भ्यानकुभरबाट ४ घन्टा २० मिनेटको उडानबाट सहजतासाथ टोरोन्टो विमानस्थलमा उत्रियौँ। केटाकेटीहरूसँगको भेटघाटको यादले यो उडानभरि म भने ध्यानमग्न रहेँ। एयर होस्टेसको विमान अवतरणको जानकारीको आवाजले मलाई ब्युँझायो र हवाईजहाजको झ्यालबाट टोरोन्टो सहरको फोटो खिच्न थालेँ।
टोरोन्टो पिअर्सन अन्तर्राष्ट्रिय विमानस्थल १९३९ मा स्थापना भएको क्यानडाको सबैभन्दा ठूलो र व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल, टोरोन्टो सहरको नजिक ग्रेटर टोरोन्टो विमानस्थल प्राधिकरणले व्यवस्थापन गरेको विश्वका प्रमुख हवाई केन्द्रहरूमध्येको एक हो।
यस विमानस्थलका मुख्य रूपमा दुई टर्मिनल–टर्मिनल १ र ३–छन्। विश्वका करिब १८० भन्दा बढी गन्तव्यहरूमा प्रत्यक्ष उडानबाट वार्षिक रूपमा लगभग ४५–५० मिलियन यात्रुहरूले यो विमानस्थल प्रयोग गर्ने गर्छन्।
क्यानडामा प्रवेश गर्ने धेरै अन्तर्राष्ट्रिय यात्रुहरूको यो पहिलो प्रवेशद्वार हो। व्यवस्थित सेवा, सफा वातावरण र उन्नत प्रविधिका कारण टोरोन्टो पिअर्सन अन्तर्राष्ट्रिय विमानस्थल विश्वका उत्कृष्ट विमानस्थलहरूमध्ये एक मानिन्छ। साथै यो विमानस्थल क्यानडा एरलाइन्सको हब पनि हो।
सामान्य विश्रामपछि हामीले नायग्रा फल्स जाने र त्यहीँ बस्ने योजना बनायौँ र होटल बुक गर्यौँ।
टोरोन्टोबाट नायग्रा फल्सको यात्रा तीन तरिकाबाट गर्न सकिन्छ। बसबाट एक घन्टा पैँतीस मिनेटमा पुग्न सकिन्छ र बस भाडा १० देखि १८ क्यानाडियन डलर पर्छ। बस भने घन्टाघन्टामा विभिन्न कम्पनीहरूको पाइँदो रहेछ।
रेल प्रयोग गर्ने भए झन्डै दुई घन्टा ३० मिनेटमा पुगिन्छ र रेल भाडा १४ देखि ९० क्यानाडियन डलरसम्म पर्ने रहेछ। रेलको समयअनुसार भाडादर पनि फरक। तपाईंले चाहेमा उबर अथवा ट्याक्सी लिएर पनि जान सक्नुहुन्छ। यसको भाडा झन्डै १०० देखि १२० क्यानाडियन डलर।
हामीले ट्याक्सी लियौँ र नायग्रा फल्सतिर कुद्यौँ। मनिता र शिखर बढी नै उत्साहित थिए। उनीहरूको यो नायग्रा फल्स भ्रमण पहिलो थियो।
मेरो नायग्रा फल्सको भ्रमण ४ पटक र श्रीमतीको भने यो ३ पटक थियो। यति धेरै पटक भ्रमण गरेता पनि क्यानडा साइडबाट भने नायग्रा फल्सको भ्रमण हामी सबैको पहिलो नै थियो।
हामीले दिउँसो ४ बजे नायग्रा फल्सको होटलमा चेकिङ गर्यौँ। नायग्रा फल्स क्यानडा र अमेरिकाको सिमानामा पर्ने विश्वप्रसिद्ध झरना हो। यो विश्वको सात प्राकृतिक आश्चर्यभित्र समेत पर्दछ। अमेरिकी साइड न्यूयोर्क राज्यअन्तर्गत पर्दछ भने क्यानडा साइड ओन्टारियो राज्यअन्तर्गत।
अमेरिकन साइडबाट भन्दा क्यानडाको ओन्टारियोबाट नायग्रा फल्सको दृश्य अत्यन्त सुन्दर र पूर्ण दृश्य एकै ठाउँबाट स्पष्ट देखिने भएकोले पनि अधिकांश पर्यटक क्यानडाको ओन्टारियो साइडबाट झरना अवलोकन गर्न पुग्छन्। त्यसकारण पनि ओन्टारियो प्रान्तले नायग्रा फल्सलाई प्रमुख पर्यटन गन्तव्यको रूपमा विकास गरेको देखिन्छ, जसले क्यानडाको पर्यटनमा ठूलो योगदान पुर्याएको छ।
जति क्यानडा साइडका सहरहरू विकसित छन् त्यति विकास भने अमेरिकन साइडमा भएको देखिँदैन। दुवै साइडबाट झन्डै हरेक वर्ष करिब १ करोड २० लाखभन्दा बढी पर्यटक यहाँ घुम्न आउँछन्। यो झरना क्यानडा र अमेरिकाको सीमामा रहेको नायग्रा नदीमा अवस्थित छ। यही नदीको नामबाट यस झरनाको नाम राखिएको हुनुपर्छ।
झरना आफै प्राकृतिक भएकाले २४ घण्टा वर्षभर खुला हुने र हेर्नका लागि कुनै प्रवेश शुल्क लाग्दैन। तर बोट राइड जस्तै Maid of the Mist वा टावरबाट दृश्य हेर्ने जस्ता गतिविधिका लागि करिब ३०–५० क्यानेडियन डलरसम्म शुल्क लाग्छ। जाडो मौसममा हिउँको कारणले केही गतिविधिहरू अस्थायी रूपमा बन्द हुन्छन्।
हामी चारै जना अति उत्सुक थियौँ नायग्रा फल्समा हुने साँझको फायरवर्क–आतिशबाजी–हेर्नको लागि। हामी भोकाएका पनि थियौँ। होटलको चेकिङपछि भने हामी झरना नजिक खाजा खानतिर लाग्यौँ।
नायग्रा नदीमा हुने आतिशबाजी र नदी र झरनालाई रंगीन बत्तीको सजावट, अत्यन्त मनमोहक दृश्य अवलोकनको लागि हामी कुरिरहेका थियौँ। आतिशबाजीको समय मौसमअनुसार फरक हुँदो रहेछ।
गर्मीको समय मेदेखि अक्टोबरमा राति १० बजे र जाडो मौसम नोभेम्बरदेखि डिसेम्बरमा शुक्रबार र शनिबार राति ८ बजे फायरवर्क हुने रहेछ। हामीले फायरवर्कको लागि राति १० बजेसम्म कुर्यौँ।
अँध्यारोसँगसँगै नायग्रा नदी र नायग्रा फल्समा सजाएको बत्तीको मनमोहक दृश्य देखिन सुरू भयो। झरनाको मधुरो एकनासको सुसाइको आवाज, हजारौँ मानिसहरूको भीड, नदीमा कुदिरहेको बोट हेर्दै कुर्न त्यति गाह्रो भएन। हामी अन्य हजारौँ पर्यटकजस्तै फोटो खिच्ने, टिकटक बनाउनमै व्यस्त रह्यौँ।
आतिशबाजीको पर्खाइमा रहेका हजारौँ भीड जब आकाशमा आतिशबाजी चम्किँदै आवाज आयो, सबैका मोबाइलहरू उभिए। कोही प्रेमिकाको हात समाइरहेका, कोही साना नानीहरूलाई बोकेर नानीहरूसँग रमाइरहेका दृश्य अद्भुत देखिन्थ्यो। १५ मिनेटको कलरफुल यो साँझ प्रकृति र मानवीय आविष्कारको अनुपम सौन्दर्य अवलोकन गर्दै बितेको पत्तो नै भएन।
तपाईंहरू नायग्रा फल्समा जाँदै हुनुहुन्छ भने डुंगाको यात्राबाट झरनाको नजिक पुगेर पानीको फुसफुसावटको अनुभव अत्यन्त रमाइलो र अर्को डेक र टावरबाट झरनाको पूर्ण दृश्य अवलोकन गर्न सक्नुहुन्छ। तपाईं झरनाको पछाडि यात्रा गर्नुभयो भने पानीको गडगडाहट र झरनाको विशालता प्रत्यक्ष महसुस गर्न सकिन्छ।
तपाईंसँग समय छ भने नायग्रा पार्कको प्रकृतिको आनन्द लिन सकिन्छ। अर्को तपाईंले हेलिकोप्टरबाट झरना र आसपासको दृश्यलाई उचाइबाट हेर्ने रोमाञ्चक अनुभव पनि गर्न सक्नुहुन्छ।
झरनाको तल जाने ट्रेलमार्फत पानी छिचोलिने अनुभव पनि लिन सक्नुहुन्छ। त्यस्तै नायग्रा नदीमाथि जिपलाइन, एरो कार, पुतली संरक्षण गृह र चराचुरूङ्गी संसार जस्ता साहसिक र मनोरञ्जन गतिविधिहरू पनि यहाँका आकर्षणहरू हुन्।
तर यी सबै साहसिक गतिविधिहरू अमेरिकन साइडबाट भने लिन सक्नुहुन्न। अमेरिकन साइडमा भने मुख्य गतिविधिमा Maid of the Mist हो। यो तपाईं बोटमा बसेर झरनाको नजिक पुग्न सक्नु हुनेछ।
२०१६ मा पनि म र मेरी श्रीमती गीता नायग्रा फल्स भ्रमणको लागि अमेरिकी साइडबाट गएका थियौँ। त्यो बेलाको रमाइलो अनुभव यी लाइनहरू कोरिरहँदा सम्झेँ। बुढाबुढीको अमेरिकाको यो यात्रा पहिलो थियो। म आफैँले भ्रमण योजना बनाएको थिएँ।
गीतालाई जसरी पनि नायग्रा फल्स जानुपर्ने। हाम्रो यो यात्रा अनौठो यसकारण थियो कि हामीले एक सहरमा २ दिन बस्ने गरी भ्रमण तालिका बनाएका थियौँ। यात्रामा सबैभन्दा कठिन हुने भनेको लगेजको व्यवस्थापन हो। लगेज बोक्दा बोक्दा हैरान हुने। त्यसकारण हामीले विमानस्थलमै ठूला लगेज लकरमा राख्ने र २ दिनलाई आवश्यक सामानहरूमा सानो लगेजमा बोक्ने गर्दथ्यौँ। जसले गर्दा सहर घुम्न सहज हुन्थ्यो तर पक्कै लकर शुल्क भने लाग्थ्यो नै।
प्रायः सबै एरपोर्ट तथा ट्रेन स्टेसनहरूमा लकरको सुविधाहरू हुन्छन्। विमानस्थलअनुसार प्रति दिन सहर तथा विमानस्थलअनुसार २० देखि ४० डलर शुल्क लाग्ने गर्दछ।
हामी वासिङ्टन डिसीबाट ट्रेनबाट नायग्रा फल्सको यात्रामा थियौँ। बुढीको पहिलो अमेरिकी यात्रा थियो, सबै किसिमका अनुभव गराउन चाहन्थेँ। यामट्राक अमेरिकाको सबैभन्दा ठूलो जालो भएको रेल कम्पनी। हामी मोइनिहान रेल हल भन्ने स्टेसनमा अर्को रेल चेन्ज गर्नुपर्ने थियो तर झुक्किएर हामी अर्को स्टेसनमा पुगेछौँ। फेरि हामीले रेलको रूट परिवर्तन गर्नुपर्ने भयो। हामी ट्रेनबाट ओर्लियौँ।
एक्कासि पानी पर्न थालेको थियो। हाम्रो यो यात्रा डिसेम्बर महिनाको अन्तिम दिनमा भएको थियो। स्टेसन भुलको कारण झन्डै हाम्रो यात्रा थप ५ घन्टा बढी लाग्यो। हामी नायग्रा फल्स राति १० बजे पुग्यौँ। नायग्रा फल्सको बसाइ जम्मा २ दिनको थियो। त्यो दिन सोचेभन्दा बढी चिसो, हावा चलेको थियो। भोलि बिहान झरना हेर्ने योजनाका साथ खाना खाएर सुत्यौँ।
हामी बिहान झरना हेर्न होटल बाहिर के निस्केका थियौँ, रातभरि झन्डै ५ फिटको हिउँले सहर भरिएछ। हवाईजहाज, रेल र सबै बसहरू बन्द भएको सूचना जारी भएको रहेछ। मैले ५ मिनेटमै हिँडेर झरना जान मिल्ने गरी नजिक होटल बुक गरेको थिएँ।
कोठामा फर्केर बाक्लो ज्याकेट भिरेर हामी झरना हेर्न निस्कियौँ। हामीले २०÷२५ पाइला पनि चाल्न सकेनौँ। हावाले हामीलाई घचेटेर अगाडि बढ्नको लागि हिँड्न नपर्ने। त्यसमा पनि अति चिसो हावा। हामी झरना जान सकेनौँ। होटल फर्कियौँ, खाजा लियौँ। दिनको १० बज्दा पनि उस्तै अवस्था थियो। हामीले उबर मगाएर झरना नजिक त पुग्यौँ तर झरना पूर्णतः जमेको थियो। डुंगाहरू सबै बन्द थिए। हामी २ मिनेट पनि बस्न सकेनौँ। केही फोटोहरू खिचेर होटल फर्कियौँ।
हाम्रो २ दिनपछि न्यूयोर्कमा साथीहरूसँग भेटघाटको कार्यक्रम थियो। होटलमा कुरा गर्दा झरनाको सबै गतिविधि खुल्नको लागि अर्को हप्ता नै लाग्न सक्छ भन्ने जानकारी पायौँ। उनीहरू भन्दै थिए, यो महिना यस्तो हिमपात कहिल्यै पहिला भएको थिएन र हुनु पनि पर्ने होइन। अब हामी न्यूयोर्क फर्कने निर्णय ग¥यौँ।
तर यातायातका सबै सेवाहरू बन्द थिए। सडक हिउँले भरिएको थियो। हामी फर्किनको लागि कम्तीमा हवाईजहाज, बस अथवा ट्रेनमध्ये एक त खुल्नु पर्ने भयो।
के गर्ने त? कोठामै बस्ने कि? हामी दोधारमा रह्यौँ। होटलको रिसेप्सनिस्टले हामी दुईको अनुहार र हाउभाउ देखेर होला…
‘देअर इज अ क्यासिनो जस्ट ३ मिनेट स्टेट हियर, यू क्यान गो एन्ड इन्जाय।’
‘ओ, रियली?’
‘एस।’
‘थ्याङ्क्यू।’
‘गीता जी जाने हो त?’
‘जाने त जाने तर खेल्ने होइन, हेर्ने मात्र।’
‘खेल्न त डलर हुनु प¥यो नि।’
हिँडेर जान दुई–तीन चोटिको प्रयास सफल नभएपछि उबर नै लिएर क्यासिनोतिर लाग्यौँ।
क्यासिनो त्यस्तो ठूलो थिएन। सरसर्ती घुम्यौँ, पन्ध्र–बीस मिनेटमा घुमेर सकियो। अब के गर्ने?
मैले सय डलर साटेँ। एक सेन्टको हिसाबले स्लट मेसिनमा बसेर घुमाउन थालियो।
पहिलो दिन तीन घन्टामा सय डलर सकियो। यो हाम्रो अमेरिकाको पहिलो क्यासिनोको अनुभव थियो। फेरि पनि हामी हिँड्न सकेनौँ, चिसो हावाको त्यो बहाव डरलाग्दो थियो। फर्कंदा पनि हामीले उबर नै लियौँ।
अर्को दिन पनि बाटो बन्द थियो। गीताको चाहनामा नायग्रा फल्सको फेमस मल ‘फेसन आउटलेट्स अफ नायग्रा फल्स’ बिहानको खाजा पछि उबरको सहायतामा भ्रमण गर्यौं। १ बजे किनमेल पश्चात् होटल फर्किएर खाना खायौँ।
हामीलाई दिन काट्न सहज थिएन। घुम्न आएको हामी पूर्णतः स्टक भएका थियौँ। होटलको कोठा, सपिङ मल र क्यासिनो, योभन्दा कुनै अर्को उपाय थिएन। यो दिन भने हामी रुममै बस्यौँ।
भोलिपल्टलाई भने ट्याक्सी, उबर र प्राइभेट कारहरू चलेको रहेछ। हामीसँग बसको टिकट थियो। न्यूयोर्कसम्म उबरको चार्ज पाँच–छ सय डलरभन्दा बढी थियो। हामी झरनाको सक्कली रूप पनि देख्न पाइन्छ कि भन्ने आसमा पनि एक दिन बस्ने भयौँ।
भोलिपल्ट बस सेवा सुरू भयो तर नायग्रा फल्स भने सुतेको थियो। न कुनै सुसाइ, न कुनै फायर, न कुनै रंगीविरंगी बत्तीको सजावट। बुढीको झरना देख्ने सपनालाई थाँती राखेर हामी न्यूयोर्क लागेका थियौँ।
पछि एक–दुई दिनपछि सामाजिक सञ्जालमा ‘Niagara Falls froze in 2016’ भनेर भाइरल भएका तस्बिरहरूले भने हामीलाई झनै रोमाञ्चित भएका थियौँ।
क्रमशः











