‘परेलीमा’, ‘सम्बोधन’, ‘पहिलो जुनीमा’ जस्ता गीत नसुन्ने नेपाली संगीतप्रेमी सायदै होलान्।
कुनै बेला क्यासेट र रेडियोमा सुनिने यी गीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।
यिनै गीतमार्फत् धेरै नेपालीको मन जितेको नेपाली रक ब्यान्ड १९७४ एडी अब पहिलोपटक क्यानडाको टोरन्टोमा गुञ्जिने भएको छ।
आगामी नोभेम्बर ६ मा टोरन्टोस्थित क्विन एलिजाबेथ थिएटरमा ब्यान्डले प्रस्तुती दिँदैछ।
लामो समयदेखि १९७४ एडीका गीत सुन्दै आएका क्यानडावासी नेपालीका लागि यो एउटा विशेष सांगीतिक साँझ बन्ने अपेक्षा ब्यान्ड सदस्यहरूले गरेका छन्।
विदेशमा बस्दा आफ्नो देशको सम्झना दिलाउने धेरै कुरा हुने र त्यसमध्ये संगीत पनि एक भएको ब्यान्डका संस्थापक निराकार याक्थुम्बाले बताए।
'क्यानडाको यो पहिलो सांगीतिक प्रस्तुति हाम्रो लागि एकदमै महत्त्वपूर्ण अवसर हुनेछ,' उनले भने, 'नेपालमा मात्रै होइन, विदेशमा रहेका नेपालीमाझ पनि १९७४ एडीका गीतले उत्तिकै माया पाउँदै आएको छ। त्यहाँ पनि दर्शकहरू उत्तिकै उत्साहित हुनुहुन्छ भन्ने अपेक्षा छ।'
गायक एड्रियन प्रधानले विशेषगरी अध्ययन र रोजगारीका लागि विदेश पुगेका नेपालीलाई ब्यान्डको गीतले छुने गरेको बताए।
'हाम्रा गीतले परदेशमा बस्दा आफ्नै देश र साथीभाइको याद दिलाउने दर्शक स्रोताहरूले बताउने गर्नुभएको छ,' उनले भने, 'टोरन्टोमा हुने कार्यक्रममा उहाँहरूलाई विदेशमै बसेर नेपालीपन बाँड्न सकियोस् भन्ने आशा छ।'
पुराना दिनका सांगीतिक सम्झना फेरि ताजा गराउने फिरोज स्याङ्देनले बताए।
१९७४ एडीको संगीत सुनेर हुर्किएको पुस्तादेखि अहिलेका नयाँ श्रोतासम्मलाई एउटै ठाउँमा जोड्ने अवसरका रूपमा पनि यस कार्यक्रमलाई लिन सकिने उनको भनाइ छ।
तर यसपटकको ‘रक यात्रा’ गीतसंगीत र मनोरञ्जनमा मात्रै सीमित नभएको ब्यान्डका म्यानेजर अनुज केसीले बताए।
नेपालमा बाढीका कारण प्रभावित भएका परिवारलाई सहयोग गर्ने उद्देश्य पनि कार्यक्रममा जोडिएको छ। बिक्री हुने प्रत्येक टिकटबाट ३ क्यानेडियन डलर बाढीपीडितको राहतका लागि छुट्याइने उनको भनाइ छ।
'यो सांगीतिक यात्रा मनोरञ्जनसँगै सामाजिक जिम्मेवारीको सन्देश पनि हो', उनले भने।
विदेशमा बसेर आफ्नो देशका लागि केही गर्न चाहने नेपालीलाई यस्ता कार्यक्रमले सहयोग गर्ने अवसर समेत दिने उनको भनाइ छ।
'रकम ठूलो वा सानोभन्दा पनि अप्ठ्यारोमा परेका मानिसलाई सम्झनु र सकेको सहयोग गर्नु महत्त्वपूर्ण कुरा हो,' उनले भने, 'यसअघि अष्ट्रेलियामा गरिएका प्रस्तुतिबाट पनि हामीले सहयोग गर्ने प्रतिबद्धता जनाएका थियौं। जुन चाडै नै सार्वजनिक पनि गर्नेछौं।'
क्यानडामा नेपाली समुदायको उपस्थिति बढ्दै गएको छ। अध्ययन, रोजगारी र विभिन्न अवसरका लागि पुगेका नेपालीलाई यस्ता सांगीतिक कार्यक्रमले एकै ठाउँमा भेला हुने अवसर दिने उनको विश्वास छ।
हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह रहेका छन्।