कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमालेका सचिव शेरधन राईले आफूहरू सरकारमा रहेको समयमा सोचे अनुसार काम हुन नसक्नु विशेषगरी पूर्व गोर्खाहरूका समस्या र गैरआवासीय नेपालीहरूको नागरिकता लगायतमा जायज मुद्दालाई सम्बोधन गर्न नसक्नु गल्ती भएको स्वीकार गरेका छन्।
प्रवासी नेपाली मञ्च युके, साउथ वेष्ट कमिटीद्वारा आइतबार फ्लिट ह्यामसायरमा आयोजित आफ्नो सम्मान, स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राईले यस्तो आत्मसमीक्षा गरेका हुन्।
उनी व्यक्तिगत कामको शिलसिलामा विगत २ हप्तादेखि बेलायत भ्रमणमा छन्।
मञ्चको साउथ वेष्ट कमिटीका अध्यक्ष प्रमिश शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राईले भने, 'विगतमा हामी सरकारमा रहँदा गोर्खाहरूको जायज माग र नागरिकता, मताधिकार जस्ता प्रवासीहरूको साझा विषयमा ठोस निर्णय लिनुपर्ने थियो, तर विभिन्न कारणले त्यसलाई सम्बोधन गर्न सकिएन। सरकारमा हुँदा पनि यो विषय टुङ्ग्याउन नसक्नु हाम्रो कमजोरी थियो, यसमा म गल्ती महसुस गर्दै पार्टीले अब स्पष्ट अवधारणा सहित ठोस रूपमा यी विषयहरूमा काम गर्ने उनले बताए ।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले प्रवासमा रहेका नेपालीहरूको समस्या र नेपाल सरकारबाट अपेक्षित सहयोगका बारेमा धारणा राखेका थिए।
एनआरएन लगायतले लामो समयदेखl पैरवी गर्दै आएको नागरिकताको निरन्तरता, आमागी संविधान संशोधनमा वंशजको नागरिकता कायम राख्न तथा प्रवासीका विविध विषयमा नेता राईको ध्यानआकर्षण गराएका थिए।
कार्यक्रमका वक्ताहरूले दोहोरो नागरिकताको सुनिश्चितता, गोर्खाहरूको समान अधिकार र समसामयिक राजनीतिक मुद्दाहरूमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।