प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुटका घटनालाई लिएर सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाममाथि संशय व्यक्त गर्न नहुने बताएका छन्।
शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममा छलफल गर्दा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन २०७९ शान्तिपूर्ण ढंगले सम्पन्न भएको बताएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन सम्पन्न भएपछि प्रश्न उठाएको थियो। देशभर एकैपटक सम्पन्न गर्नु चुनौतीपूर्ण भएको प्रधानमन्त्री देउवाले बताए।
‘निर्वाचनको निष्पक्षता बारेमा केही माननीय सदस्यहरूले चासो राख्नुभएको छ। यस सम्बन्धमा सरकारको धारणा स्पष्ट राख्न चाहन्छु। देशभर एकै पटक एकै साथ सम्पन्न निर्वाचन चुनौतीपूर्व विषय हो। साधन र स्रोतको सीमितताका बीच पनि निर्वाचन शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ,’ उनले भने, ‘छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्न उचित हुँदैन। सार्वभौम जनता नै निर्णयक शक्ति भएकाले जनमतको कदर गर्नु विकल्प छैन।’