नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार सानेपास्थित पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिमाथि भएको व्यवहार गलत भएको बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार कार्यसम्पादन समिति बैठक थियो। बैठकस्थलमा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले प्रदर्शन गरेका थिए।
बैठकमा सहभागी हुन गएका नेता निधिलाई कार्यकर्ताहरूले घेरेर विशेष महाधिवेशन हुन्छ कि हुँदैन भन्दै सोधेका थिए।
विधिबाहिर जाने कुनै बाटो नभएको भन्दै थापाले घटनाबारे पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा व्यक्त गरेको धारणासँग आफू सहमत रहेको स्पष्ट गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले असल प्रजातन्त्रवादीले 'सत्यको अनेकता' मा विश्वास गर्ने र फरक मत राख्ने व्यक्तिको सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्।
फरक विचार राखेकै कारण कुनै घटना भएको हो भने त्यो झनै निन्दनीय हुने उनको भनाइ छ।
उनले नेपाली कांग्रेस परिवर्तन चाहने पार्टी भएको उल्लेख गर्दै परिवर्तनको चाहनामा विधि, विधान र प्रक्रियाभन्दा बाहिर जाने कुनै बाटो नरहेको स्पष्ट पारेका छन्।
महामन्त्री थापाले पार्टीभित्र देखिने असहमतिका विषयलाई पनि प्रक्रियामै समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
साथै, उनले समग्र नेपाली कांग्रेसका शुभेच्छुकहरूलाई सम्बोधन गर्दै प्रक्रियामा विश्वास गर्न आग्रह गरेका छन्।
'हामी सबै परिवर्तन चाहन्छौं, तर त्यो परिवर्तन विधि र प्रक्रियाबाट मात्रै सम्भव छ,' उनले भनेका छन्।
उनले सबै कांग्रेसजन एकताबद्ध भएर अघि बढ्नुपर्ने पनि बताएका छन्।