चितवनको कोराक गाउँबाट सन् २०१६ मा संकलन गरिएको मौरीको चोपलाई छालाको क्यान्सरसम्बन्धी नयाँ वैज्ञानिक अनुसन्धानमा प्रयोग गरिएको छ।
वैज्ञानिक जर्नल 'मोलिक्युल्स' मा यही अक्टोबर २४ (कात्तिक ७) मा प्रकाशित अध्ययन अनुसार नेपालसहित पाँच देशका मौरीको चोप उक्त अनुसन्धानमा परीक्षण गरिएको हो।
यो स्टोरीमा हामी नेपाली नमूनाले समेत ठाउँ पाएको छालाको क्यान्सरसम्बन्धी उक्त अनुसन्धानबारे विस्तारमा चर्चा गर्दैछौं।
झार मार्ने औषधिले झारसँगै बाली पनि बिगार्यो भने त्यो किसानका लागि उपयोगी हुँदैन — चितवनबाट संकलन गरिएको मौरीको चोपमाथि भएको क्यान्सर अनुसन्धानले यही चुनौती देखाएको छ।
अनुसन्धानमा चितवनको मौरीको चोपबाट निकालिएको मिश्रणले छालाको क्यान्सरका कोषमा असर गरेको त देखियो, तर सँगसँगै त्यसले सामान्य छालाका कोषमा पनि असर गर्यो।
मौरीको चोपलाई वैज्ञानिक भाषामा 'प्रोपोलिस' भनिन्छ। मौरीले विभिन्न रूखबिरूवाबाट चोपजस्तो र्याल संकलन गर्छ। त्यसमा मैन र आफ्नै शरीरबाट निस्कने केही पदार्थ मिसाएर टाँसिने च्यापच्यापे मिश्रण बनाउँछ।
मौरीले यसलाई आफ्नो घारका प्वाल टाल्न र घारभित्रको वातावरण सुरक्षित राख्न प्रयोग गर्छ।
प्रोपोलिसमा विभिन्न रासायनिक पदार्थ हुन्छन्। तीमध्ये केहीले सूक्ष्मजीव र विभिन्न प्रकारका कोषमा असर गर्ने गरेको पाइएको छ।
त्यही भएर वैज्ञानिकहरूले मौरीको चोपमा भएका पदार्थबाट औषधि बनाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्दै आएका छन्।
त्यसै क्रममा अहिले छालाको क्यान्सर निको पार्ने औषधि बनाउन यो अनुसन्धान गरिएको हो।
कसरी गरियो अनुसन्धान?
यो अनुसन्धानमा नेपालसहित ग्रिस, कजाकस्तान, युक्रेन र जर्जियाका १० नमूना परीक्षण गरिएको वैज्ञानिक जर्नल 'मोलिक्युल्स' को अध्ययनमा उल्लेख छ।
अध्ययन अनुसार नेपालको नमूना सन् २०१६ मा चितवनको कोराक गाउँबाट संकलन गरिएको थियो। यो 'ट्राइगोना' जातको मौरीबाट प्राप्त प्रोपोलिस हो। यो जातको मौरी मह उत्पादन गर्ने सामान्य मौरीभन्दा सानो हुन्छ।
अनुसन्धान क्रममा मौरीको चोपलाई जस्ताको तस्तै क्यान्सरका कोषमा राखिएको थिएन। पहिले त्यसबाट केही रासायनिक पदार्थ निकालिएको थियो।
यसका लागि चोपलाई इथानोल र पानीको मिश्रणमा प्रशोधन गरियो। त्यसमा घुल्न सक्ने पदार्थ छुट्याएर मिश्रण छानियो, इथानोल हटाइयो र बाँकी पदार्थ सुकाइयो।
यसरी प्राप्त पदार्थलाई प्रोपोलिसको 'सार' भन्न सकिन्छ। यो कुनै एउटा शुद्ध रसायन होइन, चोपबाट निकालिएका विभिन्न पदार्थको मिश्रण हो।
यसलाई चियाको उदाहरणबाट बुझ्न सकिन्छ।
चियापत्तीलाई पानीमा उमाल्दा त्यसमा भएका केही पदार्थ पानीमा घुल्छन्। पछि पत्ती छानेर चिया छुट्याइन्छ।
अनुसन्धानकर्ताले पनि प्रोपोलिसलाई प्रशोधन गरेर त्यसमा भएका केही पदार्थ निकालेका थिए। तर यहाँ पानी मात्र नभई इथानोलको मिश्रण प्रयोग गरिएको थियो।
त्यसपछि अनुसन्धानकर्ताहरूले उक्त मिश्रण प्रयोगशालामा हुर्काइएका छालाको क्यान्सरका कोषमा राखे। सँगसँगै, सामान्य छालाका कोषमा पनि राखेर दुवैमा कस्तो असर पर्छ भनेर तुलना गरे।
यो परीक्षण मानिसमा गरिएको होइन। कुनै बिरामीलाई प्रोपोलिस खुवाएर वा छालामा लगाएर क्यान्सर निको हुन्छ कि हुँदैन भनेर हेरिएको पनि होइन। प्रयोगशालामा हुर्काइएका कोषमा मात्र यसको असर जाँचिएको हो।
अनुसन्धानकर्ताले यसरी परीक्षण गर्दा 'मेलानोमा' भनिने छालाको क्यान्सरका दुई फरक कोष समूह परीक्षण गरेका थिए।
मेलानोमा भनेको छालालाई रङ दिने पदार्थ बनाउने कोषबाट सुरू हुने क्यान्सर हो।
योसँगै सामान्य छालाका कोषमा पनि प्रोपोलिसको मिश्रण परीक्षण गरिएको थियो। त्यसपछि उक्त मिश्रणको मात्रा घटबढ गरेर कोषको गतिविधिमा कस्तो असर पर्छ भनेर तुलनात्मक अध्ययन गरियो।
नेपाली नमूनाले देखाएको नतिजा
नेपाली नमूनाको नतिजा बुझ्न तीनवटा अंक महत्त्वपूर्ण छन्।
पहिलो प्रकारको क्यान्सरका कोषको गतिविधि आधा घटाउन प्रतिमिलिलिटर ८१.३ माइक्रोग्राम मिश्रण आवश्यक पर्यो। दोस्रो प्रकारको क्यान्सरका कोषमा त्यस्तै असर देखाउन ४२.६ माइक्रोग्राम आवश्यक पर्यो।
सामान्य छालाका कोषमा भने ४७.१ माइक्रोग्राम मिश्रणले नै गतिविधि आधा घटाएको थियो।
यी अंकबाट के बुझिन्छ?
पहिलो प्रकारको क्यान्सरका कोषमा असर गर्नुभन्दा सामान्य छालाका कोषमा असर गर्न कम मिश्रण नै पर्याप्त भयो। अर्थात्, सामान्य कोष उक्त मिश्रणप्रति बढी संवेदनशील देखिए।
दोस्रो प्रकारको क्यान्सरका कोषमा भने सामान्य छालाका कोषमा भन्दा केही कम मिश्रणले असर गर्यो। तर दुईबीचको भिन्नता एकदमै सानो थियो।
यसलाई फेरि झार मार्ने औषधिसँग तुलना गरौं। झार मार्ने औषधिले बाली पनि बिगार्छ भने त्यसलाई उपयोगी मान्न सकिँदैन। त्यस्तै, क्यान्सरका कोषमा असर गर्ने पदार्थले स्वस्थ कोषलाई पनि असर गर्छ भने त्यसबाट सुरक्षित औषधि बनाउन चुनौती हुन्छ।
तर यहाँ अर्को कुरा पनि बुझ्नुपर्छ।
प्रयोगशाला परीक्षणमा 'कोषको गतिविधि आधा घट्यो' भन्नुको अर्थ आधा कोष मरे भन्ने होइन। अनुसन्धानकर्ताले कोषको जैविक गतिविधिका आधारमा त्यसको जीवित रहने अवस्थाबारे संकेत मापन गरेका हुन्। त्यो मापन आधा घटेको हो।
त्यसैले नेपाली नमूनाले क्यान्सरका कोषलाई मात्र छानेर असर गरेको देखिएन। सामान्य छालाका कोष पनि प्रभावित भए।
अरू देशका नमूनामा के देखियो?
अनुसन्धानकर्ताले पाँच देशका १० नमूनाको तुलना गरेका थिए।
क्यान्सरका कोषमा असर गर्दा सामान्य छालाका कोषलाई तुलनात्मक रूपमा कम असर गर्ने नमूना खोज्नु यो अध्ययनको उद्देश्य थियो।
यस क्रममा जर्जियाका तीन नमूनाले राम्रो नतिजा देखाए।
ती नमूनामा क्यान्सरका कोषमा असर गर्दा सामान्य छालाका कोष तुलनात्मक रूपमा कम प्रभावित भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
त्यसैले अनुसन्धानकर्ताले जर्जियाका ती तीन नमूनाको थप परीक्षण गरे। ती पदार्थले क्यान्सरका कोषलाई कसरी असर गर्छन् भन्ने पनि अध्ययन गरियो।
यो थप परीक्षण नेपाली नमूनामा गरिएको थिएन।
नेपाली प्रोपोलिसको रासायनिक बनावट पनि फरक
अनुसन्धानमा अर्को महत्त्वपूर्ण कुरा पनि देखियो। नेपालबाट संकलित मौरीको चोपमा अरू देशका नमूनाभन्दा फरक रासायनिक बनावट थियो।
यसमा अन्य देशका नमूनामा पनि पाइने केही पदार्थ त थिए नै, सँगसँगै 2-hydroxyformononetin, dalbergin, 7-hydroxyflavanone जस्ता थप पदार्थ पनि भेटिए। केही पदार्थको भने पहिचान हुन सकेन।
रासायनिक बनावट हेरेर अनुसन्धानकर्ताले डल्बर्जिया (Dalbergia) प्रजातिका रूखबिरूवा नेपाली प्रोपोलिसको सम्भावित स्रोत हुन सक्ने अनुमान गरेका छन्। डल्बर्जिया समूहमा सिसौजस्ता रूख पर्छन्।
नेपालमा संकलन गरिएको प्रोपोलिसमाथि वैज्ञानिकहरूले यसअघि पनि अध्ययन गरेका थिए।
सन् २०२० मा प्रकाशित एउटा अध्ययनमा नेपालका 'एपिस मेलिफेरा' र 'ट्राइगोना' समूहका मौरीबाट प्राप्त प्रोपोलिसको रासायनिक बनावट र सूक्ष्मजीव विरूद्धको असर जाँचिएको थियो।
त्यसमा प्रोपोलिसबाट निकालिएको मिश्रणले केही जीवाणुमा कस्तो असर गर्छ भन्ने परीक्षण गरिएको थियो।
सन् २०२२ मा प्रकाशित अर्को अध्ययनमा चितवनको कोराक गाउँबाटै प्राप्त ट्राइगोना समूहको मौरीको प्रोपोलिस प्रयोग गरी क्षयरोग गराउने जीवाणुमा त्यसको असर हेरिएको थियो।
अनुसन्धानकर्ताले जीवाणुलाई उक्त पदार्थको सम्पर्कमा राखेर तिनको भित्री जैविक प्रक्रियामा कस्तो परिवर्तन आउँछ भनेर अध्ययन गरेका थिए।
ती अध्ययनमा पनि प्रयोगशाला परीक्षण नै गरिएको थियो। तिनले नेपाली प्रोपोलिसलाई मानिसमा क्षयरोग वा अन्य रोग निको पार्ने प्रमाणित उपचारका रूपमा स्थापित गरेका थिएनन्।
यसरी नेपाली प्रोपोलिस विभिन्न वैज्ञानिक प्रश्नको अध्ययनमा प्रयोग भएको छ। तर विभिन्न अध्ययनमा एउटै संकलनको पदार्थ प्रयोग गरिएको थियो कि फरक नमूना प्रयोग गरिएको थियो भन्ने स्पष्ट छैन।
सन् २०१६ मा संकलित नमूनाको यात्रा
नयाँ अध्ययनमा नेपालको नमूना सन् २०१६ मा चितवनको कोराकबाट संकलन गरिएको उल्लेख छ। अनुसन्धानपत्र भने २०२६ अक्टोबर २४ मा प्रकाशित भएको हो। यी दुई मितिबीच करिब १० वर्षको अन्तर छ।
तर नमूना संकलन भएको मिति र प्रयोगशालामा परीक्षण भएको मिति एउटै हुँदैन। त्यसैले परीक्षण पनि संकलनको १० वर्षपछि मात्र गरिएको थियो भन्ने निष्कर्ष निकाल्न मिल्दैन।
प्रकाशित अध्ययनमा नमूना संकलन भएपछि कहाँ र कस्तो अवस्थामा राखियो, स्थानीय स्तरमा कसले संकलन गरेको थियो र कोराकको कुन घारबाट लिइएको थियो भन्ने सम्पूर्ण विवरण खुलेको छैन।
प्राकृतिक पदार्थ भन्दैमा सुरक्षित हुँदैन
प्रोपोलिस प्राकृतिक पदार्थ हो। तर प्राकृतिक भएकै कारण कुनै पदार्थ मानिसका लागि सुरक्षित हुन्छ वा रोगको उपचारमा प्रभावकारी हुन्छ भन्ने हुँदैन।
अमेरिकाको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरले प्रोपोलिससम्बन्धी जानकारीमा मानिसमा यसको औषधीय प्रभावकारिताबारे प्रमाण सीमित रहेको उल्लेख गरेको छ। प्रोपोलिसबाट एलर्जी र अन्य प्रतिकूल असर समेत हुन सक्छन्।
चितवनको कोराकबाट संकलित मौरीको चोपले वैज्ञानिकलाई थप अनुसन्धान गर्नुपर्ने विषय भने दिएको छ।
अबको प्रश्न त्यसमा क्यान्सरका कोषमा असर गर्ने कुन रासायनिक पदार्थ छन् भन्ने मात्र होइन। ती पदार्थले स्वस्थ कोषलाई सकेसम्म जोगाउँदै क्यान्सरका कोषमा प्रभाव पार्न सक्छन् कि सक्दैनन् भन्ने पनि हो।
यो अध्ययनले देखाएको कुरा यत्ति हो — चितवनको मौरीको चोपबाट निकालिएको मिश्रणले क्यान्सरका कोषमा असर गर्यो। तर स्वस्थ कोषमा पनि असर परेकाले त्यसबाट सुरक्षित औषधि बनाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा अझै अनुसन्धान गर्न बाँकी छ।
अध्ययनमा आठ अनुसन्धानकर्ता सहभागी छन् — मार्ता त्रास्कोव्स्का (Marta Trzaskowska), यारोस्लाव विदेल्स्की (Jarosław Widelski), प्योत्र ओकिन्चित्स (Piotr Okińczyc), पाउलिना काजिमिएर्चाक (Paulina Kazimierczak), भ्लादिस्लाव भिभचारेन्को (Vladyslav Vivcharenko), अन्ना बोजाद्जे (Anna Bozhadze), माल्खाज जोखाद्जे (Malkhaz Jokhadze) र अगाता प्शेकोरा (Agata Przekora)।
त्रास्कोव्स्का, काजिमिएर्चाक, भिभचारेन्को र प्शेकोरा पोल्यान्डको लुब्लिनस्थित जोन पल द्वितीय क्याथोलिक विश्वविद्यालय तथा मेडिकल युनिभर्सिटी अफ लुब्लिनसँग आबद्ध छन्।
विदेल्स्की मेडिकल युनिभर्सिटी अफ लुब्लिनमा र ओकिन्चित्स व्रोक्लाव मेडिकल युनिभर्सिटीमा वनस्पति तथा प्राकृतिक पदार्थका औषधीय गुणसम्बन्धी अध्ययन गर्ने विभागसँग आबद्ध छन्।
काजिमिएर्चाक र प्शेकोराले अनुसन्धानको अवधारणा तयार पारेका थिए। अध्ययनलाई पोल्यान्डको राष्ट्रिय विज्ञान केन्द्रले आर्थिक सहयोग गरेको हो।
***