हिरो मोटोकर्पको विद्युतीय मोबिलिटी ब्रान्ड भिडा नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ।
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा भिडा भिएक्स२ गो र भिडा भिएक्स२ प्लस इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो।
कम्पनीले नेपाली बजारमा भिडा भिएक्स२ गो र भिडा भिएक्स२ प्लस गरी दुई भेरियन्ट उपलब्ध गराएको जनाएको छ।
आधुनिक डिजाइन, रिमुभेबल ब्याट्री, स्मार्ट कनेक्टिभिटी, डिजिटल डिस्प्ले, एलईडी लाइटिङ तथा विभिन्न राइडिङ मोडसहित यी स्कुटर बजारमा ल्याइएका हुन्।
भिडा भिएक्स२ गो मा २.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। यसको मूल्य रु. २ लाख ९९ हजार निर्धारण गरिएको छ।
त्यसैगरी भिडा भिएक्स२ प्लस मा ४.४ किलोवाट–घण्टा क्षमताको डुअल रिमुभेबल ब्याट्री जडान गरिएको छ।
यसले एकपटकको पूर्ण चार्जमा १८७ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। यो भेरियन्टको मूल्य ३ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।
सिजी मोटर्सका अनुसार भिडा इलेक्ट्रिक स्कुटर हिरोको देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत उपलब्ध हुनेछ।
कम्पनीले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता तथा वारेन्टी सुविधालाई समेत प्राथमिकतामा राखेको जनाएको छ।