अघिल्लो वर्ष तिलिचो तालको यात्राले दिएको ऊर्जा र उत्साहको अनुभूति मनमा अझै ताजै थियो।
यस वर्ष कहाँ जाने भन्ने कुनै स्पष्ट योजना थिएन।
नेपालका विभिन्न ठाउँमा प्रकृतिले सजाएका गहनासरी गन्तव्यहरू सबै पुग्न पाए हुन्थ्यो भन्ने चाहना भने मनमा छ।
दसैंपछि केही दिनको समय निकालेर पूरा गर्न सकिने पदमार्गको खोजीमा थिएँ।
धेरै अघिदेखि नै रारा पुग्ने सपना मनमा थियो। तर तीन दिनको समयमै रारा पुगेर फर्कन सम्भव होला कि नहोला भन्ने द्विविधा थियो। एकातिर आफ्नो कार्यस्थलमा समयमै फर्किनुपर्ने जिम्मेवारी थियो भने अर्कोतिर रारा जाने कि छोटो समयमै पुगेर फर्कन सकिने अर्को कुनै गन्तव्य रोज्ने भन्ने अन्योल। मन रारातिर तानिइरहेको थियो, तर समय र जिम्मेवारीले निर्णय लिन दिइरहेको थिएन।
रारा पुग्नका लागि दुई वटा विकल्प थिए।
-1793432149.jpg)
पहिलो, नेपालगञ्जबाट सुर्खेत र कालिकोट हुँदै मुगुको सडकमार्गबाट ताल्चा नजिकैको सल्लेरीसम्म पुग्ने। बाटोको अवस्थाअनुसार यस यात्रामा एकदेखि दुई दिनसम्म लाग्न सक्थ्यो। सल्लेरीमा गाडी पार्किङ गरेर करिब दुई घण्टा पैदल हिँडेपछि रारा ताल पुग्न सकिने रहेछ। समय निकै कम भएकाले सडकमार्गबाट यात्रा गर्ने इच्छा हुँदाहुँदै पनि अर्को विकल्प खोज्न थालेँ।
मेरो लागि सहज विकल्प हवाई यात्रा नै थियो। तर नेपालगञ्जदेखि ताल्चासम्मको टिकट पाउन भने त्यति सहज थिएन। दसैंको टीकापछिको दिनका लागि नेपाल एयरलाइन्सको अनलाइन पोर्टलबाट टिकट काटिसकेको थिएँ। टिकट त हातमा थियो, तर उडान हुने हो कि होइन भन्ने अनिश्चितताले मनमा डर पनि थियो। तैपनि जसोतसो जहाज उड्छ भन्ने आशा गर्दै दसैंकै दिन आफ्नो यात्रा पक्का गरेँ।
भोलिपल्ट बिहानै दाङबाट नेपालगञ्जतर्फको यात्रा सुरू भयो। बिहान ७:५५ बजे नेपाल एयरलाइन्सको सानो जहाज 9N-ABU मार्फत ताल्चातर्फ उडान भरियो। करिब ४५ मिनेटको हवाई यात्रापछि समुद्री सतहबाट करिब १५० मिटर उचाइमा रहेको नेपालगञ्जबाट २,७३५ मिटर उचाइमा रहेको मुगुको ताल्चा विमानस्थल पुगियो। केही समयअघि मात्र समयमै फर्किन सकिएला कि नसकिएला भन्ने अन्योलमा रहेको म अब भने राराको नजिक पुगिसकेको थिएँ।
मनमा लामो समयदेखि सजिएको सपना बिस्तारै वास्तविकतामा बदलिँदै थियो। ताल्चा विमानस्थल वरिपरि २०–३० वटा घर भएको सानो बस्ती रहेछ। तीमध्ये धेरैजसो हवाईमार्गबाट आउने जाने पर्यटकलाई लक्षित गरेर बनाइएका होमस्टे थिए।
विमानस्थलबाट बाहिर निस्कँदै गर्दा नै यो दुर्गम ठाउँमा पनि पर्यटकको आवागमनलाई ध्यानमा राखेर बिस्तारै पर्यटन व्यवसाय विकास भइरहेको महसुस भयो।
ताल्चाबाट रारा तालसम्म पुग्न दुई वटा बाटा रहेछन्। एउटा सल्लेरी हुँदै रारा पुग्ने पदमार्ग थियो भने अर्को विमानस्थलबाट केही माथि उकालो लागेपछि जंगल भित्रबाट जाने बाटो। जाने बेला मैले सल्लेरी हुँदै जाने बाटो रोजेँ। सल्लाको घना जंगल छिचोल्दै अघि बढ्दा करिब दुई घण्टाको पैदल यात्रापछि रारा ताल पुग्न सकिने रहेछ।
-1793432149.jpg)
तर मेरो यात्राको गन्तव्य रारा तालमा मात्र सीमित थिएन। राराको सुन्दरता नियाल्नुभन्दा पहिले समुद्री सतहबाट अझ माथि रहेको मुर्माटपसम्म पुग्ने योजना थियो। त्यसैले रारा तालतर्फ जाने पदमार्गमा अघि बढिरहँदा पनि मेरो मन भने मुर्माटपको उचाइबाट देखिने राराको दृश्य कल्पना गर्दै थियो।
करिब दुई घण्टाको पैदल यात्रापछि राराको पहिलो झल्को देख्न पाएँ।
नीलो आकाशमुनि फैलिएको नीलो तालको दृश्य साँच्चिकै मनमोहक थियो। तर आजको गन्तव्य मुर्माटप भएकाले म त्यही दृश्यमा धेरै बेर अल्झिन सकिनँ र अघि बढिरहेँ।
रारा तालबाट नजिकै रहेको एउटा होटलमा फापरको रोटी र मह खाएर फेरि यात्रालाई निरन्तरता दिएँ।
करिब तीन घण्टाको ठाडो उकालो चढेपछि मुर्माटप पुगिँदो रहेछ। डाँडा चढ्ने क्रममा बीचमा मुर्मा गाउँ भेटियो।
यही गाउँको नामबाट मुर्माटपको नामकरण भएको बुझ्न सकिन्छ। गाउँका केही घरमा रहेका स्याउका बोटमा अझै स्याउ थिए।
जीवनमै पहिलोपटक बोटबाट सिधै स्याउ टिपेर खाने अनुभव पनि यही यात्रामा बटुलियो।
मुर्माटपभन्दा केही तल एउटा मात्रै रिसोर्ट रहेछ, रारा इको रिसोर्ट। त्यहाँबाट रारा तालको विशाल र मनमोहक स्वरूप देख्न सकिने रहेछ।
तर मुर्माटप पुगिसकेपछि भने दृश्य अझै फराकिलो हुँदो रहेछ। त्यहाँबाट रारा ताललाई अँगालेर उभिएका विशाल हिमशृङ्खलाहरूको दृश्यले यात्राको थकान नै बिर्साइदियो।
घरबाट हिँडेको पहिलो दिनमै गन्तव्यमा पुग्दा आफैलाई अचम्म लागिरहेको थियो। यति नजिक र सहजै पुग्न सकिने गन्तव्यमा यति ढिलो गरी आइपुगेछु भन्ने महसुसले केही पछुतो पनि भइरहेको थियो। आँखैअगाडि मुस्कुराइरहेको रारालाई हेर्दा भने मनमा छुट्टै शान्ति।
-1793432149.jpg)
-1793432149.jpg)
-1793432149.jpg)
-1793432149.jpg)