जडिबुटीको राष्ट्रिय सर्वेक्षणको क्रममा गोरखाको चुम भ्यालीका वनपाखा डुल्नुपर्ने थियो। यही क्रममा हामी गोरखाको टिममध्ये एउटा टिम (म र सहयात्री दाइ दीपेश चापागाईं) गोरखा बजारदेखि पिसाङसम्म गाडीमा गयौँ।
पिसाङदेखि लोक्पासम्मको पैदल यात्रा गरेपछि प्लटको योजना गर्न लोक्पा गाउँमा दुई दिन बस्नुपर्ने भयो। (यहाँ प्लट भन्नाले पूरै वन/भूभागको प्रतिनिधित्व गर्ने निश्चित क्षेत्रफल भएको नमुना क्षेत्रलाई बुझिन्छ, जसको आधारमा पूरै वन/भूभागको अवस्था कस्तो छ भनी अनुमान लगाउन सकिन्छ।)
भरियाहरू खोजेर रासनपानी किनेर लोक्पादेखि बिहानको खाना खाएर योजनाबमोजिम हिँडियो। त्यस दिन गन्तव्यमा नपुग्दै साँझ पर्यो। त्यसैले पानीको मुहान नजिकैको ओडारमा बस्ने निर्णय गरियो। उक्त ओडारको वरिपरि मस्त निगालोका झ्याङहरू थिए। भरिया दाइहरूले निगालोहरू काटेर भुइँमा बिछ्याउनुभयो।
पानी परिहाले पनि असर नगरोस् भन्ने हिसाबले एउटा त्रिपाल पनि टाँग्नुभयो। ३ जना भरिया दाइहरू र एकजना दीपेश दाइ साथै म गरेर हामी जम्मा ५ जना त्यो ओडारमा बस्दै थियौँ। ओडारलाई बस्न योग्य बनाएपछि साँझको खाना बनाउनतिर लागियो।
यसो सम्झिएँ, दिउँसो बाटोमा देखेको सर्प, जुन मलाई एकदम डरलाग्ने प्राणीमध्ये एक हो। दाइहरू भालुको डरमा हुनुहुन्थ्यो अनि म भने सर्पको डरमा थिएँ। सर्प उद्धार तालिम हुँदा समेत पारिबाटै हेर्ने म त्यो दिन सर्पको सम्भावित बासस्थानमा बस्दै थिएँ। खाना खायौँ, दाइहरू स्लिपिङ ब्याग मिलाउन थाल्नुभयो र म भने गुगलमा सर्पको बानीबेहोराको बारेमा बुझ्दै खोज्दै थिएँ।
फेरि हाम्रै ब्याचको अभिषेक सापकोटा, जो सर्पको बारेमा अनुसन्धानमा खटिरहने साथी थिए, उनीसँग फोन कल गरेर थप जानकारी लिएँ र साथीबाट केही सान्त्वना पनि पाएँ, तर डर भने उत्तिकै नै थियो। भरिया दाइहरू आफ्नै भाषामा भलाकुसारी गर्दै हुनुहुन्थ्यो।
म भने सुत्न भनेर स्लिपिङ ब्यागभित्र पसेँ, तर रातभर बिहानको पर्खाइमा एक निद्रा नसुती बिताएँ। सर्वेक्षणकै काममा गोरखा र लमजुङका केही डाँडाहरूमा रात बिताइसकेकी थिएँ। तर त्यस रात जस्तो लामो कुनै रात लागेन।
बिहान भएसँगै मनमा खुसी पनि आयो। त्यस दिन प्लटको काम गर्न निस्कियौँ। प्लट गर्न गएको डाँडाको पारिपट्टि पनि प्लटहरू त थिए, तर त्यहाँसम्म पुग्न सम्भव नभएपछि त्यहीँ एउटा प्लट गरेर त्यस दिनको बास बस्न घुम्रुङ जाने निर्णय गर्यौँ।
३ बजिसकेको थियो। सामानहरू मिलाएर झोलामा राख्यौँ र ओडारबाट निस्कियौँ निकै खुसी हुँदै (साँच्चि भन्नुपर्दा मलाई लङ्का नै जितेजस्तो लागिरहेको थियो)। खुसी हुँदै २ घण्टाको पैदल यात्रापछि घुम्रुङ पुगियो र खाना खाएर सुतिहालियो र निद्रामा परिहालियो। र त्यससँगै लोक्पादेखि सुरु गरेको हाम्रो चुम भ्यालीको यात्राको २ दिन बितिसकेको थियो।
यात्रा रमाइलै थियो, पदमार्ग झन् व्यवस्थित हुन ट्रेकिङ रुट भएर पनि होला। अब अर्को दिन खाना खाएर रेनजामसम्म हिँड्नुपर्ने थियो। गाडीको सुविधा नभएकोले सामान बोकेर लस्करै हिँड्ने खच्चडको बथानले हामीलाई पनि यात्रालाई निरन्तरता दिन प्रेरित गर्थ्यो।
बिहानको खाना खाएर घुम्रुङदेखि रेनजामको लागि प्रस्थान गर्यौँ। चुम्लिङ, कोन्जेर, छि-गाउँ, धरम्बा हुँदै रेनजाम पुगियो। त्यहाँको हाम्रो बसाइ रेनजाम गणेश हिमाल गेस्ट हाउस होटलमा भयो। वरिपरि बस्ती पातलो थियो र हाम्रो ३ वटा प्लट त्यहीँ बास बसेर गर्न सकिने थियो।
अर्को दिन खाना खाएर घो-गाउँमाथिको प्लट गर्न गयौँ। काम गर्दै जाँदा माथि पहराहरूमा झारलको बथानसमेत देख्यौँ। यसरी झारल पहिलो पटक देख्ने अवसर मिल्यो। ठ्याक्कै बाख्राको जस्तो आवाजमा कराइरहेका थिए। हामी भने काममै तल्लीन थियौँ। काम गर्ने ठाउँ/प्लट म्यापमा हेर्दा त्यति अप्ठ्यारो देखिँदैनथ्यो, तर पुग्न भने कठिन नै थियो। तल स्यार खोला सुसाइरहेको थियो, माथि पहरामा झारल कराइरहेका थिए र हामी पनि आफ्नै काममा व्यस्त थियौँ।
कसैले जिपिएस हेर्दै बाटो पत्ता लगाउने, कसैले सन्टोबाट भिरालोपन हेर्ने, तापक्रम नाप्ने अनि एकदम विचारका साथ जडिबुटीहरू छन् छैनन् ख्याल गर्ने त कसैले सम्पूर्ण जानकारी डाटा सिटमा टिप्ने गर्यौँ। सब-प्लटहरू झारल हिँड्ने पहरामा पनि थिए। जहाँ पुग्न भरिया दाइहरूको अथक सहयोग मिल्थ्यो (कति बेला तान्दै, कति बेला घिसार्दै त कति बेला घाँसको बोट नुगाएर समात्न लगाउँदै)।
खासमा भन्नुपर्दा दाइहरू हाम्रो भरिया मात्र नभएर पथप्रदर्शक, अभिभावक र साथी सबैको भूमिका निर्वाह गर्नुहुन्थ्यो। बल्लतल्ल प्लटको काम सकियो र होटल फर्कियौँ। प्लटको काम सकेको खुसीले भन्दा फेरि अर्को दिन अर्को प्लट अर्थात् अर्को डाँडा चढ्नुपर्ने कुराले दुःखी बनाउँथ्यो।
दुखेको खुट्टा र थाकेको शरीर लिएर पुनः अर्को दिन धरम्बामाथिको वनमा परेको प्लटको काम गर्न गयौँ। जिपिएस हेर्दै हिँडिरह्यौँ। त्यो ठाउँमा सिधै उकालो हिँड्नुपर्ने थियो। त्यसैमाथि बेलाबेला त ठ्याक्कै बाँदर जसरी ढुङ्गाबाटै हिँड्नुपर्थ्यो। त्यसैले धेरै बेर हिँडेपछि जिपिएस हेर्दा पनि हिँड्नुपर्ने दूरी भने अलिकति मात्र कम भएको हुन्थ्यो।
प्लट पुग्न सकिँदैन होला भन्ने डरै डरमा जसोतसो पहिलो सब-प्लट पुगियो। एउटा सब-प्लट पुगेपछि अर्कोमा पुग्न भने त्यति गाह्रो हुँदैनथ्यो। कतै कुनै ठाउँमा भने निगालोको झ्याङै झ्याङ अनि ऐसेलुको काँडाले बाटो नै अवरुद्ध गरिदिन्थ्यो। त्यस प्लटमा सेतकचिनी भेटियो र नमुना उखेल्दाउखेल्दै पानी परेर भिजायो।
न झरी न गर्मी न भिरपाखा, हामीहरू पुग्न सक्ने ठाउँसम्म पुगेकै हुन्थ्यौँ। यसरी काम गर्दा गाह्रो भएको बेला सुशील ज्ञवाली सरले ‘यो काम गर्यौ भने जीवनमा जस्तोसुकै काम गर्ने आँट आउनेछ’ भनेर यत्तिकै त भन्नुभएको रहेनछ भन्ने लाग्थ्यो। फेरि होटल फर्कियौँ र अर्को दिन पनि त्यसरी नै अर्को प्लट गरियो।
एक दिन आराम गरेर अर्को दिन लामागाउँ पुग्ने योजनामा यात्रा सुरु गरियो। रेनजामबाट घो, छेकम्पार हुँदै जानुपर्ने थियो। छेकम्पार पुगेपछि मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालय देखियो। यसो पसेर चिया गफ गर्दै मनास्लु संरक्षण क्षेत्र आयोजना, छेकम्पारको प्रमुखसँग हामी लामागाउँ जानुको तात्पर्यको बारेमा स्पष्ट गर्यौँ र दाइले पनि स्थानीयहरूको फोन नम्बर दिँदै केही सहयोग चाहिएमा याद गर्नु भन्दै कामको लागि अझ सहज बनाइदिनुभयो।
त्यस दिन झोङसम्म पुग्दा साँझ परिसकेको थियो र त्यस रात झोङको होटलमा बसियो, जहाँको साहु जडिबुटी संकलक हुनुहुँदो रहेछ। उहाँले हामीलाई त्यस गाउँको चालचलनदेखि शाग्या नियमहरूको बारेमा पनि बताउनुभयो। साथै लामागाउँको वन वा लेकतिर जानुअगाडि त्यहाँको अगुवालाई जानकारी गराएर अनि त्यहाँको स्थानीयलाई लगेर मात्र माथितिर जानुहोला, नत्र अनुमति बिना नै गएमा जरिवाना समेत लिने चलन रहेको कुरा बताउनुभयो।
खाना खाएर अलि बेर गफगाफ गरेर सुत्न गइयो। अर्को दिन ढिँडो खाएर झोङदेखि लामागाउँको लागि निस्कियौँ। त्यस दिन दीपेश दाइको खुट्टाले दाइलाई एकदम दुःख दिइरहेको थियो। त्यही नि २ घण्टामै लामागाउँ पुगियो। त्यहाँ पुग्दा बिहानको १० बजेको थियो। त्यहाँको बस्ती भने अलि बाक्लो थियो। काठैकाठको घरहरू, घिउ चिया खाने अनौठो चलन, हिंसा-काटमार गर्न प्रतिबन्ध-गाउँका नियमहरू थुप्रै थिए, जसले चुम भ्यालीका गाउँहरूलाई अन्य ठाउँको भन्दा फरक परिभाषा दिएको थियो।
खाना खाएर ल्याएका झोलाहरू त्यहीँको एउटा होटलमा राखेर एउटा प्लट गर्ने गरी बाटो लाग्यौँ। हामीसँग एकजना लामागाउँकै स्थानीय बासिन्दा पनि जानुभयो। उहाँ पनि जडिबुटी संकलक हुनुहुँदो रहेछ। गफ गर्दैगर्दै प्लट पुगियो र प्लटमा वन लसुन, पाँचऔँले साथै सेतकचिनी भेटियो। प्लटको काम गरेर होटल फर्कियौँ। नास्ता खाएर नजिकैको गुम्बा घुम्न गयौँ। त्यहाँ लामागाउँमा धेरै गुम्बाहरू थिए।
पुनः होटल फर्किएर भोलिपल्ट जानुपर्ने प्लट म्यापमा खोलेर हेर्यौँ। उक्त प्लट पिरेन फु गुफाको माथि लेकमा पर्ने रहेछ। त्यहाँको गाउँले पिरेन फु गुफालाई धार्मिक स्थलको रूपमा लिने रहेछ र उक्त लेक जान प्रतिबन्ध गरेको रहेछ। यो कुरा थाहा पाएपछि हामी लोक्पा फर्किने निर्णय गर्यौँ। जडिबुटीको सर्वेक्षणसँगै अनेकौँ नियमहरूले बाँधिएका चुम भ्यालीका बस्तीहरू र त्यहाँका शाग्या नियमहरू पनि प्रत्यक्ष देख्ने अवसर पाइयो।
कठिनाइहरू जे जति भए पनि नयाँ ठाउँहरू र नौला अनुहारहरूसँगका यात्राहरू सम्झिँदा पनि रमाइलो लाग्ने रहेछ। यो अवसरको लागि म अध्ययन गरेको पोखरा वन क्याम्पस र एन्साव नेपाललाई हार्दिक धन्यवाद!