हङकङमा राज गुरूङ बार, क्लब र रेस्टुरेन्ट चलाउँछन्।
५३ वर्षीय राजको परिचय यति मात्र होइन। व्यवसायसँगै पछिल्ला केही वर्षयता उनको जीवनमा हिमाल पनि जोडिएको छ। सगरमाथादेखि एल्ब्रससम्मका शिखर चढिसकेका उनी अब सातवटै महाद्वीपका अग्ला शिखर आरोहण गर्ने लक्ष्यमा छन्।
'मेरो सपना सेभेन समिटको हो। जबसम्म शरीरले साथ दिन्छ, तबसम्म चढ्छु,' उनी भन्छन्।
राज सन् १९९६ मा काम खोज्दै हङकङ छिरेका थिए।
उनी नेपालमा रेस्टुरेन्ट व्यवसायका साथै सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्थे। हङकङमा पनि सुरूमा एक कम्पनीमा डेटा इन्पुटको काम गरे। पछि फुड एन्ड वेभरेज उद्योगतर्फ प्रवेश गरे।
अनि हस्पिटालिटी क्षेत्रमा काम गर्दागर्दै उनले आफै लगानी गरेर व्यवसाय थाले।
'एक जना डच (नेदरल्यान्ड्स) का व्यवसायीले मलाई लगानीको अवसर दिए। उनलाई म आफ्नो गडफादर पनि मान्छु। उनले मलाई ५ प्रतिशत लगानी गर भनेर आँट दिएका थिए,' उनले सुनाए, 'हङकङमा व्यवसाय गर्न भने ठूलो लगानी चाहिन्छ।'
ती डच नागरिकले दिएको आँटपछि व्यवसायमा होमिएका राजका अहिले हङकङमा आफ्नै रेस्टुरेन्ट, बार र दुइटा क्लब छन्।

'न्यु मकाती' नामको एक क्लब करिब ४० वर्ष पुरानो हो जुन उनले कोभिडको समयमा किनेका हुन्। अर्को क्लबको नाम 'इस्केप' हो।
त्यस्तै, '१०९' नामको स्पोर्ट्स बार खुलेको २० वर्ष भइसकेको छ। 'ब्रिज' नामक थाई रेस्टुरेन्ट भने पहिले 'वन थाई' नाममा सञ्चालित थियो। राजले किनेर यसको नाम फेरेका हुन्।
उनको 'प्लेयर्स' नामक लाइभ ब्यान्ड पनि छ।
राजका व्यवसायमा विनोद गुरूङ र ईश्वर राई साझेदार छन्। व्यवसाय ठिकठाक चलिरहेको उनले बताए।
'कोभिडअघि जसरी भने चल्न सकेको छैन। मान्छेलाई कोभिडले गर्दा पैसा जोगाउनुपर्छ भन्ने भएको छ,' उनले भने।
हङकङ महँगो सहर हो। २४ सै घण्टा जागा रहन्छ। त्यसैले राजका बारहरू पनि २४ घण्टा सञ्चालन हुन्छन्।
'हङकङमा युवाहरू रक्सी खाएर हिँड्नेभन्दा पैसा बचाउनेतर्फ बढी केन्द्रित हुन्छन्,' उनले भने, 'बारमा बस्ने भनेको ३० देखि ५० वर्ष उमेरका चिनियाँ र विदेशीहरू हुन्छन्। नेपालीहरू त बारतिर खासै भेटिँदैनन्।'
राजका अनुसार उनका सबै व्यवसायमा करिब १५० जनाले रोजगारी पाएका छन्। जसमध्ये धेरैजसो ब्रिटिस, फिलिपिनो र इन्डोनेसियनहरू छन्। केही नेपालीहरू पनि छन्।
'मेरो क्षेत्र हस्पिटालिटी हो। यो क्षेत्रमा नेपालमै केही गर्ने एउटा सोच बनाएको छु,' उनले भने, 'रेस्टुरेन्ट, बार वा क्लब खोल्ने राम्रो ठाउँ भेटिन्छ कि भनेर अध्ययन गर्दैछु।'

तर नेपालमा व्यवसाय गर्न प्रणालीगत कठिनाइ रहेको उनको अनुभव छ।
हङकङमा व्यवसाय गर्न तुलनात्मक रूपमा सजिलो रहेको र लाइसेन्सका लागि स्पष्ट मार्गदर्शन हुने उनले बताए।
अहिले हिमालमार्फत उनी नेपालसँग फेरि नजिकिएका छन्। पछिल्लो तीन वर्षमा उनले सगरमाथा, अमादब्लम, यालुङ री, लोबुचे, आइल्यान्ड पिकलगायत हिमाल आरोहण गरिसकेका छन्। युरोपको सबैभन्दा अग्लो शिखर एल्ब्रस पनि उनले चढिसकेका छन्।
अब सातवटै महाद्वीपका सबैभन्दा अग्ला शिखर 'सेभेन समिट' आरोहण गर्ने उनको लक्ष्य छ।
सेभेन समिट अन्तर्गत अफ्रिकाको किलिमन्जारो, एसियाको सगरमाथा, उत्तर अमेरिकाको डिनाली, दक्षिण अमेरिकाको अकोन्कागुआ लगायत सात वटा महाद्वीपका अग्ला शिखर आरोहण गर्नुपर्छ। उनी अर्को वर्ष अलास्काको डिनाली चढ्ने योजनामा छन्।
हिमाल आरोहण केही प्रमाणित गर्न वा देखाउन नभई आफ्नो रहर भएको उनको भनाइ छ।
'मलाई हिमाल चढेर केही प्रमाणित गर्नु होइन, तर यो लत रहेछ। हिमालतिर तानिँदै गएपछि हिमाल चढ्ने लत नै हुने रहेछ भन्ने लागेको छ,' उनले भने।
हङकङ गएको झन्डै तीन दशकपछि नेपाल फर्किँदा नगरकोटबाट देखिएको हिमालले आफूलाई आरोहणका लागि प्रेरित गरेको उनको भनाइ छ।
'म हङकङ गएको २८ वर्षपछि सन् २०२३ मा नेपाल फर्किएको थिएँ। देश–विदेश घुमिरहे पनि नेपाल आउने अवसर जुरेको थिएन। नेपाल आएपछि नगरकोट पुगेँ। त्यहाँबाट हिमाल देख्दा जसरी हुन्छ, त्यहाँ पुग्न पाए हुन्थ्यो भन्ने लाग्यो। हिमालले मलाई तान्यो,' उनले सुनाए।
त्यसपछि नै हो उनको हिमाल यात्रा सुरू भएको। सुरूमा उनी सगरमाथा बेसक्याम्पसम्म पुगे।
त्यसपछि उनले पहिलो पटक आइल्यान्ड पिक आरोहण गरेका थिए।
उनको सगरमाथा आरोहण यात्रालाई केन्द्रमा राखेर 'रोड टु एभरेस्ट' नामको वृत्तचित्र पनि बनाइएको छ। त्यसमा सगरमाथा आरोहणको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गरिएको छ।
