संसारमा विभिन्न देशमा अहिले पेट्रोल–डिजेलबाट चल्ने गाडी हटाउने लहर छ।
जर्मनी, बेलायत, नेदरल्यान्ड्स, डेनमार्क लगायतका युरोपेली मुलुकदेखि चीन र भारतसम्मले सन् २०३० सम्म विद्युतीय कार मात्र उत्पादन गर्ने तयारीमा छन्।
नर्वे यी सबैभन्दा अगाडि छ। उसले सन् २०२५ देखि नै खनिज इन्धनका कारमा रोक लगाउने बताएको छ।
नर्वेकै सहर ओस्लो भने योभन्दा पनि धेरै अघि बढेको छ। ओस्लोले आफ्ना भित्री सहरमा सन् २०१९ देखि खनिज इन्धनका मात्र होइन, सबै खाले कार प्रतिबन्ध गर्ने भएको छ।
ओस्लोका भित्री सडक ‘कारमुक्त’ बन्नेछ।
उसोभए यहाँका मान्छे कसरी आउजाउ गर्छन्?
साइकल।
हो, ओस्लोको भित्री सडक अब पूरै साइकलमा भर पर्नेछ। अनि ठूल्ठूला सार्वजनिक बसमा। यी पनि अबका केही वर्षमा सबै विद्युतीय हुनेछन्।
यसनिम्ति ओस्लोले लामो समयदेखि गृहकार्य गरिरहेको छ। सहरमा सयौं किलोमिटर दूरीका साइकल लेन बनेका छन्। सन् २०१५ मै उसले सन् २०१९ सम्म कारमुक्त बनाउने घोषणा गरेको थियो।
यही योजना अनुरुप यहाँ तीव्र गतिमा काम भइरहेको छ। ६० किलोमिटरभन्दा बढी नयाँ सुरक्षित साइकल लेन बन्नेछ भने करिब १८० किलोमिटर पहिलेदेखि नै छ। बस र ट्रकबाट कुनै समस्या नहोस् भनेर चम्किलो रङ पोतिएको छ। साइकल लेनको चौडाइ साढे दुई मिटरसम्म छ।
सुरुसुरुमा मान्छेहरूलाई बानी बसाल्न निकै कठिन हुनेछ। सर्रर कारमा हुँइकिनेहरूलाई एकैपटक साइकल चलाउँदै हिँड्ने बानी पार्न सहज छैन। त्यस्तै सबैले सामान बोक्न मिल्ने साइकल किन्ने पनि छैनन्। कसैले नसक्लान्, कसैले नमान्लान्। कारको बानी परेका मान्छेको मात्र होइन, ओस्लोको पनि यात्रा सहज छैन।
तर ओस्लो पछि हटेको छैन। यो चुनौती उनीहरूले स्वीकारेका छन्। किनकि, विश्वकै ठूलो साइकल–सहर हुने ओस्लोको योजना छ।
ओस्लोमा ट्राफिक समस्या बढ्दै गएपछि साइकल निम्ति ठाउँ खोज्न थालिएको हो।