतिक सौष्ठव, जीवनशैली र गाउँलेहरूको आत्मीयता मनमा सजाएर हामी फर्कियौ“। टाढा पुग्दा पनि नीलगिरि हिमालको चहक हट्नै मानेको छैन, आँखाबाट।
ए हौ, मुस्ताङ जिल्ला हिमाल पारिमा
मन यतै छाडे हुन्छ स्याउ है बारीमा
वसन्ती लालचनका शब्दले भने जस्तै कति पर्यटकले मन उतै छाडे होलान्। आखिर हिमाली गाउँ नै त्यस्तै। फेरि कहिले पुगौं भनेर औंला गन्दैछु मै पनि।
मनले भन्छ, ‘आफ्नै माटो तीर्थ, आफ्नै भूमि स्वर्ग।’
अब अर्को घुमफिर कहिले त अमृत भादगाउँले गुरू?
