नेपाल बंगलादेश बैंकलाई गाभ्न नबिल बैंकले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ। बुधबार बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिले यस्तो स्वीकृति दिने निर्णय गरेको बुझिएको छ।
नबिल बैंकको १ कित्ता सेयर बराबर बंगलादेश बैंकको ०.४३ अनुपात हुने गरी प्राप्ति हुन लागेको हो। अर्थात् अब नेपाल बंगलादेश बैंकको १ सय कित्ता सेयर हुने सेयर धनीले नबिल बैंकको ४३ कित्ता सेयर पाँउनेछन्।
नेपाल बंगलादेश बैंकलाई नबिलले प्राप्ति गरेपछि बन्ने बैंकको नाम नबिल बैंक नै रहनेछ। यो प्राप्तिपछी नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रूपैयाँ हुनेछ। हाल नबिल बैंकको १८ अर्ब ४९ करोड चुक्ता पुँजी छ भने नेपाल बंगलादेश बैंकको १० अर्ब ८ करोड चुक्ता पुँजी छ।
चुक्ता पुँजीको आधारमा नबिल दोस्रो ठूलो बैंक बन्नेछ। खुद ब्याज आम्दानी, कुल सञ्चालन आय, सञ्चालन आम्दानी, नाफालगायतका आधारमा निजी क्षेत्रको पहिलो बैंक भएको कम्पनीको दाबी छ। हालसम्म बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुंगाना रहने सहमति भएको छ।
प्राप्ति पछि नबिल बैंकको शाखा संख्या २ सय ४८ पुग्नेछ। हाल नबिल बैंकको एक सय ४८ र नेपाल बंगलादेश बैंकको करिब एक सय शाखा छन्। प्राप्ति पछि नबिल बैंकको निक्षेप संकलन ३ खर्ब १६ अर्ब रूपैयाँ र कर्जा लगानी २ अर्ब ९७ करोड रूपैयाँ पुग्नेछ।
नबिल बैंकको सञ्चालक समितिमा नेपाल बंगलादेश बैंकबाट एक जनाले प्रतिनिधित्व गर्ने सम्भावना छ। कुल ७ सदस्यीय सञ्चालक समिति हुनेछ। नेपाल बंगलादेश बैंकमा रहेको आइएफआइसी बैंक, बंगलादेशको सेयर यसअघि नै नबिल बैंकका प्रवर्द्धन तथा अर्बपति विनोद चौधरीकी श्रीमतिको नाममा खरिद गरिसकिएको छ। आइएफआइसी बैंकको नेपाल बंगलादेश बैंकमा ४०.९० प्रतिशत सेयर थियो।
अब प्राप्ति पछि बन्ने नबिल बैंकमा पनि चौधरी समूहको सेयर करिब ४९ प्रतिशत बराबर हुनेछ। हाल नबिल बैंकमा बिनोद चौधरी, शारिका चौधरी, निर्वाण चौधरीको २.२८ प्रतिशत सेयर छ। चौधरी समूहको कम्पनी एनबी (इन्टरनेशनल) लिको नामबाट पनि ४८.६९ प्रतिशत सेयर छ। प्राप्ति पछि दुवै तर्फको सेयर स्वामित्व पछि करिब ४८.८८ प्रतिशत हुने भएको छ।