राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारमा छँदा थुप्रै राजनीतिक तथा सामाजिक समूहले उनलाई भेटेका थिए। तीमध्ये एउटा समूह यस्तो थियो, जसलाई स्वयं रविले भेट्न चाहेका थिए।
रविले कारागारमै छँदा आफ्नै पहलमा भेटेर संवाद गरेको त्यो समूह थियो — थरूहट आन्दोलनमा लागेका अभियानीहरू।
तिनै थारू अभियानीसँग सोमबार ९ बुँदे सम्झौता हस्ताक्षर क्रममा रविले यो जानकारी दिएका हुन्।
सँगसँगै, उनले आफू सञ्चारकर्मी भएका बेला थरूहट आन्दोलन र टिकापुर घटनालाई लिएर दिएका अभिव्यक्तिले थारू समुदायको मन दुखाएको भन्दै माफी पनि मागेका छन्।
रविले जेलमै छँदा इच्छा गरेर भेटेको समूहका बारेमा त्यस्तो के अभिव्यक्ति दिएका थिए, जसलाई लिएर उनले वर्षौंपछि माफी माग्नुपर्यो?
संविधान निर्माण बेला असन्तुष्ट थारूहरूले गरेको आन्दोलन क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा हिंसात्मक घटना भयो, जसमा ८ जना प्रहरी र एक नाबालकको ज्यान गयो।
उक्त घटना राजनीतिक हो कि आपराधिक हो भन्नेमा अझैसम्म मतभेद छन्।
टिकापुर घटनामा मारिएका प्रहरी परिवारले थारू आन्दोलनका नेता रेशम चौधरी लगायतविरूद्ध हत्या गरेको भन्दै जाहेरी दिएका थिए। उक्त जाहेरीमाथि प्रहरीले अनुसन्धान गरेपछि मुद्दा अदालतसम्म पुग्यो।
जिल्ला अदालतले टिकापुर घटनामा संलग्न भन्दै रेशम चौधरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जन्मकैदको सजाय सुनाएपछि उनी पक्राउ परेका थिए।
पछि तत्कालीन सरकारले उक्त घटनालाई 'राजनीतिक' भन्दै मुद्दा फिर्ता लिएपछि त्यसविरूद्ध सर्वोच्चमा रिट पर्यो।
सर्वोच्चले उक्त घटनालाई 'राजनीतिक नभएको' भन्दै व्याख्या गरेको थियो।
'लोकतन्त्रमा आफ्ना कुरा शान्तिपूर्ण र संगठित रूपमा राख्न पाइन्छ। तर त्यस्तो कार्यले शान्तिपूर्ण मार्ग छाडी जब हिंसाको सहारा लिन्छ, मुलुकको फौजदारी कानुनले आफ्नो बाटो पक्रिन्छ,' फैसलामा भनिएको छ, 'कुनै पनि बहानामा हिंसामा सहभागी हुने, उक्साउने, दुरूत्साहन गर्ने, त्यसका लागि षड्यन्त्र गर्ने, योजना बनाउने वा अन्य कुनै तरिकाले सहभागी हुने कार्यलाई मुलुकको फौजदारी कानुनले सहँदैन। यसबारे सबै स्पष्ट हुनु जरूरी छ।'
टिकापुर घटनामा अन्तिम फैसला गर्दा सर्वोच्चले व्याख्या गर्दै भनेको थियो — 'फौजदारी कानुन उल्लंघनको विषयलाई राजनीतिक सहमति, राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधका नाममा मुद्दा चलाउनै नमिल्ने भन्नु वा त्यसरी चलाइएका मुद्दालाई राजनीतिक सौदाबाजीको रणनीतिअन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्य–मान्यता र कानुनी व्यवस्था समेतको उल्लंघन र उपहास हुने गरी माफी–मिनाहा दिने कार्य गर्नु मुलुकको संविधान, कानुन र न्यायका मान्य सिद्धान्तहरूको हाकाहाकी विपरीत देखिन्छ।'
त्यही बेला जब टिकापुर घटनालाई 'राजनीतिक' भन्दै मुद्दा फिर्ता लिने चर्चा चलेको थियो, रवि लामिछानेले आफ्नो टेलिभिजन शोमा उक्त निर्णयको विरोध गरेका थिए। यो २०७४ सालको कुरा हो।
'राज्यले, सरकारले र राजनीति गर्ने हरेक राजनीतिज्ञले जनतालाई आफ्ना छोराछोरीसरह सम्झन सक्नुपर्छ। पैसा, पावर र स्वार्थका लागि बाबु–आमाले आफ्ना छोराछोरी बेच्दछन्? ठिक त्यस्तै, टिकापुर घटनालाई सरकार र मन्त्रिपरिषदले राजनीतिक घटना भन्दै दुस्साहस गर्दैछन् रे। सत्ता टिकाउन र भत्ता पचाउन गु र गोबर पनि चिन्न छाड्नुपर्यो कि क्या हो? राजनीति र अपराधको परिभाषा थाहा छैन?' उनले उक्त शोमा भनेका थिए।
'सत्य, सेवा र सुरक्षण भन्दै अहोरात्र जनताको जीउधनको रक्षा गर्न खटिएका ८ जना राष्ट्रसेवक मारिए। भाला रोपेर, लखेटी लखेटी तानेर निर्मम हत्या गरिएका राष्ट्रसेवकका विधवा पत्नी र टुहुरा सन्तानको आँखामा आँखा जुधाएर भन सरकार — टिकापुर घटना राजनीतिक हो? आमाको काखमा रमाउँदै दूध खाँदै गरेका अबोध बालकको मृत्यु हुँदा वेदनाले ढलेकी र बेहोस भएकी उनकी आमाको होस अझैसम्म राम्रोसँग खुलेको छैन। यी आमाको आँखामा आँखा जुधाएर भन सरकार — टिकापुर घटना राजनीतिक हो कि एउटा अमानवीय, हिंस्रक र जघन्य अपराध?'
उनले अगाडि भनेका थिए, 'मधेस र थारूहरूप्रतिको विभेदको अन्त्य हुनैपर्छ। मधेसी दाजुभाइ दिदीबहिनीहरूका जायज माग र मुद्दालाई सत्तामा पुग्ने भर्याङ बनाइरहेकाहरूको पहिचान गर, सरकार। यो देशको परिवर्तनमा मधेसले पनि तातो रातो रगत बगाएको छ। तर एम्बुलेन्सबाट थुतेर, लखेटी लखेटी मानिस मारेको घटना राजनीतिक होइन, अपराध हो भन्न नसक्ने हुतीहाराहरू कदापि यो मुलुक र मुलुकवासीका अभिभावक बन्न सक्दैनन्।'
आज आठ वर्षपछि रवि र उनी नेतृत्वको रास्वपा त्यही ठाउँमा उभिएको छ, जुन ठाउँमा त्यति बेला उभिएका दलहरूको रविले सञ्चारकर्मीका रूपमा खेदो खनेका थिए।
टिकापुर घटनालाई 'आपराधिक हिंसा' हो भन्दै तत्कालीन सरकारको आलोचना गरेका रविले त्यसलाई राजनीतिक घटनाका रूपमा स्वीकार गरेका छन्।
रास्वपाले थारू अभियानीहरूसँग सोमबार गरेको सम्झौताका ९ बुँदामध्ये पाँचौं बुँदामा स्पष्ट भनिएको छ — 'टिकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति–सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने।'
यति मात्र होइन, सोमबार रास्वपामा मिसिएका लक्ष्मण थारू तिनै व्यक्ति हुन्, जसलाई सर्वोच्च अदालतले टिकापुर घटनामा संलग्न भन्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। घटनाको केही समयपछि नै पक्राउ परेका थारू २०७५ सालमा जेलमुक्त भएका थिए।
केही समय नागरिक उन्मुक्ति पार्टीमा रहेका लक्ष्मण सहितको समूह पछिल्लो समय अलग बसेको थियो।
रविले लक्ष्णमसहित तिनै थारू अभियानीहरूसँग सम्झौता हस्ताक्षर मात्र गरेका छैनन्, आफ्नो त्यति बेलाको अभिव्यक्तिलाई 'बुझाइको कमी' भन्दै माफी पनि मागेका छन्।
'विशेषगरी थरूहट आन्दोलन, थारू आन्दोलन र टिकापुर घटनालाई लिएर म सञ्चारकर्मी रहँदा मेरो सूचनाको दायरा आज जति फराकिलो थिएन। मेरो बुझाइको दायरा कम हुँदा मैले कहीँ–कतै मन दुखाएको छु भन्ने महसुस भएको छ। यो पावन तथा ऐतिहासिक दिनमा मन दुखेका सबैप्रति हृदयदेखि क्षमायाचना गर्न चाहन्छु,' उनले सोमबार आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभामा भने, 'सिक्ने र समृद्ध हुने क्रममा म आफूलाई एउटा सिकाइरत नागरिक र राजनीतिककर्मीका रूपमा परिष्कृत पार्ने यात्रामा अघि बढेको छु।'
'यी मात्र होइन, धेरै कमी–कमजोरी भएका छन्। तिनैले मलाई पाठ पढाएका छन्,' उनले भने।
***