ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका १७५ कर्मचारीहरूलाई सम्मान गरेको छ।
बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरूलाई सम्मान गरिएको हो।
काठमाडौंमा आयोजित विशेष समारोहबिच बैंक सञ्चालक समितिका अध्यक्ष ढकाल लगायत सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीरूलाई सम्मान गरे।
सम्मान समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए।
उनले १९ वर्ष पहिले १९औं वाणिज्य बैंकको रूपमा स्थापना भएको यस ग्लोबल आइएमई बैंकले स्थापनाको १९ वर्षमा नै आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए।
उनले बैंक वा कुनै पनि संस्था सफल हुनका पछाडि नेतृत्वका साथै सम्पूर्ण टिमको सहकार्य, मेहेनत र लगनशीलताको उत्तिकै महत्त्व हुने बताउदै सम्पूर्ण कर्मचारीहरूलाई अझ लगनशील भएर आफ्नो कर्तव्य पालना गर्न आग्रह गरे।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पुर्याएको योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद समेत प्रकट गरे।
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।