गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा जाँदा राष्ट्रिय जनमोर्चालाई फाइदा भएको छ।
सत्तारूढ गठबन्धनले १९ पद भागबन्डा गरेर उम्मेदवार उठाउँदा लुम्बिनीबाट तुलप्रसाद विश्वकर्मा उम्मेदवार बनेका थिए।
एक प्रदेश सभा सांसद र पालिकाबाट चार जना मतदाता रहेको जनमोर्चाले पहिलोपटक राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने अवसर पाएको हो।
जनमोर्चाका उम्मेदवार विश्वकर्माले सत्ता गठबन्धनको (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी) मत पाएरै जितेका हुन्।
रूपन्देहीका तुलप्रसादले दलित समूहतर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुन प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका कृष्ण सुनारलाई पराजित गरे।
प्रदेशसभामा ६६ सदस्य र स्थानीय तहमा ८८ पदाधिकारी रहेको एमालेका उम्मेदवार सुनारलाई हराउँदा तुलप्रसादले ४५ प्रदेशसभा सदस्य र स्थानीय तहका १२२ जना पदाधिकारीको मत पाएका थिए।
निर्वाचित भएपछि विश्वकर्माले लामो बलिदानीबाट प्राप्त गणतन्त्र र संघीयतामाथि हुन थालेको प्रहार रोक्नको लागि गठबन्धनको जितले सहज तुल्याएको प्रतिक्रिया दिए।
उनले भविष्यमा पनि अहिलेको दलीय गठबन्धन आवश्यक रहेको बताए।
१९ पदमध्ये जनमोर्चाले एक पदमा उम्मेदवार उठाएको थियो।
जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सांसद छिन्। उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभा सांसद छिन्।