भदौ महिनाका मेक्सिकन घाम बिहानैदेखि च्याँठ्ठिन थालिसकेका थिए।
चराका प्वाँखबाट बनेका लुगा र टोपी लगाएका प्राचीन माया मानिसको हुलियामा बाटामा बसेका गोडा तिनेक मेक्सिकनसँग फोटो खिचेर हतारिँदै बस चढ्ने ठाउँ पुग्यौँ।
टुर बसका कर्मचारीले सबैका टिकट जाँचेर पालैपालो बसमा चढाए। यात्रु सबै आएपछि र सबै जना यथास्थानमा बसेपछि हाम्रो बस हुँइँकिन थाल्यो प्रोग्रेसोबाट मेरिडातर्फ।
मेक्सिकोको त्यो प्रोग्रेसो सहरबाट बस गुड्न थालेपछि हाम्रो उत्साह झन् माथि उचालियो। संसारका सात महान् आश्चर्यमध्येको एक, प्राचीन माया सभ्यताको जिउँदो प्रतीक, चिचेन इत्जा हेर्ने धोको पूरा हुने भो भनेर म मनमनै खुबै दंग थिएँ।
सन् २०२० को क्यानकुन यात्राकै क्रममा जाने सोचेको तर पूरा नभएको त्यो रहर छ वर्षपछि परिवारका छ सदस्यका साथ पूरा गर्दैथिएँ। सबैका अनुहारमा उमंगको सूर्योदय भएको थियो, म अझ बढी चम्केको थिएँ।
टुर गाइड म्यानीले अर्का गाइड होर्हे र बस चालक होजेको परिचय गराए।
होजे नाउँका मेक्सिकन असंख्य हुने हुनाले निकैबेर जिब्रो फड्कारेर होजेको थर बताए—बार्गास्।
दुवैतिरको हरियालीमाझ फैलिएको तीन लेनको फराकिलो बाटामा आधा घण्टा जति गुडेपछि एउटा सानो सहर आइपुग्यौँ—मेरिडा।
'१०–१५ वर्ष अघिसम्म केही खानु पर्यो भने मेक्सिकन टाको र बुरिटो मात्रै पाइन्थ्यो यो सहरमा, आजकल म्याक्डोनाल्ड्स, वेन्डिज, पपाएज, पिज्जा हट सबै पाइन्छन्, हामीकहाँ सेभेन इलेभेन र वालमार्ट पनि आइसकेका छन्।'
म्यानीले त्यो प्राचीन इलाकाको तीव्र आधुनिकीकरणको कथा सुनाए।
त्यो ठाउँको भूगोल, इतिहास, समाज, संस्कृति आदि विभिन्न विषयमा टुर गाइड म्यानीका प्रवचन सुन्दै त्यो एकान्त बाटामा डेढ घण्टा जति गुडेपछि एउटा सानो सहर आइपुग्यो।
-1791036490.png)
साँघुरो पिचबाटामै टाँसिएका होचा घरहरू लहरै उभिएर हामीलाई स्वागत गर्दै गरेजस्ता देखिन्थे।
नरिवल, ताडी र अरू झ्याम्म परेका रूख बिरुवाले शोभायमान् थियो त्यो सानो सहर।
'अब हामी चिचेन इत्जाको नजिकै आइपुगिसक्यौँ,' बलिष्ठ आवाजमा अर्का टुर गाइड होर्हेले भने।
अलिक परतिर एउटा रातो घरको आडैमा रंगीन रोमन अक्षरमा लेखेको देखियो—इस्ते चिचेन इत्जा।
ठूला गिफ्ट सप र बाथरूमहरू भएका ठाउँमा गाडी रोकेर हामी सबै यात्रुलाई बीस मिनेट टहलिने समय दिइयो। बाथरूमको कर्म सकेपछि त्यो विशाल गिफ्ट सपमा टहलिन थाल्यौँ। त्यहाँ कालो चिल्लो पत्थरबाट बनेका लकेटदेखि चिचेन इत्जाको आकृतिसम्मका धेरै सुभेनियर सामग्री थिए। मेरो ध्यान त्यो चिल्लो कालो पत्थरमा गयो।
त्यहाँका दोकानीले एउटा च्याप्टो पत्थर उठाएर मेरा आँखामा टाँस्न भने, त्यसपछि केही हुँदैन भन्दै घामलाई हेर्न लगाए।
आँखा बिग्रिने हुन् कि ठान्दै एउटा आँखामा त्यो पत्थर टाँसेर हेरें। मध्य दिनका ती चम्किला घाम त त्यो पत्थरबाट हेर्दा जून जस्ता पो देखिए। त्यसपछि लकेटका रूपमा पनि लगाउन मिल्नेगरी तयार गरिएको एक ओब्सिडियन मैले किनेँ, पच्चीस डलर भन्दै थिए, मेक्सिकोमा पनि नेपाली पारामा घटाउँदा रहेछन्, बीस डलरमा लिएँ।
वास्तवमा ओब्सिडियन भनेका ज्वालामुखीय उत्पादन रहेछन्। भूगर्भीय उत्पत्ति, ऐतिहासिक उपयोगिता र आध्यात्मिक गहिराइको अनौठो सङ्गम रहेछ ओब्सिडियन।
ज्वालामुखीबाट निस्किएको सिलिकायुक्त लाभा जमिनको सतहमा आएपछि छिट्टै सेलाउँदा बिना क्रिस्टल निर्मित हुने प्राकृतिक काँच नै ओब्सिडियन रहेछ। आफ्नो अद्भूत चमक र अत्यन्तै तीखो धारका लागि चिनिने यो सीसा प्राचीन कालमा विभिन्न मानव सभ्यताले हतियार र औजार बनाउन प्रयोग गरेको थियो। यो कठोर पत्थर आज शल्यक्रियामा प्रयोग हुने सूक्ष्म स्केल्पेलदेखि ज्ञान व्यवस्थापनको डिजिटल दर्शनसम्म विस्तारित भएको छ।
आध्यात्मिक दृष्टिले मूल आधार चक्रसँग जोडिने यो रत्नलाई 'आत्माको ऐना' र सुरक्षात्मक ढाल मानिँदोरहेछ, जसले बाहिरी नकारात्मक ऊर्जालाई सोसेर मनलाई वर्तमानसँग जोड्ने, भित्री डर र चोटहरूलाई निवारण गर्ने र आत्मिक शुद्धीकरण दिलाउने काम गर्छ भन्ठानिँदोरहेछ।
त्यहाँ नजिकै एक व्यक्ति एक साधारण टेबलमा केही सामग्री राखेर कसैकसैलाई धूप धूवाँर र झारफुक गर्दैथिए।
'यी माया सभ्यताका धामी हुन्, यिनले मानिसका नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा भरिदिन्छन् भन्ने विश्वास गरिन्छ,' टुर गाइड म्यानीले भने, 'तिमीले किनेका सामान पनि यिनलाई फुक्न लाउँदा हुन्छ।'
ओहो माया सभ्यतामा पनि पो हाम्रैतिर जस्तो धामीको चलन रहेछ, हन के आश्चर्य हो यो! ठान्दै त्यो परम्परा अद्यापि धानिरहेका यी धामीको धूप धूवाँर र लीला हेरिहालूँ भन्ने रहर जाग्यो।
केटाकेटी मानेनन् तर वर्षा र म त्यहाँ किनेका सामग्रीसहित सेता लुगा र मेक्सिकन ह्याट लगाएका, घाँटीमा निकैवटा माला भिरेका, हातमा बालाहरू लगाएका लामो कपाल भएका ६०/६५ वर्षका हाम्रै साइजका ती माया धामीका अघि उभियौँ।
धामी बाले हामीलाई बटुकाको पानी छम्केर स्वस्ती शान्ति गरे, ठूलो बटुकामा राखेको एउटा झारको मुठो सुँघ्न लगाए। बेग्लै किसिमको जडीबुटीय गन्ध थियो त्यसको। कपुर त होइन, तर त्यस्तै किसिमको सेतो पदार्थ एउटा धूपौरामा बालेर धूवाँ उडाए। उनकै माया भाषामा के के जाती मन्त्र पढ्दै एकछिन हनमन गरे र टाउकामा हात राखेर आशीर्वाद दिए।
मेक्सिकोको युकाटान प्रायद्वीपमा यिनले हामीलाई फुकिरहँदा मेरो मन भने नेपाल पुगिसकेको थियो। सोच्दैथिएँ हामीसँग यस्ता झारफुके परम्पराभन्दा गतिला कति धेरै संस्कृतिहरू छन्। तिनलाई यसरी नै पर्यटनसँग जोड्दै जान सके कति जाति हुन्थ्यो होला…..
त्यसपछि चिचेन इत्जा जान बस चढ्यौँ फेरि।
चढेको पाँच सात मिनेटमा पार्किङ लट पुगियो।
गाडी, बसबाट ओर्लिँदै इत्जा परिसरतिर जाने पर्यटकको चहलपहल व्यापक थियो वरैदेखि। टाउकामा प्वाँखका टोपी, चराकै जस्ता पखेँटा लगाएका अर्धनग्न मेक्सिकन मुस्तण्डेहरू फोटो खिच्न ग्राहक बोलाउँदै थिए। हामीलाई भित्र पस्न हतार थियो। हामीलाई भन्दा बढी हाम्रा टुर गाइडलाई समूहका कोही हराउने हुन् कि भन्ने पिरलो थियो। एउटा अगाडि प्ले कार्ड बोकेर डोऱ्याइरहेका छन्, अर्का पछाडिबाट धपाइरहेका छन्।
हामी पनि डोरिँदै धपिँदै त्यो भिडमा लहरिँदै गिफ्ट सपहरूले भरिएको मायन आर्टिसन मार्केट छिचोलेर टिकट जाँच्ने गेट पुग्यौँ। सुरक्षा जाँचकीले सबैका झोला जाँचे, सबैले आआफ्ना टिकट स्क्यान गरेपछि औपचारिक रूपमा चिचेन इत्जा परिसर पुग्यौँ हामी। तर त्यो कच्ची बाटामा अझै निकै हिँड्न बाँकी नै रहेछ, मध्य दिनका रन्केका घाममा पसिना पुछ्दै, धुलो उडाउँदै भिडसँगै बग्यौँ केहीबेर।
वरिपरि जंगलको बाक्लो हरियालीले शितल थपेको भए पनि बाटाको भागमा घाम ओर्लेकै थिए। रंगीन छातामुनि दुवैतिर सुभेनियरका पसल थापेका मेक्सिकनहरू अनेक हर्कत गर्दै ग्राहक बोलाउन व्यस्त देखिन्थे।
'कस्तो नेपालकै जस्तो रछ नि!' नेपाल वा भारतका कुनै मन्दिर परिसरका फूल, माला र प्रसादका दोकान र दोकानीको झल्को दिने चहलपहल हेर्दै ममीले भन्नुभो।
केही अगाडि पुगेपछि टुर गाइडले हाम्रो समूहलाई केहीबेर अड्याए। सबै भेला भइसकेपछि बायाँतिरको गाढा हरियो पानीको विशाल र गहिरो दहतिर देखाउँदै भने, 'दिस इज एल सेनोटे सार्गादो (यो पवित्र सेनोटे हो)।'
घना हरियालीबीच चिचेन इत्जाको आडैमा रहेको पवित्र सेनोटे केवल पानीले भरिएको प्राकृतिक खाडल मात्रै होइन रहेछ, यो त प्राचीन मायन सभ्यताको धार्मिक विश्वास र रहस्य जोडिएको एउटा अद्भुत तीर्थस्थल पो रहेछ।
स्पेनिसमा सेनोटे दे लोस सेक्रिफिसियोस् अर्थात् बलिदानको सेनोटे र मायन भाषामा चेन कु अर्थात् 'देवताहरूको कुवा/पोखरी' भनेर पनि चिनिने यो दह चुनढुंगाको भूभाग भासिएर बनेको रहेछ। यो विशाल प्राकृतिक जलकुण्ड करिब ६० मिटर चौडा रहेको र पानीको सतह करिब २७ मिटर तल रहेको जानकारी होर्हेले दिए। मायनहरूले यी सेनोटेलाई पाताल लोक र पृथ्वी लोक जोड्ने द्वारजस्तै मान्दारहेछन्।
पानी त्यसैपनि जीवन, वर्षा र उर्वरताको स्रोत त हुँदै हो, त्यसमाथि सेनोटेलाई वर्षाका देवता चाक तथा पाताल लोकसँग जोडिएको पवित्र स्थानका रूपमा हेरिँदोरहेछ। माया सभ्यता उत्कर्षमा पुगेका बेला यो सेनोटे धार्मिक तीर्थयात्राको प्रमुख केन्द्र बनेको र टाढाटाढाबाट मानिसहरू यहाँ आएर देवताहरूलाई सुन, जेड, धूप, माटाका भाँडा तथा अन्य बहुमूल्य वस्तुहरू अर्पण गर्ने गरेको इतिहास हाम्रा टुर गाइड म्यानीले सुनाए।
तर यो पवित्र जलकुण्डको कथाको मार्मिक पाटो पनि रहेछ, जब टुर गाइडले त्यो कथा सुनाए न निस्तब्ध भएँ। यो दहको पानी जति हरियो र शान्त देखिन्छ, त्यस्तो शान्त थिएनछ यसको इतिहास। खडेरीबाट जोगिन, वर्षा र जीवनको निरन्तरताका लागि देवताहरूलाई प्रसन्न पार्ने नाममा यहाँ मानव बलि समेत दिइएको पुरातात्त्विक प्रमाण भेटिएको होर्हेले बताउँदा मेरा जिउमा काँडा उम्रे, रौँ ठाडा भए।
बीसौँ शताब्दीको सुरुवातमा अमेरिकी अन्वेषक एडवर्ड एच. थम्पसनले सेनोटेको तलतिर उत्खनन गर्दा सुन, जेड, माटाका भाँडा, धूपलगायत अनेकन धार्मिक वस्तु र मानव अवशेष फेला पारेछन्, जसले यस स्थानमा धर्म र अन्धविश्वासका कारण मानव बलि दिइन्थ्यो भन्ने तर्कलाई अझ बलियो बनायो।
यसै क्रममा टुर गाइड होर्हेले अन्वेषक एडवर्ड एच. थम्पसन र उनको कर्मबारे पनि विस्तारमा बताए। २०औँ शताब्दीको प्रारम्भका यी अमेरिकी अन्वेषक तथा अनुसन्धानकर्ताले कसरी चिचेन इत्जाको प्राचीन इतिहास बुझ्न महत्वपूर्ण काम गरे र सँगसँगै केही बदमासी पनि गरे भन्ने आशय उनले व्यक्त गरे।
सन् १९०४ देखि १९०७ सम्म उनले यो पवित्र सेनोटेको पानीमुनि यन्त्र प्रयोग गरेर व्यवस्थित उत्खनन् गरेछन्। उनको सो अभियानबाट सुन, तामा, जेड, ओब्सिडियन, माटाका भाँडा, शंख, ढुंगा, काठ, प्राचीन कपडाका टुक्रा, मानव र जनावरका अस्थिपञ्जरलगायत अत्यन्त महत्वपूर्ण सामग्री फेला परे; करिब ४०,००० पुरातात्त्विक सामग्री उनले फेला पारेछन्।
तर ती सम्पूर्ण सामग्री मेक्सिकन सरकारको अनुमति विना अमेरिका पुऱ्याएछन्। थम्पसनको यो कदमले उनको योगदानसँगै एउटा गम्भीर विवाद पनि खडा गरेछ। ती सामग्रीको ठूलो हिस्सा उनले हार्वर्ड विश्वविद्यालयको पिबडी संग्रहालयमा पठाएको बताए।
'यदि ती ओरिजिनल सामान हेर्न मन छ भने तपाईँहरू अमेरिकाको म्यासाचुसेट्स् जान सक्नुहुन्छ,' दुवै हातले मुखको आवाज हामीतिर एकोहोऱ्याउँदै होर्हेले भने, 'केही सामग्री भने पछि मेक्सिकन सरकारले फिर्ता ल्यायो।'
मेक्सिकोको राष्ट्रिय मानवशास्त्र संग्रहालयले उनको उत्खननबाट निकालिएका सामग्रीलाई अवैध रूपमा विदेश लगिएको भनी उल्लेख गरेको रहेछ। आज ती वस्तुहरू माया सभ्यताको इतिहास, धर्म, कला र संस्कृतिको अध्ययनका लागि अमूल्य सामग्री भएका छन्।
यी अनेक जानकारी लिँदै त्यो सेनोटेको शान्त र गहिरो पानी नियाल्दा प्रकृतिको सौन्दर्य त देखिन्थ्यो नै सँगसँगै त्यसको सतहमुनि हजारौँ वर्ष पुरानो माया सभ्यताको अन्धविश्वासले भरिएको भयानक र दुखदायी इतिहास पनि लुकेको अनुभूति भयो।
सबैलाई चिचेन इत्जाको मूल पिरामिड हेर्ने हतारो थियो। त्यो दहको पानी हेरेर टोलाइरहने समय थिएन मसँग पनि। भिडकै लयमा बग्दै टुर गाइडको संकेत पछ्याउँदै अघि बढ्यौँ हामी।

बाटाका दुवैतिर थापिएका सुभेनियर पसलका पसलेहरू कोही चराको आवाजमा कराइरहेछन्, कोही ती हस्तकलाका सामग्री उचाल्दै भन्दैछन्, 'वन्ली फाइभ डलर।' कोही हामीलाई भारतीय ठानेर हिन्दीमा भन्दैछन् 'टोपी लेलो टोपी।' एउटाले नमस्ते भन्दै आफूले बोकेको काठबाट निर्मित माया क्यालेन्डरको दाम बताए, 'ओन्ली थाउजेन्ड रूपिज।' विक्रेता र असंख्य पर्यटकको यो कोकोहोलोले पहाडका मेला, मधेशका हटिया र कान्छी बजारको झल्को दिइरहेको थियो।
अलिक अगाडि रूख बिरुवाको हरियो परियो छिचोल्दै हामीतिर चिहाइरहेको पिरामिडको टुप्पो देखियो। होर्हेले फेरि हाम्रो हिँडाइको गतिलाई रोकेर आफू माहुरीको रानो जसरी बीचमा बसे र हामीलाई वरिपरि गोलबद्ध गरेर भट्याउन थाले, 'हामी चिचेन इत्जाको मूल मन्दिरको निक्कै नजिक आइपुगेका छौँ।
र, यो मन्दिर पखेटा भएका सर्प देवतामा समर्पित छ।'
प्वाँखवाला सर्पलाई किन पूजा गरिएको र मन्दिर नै किन समर्पित गरिएको हो त भन्ने विषयमा पनि उनले बताए। माया सभ्यतामा सर्प केवल एउटा जीव थिएन, जीवन, मृत्यु, पुनर्जन्म र प्रकृतिको रहस्यमय शक्तिको प्रतीक पनि मानिन्थ्यो।
विशेषगरी प्वाँखधारी सर्प कुकुल्कानलाई गड अफ डुवालिटी अर्थात् आकाश र पृथ्वी, पानी र उर्वरता तथा मानिस र देवताबीचको सेतुका रूपमा मानिने र पूजा गरिने चलन रहेको होर्हेले बताए। चरा उड्न सक्छन्, आकाश पुग्न सक्छन्, माथिल्लो लोक पुग्न सक्छन्, त्यसैगरी सर्प जमिनमा, गुफामा बस्छन्, पाताल लोकसँग तिनको सम्बन्ध हुन्छ। यसरी माथिल्लो लोक र पाताल लोक दुवैतिर सम्पर्क र सम्बन्ध हुन सक्ने, नकारात्मकता र सकारात्मकता दुवैको प्रतिनिधित्व हुनसक्ने हिसाबले प्वाँखवाला सर्पको परिकल्पना गरेछन् मायाहरूले भन्ने जानियो।
माथि आकाशतिरबाट आउने आँधीहुरी, हरिकेन, टोर्नेडो जस्ता विनाशकारी नकारात्मक कुरा र जमिनबाट उब्जिने फलफूल, बालीनाली जस्ता सकारात्मक कुराको प्रतिनिधित्व स्वरूप यस्ता द्वैत देवताको परिकल्पना गरेछन् मायन मानिसले। चरालाई उपरीलोकको र सर्पलाई पाताल लोकको दूतका रूपमा पूजा गरेछन्।
काँचुली फेरेर नयाँ हुने सर्पमा उनीहरूले पुनर्जन्म र रूपान्तरणको रहस्य देखेछन्, त्यसैले सर्प उनीहरूको धार्मिक कल्पनामा भयको प्रतीकभन्दा पनि सृष्टि, शक्ति र अनन्त जीवनको प्रतीक बनेको थियो भन्ने ज्ञान पायौँ हामीले।
'तर सोर्हौँ शताब्दीमा अमेरिकी महाद्वीप आइपुगेका क्याथोलिक स्पेनिसहरू जब मायाभूमि आइपुगे,' होर्हेले भने, 'उनीहरूले यी सर्प र चराका देवतालाई शैतान भने र उनीहरूका मठ मन्दिर जथाभावी ध्वस्त पारे।'
यो दुर्दान्त कथा सुनेपछि हामी चिचेन इत्जा परिसरतिर सोझियौँ। बाटाका दुवैतिर बाक्लैगरी थापेका सुभेनियर पसलेहरू चराका आवाज निकाल्दै थिए। 'आच्छा प्राइस, लेलो लेलो,' एउटा पसले हामीतिर हेर्दै मुस्कुराए। हामी पनि मेक्सिकन व्यापारीका हिन्दी तरिका सुन्दै, मुस्कुराउँदै अघि बढ्यौँ। अगाडि चिचेन इत्जाको मुखाकृति प्रस्टै देखियो। बाक्लो भिडमा हेलिँदै पेलिँदै इत्जाको हरियो चौरमा पुगेर अडियौँ।
'चराको आवाज सुन्ने हो त?' होर्हेले भने, 'यो चिचेन इत्जाको पिरामिड अगाडि ताली पड्काउँदा फर्केर आउने प्रतिध्वनि मायाहरूका लागि अत्यन्त पवित्र पंक्षी क्वेट्जाल चराको आवाजजस्तो सुनिन्छ।' यसो भनेपछि उनले हामी सबैलाई दस पल्ट ताली पड्काउन लगाए। सबैले एकैतालमा पड्काउँदा आएको तालीको प्रतिध्वनि एक किसिमको चराको आवाज जस्तै थियो तर आफूले सो क्वेट्जाल चरा नदेखेको र नसुनेकाले दुरुस्तै उसकै आवाज जस्तो भन्न सकिएन।
ग्वाटेमालाको मुख्य माया मन्दिर अगाडि ताली पड्काउँदा पनि चराको यस्तै आवाज आउने उनले बताए। तत्कालीन मायन शासकहरू जनतालाई केही सन्देश दिनुपर्दा सो पिरामिडको माथि गएर ताली पड्काउने र मानिस भेला पार्ने गरेको इतिहास पनि उनले सुनाए। पर्यटकका विभिन्न समूहहरू ताली पिट्दै चराका आवाज सुन्न व्यस्त थिए वरिपरि।
हाम्रा टुर गाइडले पिरामिडलाई सम्मुख पारेर देब्रेतिर एकठ्ठा गरे हाम्रो समूहलाई र सो बाँयातिरको निर्मितिलाई देखाउँदै मानव बलिको चलनबारे केही महत्वपूर्ण कुरा बताए।
उनी भन्दैथिए—'तपाईँहरूमध्ये कतिपयले हलिउड निर्देशक मेल गिब्सनको सिनेमा अपोकालिप्टो हेर्नुभएको हुन सक्छ। त्यहाँ देखाइएको चिचेन इत्जाको पिरामिडमै दिइने गरेको मानव बलिको तथ्य गलत भए पनि मानव बलि दिइने ठाउँ यो बाँयापट्टिको निर्मिति हो। जसलाई योद्धाहरूको मन्दिर भनिन्छ, द टेम्पल अफ वारियर्स।'
सो टेम्पल अफ वारियर्समा मानव बलिसँग सम्बन्धित बलिया कलात्मक प्रमाण भएको उनले बताए, मन्दिरका भित्तेचित्र र सजावटमा युद्ध, बन्दी, मृत्यु र बलिदानका दृश्यहरू देखिँदारहेछन्। विशेषगरी मन्दिरसँग सम्बन्धित एउटा भित्तेचित्रमा एक व्यक्तिलाई बलिदानको ढुंगामाथि राखेर मुटु निकाल्ने तयारी गरिएको जस्तो दृश्य देखिने पनि उनले बताए। अनुसन्धानहरूले पनि विभिन्न चित्रहरूमा छाती चिरेर मानव मुटु निकालिएका सम्भावित बलिदानका दृश्य पहिचान गरेकाले त्यहाँ मानव बलि दिइने विषय प्रमाणित नै भएको रहेछ। कस्तो खतरनाक जानकारी! यो सुन्दा आङ नै जिरिङ्ग भयो मेरो।
यसरी निकालिएको मानव मुटु वर्षाका देवता चाकलाई अर्पण गरिने गरेको होर्हेले बताए। सो मन्दिरको वास्तुकलामा पनि यस्ता संकेतहरू पाइने उनले बताए। सो मन्दिरका सिँढीमा कुँदिएका योद्धाका आकृति, सर्पका टाउका र वर्षाका देवता चाक तथा प्वाँखधारी सर्पमानवसँग सम्बन्धित आकृतिहरूमा हरियो लेजर लाइट बालीबाली होर्हेले देखाए हामीलाई।
माथिल्लो भागमा रहेका दुई पिल्लरको बीचमा चाक मूलको मूर्ति रहेको र ती चाक मूल मानिस र देवताबीचका दूत रहेको उनले बताए, मायनहरूले ती मानव मुटुहरू तिनै चाक मूल जस्ता मूर्तिहरूमा अर्पण गर्थे भन्ने जानकारी पनि उनले दिए। यो सब सुन्दा मानव इतिहासको एउटा क्रुर र दर्दनाक कहानी सुनिरहेको थिएँ म। मानव जातिले कस्ता कस्ता अन्धविश्वासका मन्दिर बनाएछ, क्रुरताका कति अग्ला पिल्लर र पर्खाल ठड्याएछ भन्ने सोचले द्रविभूत भएँ म।
होर्हेले आफ्ना कुरा सकेपछि फेरि म्यानी बोल्न थाले। त्यो पूर्वपट्टिको योद्धा मन्दिरको बीचका दुई पिल्लर सोलार मार्कर भएको उनले बताए। हरेक वर्ष जेनिथ प्यासेजका दिन अर्थात् मे २३ र जुलाई १९ का दिन सूर्य ती सर्पाकार पिल्लरको ठीक बीचबाट उदाउने उनले बताए। जहाँ मायनहरूको खगोल ज्ञान पनि प्रतिबिम्बित भएको थियो।
त्यसैगरी इक्विनक्स अर्थात् सूर्यको किरण भूमध्यरेखामाथि सीधा पर्ने र पृथ्वीका अधिकांश ठाउँमा दिन र रातको अवधि लगभग बराबर हुने दिन अस्ताउँदो सूर्यको प्रकाश पिरामिडका उत्तरी सिँढीमा पर्दा ढुंगामा कुँदिएको सर्पको टाउकोसँग जोडिएर आकाशबाट प्वाँखधारी सर्प कुकुल्कान पृथ्वीमा ओर्लिरहेको जस्तो देखिँदोरहेछ।
यसरी दिन र रात बराबरीका हुँदा, चिचेन इत्जाको कुकुल्कान पिरामिडमा सूर्य र ढुंगाबीच हुने अद्भुत मिलनले पिरामिडको सिँढीमा सर्पजस्तै प्रकाशको छाया कोर्ने र आकाशका प्वाँखधारी सर्प देवता कुकुल्कान बिस्तारै पृथ्वीमा ओर्लिरहेका जस्तो देखिने विषयलाई मायाहरूको खगोलीय ज्ञान र उनीहरूको धार्मिक विश्वाससँग जोडेर हेर्ने गरिंदोरहेछ।
नासाले पनि यसलाई मायाहरूको खगोलीय ज्ञान र वास्तुकलाको उल्लेखनीय उदाहरणका रूपमा वर्णन गरेको म्यानीले बताए।
सो मुख्य क्यास्टिलो पिरामिड संरचनामुनि पनि सेनोटे रहेको नेशनल जोग्राफीले पत्ता लगाएको र हामीले बाटामा भर्खरै हेरेको सेनोटेसँग अन्तरसम्बन्धित रहेको पनि उनले बताए।
यसरी चिचेन इत्जाको कथा भनेको प्राकृतिक कुवाहरू वा सेनोटे वरिपरिको एउटा प्राचीन मायन बस्तीको कथा रहेछ। यहाँको प्रारम्भिक बसोबास कम्तीमा छैटौँ सातौँ शताब्दीतिर विकसित भइसकेको रहेछ। दशौँ शताब्दीसम्ममा यो उत्तरी युकाटानको शक्तिशाली राजनीतिक तथा धार्मिक केन्द्र बन्यो। उत्कर्षको सोही समयमा हाम्रा अगाडिका यी विशाल स्मारकहरू निर्माण भएछन्, एल कास्टिलो अर्थात् कुकुल्कानको पिरामिड निर्माणको उद्देश्य केवल राजकीय शक्ति देखाउनु थिएन, यो सूर्य, कुकुल्कान देवता, खगोलीय चक्र, धार्मिक अनुष्ठान र राजनीतिक अधिकार आदि कुरालाई एउटै विशाल ढुंगे श्रृंखलामा जोड्ने संरचना रहेछ।
हाम्रा पथप्रदर्शकका अनुसार युकाटान प्रायद्वीपको यो क्षेत्रमा लगातार २६ वर्षसम्म पानी परेनछ। यसरी लामो खडेरी, राजनीतिक संघर्ष, सामाजिक अस्थिरता जस्ता धेरै कारणले १५औँ शताब्दीको मध्यसम्ममा यो सहर लगभग परित्यक्त भइसकेको रहेछ, तर त्यसका ढुंगे मन्दिरहरू जंगलको एकान्तमा बाँचिरहेकै थिए।
स्पेनीहरूले १६औँ शताब्दीमा यहाँका भग्नावशेषको उल्लेख गरे पनि व्यवस्थित पुरातात्त्विक उत्खनन भने धेरै पछि, १८४१ मा सुरु भएको होर्हेले बताए। यसरी शताब्दीयौँसम्म जंगलमा लुकेर बसेको कुकुल्कानको पिरामिड विभिन्न अन्वेषकहरूको प्रयासस्वरूप फेरि संसारका आँखाअघि आयो र त हामीले पनि सुन्न पायौँ कहिल्यै नबोल्ने ढुंगाहरूले सुनाएको माया सभ्यताको कथा।
सो पिरामिडमाथि रहेको सानो मन्दिरमा धार्मिक अनुष्ठान हुन्थे। यस हिसाबले यो एक मन्दिर हो। यो पिरामिडको माथिको मन्दिर जान चारैतिर ९१/९१ खुड्किला रहेछन्। ९१ चौको ३६४ र माथिको मन्दिर पुग्ने अन्तिम खुड्किलो जोड्दा ३६५ पुग्छ। जसले वर्षका ३६५ दिन जनाउने रहेछ। यसरी मायनहरूको सौर्य वर्षसँग जोडिएको अत्यन्त रोचक वास्तुकला पो रहेछ यो त।
बेला मौकामा शासकहरूले पनि यी संरचनाको प्रयोग गरे। त्यसैले यो ढुंगे रचना धर्म, खगोलविज्ञान र शासकीय शक्तिको पनि प्रतीक थियो। देवता, सूर्य र समयलाई जोड्ने ढुंगाको मन्दिर थियो। यसका खुड्किलामा पनि समयको गणना थियो, यसको छायामा वर्षातको संकेत थियो र यसको टुप्पामा पुगेर मान्छेले आफूभन्दा माथिको दैवी शक्तिसँग संवाद गर्ने विश्वास राख्दथ्यो।
यसरी सो कुकुल्कान पिरामिडको बारेमा पूर्ण जानकारी लिएर हामी पश्चिमतर्फको बल कोर्टतिर लाग्यौँ टुर गाइडका संकेत पछ्याउँदै।
चिचेन इत्जाको ग्रेट बल कोर्ट माया सभ्यताको सबैभन्दा विशाल र रहस्यमय खेलमैदानमध्ये एक रहेछ। 'करिब ९६.५ मिटर लामो र ३० मिटर चौडा यो कोर्ट मेसोअमेरिकामा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो बल कोर्ट मानिन्छ,' दुवैतर्फका अग्ला ढुंगे पर्खालबीचको खाली ठाउँमा उभिएर होर्हेले भने, 'ऊ त्यो पर्खालको माथिल्लो भागमा ढुंगाका गोलाकार रिङ जोडिएका छन् नि, हो त्यहीं छिराउनु पर्थ्यो बल।'
तर अचम्मको कुरो खेलाडीहरूले हात र खुट्टाले होइन, कम्मर, पुठ्ठा, काँध, तिघ्रा जस्ता शरीरका अप्ठ्यारा भाग प्रयोग गरेर भारी रबरको बललाई प्रहार गर्नुपर्ने नियम रहेछ। होर्हेले यी कुरा बताउँदै गर्दा म्यानीले भने पुठ्ठाले, काँधले बल हानेको अभिनय गरेर हामी सबैलाई मनोरञ्जन गराए।
चिचेन इत्जाको सो कोर्टका पर्खालमा कुँदिएका चित्रकलाहरूमा खेलाडीहरू विशेष पोशाक र सुरक्षा सामग्री लगाएर आमनेसामने खेलिरहेका देखिन्थे, ती ढुंगे चित्रमा हरियो लेजर लाइट घुमाउँदै म्यानीले देखाए हामीलाई।
अझ अर्को दृश्यमा त एक खेलाडीको टाउको काटिएको र उसको शरीरबाट निस्किएको रगत सर्पका रूपमा रूपान्तरित भएको देखिने उनले सुनाए। केही चित्रमा बलभित्र मानव खोपडीजस्तो आकृति पनि देखियो।
यो बलकोर्टमा खेलिने खेलमा जो विजेता हुन्थ्यो, ऊ खुसी र गौरबका साथ देवताका नाममा आफ्नो बलिदान दिन तयार हुन्थ्यो भन्ने तथ्य थाहा पाउँदा म तिरिङ्गै भएँ। मानिसको यो मूर्खता हो कि भक्ति र समर्पण!
विशेषगरी कोर्टको पूर्वी पर्खालमा रहेको टेम्पल अफ जगुवार्सका मूर्तिकला र चित्रहरूमा योद्धा, पुजारी, जगुआर, विभिन्न जनावर र जलचर वनस्पति देखिने उनले सुनाए। यसले खेललाई केवल शारीरिक स्पर्धा नभई धार्मिक अनुष्ठान पनि थियो भन्ने संकेत गर्छ रे। कोर्टका उत्तरी र दक्षिणी छेउमा रहेका मन्दिरहरूमा पनि खेलसँग सम्बन्धित चित्रहरू छन्, उत्तरी मन्दिरको एउटा भित्तामा ४० भन्दा बढी पात्रहरू समावेश भएका दृश्य छन्। ती ढुंगे रिङमा पनि एकअर्कामा बेरिएका प्वाँखधारी सर्प कुँदिएका छन्।
यसरी यो केवल मनोरञ्जनको खेल थिएन। मायनहरूको दृष्टिमा यो खेल धार्मिक, राजनीतिक र ब्रह्माण्डीय अर्थ बोकेको अनुष्ठान पनि थियो भन्ने बुझिन्छ। चिचेन इत्जाको सो विशाल बल कोर्टका ढुंगे पर्खालमा कुँदिएका खेलाडी, खोपडी बोकेका चित्र र प्वाँखधारी सर्पका आकृतिहरूले जीवन र मृत्युको अनन्त चक्रको कथा सुनाए हामीलाई।
सो बल कोर्टबाट बाहिर निस्कनेबित्तिकै त्यो कोर्टमा खेलिने जस्ता रबरका बल दिए म्यानीले। हामीले पालैपालो त्यो कालो डल्लालाई छोयौँ, चलायौँ, सुम्सुम्यायौँ र उफाऱ्यौँ पनि। यसरी त्यो रबर बलमार्फत् त्यो प्राचीन खेलसँग जोडिन पायौँ।
यसपछिको केही समय टुर गाइडद्वयले हामीलाई आफैँ टहलिन दिएको समय सदुपयोग गरेर मैले केही भिडियो बनाएँ, तस्वीर खिचेँ।
वास्तवमा चिचेन इत्जाको शाब्दिक अर्थ नै कुवाको मुखमा वा डिलमा भन्ने हुन्छ। अघि हेरेको सेनोटे अर्थात् कुवाको मुखैमा रहेको यो विशाल पिरामिड केवल ढुंगाको थुप्रो होइन, यो त मायन सभ्यताको मुखर अभिव्यक्ति पो हो। जहाँ धर्म, राजनीति, खगोलशास्त्र, प्रकृति र मानिसको जीवन एउटै विश्वासमा वा भनौँ अन्धविश्वासमा पनि गाँसिएका थिए, उनिएका थिए।
यो कुकुल्कान मन्दिरको सबैभन्दा गम्भीर रहस्य यसका ढुंगा र त्यसमा पर्ने छायाँमा लुकेको रहेछ। चिचेन इत्जाका वास्तुकारहरूका लागि आकाश केवल देवलोक थिएन, सूर्य, चन्द्रमा, ग्रह, नक्षत्र र ऋतुहरूको गति बुझ्ने मानक थियो, कहिले बाली लगाउने र कहिले उठाउने भन्ने समयबोधको हिस्सा थियो मायाहरूको। यहाँ माया भन्नाले प्रेम होइन। न त पूर्वीय दर्शनले भनेको भ्रम वा लीला नै हो।
प्राचीन युकाटानमा ‘माया’ शब्द त्यहाँको भूमि र त्यस भूमिसँग सम्बन्धित भाषा तथा मानिसका लागि प्रयोग हुन्थ्यो। तर केही विद्वानहरूले यसको सम्बन्ध सो क्षेत्रको प्राचीन नगर मायापानसँग जोडेर हेरेको पाइन्छ। तर हामीले नेपालीमा भन्ने/सुन्ने ‘माया’ प्रेम वा मोह र मध्य अमेरिकाको ‘माया’ एउटै शब्दजस्तो सुनिए पनि, यी दुईको अर्थ र उत्पत्ति बिल्कुल अलग छन्।
सो एल कास्टिलो पिरामिडको वरिपरि परिक्रमा गर्दै मैले यसमुनि अर्को भूमिगत सेनोटे रहेको कुरा सम्झें, मायनहरूले पानी, गुफा र पाताल लोकलाई कसरी आफ्नो धार्मिक दृष्टि र जीवन दर्शनसँग जोड्थे भन्ने विषय अझ रोचक लाग्यो।
वास्तवमा चिचेन इत्जा केवल देवता र अनुष्ठानको सहर थिएन। यहाँ खगोलशास्त्र थियो, व्यापार थियो, राजनीति थियो, युद्ध थियो, खेल थियो र शक्ति प्रदर्शन गर्ने विशाल वास्तुकला थियो यो।
हजारौँ वर्षअघिको त्यो सहरमा उभिएर हेर्दा केही विशाल पिरामिड, भत्किएका मन्दिर, सेनोटेको पानीको गहिरो दह, ढुंगामा कुँदिएका सभ्यताका लिपि देखिए। माया मानिसहरू जसले ढुंगालाई समयको भाषा सिकाए, उनीहरूका पदचाप भेटिए।
चारैतिर घुमीघुमी हेरें मैले, कुकुल्कानको पिरामिडका ३६५ खुड्किलाले समयको गणना सिकाए, विषुवका दिन देखिने भनिएको सर्पको छायाँले सूर्य र पृथ्वीको संवाद सुनायो, पवित्र सेनोटेको गहिरो पानीले मानिसका विश्वास/अन्धविश्वास, बलिदान र रहस्यको कथा सुनाए, योद्धाको मन्दिर र विशाल बल कोर्टका ढुंगामा कुँदिएका युद्ध, खेल र बलिदानका दृश्यले सभ्यताको उज्यालो पक्षसँगै त्यसको कठोर र निर्दयी अनुहार पनि देखाए।
वास्तवमा हजारौँ वर्षअघिदेखि मानिस आकाशतिर हेरेर समय, ऋतु र आफ्नै अस्तित्व बुझ्न खोजिरहेको थियो।
यसरी मानिसले प्रकृतिलाई देवता बनायो, आकाशलाई पात्रो बनायो, मृत्युलाई पनि अर्थ दियो, गौरब दियो, कतै अत्याचार दियो। ढुंगालाई इतिहासको भाषा बनायो। यो हजारौँ वर्षको मानव इतिहासमा अनेक सभ्यताहरू आए र हराए, सत्ता र शासक आए र गए, मानिस आए र गए, तर आफूलाई र यो विशाल ब्रह्माण्डलाई बुझ्ने मानिसको जिज्ञासा कहिल्यै हराएन।
यही जिज्ञासाले नै दुनियाँमा यस्ता अनेक चिचेन इत्जा बनायो। सभ्यताले निर्माण गरेका यस्ता निर्मितिले हामीलाई हाम्रै बोधपट्टि फर्किन सिकाउँछन्। हाम्रै पाइलाका डोबहरूतिर फर्किन सिकाउँछन्।
चिचेन इत्जा घुमेर फर्किंदा म पनि केवल केही ढुंगाका थुप्रा हेरेर फर्किरहेको थिइनँ, शताब्दीयौँ पुरानो माया सभ्यताको कथा सुनेर फर्केको थिएँ, जुन कथामा चिचेन इत्जा केवल प्राचीन मायन सहर होइन।
समय र मानव कल्पनाशक्तिले लेखेको एउटा विशाल ढुंगे पुस्तक, जसलाई पढेर फर्केको थिएँ, जसको सिँढीका प्रत्येक खुड्किला एउटा एउटा दिन थिए, प्रत्येक छाया एउटा ऋतु थियो, प्रत्येक सेनोटे एउटा रहस्य थियो र प्रत्येक भग्नावशेष इतिहासका वाचाल कथा थिए।