प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरूको आशंका कायम रहेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) माथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएका हुन्।
नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरूले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए।
सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको समेत उनले बताए।
उनले भने,‘हामीसँग भेदभाव गरियो। प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ। त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन। सभामुखमाथि हाम्रो आशंका छ। सभामुख जीले ल आऊ बैठक भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईंहरू पुछ्नुस्।’
उनले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गरे।
प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उनले बताए।