मंगलबार धितोपत्र बोर्डले सेयर लगानीका लागि ५१ वटा कम्पनी जोखिमयुक्त रहेको भनी विज्ञप्ति जारी गर्यो।
साथै लगानीकर्तालाई सुझबुझपूर्ण लगानी गर्न आग्रह गर्यो। बजारमा ‘ब्लुचिप’ ठानिएका कम्पनीहरु समेत सूचीमा परे। वाणिज्य बैंकबाहेक सबै समूहका कम्पनीहरु बोर्डले जोखिम ठानेका कम्पनीभित्र परेका छन्।
यसले बुधबार बजार खुलेदेखि नै असर पार्यो। बोर्डले जोखिम ठानेका कम्पनीहरु मात्रै यस दिन घटेनन् अरु कम्पनीका लगानीकर्ता पनि गुमाउनेमा अगाडि रहे।
यस दिन ५१ कम्पनीको मात्रै मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्य घटेको छ। समग्रमा लगानीकर्ताले १ खर्ब ८१ अर्ब रुपैयाँ गुमाएका छन्। हिजोसम्म कुल सूचीकृत सेयरको बजार मूल्य अर्थात लगानीकर्ताकाे सम्पत्ति मूल्य ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा बुधबार ३९ खर्ब ९० अर्ब रुपैयाँमा झरेको छ।
यस दिन सबैभन्दा धेरै गुमाउनेमा गोर्खा फाइनान्स, जोशी हाइड्रो, नेसनल हाइड्रो, छ्याङदी हाइड्रो, आँखु खोला जलविद्युत, बेस्ट फाइनान्स, पन्चकन्या माइ हाइड्रो, घलेम्दी हाइड्रो, पोखरा फाइनान्सको मूल्य करिब १० प्रतिशतले घटेको छ।
यस दिन नेप्से परिसूचक ५२.३९ अंकले घटेको हो। सो अंकको कमीपछि परिसूचक २९६९ अंकमा झरेको छ।
धितोपत्र बोर्डले विज्ञप्ति निकालेपछि त्यसको लगानीकर्ताले विरोध जनाएका छन्।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले ५१ वटा कम्पनीको नामै तोकेर जोखिम छन् भन्नु गलत रहेको बताए। बोर्डले तोकेका धेरै कम्पनी राम्रो रहेको उनले बताए।
सूचीकृतमध्ये २० प्रतिशत बढी कम्पनीबारे बोर्डले दिएको अभिव्यक्तिले बजार प्रभावित पार्न खोजिएको उनले बताए।
उनले भने ‘नियामक आफैले जोखिम भनेर एकाएक कम्पनीको नाम तोक्नु हुँदैनथ्यो, खराब गरेका, नियमित साधारणसभा बस्न नसकेका, वित्तीय विवरण सार्वजनिक नगरेका कम्पनीहरुलाई वहाँहरुले कारबाही गरे भइहाल्थ्यो नि’ रौनियारले भने।
खुला बजारले नै सेयरको मूल्य निर्धारण गर्ने भएकाले यसतर्फ कसैले पनि विवाद गर्नु नपर्ने उनले बताए। अरु अन्तर्राष्ट्रिय नियामक कसैले नगरेको काम बोर्डले गरेको उनले टिप्पणी गरे।
बोर्ड आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल बताउँछन्। ‘खुल्ला बजारमा नियामकले यो यो कम्पनी जोखिम छन् भनेर नियन्त्रण गर्न खोज्नु नै गलत हो, बोर्डको क्षेत्राधिकार होइन’ सेतोपाटीसँगको कुराकानीमा अर्यालले भने।
बोर्डले देखाएका केही सूचक मात्रै लगानीका लागि पर्याप्त नरहेको उनले बताए। यसले लगानीकर्ताको हितभन्दा अहित भएको उनको बुझाई छ।
आवश्यक पूर्वाधार बनाउन र विस्तार गर्न छाडेर कम्पनी जोखिम भए/नभएको हेरेर बस्नु नियामकीय व्यवस्थाबाहिरको विषय रहेको लगानीकर्ताको बुझाई छ।
‘नेप्सेको वेबसाइटमा बारम्बार समस्या आउँछ, टिएएमस राम्ररी चल्दैन, इडिआइएस गर्न बारम्बार समस्या छ ती विषयमा चिन्ता छैन, ब्रोकर कमिसन महँगो छ, त्यसमा कुनै मतलब छैन’ उनले भने ‘त्यस्ता विषयमा पो उहाँहरुले चासो दिनुपर्ने हो।’