नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन गरी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ।
सञ्चारकर्मीहरू, प्रायोजक तथा साझेदारहरू, प्रदर्शकहरू, नाइमा बोर्ड सदस्यहरू, सदस्य कम्पनीहरू तथा नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो का मुख्य विवरणहरू सोमबार सार्वजनिक गरिएको हो।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ यही ११ देखि १६ अगस्ट २०२६ अर्थात् २०८३ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।
नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्स्पोका रूपमा आयोजना हुने यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहनेछन्।
एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन्।
पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरू भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन्।
उनका अनुसार यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो।
अध्यक्ष वैद्यले नाइमाको दृष्टि 'एम्पावरिङ ग्रोथ थ्रु मोबिलिटी' र मिसन 'मोबिलिटी फर अल' एक्स्पोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको नाइमाको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताइन्।
उनले मोबिलिटी सुधारिँदा अवसरहरू विस्तार हुने तथा मानिसका गतिविधि र व्यवसाय सहज रूपमा चलायमान हुन सके देश अघि बढ्ने उल्लेख गरे।
उनले गत वर्ष नाइमाले मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर वकालत, पहिलो संस्करणको एक्स्पो सफलतापूर्वक सम्पन्न, काठमाडौं उपत्यकाका १ हजार ६१० ट्राफिक प्रहरी कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सहयोग, हालैका प्रदर्शनका क्रममा गम्भीर क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणका लागि आकस्मिक सहयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था विभागलाई सहयोग लगायतका महत्वपूर्ण कार्य गरेको जानकारी दिइन्।
साथै, नाइमाले सरकारी निकायहरूसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशालाहरू सञ्चालन गर्दै आएको उनले बताइन्।
अध्यक्ष वैद्यले नाइमाले नाइमा मोबिलिटी एक्स्पो र नाइमा मन्थ्ली मोबिलिटी संवाद जस्ता प्रमुख कार्यक्रमहरू संस्थागत गरिसकेको तथा नाइमा मोबिलिटी जर्नल र नाइमा क्यापासिटी बिल्डिङ ट्रेनिङ सेसन सुरू गरिसकेको जानकारी दिइन्।
त्यस्तै, एक्स्पोको टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम पहलका लागि छुट्याइने र सो फेलोसिपमार्फत तयार हुने अनुसन्धान तथा लेखहरू नाइमा मोबिलिटी जर्नल मा प्रकाशित गरिने पनि उनले बताइन्।
साथै, नाइमाले आगामी दिनमा नाइमा मोबिलिटी कन्क्लेभ आयोजना गर्ने र विशेषगरी शिक्षा मन्त्रालयसहित नेपाल सरकारसँग सहकार्य गर्दै मोबिलिटी क्षेत्रमा सीप अभिवृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित तालिम कार्यक्रमहरू व्यवस्थित गर्ने योजना रहेको पनि उनले उल्लेख गरे।
पत्रकार सम्मेलनमा सदस्य तथा उद्योग सरोकारवालाहरूबाट आएको उच्च मागलाई ध्यानमा राख्दै नाइमाले कमर्सियल मोबिलिटी ब्रान्ड र सम्बन्धित सरोकारवालाहरूलाई लक्षित गरी थप मोबिलिटी एक्स्पो आयोजना गर्ने विषयमा पनि विचार गरिरहेको जानकारी दिइयो।
स्थान अभावका कारण केही इच्छुक सदस्य तथा सरोकारवालाहरूलाई स्टल उपलब्ध गराउन नसकिएकोमा अध्यक्ष वैद्यले दुःख व्यक्त गर्दै नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको बताए।
कार्यक्रममा नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले पनि आफ्नो धारणा राख्दै निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताए।
उनले यस्ता प्रदर्शनीहरूले व्यावसायिक गतिविधि विस्तार, लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
त्यस्तै एक्स्पोका प्रमुख विशेषताबारे जानकारी दिँदै नाइमा अटो शो प्लानिङ कमिटी का संयोजक गौरव शारडाले गत वर्षको प्रिमियम अनुभवलाई अझ परिस्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताए।
उनले यस वर्षको एक्स्पोलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको एक महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम बनाउन नाइमाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
समिति संयोजक शारडाले मनसुनलाई ध्यानमा राख्दै एक्स्पोमा विशेष व्यवस्था गरिएको बताए।
उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत सहज र उपयुक्त हुने गरी प्रदर्शनीस्थलको व्यवस्थापन गरिने जानकारी दिए।
आगन्तुकहरूको सहजताका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ।
पठाओले राइड पार्टनरका रूपमा एक्स्पो अवधिभर भृकुटीमण्डप आउने–जाने यात्राका लागि छुटसहितको राइड सेवा उपलब्ध गराउनेछ भने युनियन पेले क्युआर पार्टनरका रूपमा युनियन पे क्युआर प्रयोग गरी टिकट खरिद गर्दा क्यासब्याक सुविधा उपलब्ध गराउनेछ।
यस वर्षको एक्स्पोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अडिटोरियम हलमा लर्निङ सेसन आयोजना हुनेछन्।
यी सेसनमा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन। यी सत्रहरू विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन्।
सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी र नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषय समेटिनेछन्।
एक्स्पोका को–स्पोन्सर ग्लोबल आइएमई बैंक लिमिटेड का तर्फबाट डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नाइमासँग नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्स्पोमा सहकार्य गर्न पाउँदा बैंक खुसी लागेको बताए।
उनले मोबिलिटी, आर्थिक गतिविधि, उद्यमशीलता, रोजगारी र वित्तीय पहुँचबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै नाइमासँग दीर्घकालीन सहकार्यको बलियो सम्भावना रहेको उल्लेख गरे।
साथै, एक्स्पोमा आगन्तुकहरूका लागि विशेष बैंकिङ तथा सवारीसाधन वित्तीय सुविधाहरू उपलब्ध गराइने पनि उनले जानकारी दिए।
रेड बुल नेपालका तर्फबाट मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले रेड बुल पावर्ड बाइ श्रेणीअन्तर्गत बेभरेज पार्टनर का रूपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे।
उनले नाइमाले तालिम, सचेतना अभियान, आकस्मिक सहयोग र क्षेत्र केन्द्रित कार्यक्रमहरू गर्दै आएकोमा प्रशंसा गर्दै एक्स्पो अवधिमा रेड बुलले आकर्षक कार्यक्रमहरू प्रस्तुत गर्ने जानकारी दिए।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई ग्लोबल आइएमई बैंक ले को–स्पोन्सर का रूपमा र रेड बुल ले पावर्ड बाइ स्पोन्सरका रूपमा बेभरेज पार्टनर को रूपमा सहयोग गरेका छन्।
यसैगरी, एक्स्पोमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड इन्स्योरेन्स पार्टनर, बोस नेपाल प्रविधि पार्टनर, पठाओ प्राइभेट लिमिटेड राइड पार्टनर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनर, एजाइल इन्जिनियरिङ सोलुसन्स प्रा.लि. र अग्नि इनर्जी प्रा.लि. चार्जिङ पार्टनर, एक्वा मिनरल्स प्रा.लि. हाइड्रेसन पार्टनर, आइएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर, वत्सल इम्पेक्स प्रा.लि. (हिकभिजन) सर्भिलेन्स पार्टनर, हिट्को प्राइभेट लिमिटेड अग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो–भिजुअल पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटिएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनर, प्रफिट मिडिया प्रकाशन पार्टनर तथा मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनरका रूपमा आबद्ध छन्।
नाइमाले आफ्ना बोर्ड सदस्यहरू, सदस्य कम्पनीहरू, अटो शो प्लानिङ कमिटी, सचिवालय, प्रायोजक, साझेदार, प्रदर्शक, सञ्चारकर्मी तथा सबै सरोकारवालाहरूलाई सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरेको छ।