सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क कारको आयोजनामा आजदेखि तेस्रो स्पार्क एड्भेञ्चर सुरू भएको छ।
आज काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवी लगायत २०० भन्दा बढी सहभागी टोली सोलुखुम्बुका लागि प्रस्थान गरेको हो।
आजदेखि यही वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरी टाप र ओखलढुंगाको रुम्झाटारमा स्पार्क एड्भेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ।
‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा राजेश हमाल, क्याप्टेन विजय लामा, राजु लामा, आस्था राउत, सुनिता दुलाल लगायतका कलाकार सहभागी छन्।
'दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो,' स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने, 'सहभागीहरू विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ।'
काठमाडौंबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथा लगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो।
समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो। काठमाडौंबाट २३० किलोमिटरको दूरीमा रहेको गौरी टाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ।
चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरी टाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो। यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराहरुको दृश्यावलोकन गर्न सकिन्छ।
लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन्। धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ ।
स्पार्क एड्भेञ्चरको पहिलो दिन आज काठमाडौँबाट पात्तले गौरी टापसम्म विद्युतीय सवारीमा यात्रा हुनेछ भने सो दिनको बसाइ गौरी टापमा टेन्ट क्याम्पमा हुनेछ।