केही गर्छु भन्ने सपना बोकेर
देशको आँगन छोडेँ,
परदेशका बाटाहरूमा
आफ्नो भाग्य खोज्न हिँडेँ।
कसैसँग पैसा सापटी लिएँ,
कसैसँग भरोसा,
कसैसँग आफ्नोपन—
मनमा एउटै वाचा थियो,
‘समय फेरिएपछि
सबै फिर्ता गरौँला।’
तर जीवन
वाचाजस्तो सरल कहाँ हुँदो रहेछ र?
कहिले सपना ठोक्कियो,
कहिले समयले पछार्यो,
कहिले आफ्नै मान्छेले
अपरिचितझैँ हेरे।
म परदेशमा
आफूलाई जोगाउँदै थिएँ,
उता मेरो खबरभन्दा पहिले
सापटीको खबर पुगिसकेको थियो।
कसैले सोधेन—
‘कस्तो छौ?’
प्रश्न थियो—
‘मैले दिएको कोट
अझै कस्तो छ?’
कतै च्यातियो कि?
टालियो कि?
रङ उड्यो कि?
वा पुरानो भएर
फालियो कि?
त्यो कोट
कपडा मात्र थिएन—
कठिन यात्रामा ओढेको भरोसा थियो,
कसैले दिएको अपनत्व थियो।
तर समयमै फिर्ता नहुँदा
भरोसा पनि हिसाब हुँदो रहेछ।
सायद त्यसैले
मान्छेको दुःखभन्दा
कोटको हालत महत्त्वपूर्ण भयो।
कुनै दिन
म त्यो कोट फिर्ता गरुँला—
च्यातिएको भए सिलाएर,
रङ उडेको भए सकेसम्म रङ्गाएर।
तर त्यसमा टाँसिएका
परदेशका पसिनाका दाग,
निद्राविहीन रात
र घर सम्झेर झरेका आँसु
कहाँबाट मेटुँला?
त्यस दिन
कोट जाँच्ने आँखालाई
म केवल यति सोध्नेछु—
‘कोट त जोगिएन होला
तर म तिम्रो मनमा
मान्छे भएर जोगिएँ कि
एउटा अधुरो हिसाब भएर?’
किनकि
कोट च्यातिए सिलाउन सकिन्छ,
पैसा हराए फेरि कमाउन सकिन्छ—
तर सम्बन्धको कपडा
एकपटक च्यातिएपछि
टालोले पनि
पहिलेको न्यानोपन फर्काउँदैन।
अन्ततः
म कोट फिर्ता गर्न सक्छु,
ऋण पनि चुक्ता गर्न सक्छु।
तर
दुःखमा हुँदा नसोधिएको
‘कस्तो छौ?’
कुन खातामा जम्मा गरेर
फिर्ता गरूँ?
सापटी मागेको कोट
कहिल्यै केवल कोट थिएन—
त्यो एउटा सम्बन्धको परीक्षा थियो।
र समयले देखाइदियो—
कसैले कोट जोगाउँछ,
कसैले सम्बन्ध।